सरकारी जागिर छाडेर बाख्रापालन : रविन्द्रले साढे १ लाखको लगानी ४० लाख पुर्याए
मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक छन् रविन्द्र विक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेएका छन् । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गरेका छन् । व्यावसायिकरुपमा सञ्चालित फाममा उनले केही सहयोगीहरु राखेका छन् । तर पनि उनलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उनलाई फार्ममै भेट्न सकिन्छ । सशस्त्र प्रहरीमा कार्यरत उनले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोडे । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरे । उनलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाएनन् । ‘म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन’, उनले भने । वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उनले नेपालमै केही गर्ने सोच बनाए । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरे । सामाजिक सञ्जालमा बढी चाख राख्ने उहाँले त्यहीँबाट बाख्रापालनका बारेमा सिके । गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए । त्यसले पनि उनलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित ग¥यो । सुरुमा एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गरे । उनको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा भैँसी र एउटा गाई पनि पालेका छ । व्यावसायिक पशुपालनबाट अहिले मासिक ६०/७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उनले २४ लाख रुपैयाँ लगानी गरिसकेका छन् । ‘आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने ४० लाख रुपैयाँ लगानी भएको छ’, उनले भने । कतिपय आफैँले गर्नसक्ने कामहरु उनी आफैँ पनि गर्छन् । जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गरेका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उनी प्रेरणाको स्रोत बनेका छन् । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् । उनले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिएका छन् । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उनलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउँछन् । ‘उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु’, उनले थपे । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उनको भनाइ छ । स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उनी बताउँछन् । बाख्रा सँगसँगै कुखुराबाट पनि उनले राम्रो आम्दानी गरेका छन् । दश पटक ब्रोइलर कुखुरा बेच्दा छ लाख रुपैयाँ फाइदा भएको उनको भनाइ छ । उनले १८ महिनाको अवधिमा १३ लाख रुपैयाँ आम्दानी गरिसकेका छन् । उनले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् । बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उनी बताउँछन् । उनको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उनी बताउँछन् । ‘दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ’, उनले भन्छन् । कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उनले लगाएका छन् । आफूलाई खान पुग्ने तरकारी आफँै लगाएका छन् । उनको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उनले च्याउखेतीसमेत गरेका छन् । च्याउबाटसमेत ८० हजार रुपैयाँ आम्दानी भएकोे उनी बताउँछन् । ‘भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो’, उनले भने । मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उनले बताए । व्यवसायमा उन्लाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । ‘हामी श्रीमान् श्रीमती मिलेर काम गर्छौं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ’, उनले भने, ‘म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।’ उनीहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गरेका छन् । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गरेका छन् । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ । सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उनले बताए । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिए । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताए । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उनको भनाइ छ । ‘कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ’ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उनको तर्क छ । रासस
विभागले भन्यो : अहिले ब्याज बढाउने अवस्था छैन, आफुखुसी बढाए कारवाही गर्छौं
काठमाडौं । सहकारी विभागका सूचना अधिकारी तथा उप–रजिष्टार टोलराज उपाध्यायले सन्दर्भ ब्याजदर बढाउने अवस्था अहिले नभएको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले सहकारीको सन्दर्भ ब्याजदरको विषयमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सन्दर्भ ब्याजदर बढाउने अवस्था नभएको धारणा राखेका हुन् । पछिल्लो समय सहकारीकर्मीहरुले सन्दर्भ ब्याजदर बढाउनु पर्ने माग गरिरहेको बेला उनले विभागको आधिकारिक धारणा भएको भन्दै यस्तो बताएका हुन् । विभाग ऐनको प्रावधानमै रहेर काम गर्ने भएकोले अहिले सन्दर्भ ब्याजदर बढाउने अवस्थामा नरहेको उनको तर्क छ । ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले एउटा उपसमिति बनाएको छ, हामीले अध्ययन गरिरहेका छौं, तर ऐनमै रहेर कुरा गर्ने हो भने ब्याजदर १६ प्रतिशतभन्दा बढी बढाउन सक्ने अवस्था देखिँदैन, कानुन बाहेकका विषय सिफारिस गर्न हामीलाई गा¥हो छ,’ उनले कार्यक्रममा भने । यस्तै, उनले सबैको हितमा राज्य चल्नु पर्ने भएपनि कमजोर वर्गलाई भने बढी प्राथमिकता दिनु पर्ने धारणा राखे । उनका अनुसार सहकारी विभाग सहकारी संस्थाहरुको संख्या घटाउने मनसायमा छ । उनले अहिले आफुखुसी रुपमा ब्याजदर बढाउने सहकारीलाई तत्काल कारवाही गर्ने पनि चेतावनी दिए ।
टेलिकमको अफर : १९९ रुपैयाँमा ४२ सय एमबि डाटा, ४२० मिनेटको टकटाइम र एसएमएस
काठमाडाै । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि उपलब्ध गराइरहेको प्रिपेड कम्बो अफरमा नयाँ प्याक ल्याएकाे छ । टेलिकमले यस अफरमा असोज २ गतेदेखि १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो । एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ मा ४ हजा २०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस्तै, जम्मा ३४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी ४९९ रुपैयाँमा १९ हजार ६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिन भित्रमा जम्मा ६०० वटा र ६० रुपैयाँमा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।
युरोपियन मेडिसिन एजेन्सीले भन्यो : कोभिडको नयाँ लहरका लागि तयार रहौं
दि हेग । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्काे लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो । मङ्गलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको छ भन्दै तर पनि महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो । युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएका हुन् । उनले भनेका छन्– यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । युरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्काे लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ । उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताएका छन् । उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए । उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिडका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका हुन् । रासस/सिन्ह्वा
दक्षिणी पाकिस्तानमा डेङ्गुको कारण २७ को मृत्यु
इस्लामावाद । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ । सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ सक्रिय सङ्क्रमितको सङ्ख्या रहेका छन् । कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् । पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना सङ्क्रमित भएका छन् । रावलपिंडी सहरमा ५४ जनामा सङ्क्रमण देखिएको छ । यसवर्ष रावलपिंडीमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ । यसैबीच २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार साँझसम्म पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ । बाढी सम्बन्धी छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले मङ्गलबार जनाइएको छ । देशको सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिणी सिन्ध प्रान्त नौ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक जनाको मृत्यु भएका जनाइएको छ । एनडीएमएले मङ्गलबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा एक हजार पाँच सय ६९ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ६० जना घाइते भएका छन् । यस प्रकोपले ५० हजार नौ सय ४० घरहरु क्षतिग्रस्त पारेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।
जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु
काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको छ । उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस तीन सय २० नियो सिरिज जहाज प्रयोग गर्ने जनाएको छ । कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतमबुद्ध विमानस्थलपछि चीन उडान सुरु गरेको हो । हाल यो कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिँदै आएको छ । उडान गन्तव्य विस्तारसँगै कम्पनीले दुई एयरबस तीन सय २० जहाज थप्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान सुरु गरेको तीन महिनामा जजिराले करिब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
सुरेश ठाकुर : कपाल काटेरै छोरालाई सीए बनाए, ठड्याए तीन तले घर
चितवन । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाएका छन् । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाएका हुन् । कपाल काटेरै उनले भरतपुरमा तीन तलाको घर बनाएका छन् । त्यसो त उनका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लागेका हुन् । स्थानीयस्तरमा काम सिकेर छ महिना उनले भारतको दिल्ली पुगेर तालिम लिएका हुन् । विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उनले कपाल काट्न सुरु गरे । त्यतिबेला उनको उमेर १८ वर्षको थियो । उनले भने, ‘म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।’ २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उनी अहिले केही पर सरेका छन् । यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उनी सम्झाँउछन् । त्यतिबेला दाह्री र कपाल काटेको १० रुपैयाँ लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उनलाई अनुभव छ । अहिले यो सङ्ख्या ३०/३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उनमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसकेका थिए । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किने । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थालेका छन् । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गरेका छन् । उनका छोरी कक्षा १२ पढ्दै छिन् । अहिले पनि निरन्तर कपाल काट्दै आएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउँछन् । जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भने, ‘मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।’ कर्मथलो चितवन बनाएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उनी बताउँछन् । रासस
आइएमई पे र ट्राफिक कार्यालयले वालेटबाट जरिवाना भुक्तानी प्रबर्द्धन गर्न सहकार्य गर्ने
काठमाडौं । ‘आइएमई पे’का प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा उक्त छलफल भएको हो । छलफल बस्नेत र चौधरीबीच ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जाने सहमति भएको छ । उपत्यका ट्राफिक प्रमुख चौधरीले ट्राफिक जरिवाना भुक्तानीका लागि आइएमई पेलाई ट्राफिक अग्रसर गराउन आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताएकी छिन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेका छन् ।