वीर अस्पतालकाे फार्मेसीमा पनि लगाइयाे महानगरकाे डाेजर, पार्क बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडी भागमा रहेको फार्मेसीमा पनि डोजर लगाएको छ । पार्क बनाउँछु भनेर अनुमति लिएको स्थानमा फार्मेसी संचालन भएको पाएपछि महानगरले उक्त स्थान भत्काएको हो । अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ । वीर अस्पतालकै आग्रहमा डोजर चलाएको महानगरले बताएको छ । अब उक्त स्थानमा पार्क बनाउने बताइएको छ ।
‘नाडा ईभी एक्सपो’बाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गर्नेलाई २५ हजार छुटका साथै आकर्षक गिफ्ट
काठमाडौं । लक्ष्मी ई. मोबिलिटीले नाडा ईभी एक्सपोमा स्टल नं सिसेभेनमा बुकिङ्ग गरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ । कम्पनीले आज (बिहीबार) बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा इभी एक्सपोबाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ्ग गर्नेलाई २५ हजार नगद छुट र एकजनालाई लक्की ड्र मार्फत जर्मन ब्राण्ड बोस वासिंग मेसिन प्रदान गर्ने भएको हो । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई। मोविलिटी (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ । नेपाली बजारमा हिरोको एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । भारतमा भने हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि राम्रो बजार लिइरहेको कम्पनी बताउँछ । एक दशकभन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई। मोविलिटीले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिँदैछ । हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो ।
दन्त उपचारमा डिजिटल स्क्यानर प्रविधि,बिरामी र डक्टरलाई सजिलो हुने
चितवन । यहाँको साईराम डेन्टल केयरले दन्त उपचारमा पछिल्लो पटक विकास भएको अत्याधुनिक उपकरण भित्र्याएको छ । डिजिटल डेन्टल स्क्यानर भित्रिएसँगै उपचारमा सहजता भएको हो । नेपालमा भर्खरै भित्रिएको यो प्रविधि उपत्यका बाहिर पहिलो पटक साईरामले भित्र्याएको हो । डेन्टल केयरका सञ्चालक डा सरु थापा न्यौपानेले डेन्टल स्क्यानरको माध्यमबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिने बताए । उनका अनुसार विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्नेलगायत जुनसुकै काम गर्नुपरेमा हातैले नापो लिनुपर्ने, नापो अनुसार ल्याब प्रयोगशालामा पठाउनुपर्ने हुन्थ्यो । प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीँ नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको डा न्यौपानेको भनाइ छ । उनले भने, ‘डिजिटल डेन्टल स्क्यानरले बिरामीलाई एउटै कुर्चीमा राखेर दाँत र मुखको सम्पूर्ण स्क्यान गर्न मिल्छ ।’ यो प्रविधिबाट उपचार गर्दा समयको बचत साथै बिरामी र चिकित्सकलाई सहज हुने उनको भनाइ छ डा न्यौपानेले थपे, ‘दाँत कीराले खाएको छ कि छैन ? गिँजाका समस्या के छ ? मुखमा घाँउ खटिरा के छ ? मुखमा क्यान्सर हुने अवस्था छ कि छैन ? भन्ने कुरा कम्प्युटरको स्क्रिनमा हेरेर थाहा हुुन्छ ।’ विगतमा दाँतको नापो लिएर प्रयोगशालामा पठाउनुपर्ने हुँदा एक दुई दिन समय कुर्नुपर्ने भए पनि अब लामो समय कुर्नु नपर्ने डा न्यौपानेले बताए । डा न्यौपानेले भने, ‘ईमेलमार्फत् प्रयोगशालामा पठाइएको स्क्यान विवरणका आधारमा तत्कालै क्राउन, ब्रिज, दाँत तयार हुन्छ । छोटो समय हुने बिरामीलाई धेरै समय कुर्नु नपर्ने भयो ।’ कुनै बिरामीको दाँत राख्नु पर्ने छ वा दाँतमा कभर राख्नु छ भने पनि सही नापो यसबाट पत्ता लगाउन सकिने उनको भनाइ छ । बिरामीको ईम्प्लान्ट राख्न पनि हातले गर्दा जोखिम हुने बताउँदै उनले स्क्यान डाटाको आधारमा प्लान गरेर बिरामीको मुखमा ईम्प्लान्ट राख्न सहज हुने बताए । उनले भने ‘भोलिका दिनमा बिरामीलाई पुनः बोलाउनुपर्ने समस्या पनि हुँदैन । कुनै बिरामी विदेशमै भए पनि उसको कम्प्युटरमा रहेका विवरणका आधारमा दाँत, ब्रिज, क्राउन तयार गर्न सकिन्छ ।’ २१ औँ शताब्दीमा डिजिटल डेन्टिस्ट्रि प्रविधि अनिवार्य भइसकेको छ डा न्यौपानेको भनाइ छ । उनले भने ‘बिरामीलाई सहज र सरल तरिकाले सेवा दिन यो प्रविधि अति नै उपयोगी छ ।’ अमेरिका युरोप जस्ता देशमा अहिले यही प्रविधिको प्रयोग भइरहेको उनले बताए । रासस
दशैंमा काठमाडौंबाट करिब २० लाख मानिस बाहिरिने, असोज १५ गतेबाट मालबाहक गाडी बन्द
काठमाडौं । दशैं, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए। अहिले चहलपहल बढेको छ र घटस्थापनापछि अझै पनि बढ्नसक्छ । उनले भने, ‘चुनावी चहलपहल र कोरोना कम भएकाले यस वर्ष बढ्नसक्छ ।’ सरकारले १० गतेबाट २५ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्न लागिएको छ । तोकिएकोभन्दा फरक भाडा लिँदा वा कुनै पनि किसिमको दुर्व्यवहार हुँदा सम्पर्कमा राख्न उपाध्यक्ष सुवेदीले यात्रुलाई अनुरोध गरे । ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्नका लागि प्रहरी र महासङ्घको नम्बर टाँस्ने उनको योजनामा छ । उनले भने, ‘अघिल्ला वर्षमा कोभिडका कारण उत्साहपूर्ण नभएकाले यो वर्ष केही उत्साह थपिने अनुमान छ ।’ चितवानसम्म सडकको अवस्था राम्रो भए पनि बुटवाल–नारायणगढ सडक नाजुक भएकाले आवतजावत गर्न अप्ठ्यारो भएको जनाइएको छ । अहिले नारायणगढबाट बुटवलसम्म पुग्नका लागि नै पाँच घण्टा लाग्ने अवस्था छ । उपत्यकाबाट बाहिर र बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुका लागि सरकारले गत शनिबारबाट अग्रीम टिकट खुलाइएको छ । यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीमा अग्रिम टिकट खुलाएको हो । विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्मिलित भदौ २२ गतेको बैठकले सो निर्णय गरेको थियो । यात्रुको सहजतालाई ध्यान दिएर अनलाइन बुकिङको व्यवस्था मिलाउने र यात्रुलाई छुट र सहुलियत प्रदान गर्ने निर्णय भएको थियो । कोभिड–१९ माहामारीलाई मध्यनजर गर्दै माक्सको प्रयोग अनिवार्य गरिएको विभागले जनाएको छ । उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी, मजदूरसँग सहकार्य गरेर प्रभावकारी अनुगमनको व्यवस्था गर्ने बताइएको छ । सुरक्षित रुपमा यात्रु घर जानसक्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीलगायत सबै लाग्न जरुरी रहेको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनले सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने बताए । अहिले अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन चल्नुहुँदैन । यातायात व्यवस्था विभागले १५ गतेबाट यी मालबाहक सवारीसाधन रोक्ने निर्णय गरेको छ । विभागले यात्रुको जानकारी लागि ठाउँठाउँमा भाडाको दर राख्नुपर्ने विभागले जनाएको छ । सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गाडी चार थरीका गाडीमा तोकिएको भाडा लिन जनाइएको छ । यात्रुले तोकिएको ठाउँमा नै गएर टिकट काट्दा मात्रै ठगिनबाट बच्न सक्नेछन् । विभागले १४ ठाउँमा नागरिक सहायता कक्षको व्यवस्था गर्ने भएको छ । त्योसँगै सडक राम्रो बनाउन समन्वय गर्ने, ट्राफिक व्यवस्थापन विभागको काम हो । यातायात व्यवसायीले भएका सवारीसाधनमार्फत यात्रुलाई गन्तब्यसम्म पु¥याउने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । यसवर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने महासङ्घले जनाएको छ । शनिबारदेखि नै टिकट लिन थालेपनि असोज १० गतेबाट धेरै यात्रु जानेछन् । हाल भएका यात्रुमध्ये कोही अहिलेबाट नै जान थाल्छन् भने कोही घटस्थापनादेखि जाने र सबैभन्दा बढी चाप फूलपातीपछि हुने उनले बताए । उनले भने, ‘फूलपातीपछि अति धेरै चाप हुन्छ ।’ यात्रु सजिलो रुपमा आवतजावत गर्न सबैले आ–आफ्नो भूमिका निभाउनुपर्ने उनले बताए । व्यवसायी, मजदूर र ट्राफिक, विभागले भूमिका निभाएपछि मात्रै यात्रु सुरक्षित रुपमा गन्तव्यसम्म पुग्न सक्ने उनले बताए । सरकारले अनलाइन टिकट सुरु गरेपनि त्यसको प्रयोग अपेक्षाअनुसार बढ्न सकेको छैन । पहिलेभन्दा केही बढेपनि अझै व्यवस्थित हुन नसकेको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । अहिलेको समयमा सधैँ यात्रु लाममा लागेर नहुने भए पनि सरकारले अनलाइन टिकटलाई प्रभावकारी बनाउन सकिरहेको छैन । प्रविधिको विकासदेखि सडक मर्मतका विषयमा समयमा नै सुरु गर्नुपर्ने भए पनि चाडपर्व नजिकै आएपछि मात्रै सबै पक्षले ध्यान दिने उनले बताए । यात्रुले काउन्टरमा टिकट काटेपछि हेरेर मात्रै हिँड्नुपर्ने उनले बताए । आफू जाने ठाउँ, मिति मागेको सिट हो–होइन तत्काल हेरेर सच्याउनुपर्ने उनले सुझाव दिए । दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभिइक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न वरिष्ठ उपाध्यक्ष सिटौलाले सडक विभागलाई अनुरोध गरेकाे छ । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी रहेका छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध भइरहेको उनले बताए । काठमाडौंबाट सदरमुकाम गएर त्यहाँबाट यात्रु गाउँगाउँमा जानुपर्ने उनले बताए । उनले भने, ‘गाउँका पहाडी भेगका सडक पनि त्यहाँका डिभिजन सडक कार्यालयले खाल्डा पुर्ने, अवरोध हटाउने र सवारीसाधन चल्न सक्ने बनाउनुपर्छ ।’
छोरी जीवन बीमा गराउन बाँकेको जानकी गाउँपालिकाले छुट्यायो १० लाख बजेट
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । ‘कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,’ प्रशाकीय अधिकृत डाँगीले भने । यसलाई प्रभावकारी कार्यान्वयन गराउन गाउँपालिकाको सबै वडामा पत्राचार गरेको उल्लेख गर्दै उनले सबै वडामा विसं २०७९ साउनयता जन्मेका छोरीहरुले बीमाको सेवा पाउने बताए । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गरे । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाकातर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बीमाको प्रिमियिम पर्ने गरी आउने बीमाङ्क रकम बराबरको जीवन बीमा गरिने छ । यसअघि सो गाउँपालिकाको १२औँ गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’पारित गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो । रासस
विद्यार्थीको मृत्यु भएपछि धादिङकाे गजुरी तनावग्रस्त, ठक्कर दिने बसमा आगजनी
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–१ मा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो । घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । उनीहरूले सडक अवरुद्ध पारेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौंतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ ।
नेपालमा पेट्रोलका सवारी कहिलेसम्म चलाउन पाइन्छ ? यस्तो भन्छन् अर्थमन्त्री शर्मा
काठमाडौं । अहिले विद्युतीय गाडीको लहर सुरु भइरहेको बेला सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयूको विषयमा पनि अध्ययन सुरु गरेको छ । अर्थमन्त्रालयले एक कार्यदल नै गठन गरेर नेपालमा कहिलेसम्म पेट्रोलियम पदार्थका सवारी साधन चलाउन पाइने भन्ने विषयमा अध्ययन गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अहिले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको र अब सरकारले पनि यही नीतिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने धारणा राखे । उनका अनुसार विद्युतीय गाडीको प्रयोगसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको प्रयोग पनि न्यूनीकरण गर्दै लैजानु पर्नेछ । यस्तै, उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले बिद्युत निर्यात गर्ने वस्तु नभएको पनि बताएका छन् । विद्युतलाई उत्पादनमा लगाउनु पर्ने उनको धारणा छ । ‘अहिले बिश्वमा गर्न अर्थतन्त्र कसरी निर्माण गर्ने बारेमा बिश्वमा बहस भइरहेको छ, सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजना बनाइरहेका छन्, ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया उत्पादन गर्ने बहस हामीले गर्दैछौं, नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं, त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं,’ उनले भने । उनका अनुसार अब विस्तारै पेट्रोलियम पदार्थका गाडीको आयात पनि कम गर्ने र प्रयोग पनि कम गर्ने नीति लिइनेछ । त्यसका लागि केही निश्चित समयावधि तोक्ने उनको भनाइ छ । त्यसपछि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रयोग गर्न पाइने छैन ।
२० युनिटसम्म विद्युत् खपत गर्नेलाई महसुल छुट
तानसेन । तानसेन नगरपालिका भित्रका नागरिकलाई विद्युत् महसुलमा छुट हुने भएको छ । पाँच एम्पियरको मिटर जडान गरी २० युनिटसम्म विद्युत् खपत गर्ने घरधुरीलाई महसुल छुट हुने भएको हो । तानसेन नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रसँग सम्झौता गर्दै महिनामा २० युनिटसम्मको विद्युत् खपत गर्ने एक हजार आठ सय १५ घरधुरीको विद्युत् महसुल छुट गर्ने सम्झौता गरेको उपप्रमुख प्रतीक्षा सिञ्जालीले जानकारी दिए । विद्युत् महसुल छुट कार्यविधि २०७९ अनुसार आर्थिक रुपले कमजोर रहेका घरधुरीहरुको पारिवारिक लगत सङ्कलन गरी महसुल छुट दिने व्यवस्था मिलाइएको हो । यसअन्तर्गत प्रतिपरिवार एक वर्षको रु तीन सय ६० को दरले विद्युत् महसुल विद्युत् प्राधिकरणलाई अग्रिम भुक्तानी गर्ने सम्झौता गरिएको पाल्पा वितरण केन्द्रका प्रमुख इन्जिनियर विवेक अधिकारीले बताए । यहाँका विपन्न परिवारलाई लक्षित गरी ११औं नगरसभाबाट महसुल छुट गर्ने निर्णय गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । तानसेन नगरपालिकाले लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुलको २५ प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । पाल्पामा २० युनिटभन्दा थोरै विद्युत् खपत गर्ने परिवारहरु २५ हजार रहेका छन् । रासस