विकासन्युज

यो चाडपर्वमा पजो र सिट्रनको कार किन्दा साढे १६ लाख फाइदा

काठमाडौं । नेपालमा पजो र सिट्रनको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा ड्राइभ नाउ, पे लेटर योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत सांग्रिला मोटर्सले पजाे वा सिट्रोनकाे कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र १५.५० लाखको फाइदा प्रदान गर्नेछ । त्यसैगरी, सिट्रन र पजो दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउनेछन् । सिट्रन प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरू मध्ये एक हो । कम्पनीको अनुसार यो चाडपर्वको अफर सिट्रनको सिफाइभ एयरक्रस मोडलमा पजोको ३८०० अल्युर डिजेल मोडलका लागि मात्र मान्य हुने छ ।

रुकुमपूर्वमा गाडी दुर्घटना, पाँचको मृत्यु, १३ घाइते

कर्णाली । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताउनुभयो । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए । उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए । रासस

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंक ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ अवार्डबाट सम्मानित भएको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेकाे थियाे । नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमइद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमईले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ । तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमइ एण्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत (दनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरवको क्षण भएको बताए । देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले बताए । अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले हामीलाई आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको उनको भनाई छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । उनले भने, ‘एसएमईको लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता सङ्कटको समस्यालाई पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो ।’ नवौँ ग्लोबल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो । यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो । विश्व अर्थतन्त्रको मेरूदण्ड एमएसएमइएस तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवद्र्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवद्र्धन गर्न सकिन्छ भनेर खोजी गरेको थियो । कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो । यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिदैँ आएको छ । त्यस्तै, एसएमई फाइनान्स फोरमका सिइयो म्याथ्यूु गम्सरले हरित एसएमई वित्तीय क्षेत्रमा पाचौँ अवार्ड विस्तार गरेको जानकारी दिए । उनले भने,’हामीले हरित वित्तीय लगानी ग्रिन फाइनान्सिङको क्षेत्रमा पाँचौँ अवार्ड पनि विस्तार गरेका छौँ, त्यसकारण पनि हुनसक्छ यस वर्ष ठूलो सङ्ख्यामा आवेदन पर्यो, हामीसँग पहिलेभन्दा धेरै वित्तीय उत्पादन र दृष्टिकोण भएका देशहरू छन्, यस अवार्डमा लगभग १०० निर्णायक मण्डलहरूले निष्पक्ष निर्णय गरेको थियो ।’ बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च सर्मपित रहेको नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटिएममार्पत सेवा प्रदान गरिरहेको छ ।

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रति प्याक विक्री मूल्य १०० कायम गरेको छ । यस अगरबत्तीमा फुलको थप सुगन्ध भएकोले हरेक शुभ कार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितिय अनुभव प्राप्त गर्न सकिने कम्पनी बताउँछ । कम्पनीको अनुसार दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदिप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, तथा त्रेया लगाएतका विभिन्न ब्रान्डहरू बजारमा पाइने कम्पनीले बताएको छ ।

काठमाडौं महानगरले गएको वर्षको तुलनामा २९.८५ प्रतिशत बढी राजस्व उठायो

काठमाडौं । गएको आर्थिक बर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक वर्षको असोज ५ गतेसम्ममा काठमाडौं महानगरपालिकाको २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस अवधिमा गएको वर्ष १ अर्व २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । यो ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो । विगत वर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि यस वर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको हो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘गएको वर्षहरुमा पनि पत्राचार भएको हो, तर, करदाताले टेरेका थिएनन् ।’ यस अघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन् । यसैगरी, करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन् । यस्तै, बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीले बताए । पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ । नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ । यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने डा. अधिकारीले बताएका छन् ।

रेमण्ड सप : डुब्नै लागेको व्यापारलाई यसरी उकासे सञ्जयले

काठमाडौं । कपडाको विश्व बजारमा ‘रेमण्ड’ ब्राण्डको आफ्नो अलग्गै पहिचान छ । सन् १९२५ देखि शुरु भएको रेमण्ड कपडाको व्यापार नेपालमा भने सन् १९९९ बाट शुरु भयाे । जसलाई नेपालमा भित्र्याउने अवधारणाको नेतृत्व भेषराज लुइँटेलले गरेका थिए । लुइँटेल ५/६ जना साझेदार लिएर नेपालमा शुरु गरेको रेमण्ड सपको व्यापार लामो समयदेखि सञ्जय अधिकारीले सम्हाल्दै आएका छन् । अधिकारीले ०४५ सालदेखि नै नेपालमा रेडिमेड कपडाको आयात गरेर बिक्री गर्ने काम गर्थे । उनले हङकङ र थाइल्याण्ड गएर रेडिमेड कपडा ल्याएर नेपालमा बिक्री गर्थे । ‘पञ्चायती व्यवस्थादेखि नै मैले रेडिमेड कपडाको व्यवसाय गर्न शुरु गरेकाे थिएँ’, उनले भने, ‘त्यतिबेला झिटीगुन्टा भनिन्थ्यो, त्यतिबेला हामी हङकङ र बैंकक गएर रेडिमेड पाइन्ट, सर्ट, टिसर्ट, ज्याकेट सबै त्यहाँबाट ल्याउँथ्यौं ।’ अधिकारीले पञ्चायत अवस्था रहँदा देखि नै शुरु गरेको झिटी गुन्टाको व्यापार बहुदल आएपछि उही स्वरुपमा रहेन । त्यसपछि उनले सामूहिक साझेदारीमा रेमण्ड सपमा १९९९ बाट सहभागी भएका थिए । अहिले हेर्दा अधिकारीले सम्हालेको रेमण्डको व्यापार करोडौं बराबरमा पुगेको छ । तर, यो अवस्थामा आइपुग्नका लागि निकै ठूलो संघर्ष गर्नुपरेको अधिकारी बताउँछन् । शुरुमा रेमण्ड सप शुरु गर्दा सबै लगानीकर्ताले १५/१५ लाख उठाएर लगानी गरेको अधिकारीको भनाई छ । काठमाडौंको पुतलीसडकमा शोरुम राखेर शुरु गरेको सो सप २ वर्षपछि बन्द हुने अवस्थामा पुग्यो । शो रुम नै बन्द हुने अवस्थामा पुगेपछि अधिकारीले सल्लाहमा नै आफूले मात्रै सञ्चालन गरेको बताए । ‘सञ्चालन गरेको २ वर्षमा यो शोरुम बन्द हुने अवस्थामा पुग्यो, भनेपछि त्यतिबेला यसको सही समय नभएको रहेछ’ उनले भने, ‘त्यसपछि मैले सल्लाहमा नै टेकओभर गरेको हो ।’ आफूले एकल रुपमा सञ्चालन गरेपछि पनि व्यवसाय नभएर ४/५ वर्षसम्म शो रुम नै धान्न गाह्रो परेको उनको भनाइ छ । व्यवसाय नचलेपनि अधिकारी आत्तिएनन्, भोली सो ब्राण्डको माग पक्कै आउँछ भनेर उनले प्रतिक्षा गरिरहे । त्यसपछिका वर्षमा भने विस्तारै नेपालीहरुले रेमण्डलाई मन पराउन थाले । अधिकारीको व्यवसाय पनि राम्रो हुन थाल्यो । पहिले–पहिले नेपालीहरुले ब्राण्डलाई चासो नदिएको र पछिल्ला दिनहरुमा ब्राण्डको सचेतना बढ्दै गएको अधिकारीकाे अनुभव छ । ग्राहकहरुमा ब्राण्डको सचेतना बढ्दै गएपछि आफ्नो व्यवसाय पनि क्रमशः सुधार भएको उनले सुनाए । ‘आज भन्दा १०/१५ वर्ष अगाडि मान्छेले सर्ट लगाउने भन्थ्यो तर अहिले मानिसहरुले खानेकुरा, लाउनेकुरा र सुत्नेकुरा जे मा पनि ब्राण्ड खोज्न थाले’, अधिकारीले अनुभव सुनाए । आफूहरुले शुरुमा जुन कपडा ल्याएर स्वरुममा राखेका थिए त्यसको बिजनेस नै हुन नसकेको अनुभव राख्दै त्यसको कारण मानिसमा सचेतनाको अभाव भएको उनी सुनाउँछन् । ‘अहिले दरबारमार्गमा बिभिन्न ब्राण्डका जुत्ताहरु देख्नुहुन्छ, हाम्रो पालामा कसले लाउँथ्यो र ?’, उनले प्रश्न गरे, हाम्रो पालमा लगाउने जुत्ता चाइना र इन्डियाको त थियो नी ।’ अहिले ब्राण्डेड खोज्ने मानिसहरुले ती पुराना जुत्ताहरु लगाउन छोडिसकेको उनको भनाइ छ । मानिसहरुले विस्तारै ब्राण्ड खोज्ने विषय त्यसको गुणस्तरसँग सम्बन्धित भएको अधिकारीले बताए । मानिसहरुले आफ्नो पसलले राखेको ब्राण्डको कपडालाई विश्वास गर्दै जाँदा व्यवसायको विकास भएको र अहिले त्यसका धेरै शाखाहरु विस्तार गर्न सकेको बताए । रेमण्ड सपको नेपाली फ्रेन्चाइजको स्वामित्वमा आँफूले मात्रै सञ्चालन गर्दै आएको भएपनि पछिल्लो दिनमा भने आफूहरुले व्यवसायको विस्तारमा नयाँ अवधारणा अंगिकार गरेको अधिकारी बताउँछन् । उनका अनुसार अहिले पैसा लगानी गरेर अन्य इच्छुकहरुले पनि रेमण्ड सप सञ्चालन गर्र्न सकिन्छ । भैरहवा र हेटौंडामा अधिकारीले अहिले वर्किङ पार्टनरमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । ‘म के कुरामा विश्वास गर्छु भने अरुलाई काम गराएर खान पाउने जमाना गइसक्यो, की आँफै गर्नपर्यो की ति काम गर्ने कामदारहरुसँग पार्टनरसिप गर्नपर्यो’, उनले भने । सोही मान्यताअनुसार पछिल्ला दिनहरुमा आफूले देशभरी नै सम्भावना भएका मुख्य सहरहरुमा शपकोे विस्तार गर्ने योजना बनाएको उनले बताए । एउटा कामदारले कसैको पसलमा काम गर्छु भन्नु र त्यहाँ निश्चित प्रतिशत लगानी गरेर काम गर्ने कुराले उसको समाजमा इज्जत प्रतिष्ठा पनि बढ्ने अधिकारी बताउँछन् । कामदार लगानीकर्ताको रुपमा पनि सहभागी हुँदा आवश्यक परेको बेलामा पैसा जुटाउन पनि सजिलो हुने अनुभव सुनाए । आफसँग पार्टनर भएर पसलको विस्तार गर्न चाहनेहरुलाई लगानी नडुब्ने आइडिया पनि दिएर काम गर्न आँफू तयार रहेको उनको भनाइ छ । रेमण्ड सपले तयारी नगरेको वा नसिलाएको कपडा देखि अर्डर अनुसार सिलाएर सर्टिङ तथा सुर्टिङका कपडा ग्राहकहरुलाई उपलब्ध गराउने गर्छ । रेडिमेड खरिद गर्न इच्छा राख्नेहरुलाई मध्येनजर गरेर रेडिमेड सर्टिङ सुटिङका कपडाहरु पनि उपलब्ध गराउने गरेको उनी अधिकारी बताउँछन् । तर, रेमण्ड सपमा आउने ९० प्रतिशत ग्राहकहरु पसलमा नै सिलाएर लैजान रुची राख्ने प्रकृतिका रहेका छन् । त्यसैले रेमण्ड सपको ठूलो विजनेस काँचो कपडालाई सिलाएर बेच्नेसँग सम्बन्धित रहेको छ । नेपालमा सबै मुलुकमा हुने प्रकारको फिजिकल साइजका मानिसहरु हुने भएकाले फिटिङमा तयारी गरेको कपडामा फिटिङमा समस्या देखिने गरेकाले पनि सपमा आउने ग्राहकहरुमा साइज नापेर सिलाउने रुची देखिएको उनको भनाइ छ । ‘हाम्रो देशमा अफ्रिकन, अमेरिकन चाइनिज सबै टाइपको बडी छ’, उनी भन्छन्, ‘अफ्रिकनलाई बनायो भने चाइनिजलाई काम लाग्दैन, चाइनिजलाई बनायो भने अफ्रिकनलाई काम लाग्दैन, संसारमा जे जति प्रकारको शरिर र अनुहार छ, त्यती प्रकारको शरिर अनुहार नेपालमा पाइन्छ ।’ ग्राहकहरुलाई रेडिमेडमा च्वाइस कम हुने र काँचो कपडामा च्वाइस पनि बढी हुने हुँदा काँचो कपडामा बढी रुची हुने गरेको आँफूले पाएको उनको अनुभव छ । अधिकारीका अनुसार रेमण्डले संसारमा नै सबैभन्दा धेरै प्रकारका कपडाको उत्पादन गर्छ । जहाँ सस्तोदेखि संसारकै महंगो सम्मको कपडा पाइन्छ । संसारमा प्रतिष्ठित भएका ब्रिटिस इटालियन ब्राण्डहरुले निश्चित मात्रै ब्राण्ड बनाउने गरेकोमा रेमण्ड मात्रै त्यस्ताे ब्राण्ड हो जसले ६ हजार भन्दा बढी प्रकारका कपडाहरुको उत्पादन गर्छ । मूल्यका हिसाबले पनि ५/६ सय देखि लिएर १५ लाख आइसीसम्मको कपडा उत्पादन गर्ने गरेको अधिकारीको भनाइ छ । मूल्यसँग त्यसको गुणस्तरको सम्बन्ध रहने गरेको भन्दै अधिकारीले रेमण्डले ६/६ महिनामा आफ्नो उत्पादनमा अपडेट गर्ने गरेको बताउँछन् । त्यसको लागि कम्पनीले व्यवसायी र इन्जिनियरसँग छलफल गर्ने गरेको उनको भनाइ छ । अधिकारीका अनुनसार रेमण्डले उत्पादन गर्ने कपडाको मूल्य प्रत्येक २ वर्षमा १० प्रतिशतले वृद्धि हुने गर्छ । रेमण्डका ग्राहकहरुको प्रकृति अन्य ग्राहकहरुको तुलनामा भिन्न प्रकृतिको रहने गरेको अधिकारी बताउँछन् । ‘हामीसँग कस्तो हुन्छ भने सिधै घरबाट रेमण्डको शो रुम आउँछन्, अनि आफ्नो सामग्री खरिद गरेर घरमा जान्छ’, उनले भने । धेरै ठाउँमा छानेर खरिद गर्ने प्रकृतिका ग्राहकहरु रेमण्डमा नगण्य मात्रामा आउने गरेको उनको अनुभव छ । यदी घुम्दै आएको ग्राहकले पनि एकपटक आफ्नोमा खरिद गर्यो भने त्यो आफ्नो सपको नियमित ग्राहक बन्ने उनी दाबी गर्छन् । उनी भन्छन्, ‘रेमण्डले ग्राहकलाई एकपटक हाम्रो कपडा लगाइदे भन्छ, त्यसपछी ग्राहक आँफै नियमित सपमा आउँछ भन्ने मान्यता राख्छ ।’ भिडियाे हेर्न यहाँ क्लिक गर्नुस् 

टुकुचा खोला खोज्ने अभियानमा बालेनलाई धक्का

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) लाई जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने अभियानमा धक्का लागेको छ । हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचाको रेखांकन गर्न कानुनी रूपले नसकिने भूमि मन्त्रालयले निष्कर्ष निकालेपछि बालेनकाे टुकुचा खोला खोज्ने अभियानमा धक्का लागेको हाे । महानगरले ३० भदौदेखि  खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । जसविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएपछि महानगरले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो । मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो जसले मुख्य दुई निष्कर्ष निकालेर मन्त्रालयलाई बुझाएको छ ।    

एनसेलले ल्यायो इण्डियामा कल गर्ने भ्वाइस प्याक, प्रतिमिनेट ३.५५ रुपैयाँ

काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्नेछन् । एनसेल आजियाटाले नजिकिँदै गरेको चाडपर्वको अवसरमा भारतमा कल गर्न तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यी प्याकहरु शुक्रबार (असोज ०७) देखि लागु हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् । १ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउनेछन् । त्यस्तै, ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रुपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्नेछन् । आफ्नो आवश्यकता अनुसार बढि समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्नेछन् । ग्राहकले *१७११८*७# डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् ।