विकासन्युज

नेप्से परिसूचक ९.८४ अंकले गिरावट, नबिल बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ । बिहीबार कारोबारमा आएको २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ७२ करोड बराबरको कारोबार भएको थियो । बिहीबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । नेप्से परिसूचक घटे पनि बिहीबार सामलिङ्ग पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत र वरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ । तर यता विन्द्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

‘आइएमई पे’ मा पैसा राख्दा ७.१३ प्रतिशत ब्याज पाइने

काठमाडौं । एकमात्र ब्याज दिने वालेट ‘आइएमई पे’ले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । वालेटले साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरेको छ । प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत ब्याज पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १ हजार कायम राखि सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्नेछन् । आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको जनाएको छ । यस्का साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनेछन् ।

१३ दिनपछि संचालनमा आयो अवरुद्ध पासाङल्हामु मार्ग

रसुवा । पहिराका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सो मार्ग अवरुद्ध भएको थियो । सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ – रसुवा सिधा बससेवा सञ्चालन गराउन सहज भएको छ । सुरूमा त्रिशूली– सोम्दाङ सडकको नामाकरणबाट निर्माण भएको सो मार्ग अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक विसं २०४० मा निर्माण गरिएको थियो । तर उक्त स्थानमा नालीको भलपानीलाई सही खालको निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले विकराल रूप सडक क्षति भएको थियो । यसबाट धानखेतसमेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक क्षति पश्चात् तत्कालीन समयमा सम्पन्न गोसाइँकुण्डको विशेष धार्मिक मेलाका यात्रु समेत प्रभावित बन्न पुगेको थिए । बनुवा घुम्तीको पहिरोस्थलमा ग्याबिन पर्खाल लगाई सतहको पुरै भागमा अनेत्रबाट ल्याइएको ढुङ्गा माटोले पुरेर सडक प्रारूप तयार गराई सञ्चालनमा ल्याइएको हो । सो कार्यालय प्रमुख डिभिजनल इञ्जिनीयर अमृतमणि रिमालले आजदेखि बनुवा धुम्ती क्षेत्रको पासाङल्हामु सडक पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार त्रिशूली, बेत्रावति, धुञ्चे, स्याफ्रु रसुवागढी क्षेत्रमा आजैदेखि सिधा यातायात सञ्जाल जोडिएको छ ।क्षतिग्रस्त सडक ४४ दिनको अह्रोरात्र प्रयासले ग्याबिन पर्खाल लगाइएको जनाइएको छ । निर्माणमा संलग्न ठेकेदार कम्पनी सुन्धरादेवी निर्माण सेवाका प्रबन्ध निर्देशक रवीन्द्र बुढाथोकीले हिलो सडक व्यवस्थापन गर्न केही समय लाग्ने जानकारी दिए । रासस

वार्षिकोत्सवमा सनराइज बैंकले नेपाल बाल संगठनका बाल बालिकालाई दियो नयाँ लुगा

काठमाडाैं । सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ । बिहिबार नक्साल स्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामानहरु हस्तान्तरण गरेकी हुन् । सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा बैकले यस वर्ष आउँदै गरेको दशैंलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको हाे । बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले बताइन् । बैकले १५औ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउँदै छ ।  

बियर पोखिएपछि घण्टौं सडक अवरुद्ध

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा बुधवार बियर बोकेको ठूलो ट्रक पल्टँदा हजारौँ क्यान बियर पोखिएपछि एउटा राजमार्ग नै अवरुद्ध हुनपुगेको छ । बियर बोकेको उक्त सेमी ट्रेलर सडकका छेउमा रहेका ट्रकहरूमा गएर ठोक्किएको थियो। हजारौँ क्यान पोखिएपछि राजमार्गको सबै लेन बन्द भएको बताइएको छ । फ्लोरिडाको हाइवे पेट्रोलले लिएको तस्बिरहरूमा छरपस्ट बाकस तथा क्यानहरूका कारण सडक नै पुरिएको देखिन्छ। केही घण्टापश्चात् बल्ल राजमार्ग खुलेको थियो। घटनामा केही सामान्य घाइते भएका थिए। त्यहाँको स्थानीय सञ्चारमाध्यम ट्याम्पा बे टाइम्सका अनुसार व्यस्त राजमार्गमा दुईवटा सेमी ट्रेलर जुधेका कारण तिनलाई बुधवार बिहानै सडकको किनारामा राखिएको थियो। थप दुईवटा सेमी ट्रेलर तथा एउटा पिकअप ट्रकलाई ती गाडी तान्न त्यहीँनेर राखिएको थियो। त्यतिनै बेला बियरले भरिएको पाँचौँ सेमी ट्रेलर त्यहीँनेर आइपुग्यो। तीव्र गतिको उक्त गाडी समयमै रोकिन नसक्दा त्यही पार्क गरेर राखिएका गाडीमा ठोक्किन पुग्यो। बियरका साथसाथै अर्को ट्रकमा भएका कंक्रिट पनि सडकभरि पोखिएको थियो। बिबिसी

चितवनमा ‘पठाओ’ असोज ८ गते देखि सुरु हुने

काठमाडौं । असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो । चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउँछिन् । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो, करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनले भनिन्, ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ, आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’ चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएकाे छ ।

‘व्यवसायीलाई मात्र फाइदा पुग्ने गरेर एमडिएमएस प्रणाली लागू गरियाे’

काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सिमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडिएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनाधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) शुरु गरेको थियो । तर सरकारले सिमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै विरोध शुरु भएको हो । सरकारले बजारमा काट्रेलिङ गर्ने सिमित व्यवसायीहरुको दबाबमा लागू गरेको (एमडीएमएस) प्रणाली उपभोक्ता हीत र मौलिक अधिकारको विरुद्धमा रहेको उनीहरुको आरोप छ । उपभोक्ता अधिकारकर्मीहरुले सिमित मोबाइल कम्पनी र व्यवसायीहरुलाई मोबाइल बजारमा एकाधिकार कायम गर्ने गरी लागू भएको प्रणाली तत्काल फिर्ता गर्न माग गरेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सिमित व्यक्ति र व्यवसायीहरुलाई फाइदा पुग्नेगरी व्यवसायीहरुको दबाबमा परेर मोबाइल व्यवसायमा काटेलिङ गर्ने काम राज्यले नै गरेको आरोप लगाए । उनले राज्यले सिमित व्यवसायीक घरनाको लागि चुनावको मुखैमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्नु न्यायोचित नभएको बताए । अध्यक्ष तिमिल्सिनाले विदेशमा गएर दुःख गरेर कमाएको पैसाले नेपालमा आउँदा दुई पैसा सस्तोमा ल्याउने अधिकारबाट वञ्चित गरेको बताए । उनले मोबाइल व्यवसायीहरुले उपभोक्तालाई लुट्न पाउने गरी सरकारले निर्णय गरेकाले मोबाइल व्यवसायीहरुले उत्सव मनाएको बताए । अध्यक्ष तिमिल्सिनाले उपभोक्तावादको सिद्धान्त राज्य वा सेवा प्रदायकले वस्तु तथा सेवाको विषयमा जानकारी दिनुपर्ने भनेपनि नेपाली मोबाइल व्यवसायीहरुले मोेबाइलको फिचर्सको विषयमा उपभोक्ताहरुलाई सचेत गराउने काम समेत नगरेको आरोप लगाए । उनले अधिकांश मोबाइल कम्पनीहरुको भ्रमपूर्ण विज्ञापन दिइरहँदा समेत सरकारी निकाय मौन बसेको बताए । सरकारले लागू गरेको एमडिएमएस प्रणाली तत्काल खारेज गर्नुपर्ने उनी बताउँछन् । त्यस्तै, उपभोक्ता हीत संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले पनि सिमित व्यवसायीको फाइदाको लागि चाड पर्वको मुखमा सरकारले मोबाइलमा एमडिएमएस प्रणाली लागू गरेको बताए । उनले विदेशबाट चाड पर्वमा नेपाल फर्कंदा दुईवटा मोबाइल ल्याउन पाउने सुविधाबाट समेत वञ्चित गर्ने काम सरकारले गरेको बताए । महासचिव तिमिल्सिनाले चाडपर्वको मौका छोपेर अवैध रुपमा भित्रिएका मोबाइल वैध बनाउने काम हुन लागेको बताए । तिमिल्सिनाले सरकारले व्यवसायीहरुको पक्षमा एमडिएमएस प्रणाली लागू गर्नु व्यवसायी र सरकार बीचको साँठगाँठमा दूरसञ्चार प्राधिकरण डुबाउने काम भएकाे बताए ।

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै अछामका जनक

अछाम । काम देख्नेलाई स्वदेशमै धेरै अवसर छन् । यस्तै एउटा उदाहरण बनेका छन्, अछाम पञ्चदेवल विनायक नगरपालिका– ३ कुरिपाटाका युवा जनक अधिकारी । कृषि विषयमा उच्च शिक्षा अध्ययन गरेका उनी तीन वर्षदेखि कृषि पेसामा रमाइ रहेका छन् । उनले भने, ‘योग्यता अनुसारको काम नपाएपछि व्यावसायिक तरकारी खेतीमा लागेको हुँ ।’ उनको कृषि फार्म मध्यपहाडी पुष्पलाल लोकमार्गसँंगै जोडिएको छ । टनेल प्रविधिमार्फत तरकारीखेती गर्दै आएका उनले एक सिजनमा तीन लाख रुपैयाँ सम्मको आम्दानी गरेका छन् । फार्ममा मुख्यगरी गोलभेँडा, काउली, गोलभेडा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती रहेको छ । उनी आफैले तरकारीखेतीका लागि आवश्यक सबै पूर्वाधार तयार पारेका थिए । एउटा प्लास्टिक टनेलबाट सुरुआत गरिएको फार्ममा अहिले २० ओटा टनेल पुगेका छन् । बजारमा बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निराकरण गर्नका लागि उनले विषादीरहित तरकारीमा विशेष जोड दिएका छन् । बजारको माग अनुसार जग्गा थप गरी आवश्यकता अनुसार व्यवसायलाई बढाउने उनको तयारी छ । उनको यो कर्ममा परिवारका सदस्यको पनि साथ रहेको छ । उनले आफ्नो फार्ममा किसान पाठशालासमेत सञ्चालन गरेका छन् । उक्त पाठशालामा जिल्लाभित्र र जिल्ला बाहिरका किसान आएर अवोलकन गरेर त्यहाँ भइरहेको नयाँ प्रविधिको बारेमा जानकारी लिने गरेका छन् । कृषि जेटिए र आइएसि पढिरहेका कृषि प्राविधिकले त्यहाँ गएर प्रयोगात्मक अभ्याससमेत गर्ने गरेका छन् । आगामी दिनमा उक्त फार्मलाई बढवा दिँदै तरकारीको बीउबिजन उत्पादन गरी बजारिकरण गर्ने लक्ष्य रहेको उनले बताए । जिल्लाका युवा वैदेशिक रोजगारीका लागि भारत र विभिन्न खाडी मुलुकका गइरहेका बेला युवा यसरी कृषि पेसामा आउनु उदाहरणीय काम भएको सरोकारवाला बताउँछन् । यस्ता नमूना किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्ने गरेको छ । पञ्चदेवल विनायक नगरपालिका कृषि शाखा प्रमुख महाजित विकले व्यावसायिक रुपमा कृषि पेसालाई सञ्चालन गरिरहेका नमूना किसानलाई प्लास्टिक घर, थोपा सिँचाइ, बीउबिजन, कृषि आँैजार तथा कृषि प्रविधि सहयोग गर्ने गरेकोे जानकारी दिए । उनले भने, ‘नमूना किसानको पहिचान गरी तिनीलाई व्यावसायिक रुपमा आकर्षण गराउनका लागि कृषि शाखाले आगामी दिनमा पनि सयोगलाई निरन्तरता दिनेछ ।’ रासस