विद्युतीय गाडी किन्न एनएमबि बैंकले ८० प्रतिशत लोन दिने, ब्याजदर न्युनतम
काठमाडौं । एनएमबि बैंकले विद्युतीय गाडीहरु बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ्गसँग सम्झौता गरेको छ । बैंकले सिप्रदी ट्रेडिङ्गसँग विद्युतिय गाडी खरिदको लागि न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने भनी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकले ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह गर्नेछ । बैंकले व्यवसायका साथ साथै वातावरणीय संरक्षणलाई सहयोग गर्न उक्त सम्झौता गरेको जनाएको छ । बैंकले यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिएको बताएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
एप्पलले सेप्टेम्बर ७ मा लञ्च गरेको आइफोन १४ प्रो म्याक्स कस्तो छ ?
एजेन्सी । एप्पलले सेप्टेम्बर ७ मा आईफोन १४ सिरिज लन्च गरेको छ । एप्पल आइफोन १४ सिरिजअन्तर्गत आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स लन्च गरिएको छ । आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स हाइ(एन्ड फोनहरूको युगमा प्रस्तुत गरिएको छ। आइफोन १४ प्रो म्याक्स को प्रारम्भिक मूल्य २ लाख २३ हजार ८ सय ४० राखिएको छ । आईफोन १४ प्रो म्याक्सलाई डायनामिक आइल्याण्ड अर्थात् पिल शेप होल पंच कटआउटको साथ ल्याइएको छ। आइफोन १४ प्रो म्याक्समा ६.७ इन्चको सुपर रेटिना एक्स डि आर ओलेड डिस्प्ले राखिएको छ । जसको २७९६१२९० पिक्सेलको रिसोलुसन र १२० हर्जको प्रो–मोसन प्रविधिको रिफ्रेस रेट रहेको छ । आइफोन प्रो म्याक्सको नयाँ चिपसेट ए१६ बायोनिक मार्फत सुसस्ज्जित गरिएको छ भने यसमा ६ कोर सीपीयु ( २ पर्फमेन्स र ४ एफीसीएन्सी कोर) रहेको हुन्छ । त्यस्तै फोनको प्रोसेसरमा ५ कोर ग्राफिक्स पनि जडान गरिएको छ ।
बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता सेयर सार्वजनिक गर्ने भएको छ । कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा कम्पनी र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । वि।सं। २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ । यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाईड्रो (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ । हालै पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिवद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा आइपीओ ल्याउने गरी तयारी थालेको छ । बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगाएतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् । घिमिरे एस.जि ग्रुपका अध्यक्ष समेत हुन । बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निमार्र्ण, बैकिङ्ग लगाएत विभिन्न क्षेत्रमा लगानि रहेको छ ।
तारकेश्वर नगरपालिकाले शिक्षा र खानेपानीमा छुट्यायो ६ करोड बजेट
काठमाडौं । काठमाडौंंको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिकाभित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । नगरपालिकाभित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति रङ्गशाला, पिपलडाँडा खेल मैदान र डाँडागाउँ खेल मैदानलाई चालु आवमा पाँच करोड ५० लाख रकम विनियोजन गरेको नगरप्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । यस्तै, नगरपालिकामा बसोबास गर्ने विभिन्न जातिका भाषा, संस्कृति, कला र स्थानीय परम्परा संरक्षण, स्थानीय परम्परागत संस्कृति संरक्षण गर्न गुठी अक्षयकोषको स्थापना, वडा नं ४ मा रहेको शेषमती नदी संरक्षण गर्ने नीति सो नगरपालिकाले लिएको छ । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न चालु आवमा आठ करोड भन्दा बढी रकम सशर्त अनुदान बाहेक विनियोजन गरेको छ । त्यस्तै ११औँ नगरसभाबाट नगरपालिकाको शिक्षा ऐन २०७६ मा संशोधन गरी सामुदायिक विद्यालयका व्यवस्थापन समिति जनप्रतिनिधिकै नेतृत्वमा रहने गरी उनीहरुलाई सामुदायिक विद्यालयप्रति थप जिम्मेवार र उत्तरदायी बनाइएको छ । तारकेश्वरले आइपर्न सक्ने विपद्को पूर्व तयारीस्वरुप अग्नि नियन्त्रक, शव बाहन, भौतिक संरचनाको गुणस्तर वृद्धि गर्न रोड रोलर तथा सामुदायिक विद्यालयको विद्यार्थी कक्षा निरन्तर दर न्यूनीकरण गर्न स्कुल बस खरिदका लागि चार करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको नगरप्रमुख महर्जनले बताए । विपद् जोखिम न्यूनीकरण गर्न तारकेश्वरका पीडित नगरवासीलाई भौतिक सम्पत्तिमा थप क्षति हुन नदिन मागका आधारमा त्रिपाल वितरण गर्नुका साथै खोलाको सतहलाई व्यवस्थापन गरी बस्ती डुबानलाई न्यूनीकरण गरिएको छ । सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित बनाई प्रतिस्पर्धात्मक र पारदर्शीता कायम राख्न नगरपालिकाबाट हुने सबै खालका ठेक्कापट्टामार्फत गर्नुपर्ने खरीद तथा बिक्री प्रक्रियालाई पारदर्शी बनाउनुका साथै नगरपालिकाभित्रै एनआईसी एशिया बैँकको काउण्टर राखेर कर तथा दस्तुर भुक्तानीका लागि सहज बनाइएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवा व्यवस्थित गर्न एकद्वार सेवा प्रणालीका लागि आवश्यक संरचना निर्माण तथा सेवा सञ्चालन गरिएको छ । उज्यालो नगर कार्यक्रमअन्तर्गत मुख्य सडक, सहायक सडक तथा वस्तीमा क्रमागत रुपमा सौर्यबत्ती जडान कार्य हुनुका साथै वडा नं २ मा बाढीले पुल बगाएकोमा तत्कालै सोही ठाउँमा पुल निर्माण सुरु गरिएको बताइएको छ । उज्यालो नगर सुरक्षित नगर कार्यक्रमअन्तर्गत सडक बत्ती तथा सिसी क्यामेरा जडानका लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा लैजान लागिएको नगरप्रमुख महर्जनले बताए । नगरवासीलाई उचित र समयमा नै घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुरुप प्रत्येक वडाका स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुचारु गरिएको छ । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एक्सरे, अल्ट्रासाउण्ड, ल्याब सञ्चालनार्थ आवश्यक उपकरण खरिद गरिसकिएको बताइएको छ । सङ्घीय सरकारको मार्गदर्शन पालना गर्दै प्रशासनीक खर्च कटौती, पुँजीगत खर्च वृद्धि, दरबन्दीभन्दा बढी रहेका कर्मचारी कटौती गरी चुस्त, दुरुस्त र प्रविधिमैत्री संरचना निर्माण तथा कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ । प्रशासनिक खर्चमा मितव्ययी र पारदर्शी नीति अवलम्बन गर्दै भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गरिएको छ । आफूले पाउने मासिक आर्थिक सेवा सुविधा नलिई उक्त रकम समाजमा रहेका विपन्न बालबालिका तथा ज्येष्ठ नागरिकलाई वितरण गर्ने योजना तय भएको महर्जनले बताए । तारकेश्वरवासीलाई विद्युतीय सेवा नजिकबाटै उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय धर्मस्थलीको स्थापना गर्ने कार्य सुरु भएको साथै नगरभित्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसमक्ष प्रस्ताव पेस गरिएको बताइएको छ । नगरपालिकाभित्र हरियाली नगर कार्यक्रमको समेत शुभारम्भ गरिसकिएको छ । रासस
दरबारको भनिएको मर्सिडिज गाडीको विषयमा सरकार नै वेखबर
काठमाडौं । सोमबार काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टबाट निकालेर अन्यत्रै लगिएको बा १झ ६९० नम्बरको मर्सिडिज बेञ्ज गाडीको विषयमा सरकारी पक्षसँग कुनै जानकारी नभएको पाइएको छ । विभिन्न व्यक्तिहरुले सो गाडी पूर्व राजा विरेन्द्रले प्रयोग गर्दै आएको हुनसक्ने आशंका गरेपनि सम्बन्धित कार्यालयहरुले सो विषयमा तथ्यांक नै नभेटिएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्र कुमार केसीले लक्ष्मी बैंकबाट निकालिएको गाडीको विषयमा मन्त्रालयलाई जानकारी भएको तर सो विषयमा थप अनुसन्धान नगरी केही भन्न नसकिने धारणा राखे । नारायणहिटी दरबार संग्रालयकी प्रमुख ज्योति रावलले आफूहरुले पनि अनलाइनमा आएको सामग्री हेरेको तर त्यहाँ देखिएको सवारी साधन दरबार संग्राहलयको रेकर्डमा नरहेको बताइन् । उनले झट्ट हेर्दा राजा चढ्ने जस्तो गाडी देखिएको तर सो विषयमा आफूहरुलाई जानकारी नभएको बताइन् । ‘हामीले पनि सञ्चार माध्यममा नै आएर थाहा पाएकाैं हाैं, त्यो गाडी दरबार संग्रालयको रेकर्डमा छैन’, उनले भनिन्, ‘हामीसँग रेकर्डमा भएको गाडीहरु हामीसँग नै छन्, त्यो गाडीको विषयमा हामीलाई जानकारी नै भएन, समाचारमा हेर्दा त त्यहाँ भए जस्तै देखिन्छ ।’ समाचारमा हेर्दा गाडीको पछाडि सरकारी नम्बर प्लेट पनि देखिएको तर सो विषयमा आफूहरुलाई कुनै जानकारी नभएको रावलको भनाइ छ । ‘सरकारी नम्बर प्लेट पनि छ, पहिला–पहिला राजाको समयमा लिलाम पनि हुन्थ्यो भन्ने हामीले सुनेको, त्यतिबेला बाहिर निक्लेको पनि हुन सक्छ’, रावलले विकासन्युसँग भनिन् । यातायात व्यवस्था कार्यालय सानाठूला सवारीका प्रमुख मदन पोख्रेलले आफ्नो कार्यालयमा लक्ष्मी बैंकको बेसमेन्टबाट निकालिएको गाडीको विषयमा कुनै तथ्यांक नभएको बताए । पोख्रेलले सो गाडीको विषयमा धेरै व्यक्तिहरुले जानकारी लिन खोजेको तर आफ्नो कार्यालयमा कुनै जानकारी नभएकाे धारणा राखे । ०४६ साल भन्दा अगाडि चलेका गाडीहरुको रेकर्ड प्रहरीकोमा हुने गरेको र पछि प्रहरीले हस्तान्तरण गरेतापनि ३३०० गाडीको सवारी रेकर्ड नआएको पोख्रेलले बताए । ‘०४६ सालभन्दा अगाडि सबै रेकर्डहरु प्रहरीकोमा हुँदो रहेछ, ३३०० नम्बर भन्दा अगाडिको रेकर्ड हामीसँग नहुँदोरहेछ’, उनले भने, ‘उहाँहरुले रेकर्ड हामीलाई हस्तान्तरण गर्नुभयाेे तर पहिलो लटको ३३०० भन्दा अगाडिको चाहिँ ज्यादै पुरानो गाडी भएको हुनाले रेकर्ड हाम्रो कार्यालयमा छैन्,’ उनले भने । त्यो गाडीको रेकर्ड कहाँ छ भन्ने विषयमा आफूहरुलाई जानकारी नभएको उनकाे भनाइ छ । यस विषयमा खेतान समूहसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । सम्बन्धित सामग्री : दरबारको मर्सिडिज गाडी कसरी पुग्यो व्यवसायी राजेन्द्र खेतानको घरमा ?
बीमा समितिको कार्यालय सुदूरपश्चिममा पनि, अध्यक्ष सिलवालले उद्घाटन गर्ने
काठमाडौं । बीमा कम्पनीको नियामक निकाय बीमा समितिको प्रदेश कार्यालय सुदूरपश्चिममा पनि स्थापना भएको छ । कैलालीको धनगढीस्थित स्थापित उक्त कार्यालयको उद्घाटन समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्ने भएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा उक्त कार्यालयको उद्घाटन गर्न लागेका हुन् । सो कार्यक्रम असोज ७ गते बिहान ११ बजे कैलालीको हसनपुरस्थित सुभश्री पार्टी प्यालेसमा हुँदै छ । उक्त कार्यक्रमका लागि बीमा समितिका उच्च पदाधिकारीहरु असोज ६ गते नै धनगढी जाँदै छन् । यसअघि समितिले भदौ १६ गते मात्रै कर्णाली प्रदेशको सुर्खेतमा स्थापना भएको प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।
अब इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा राख्न नपाइने
काठमाडाैं । अब इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्याकेजमा अन्य सेवाहरु जाेडेर सेवा दिन नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट प्याकेजमा टिभी लगायतकाे सेवा जाेड्नु कानुन विपरित भएकाे बताउँदै यस्ताे नगर्न आदेश दिएकाे छ । प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था रहेकाे सूचनामार्फत बताएकाे छ । प्राधिकरणले धेरै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटसँगै आईपीटिभी. सेवा र ओएनयु (अप्टिकल नेटवर्क युनिट) तथा राउटरहरुको प्याकेज बनाई केही सेवा नि:शुल्क समेत प्रदान गर्ने गरी बन्डलिङ गरी प्रचार प्रचार गरेको पाईएकाे बताउँदै यस्ताे नगर्न आग्रह गरेकाे छ । ‘यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट क्रस सब्सिडी समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था विपरीत बन्डलिङ जस्ता गैरकानूनी कार्य नगर्नु/नगराउनुहुन सरोकारवाला तथा सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्रीको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षण संस्था पठनपाठनको थलो भएकाले शिक्षालयलाई राजनीतिक मैदान नबनाउन आग्रह गरेकी छिन् । शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गरे । उनले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गरे । उनले प्रविधि र सामाजिक सञ्जालको प्रभुत्व रहेको आजको युगमा शिक्षाको महत्व अझै बढ्ने भएकाले विज्ञान र प्रविधिको विकास र त्यसका फलस्वरुप विश्वव्यापीकरणले संसारलाई खुम्च्याइरहेको समयमा समयसापेक्ष शिक्षा र सूचना विस्तारका लागि नागरिकको कर्तव्य भएको बताइन् । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकारले हालै सार्वजनिक गरेको शिक्षाको सोचपत्रले शिक्षा विकासको समग्र पक्षमा समावेश गरेको र यो जीवन्त दस्तावेज भएको बताए । उनले मन्त्रालयले दिने शैक्षिक सूचनाको प्रवाहमा कुनै कमी नहुने विश्वास व्यक्त गरे । शिक्षाविद् प्रा डा वासुदेव काफ्लेले गुणत्मक शिक्षाको आधार उत्कृष्टता भएकाले उत्कृष्टता र सन्तुष्टि आवश्यक भएको बताउँदै शिक्षा पत्रकारले खोजी पत्रकारिता र जनचेतनाका लागि काम गर्नुपर्नेमा जोड दिए । शिक्षासेवी सम्मानित र पत्रकार पुुरस्कृत कार्यक्रममा सार्वजनिक शिक्षाको सुधारमा समर्पित विभिन्न शिक्षासेवीलाई सम्मानित गरिएको छ । यस क्रममा धनुषाको जनता माविका प्रधानाध्यापक पवन मण्डल, काठमाडौँको जनकल्याण माविका प्रधानाध्यापक कुमारीकमला राई र विश्वनिकेतन माविका व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ र काभ्रेको जनज्योति माविका प्रधानाध्यापक भानुभक्त मैनालीलाई सम्मान गरिएको छ । यस्तै समाजले स्थापना गरेको २५ हजार रुपैयाँ राशिको शिक्षा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकी पत्रकार तारा चापागाइँलाई प्रदान गरिएको छ । पिपल्स क्राफ्ट एक्सर्टका सञ्चालक तथा समाजसेवी गोपी कँडेलको दुई लाख २२ हजार २२२ रुपैयाँ सहयोगमा सो पुरस्कार कोष स्थापना भएको हो । कार्यक्रममा अक्षय कोष स्थापना गराएकामा व्यवसायी कँडेललाई पनि सम्मान गरियो । रासस