विकासन्युज

एक अर्ब एक करोडमा वीरगञ्जमा चिडियाखाना बनाइंदै

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले जिल्लाको समृद्धि तथा विकास ल्याउने बताएका छन् । वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने पर्सा प्राणी उद्यान सदर चिडियाखानाको आज शिलान्यास गर्दै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीयस्थल नभएको र हाल निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले यहाँ समृद्धि र विकास ल्याउने विश्वास व्यक्त गरेका उनको सचिवालयले जनाएको छ । उनले भने, ‘पर्सामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि र यहाँको समृद्धिसहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गरेको छु, अब यहाँ पर्यटकको सङ्ख्या वृद्धि हुनुका साथै, यहाँको विकासमा थप टेवा पुग्ने छ ।’ मन्त्री यादवले आफू मन्त्री भएपछि पर्सामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर उक्त कार्य सफल भएको बताए । पर्साबासीको आयस्तरमा वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौँ पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले बताए । उनले भने, ‘पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रवद्र्धनसहित त्यहाँका नागरिकको आर्थिक स्तरमा वृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।’ वीरगञ्जमा चिडियाखानाका लागि लामो समयदेखि पहल भए पनि निर्माणका लागि अनुमतिप्राप्त हुनसकेको थिएन । पर्सा र बाराको बीचमा निर्माण गरिन लागेको उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवको विश्वास छ । उक्त चिडियाखाना एक अर्ब एक करोड सात लाख रुपैयाँमा निर्माण गरिन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । उनका अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने छ । चिडियाखानाको क्षेत्रफलभित्र पर्ने ३।१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरिने भएको छ । उक्त चिडियाखाना वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवन क्षेत्रमध्ये वीरगञ्ज महानगरपालिका वडा नं ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडियाखाना स्थापनाका लागि सहमति दिएको थियो । सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको जसमा घाँस बुट्यान क्षेत्रले ३९।४ हेक्टर, सघन क्षेत्रले ७।५ र अतिक्रमण क्षेत्रले ३।१ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिलेकँहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुँगा, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडियाखाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताए । रासस

अर्थमन्त्री भन्छन् : ब्याजको लोभमा बैंकमा पैसा नराख्नुस्, महँगो ब्याजमा पैसा राखेर देशको विकास हुँदैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर बैंकमा पैसा तानिरहेको बताउँदै यसरी देशको विकास नहुने धारणा राखेका हुन् । बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘जुन देशमा बैंकमा पैसा राखेर १३/१४ प्रतिशत ब्याज लिन पाईन्छ, त्यो देशमा कसरी विकास हुन्छ ? समस्या यहिँ छ, यो विषयमा छलफलको गर्दैछौं, ब्याजको लोभमा बैंकमा पैसा थुपार्न हुँदैन,’ उनले भने । यस्तै, उनले अहिले विद्युतीय गाडीमा के कस्ता छुट दिने भनेर छलफल भैरहेको उनले बताए । उनले विद्युतीय गाडी नेपालमा नै बनाउनु पर्ने र त्यसका लागि चार्जिङ स्टेशन पनि निर्माण गर्नु पर्ने धारणा राखे । ‘अहिले बिश्वमा अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने बारेमा बहस भइरहेको छ, सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजना बनाइरहेका छन्, ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया उत्पादन गर्ने बहस हामीले गर्दैछौं, नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं, त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं,’ उनले भने । यस्तै, उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले बिद्युत निर्यात गर्ने वस्तु नभएको पनि बताएका छन् । विद्युतलाई उत्पादनमा लगाउनु पर्ने उनको धारणा छ ।

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गु : सिन्धमा मात्रै २४ घण्टामा ३२३ जनामा देखियो

इस्लामावाद । पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस बिरामी परेका बताइएको हो । यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ । कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र सिन्धमा करिब चार हजार जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार बाढी प्रभावित भएर घरबारबिहीन हुन पुगेका नागरिकमा यस्तो प्रकोप देखिएको पाइएको समाचारमा जनाइएको छ ।यहाँको खैबर पाक्थुन्क्वामा पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

‘बैंकहरुले धम्कीपूर्ण किसिमले ब्याज बढाए, अर्थ मन्त्रालय र राष्ट्र बैंकको इन्टरभेन्सन आवश्यक छ’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याजदर बढाएको बताएका छन् । बिहीबार काठमाडौंमा सुरु भएको नाडा इभी अटो शोमा बोल्दै उनले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याज बढाएको बताएका हुन् । उनले बैंकहरुको यो निर्णयामा अर्थमन्त्रालय र राष्ट्र बैंकले इन्टरभेन्सन गर्नु पर्ने धारणा राखेका छन् । अहिलेको बेथिति भर्खरै समाधान हुन सम्भव नभएको बताउँदै यसलाई समय दिएर अगाडि बढ्नु पर्ने बताए । यस्तै, उनले आयातमा गरिएको कडाइले अर्थतन्त्रमा ठूलो समस्या पर्ने बताए । ‘अब शोधानान्तर सुधार आउन थालेको छ अब अर्थतन्त्रलाई जोगाउन पनि आयातलाई खोल्नुपर्छ, अब अर्थमन्त्रालयले दशं सँगै पोजेटिभ मेसेज देओस्,’ उनले भने । कार्यक्रममा उनले यो संकट धेरै समय नजाने धारणा राखे । ‘सिमेन्टको निकास हुन थालेको छ, यसको लागि अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु, बिदेशी लगानी पनि बढेको जस्तो देखिएको छ, यी सबै कुराहरुले समस्या धेरै समय रहंदैन,’ उनले भने । अर्थतन्त्र अहिले सबैको लागि चिन्ताको बिषय बनेको बताउँदै अहिले आएको चुनौति गम्भीर किसिमको भएको बताए । यस्तै, उनले अर्थतन्त्रका लागि ईभी शो राम्रो भएको बताए । सरकारले लिएको नितिसहि भएको बताउँदै सरकारले ईभी मा दिएको भन्सारका कारण सबैले २५÷३० लाखमा पनि गाडी चढ्न पाउने अबस्था भएको धारणा राखे ।

दिगो विकासका लागि सामाजिक संस्थाको भूमिका आवश्यक: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए । त्रिचालिसौँ सामाजिक सुरक्षा दिवसको मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घसंस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताए । उनले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले सामाजिक सङ्घसंस्थाहरू नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको भन्दै परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । सामाजिक सेवाभावको पवित्र उद्देश्यले स्थापना भएको समाज कल्याण परिषद्ले बहुआयामिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै उनले सामाजिक सङ्घसंस्थालाई देश र समाजप्रति उत्तरदायी बनाएर नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘समाजसेवा पवित्र र पूण्य कार्य हो । समाजका दिनदुःखी अशक्त र सामाजिक आर्थिक दृष्टिकोणले पछि परेका वर्ग, समुदायको उत्थान र विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ, यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन जरुरी छ ।’ प्रधानमन्त्री देउवाले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए । उनले सामाजिक भावकासाथ सेवा प्रवाह गर्न र यसप्रति नयाँ पुस्तालाई आकर्षित गर्न सबैले निःस्वार्थभावले एकताबद्ध भई समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि लाग्नुपर्नेमा जोड दिए । देउवाले गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रम तर्जुमा गर्न पनि आग्रह गरे । प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रम, सीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने बताए । जुन उद्देश्यले सामाजिक संस्था स्थापना भएका छन्, आर्थिक पारदर्शिता अपनाएर सहर केन्द्रितभन्दा पनि दुर्गम गाउँसम्म पुगेर जनताको सेवामा सक्रिय हुनुपर्नेमा उनको जोड थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । उनले परिषद्मार्फत हुने सेवा प्रवाहलाई छिटो–छरितो र सहज बनाउन विद्युतीय प्रणाली अवलम्बन गरेको जानकारी दिए । सामाजिक सेवा दिवसका उपलक्षमा समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा समारोह आयोजना गरेको हो । यो वर्ष ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको छ । गैरसरकारी सामाजिक क्षेत्रलाई सङ्गठित गर्ने उद्देश्यले विसं २०४३ असोज ६ गते स्थापना भएको समाज कल्याण परिषद्को वार्षिकोत्सवका दिन हरेक वर्ष सामाजिक सेवा दिवस मनाइँदै आएको छ । रासस

डलरको भाउ बढ्दै रेकर्ड नजिक

काठमाडौं । डलरको मूल्य निरन्त बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार डलरको भाउ निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको छ। अब नेपालमा १ डलर साट्नको लागि १२८ रुपैयाँ ११ पैसा खर्च गर्नु पर्नेछ । यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा थियो। अहिले डलरको भाउ पुन सोही बिन्दुमा पुगेको छ। यसले डलरको भाउ उच्च बिन्दुमा पुग्ने देखिन्छ । अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरीका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको हो । पछिल्लो समय भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ ।

साथीमार्टको डिजिटल दशैं : क्यासब्याक पनि, उपहार पनि

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले ‘साथीमार्टको डिजिटल दशैं, क्यासब्याक पनि उपहार पनि’ अभियान सुरु गरेको हो । चाडपर्व लक्षित उक्त अभियान भदौ ३० गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ । उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सीईओ सागर पोखरेलले जानकारी दिए । सोअन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइन मार्फत पनि सेवा लिन सक्नेछन्,’ उनी भन्छन् ‘हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं ।’ यस्तै, ग्राहकले सपिङ गरे पश्चात खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुने पोखरेल बताउँछन् । उनका अनुसार, यो अभियान सकिएपछि ‘लक्की ड्र’ मार्फत १० जना भाग्यशाली बिजेता छानिने छन् । जसअन्तर्गत ७ प्रदेशका ७ जना बिजेताले इलेक्ट्रिक कितली र ३ जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमश वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुलो पाउनेछन् । यो अभियान अन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयर लगायत सबैमा लागु हुनुका साथै अनलाइनमा उपलब्ध सामाग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ । अनलाइन सपिङका लागि ग्राहकले साथीमार्टमा गएर वा मोबाइल एपबाट सजिलै सपिङ गर्न सक्नेछन् । भने अफलाइन सपिङका लागि देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी शहर गरि १०८ वटा स्टोर सञ्चालनमा रहेको साथीमार्टले जनाएको छ । ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआइसी एशिया, इ-सेवा, फोन-पे लगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको छ ।

नाडा इभी अटो सो सुरु, ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको गुनासो

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा नाडा इभी अटो सो सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ईभी अटो सो सुरु भएको हो । नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनको प्रदर्शन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नाडा अटोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रबकुमार थापाले अटोमोबाइल क्षेत्र राज्यलाई सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र भएपनि सरकारले कडाइ गरेको गुनासो गरे । अटो व्यवसायीहरुले गत आवमा मात्रै नेपालमा ९९ अर्ब बराबरको सवारी साधन आयात गरेको र त्यसबाट राज्यलाई ९० अर्ब राजस्व प्राप्त भएको बताए । यस्तै, थापाले पछिल्लो ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको र हजारौंले रोजगारी गुमाएको धारणा राखे । थापाले सवारी साधनको आयात खुलाउन पनि अर्थमन्त्रीलाई आग्रह गरे । विद्युतीय गाडीहरुमा लाग्ने स्पेयर्स पार्ट्स र ब्याट्री नेपालमा नै उत्पादन गर्न सम्भव भएको बताउँदै थापाले त्यसका लागि १ प्रतिशत मात्रै भन्सार कर लगाउन उनले आग्रह गरे । नाडा अटोमोबाइल एशोसिएसनले प्रदर्शनमा ८ वटा चार पाङ्ग्रे इभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधनले सहभागी जनाएको छ । आगामी आइतबारसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ । आयोजककाअनुसार पहिलो ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ब्राण्डले भाग लिएका छन् । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिएका छन् ।