प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेर ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ३००रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९० हजार ८०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार १८५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्
मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिए । ‘भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्,’ उनले भने । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उनको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताए । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उनले बताए । जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । ‘विद्यालय भवन र शिक्षक छन्, विद्यार्थी छैनन्, यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन,’ चपाईले भने, ‘केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।’ बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उनले बताए । जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ । बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । रासस
कुमारी बैंकले एकैपटक सञ्चालनमा ल्यायो नयाँ शाखासहित १० एक्सटेन्सन काउण्टर
काठमाडौं । कुमारी बैंकले एकैपटक एक नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र विभिन्न स्थानमा एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको हो । बैंकले काठमाडौंको बल्खु, ईन्द्रायणी, गैरीगाँउ, झोर, आरुवारी, जैसिदेवल, महाराजगंज, छाउनी, भक्तपुरको नेकोसेरा र धनुषाको जनकपुरधाममा गरी थप १० वटा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो । विगत २१ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले हाल १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । र, आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।
कपन आगलागीबाट तीन जनाको मृत्यु, एक घाइते
कपन । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् । कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिए । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आगो निभाउन बौद्ध रामहिटी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
एक वर्षमा १६ हजार २३८ वटा भ्रष्टाचारको उजुरी दर्ता, सबैभन्दा धेरै मधेस प्रदेशको
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताएको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका उजुरी ८ हजार ९३ सहित कुल उजुरीको संख्या २४ हजार ३३१ रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । उनले गत आर्थिक वर्षमा आयोगको कार्यालय टंगालका उजुरी १२ हजार ३ सय र मातहत कार्यालयहरुका उजुरी १२ हजार ३१ गरी कुल २४ हजार ३३१ रहेको बताए । उनले लिखित निवेदन ४ हजार ४९५ अर्थात् २७.७ प्रतिशत, हुलाक सेवाबाट २ हजार ७६० अर्थात १७ प्रतिशत, इमेलमा २ हजार ७५७, वेभसाइटमा २ हजार १६५, टेलिफोन ७५०, समाचारपत्रमा २९०, मोबाइल एपमा १०२, फेसबुकमा ९३, भाइबर १५, एसएमएसमा ४ र अन्य श्रोतमा २ हजार ८०७ गरी १६ हजार २३८ उजुरी गत आर्थिक वर्षमा दर्ता भएको बताए । प्रवक्ता भण्डारीकाे अनुसार भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै मधेस प्रदेशका उजुरी दर्ता भएको छ । उनले मधेस प्रदेशमा २४.२५ प्रतिशत, वागमती प्रदेशमा २४.१३ प्रतिशत, लुम्बिनी प्रदेशमा १४.१, प्रदेश १ मा ११.६१, सुदूरपश्चिममा १०.२०, कर्णालीमा ८.१८ र गण्डकीमा ७.६२ प्रतिशत उजुरी दर्ता भएको बताए । सबैभन्दा कम उजुरी गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाएको छ । त्यस्तै प्रारम्भिक छनोटबाट गत आर्थिक वर्षमा फछ्र्यौट भएका उजुरी कुल उजुरी २४ हजार ३३१ मध्ये १७ हजार १६९ उजुरी अर्थात (७०.६) प्रतिशत उजुरी फछ्र्यौट भएका छन् । त्यस्तै बाँकी आगामी आर्थिक वर्षमा सरेका ७ हजार १६२ उजुरी रहेका छन् । प्रवक्ता भण्डारीले विस्तृत अनुसन्धानबाट आर्थिक वर्ष २०७८/०७९ मा भएको कारबाही संख्या ९१४ रहेको बताए । मुदद दायर १३०, सुझाव ८०, लेखि पठाइएको १७, तामेली ६३७, मुल्तबी ९ र अन्य ४१ कारबाहीमा परेका छन् । उनले उजुरीको क्रम गत वर्षहरुको भन्दा बढ्दै गएको जानकारी दिए । उनले ठूलो खालको मुद्दाका प्रमाण पर्याप्त जुट्न नसक्दा ढिला भइरहेको बताए । चालु आ.व.मा मात्रै ८४ वटा पुनरावेदन गइसकेको उनले बताएका छन् । आज नै आयोगले आयोगको ३२ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । संविधानअनुसार सबै संवैधानिक निकायले वर्षभर सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौंको बुढानिलकण्ठमा ग्यास पड्कियो (भिडियोसहित)
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ग्यास पड्किएको छ । स्थानियले कपनकाे राम मन्दिर नजिकै ७/८ वटा ग्यास पड्किएको आवाज सुनिएको बताएका छन् । ग्यास कसरी पड्कियो भन्ने कारण खुलेको छैन । घटनाको विषय बुझ्न प्रहरी घटनास्थल पुगिसकेको छ । क्षतिको विवरण आउन बाँकी छ । https://bikashnewscdn.prixacdn.net/uploads/2022/09/budhanilkantha-gas-padkiyo.mp4
अब बैंकको ब्याजदर घटाउँछु : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउनुपर्ने धारणा राखेका छन् ।बुधबार दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनको क्रममा पालुङटार पुगेको शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले बैँकमा ब्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउँदै बैंकले दिने गरेको ब्याज घटाउन सरकार लागि परेको बताए । ‘नागरिकहरुलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्नेछ,’ उनले भने । उनले सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेको बताए । उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि बताए । यस्तै उनले पालुङ्गटारलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका छन् । उनले पालुङ्टारलाई सुचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै उनले संघिय सरकार र अर्थमन्त्रालयबाट यसको लागि सम्पूर्ण सहयोग हुने बताए । शर्माले एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताएका छन् । ‘स्मार्ट सिटिमा गरिबी र अभाव भन्ने कुरा हुँदैन, पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हाँसिल गर्नेछ,’ उनले भने । उनले देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले पालुङटारलाई सिफारिस गरेको उनले बताए । लिगलिग पालुङ्टार उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते सम्म चल्ने आयोजक सँस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।
रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नाे केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डेंगुकाे कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडाैं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरणले समेत उक्त रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । उक्त कार्यक्रममा १०० जनाले रक्तदान गरेका थिए । रक्दान कार्यक्रमले धेरै बिरामीहरुको ज्यान सुरक्षित हुन मद्धत पुग्ने कम्पनी विश्वस्त रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बताए । रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५ सयभन्दा बढी कर्मचारीहरु रिलायन्स लाइफमा कार्यरत छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय नयाँबानेश्वरमा रहेको छ । जीवन बीमा सम्बन्धी कुनैपनि जानकारीका लागि कम्पनीको २४/७ सम्पर्क सेन्टर स्थापना गरेका छ ।