तारा, सिता र समिट एयरले रामेछापबाट लुक्ला उडान गर्ने, नेपालीलाई ५ हजार २८० रुपैयाँ लाग्ने
काठमाडाै । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार दुई सय ७५, नेपालीका लागि पाँच हजार दुई सय ८० रुपैयाँ र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति सात हजार ५० रुपैयाँ भाडादर लागू हुने बताइएको छ । रासस
नेपाललाई जापानद्वारा करिब १६ अर्ब सहयोग
काठमाडाैं । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौं र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ । नेपालकोतर्फबाट अर्थसचिव कष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानकोतर्फबाट यहाँस्थित राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा अर्थसचिव पुष्करले सम्झौताबमोजिमका आयोजना कार्यान्वयनबाट नेपालको सिँचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनियता बढाउन तथा प्रसारण चुहावट न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । नेपालको सामाजिक–आर्थिक एवं मानवसंशाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै उनले दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । नेपालका लागि जापानी राजदूत युताकाले उपलब्ध सहयोगबाट नेपालको कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र सहरी क्षेत्रको विद्युत् व्यवस्थापनमा सहयोग धारणा व्यक्त गरे । नेपाल र जापानबीचको सम्बन्ध सदियौँदेखि सुमधुर एवं घनिष्ट रहेको चर्चा गर्दै राजदूत युताकाले शिक्षा, स्वास्थ्य, जलविद्युतलगायतका क्षेत्रमा गरिएको सहयोगबाट नेपाली जनताको जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरे । जाइका नेपालका प्रमुख अकिमित्सुले नेपालको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरी नेपाली जनताको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समृद्धि फाइनान्सको जनकपुर शाखा कार्यालय उद्घाटन
काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुर शाखा कार्यालयको उद्घाटन एक कार्यक्रम गरी आयोजना गरेको छ । मधेश प्रदेशका भौतिक पूर्वाधार विकाश मन्त्री राम सरोज यादवले बुधबार जनकपुर शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए । उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, जनकपुर उ।वा। संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेलको उपस्थिति रहेको थियो । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै, फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
दशैअघि नै सहज बनाइँदै ग्रामीण सडक
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिकामुकाम जोड्ने स्थानीय सडकको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताए । ‘दसैँमा नगरवासीलाई सहज सडकमार्फत ओहोरदोहोर गर्ने वातावरण बनाउन नगर प्रमुखकको निर्देशन थियो’, उनले भने, ‘हामीले सबै वडामा काम थालेका छौँ, मजदुर र स्काभेटरको प्रयोग गरेर सडक मर्मतको काम भइरहेको छ ।’ जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा सरङ्गे खण्ड मर्मतको काम सकिएको छ । सबै वडामा वडाध्यक्षको सक्रियतामा सडक मर्मतको काम भइरहेको उनले बताए । अर्को बर्खा नलाग्ने बेलासम्मका लागि सडक सहज हुनेगरी मर्मत गरिएको जनाइएको छ । मुख्य चाडबाड नजिकै आइरहेका बेला ओहोरदोहोर गर्न सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा दुर्घटनाको डर हुने भएकाले मर्मत गर्नुपरेको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए । सवारी नै नचल्ने र चले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दसैँअगावै सडकलाई सञ्चालनमा ल्याउन लागिएको बताएको छ । बरेङ गाउँपालिकाले पनि दशैँ लक्षित सडक मर्मतको काम थालेको छ । हरेक वर्ष वर्षा सकिएसँगै स्थानीय सडकको मर्मत गर्दै आएको गाउँपालिकाले यस वर्ष पनि मर्मतको काम थालेको हो । ‘खहरे खोलाले खोलका ठाउँमा सवारी चल्नै नसक्ने अवस्था छ, कच्ची सडक भलबाढीले क्षत्विच्छेद बनाएको छ’, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘चाडबाडका बेला नागरिकलाई सहजताका लागि सडक मर्मतको काम थालेका छौँ ।’ काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख रुपैयाँ बजेट दिएर सडक मर्मत गर्न लगाएको छ । वडाले नै परिचलान गरेर मर्मत भएको सडक संरक्षण हुने भन्दै गाउँपालिकाले अधिकार प्रत्योजन गरेको हो । ‘चाडबाड आए भनेर सडक मर्मतको काम भइरहेको छ, तर वर्षा रोकिएको छैन’, गाउँपालिका अध्यक्ष राजु थापाले भने, ‘दिनभर सडक बनाउने, रातभर पानीले बगाउने भइरहेको छ ।’ बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रभन्दा बाहिरका वडामा सडक मर्मतको काम थालेको छ । नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडक कच्ची नै रहेका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ । यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाटसमेत माग आएकाले सडकलाई दसैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरामा सडक खुलाउने विषयमा समेत नगरपालिका लागिरहेको उपप्रमुख राजु खड्का बताउँछन् । गत वर्ष खसेको पहिरो नरोकिँदा वर्षाभरि नै बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुने गरेको छ । रासस
स्मार्टडोकोबाट दशैं सपिङ गर्दा ६७ प्रतिशतसम्म छुट पाइने
काठमाडौं । इकर्मश एप स्मार्टडोकोले यस दशैंमा आफ्नो ग्राहकहरुका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ । यस चाडपर्वमा ग्राहकहरुले स्मार्टडोकोबाट इलेक्ट्रोनिक्स, किराणा समान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै समानहरु किन्दा ६७ प्रतिशतसम्मा छुट पाउन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक दिन पेबल स्मार्टवाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ्ग ग्यालेक्सी समार्टफोन जित्ने मौका पाउनेछन् । ग्राहकहरुले हिमालयन बैंकको कार्ड प्रयोग गरेर खरिद गर्दा १ हजार वा १५ प्रतिशत क्यासब्याक पाउन सक्नेछन् । यस्तै, ग्राहकहरुले ुवान रुपी गेमुमा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरु जस्तै रिम्याक्स ब्लुटुथ हेडफोन, एक्यु फिट स्मार्टवाच, पेबल इयरफोन, इनर्जजाइजर पावर बैंक हरु जित्न सक्नेछन् । यसका साथै, ग्राहकहरुले अन्य थुप्रै उपहारहरु जस्तै बोया माइक, ह्वाकिन्स प्रेसर कुकर, इलेक्ट्रिक बिबिक्यु ग्रिल मेसिन, इन्डक्सन पनि जित्ने मौका पाउनेछन् । काठमाडौं उपत्यकाभित्रका ग्राहकहरुले ७५० को न्यूनतम अर्डर मूल्यमा फ्रि डेलिभरीको सुविधापनि पाउने कम्पनीले बताएको छ । यस अफर असोज ५ गतेदेखि ११ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । स्मार्टडोकोमा ५० हजारभन्दा पनि बढी सामानहरु उपलब्ध छन । जस्मा बेबी केयर, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, कोभिड र डेंगु आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु रहेका छन् ।
प्राइम लाइफका बीमितले प्रतिहजार ८० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० देखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ५० रुपैयाँ, १५ देखि १९ वर्षको ५८ रुपैयाँ, २० देखि २४ वर्षको ६५ र २५ देखि माथिको ८० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, कम्पनीले प्राइम जीवन उपहार योजना (अग्रिम भुक्तानी) मा ४२ रुपैयाँ बोनसदर तोकेको छ । जसमध्ये प्राइम जीवन उपहार योजना (सावधिक) ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यी दुई योजनाका क्रमशः १६ र १५ वर्षकाले पाउने छन् । अघिल्लो वर्षमा कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो ।
विद्युतीय गाडी बारे तीन दिने सेमिनार ‘नाडा इभि चौतारी’ हुँदैं
काठमाडाैं । नेपालमै पहिलाेपटक असाेज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डपमा हुन गइरहेको ‘नाडा इभि एक्स्पो’ मा नाडा इभी चौतारी सेमिनार पनि संचालन हुने भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा नेपालमै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर एक्स्पो चलिरहेको समयमा नै असाेज ७ गते देखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजे देखि ४ बजेसम्म युएसऐडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हाे । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका विद्युतीय गाडीकाे सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने बताइएकाे छ । इभि चौतारीको पहिलो दिन इभीकाे टेक्नोलोजी र इकोसिस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन विद्युतीय गाडीकाे वित्तिय पक्षको बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्नेछन् र अन्तिम दिन विद्युतीय गाडीकाे प्रबन्ध गर्न चाहिने नीतिकाे विषयमा छलफल हुने बताइएकाे छ । यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाड्ने चौतारी हुने नाडा बताउँछ ।
मुगुको स्याउले बजार पाएन
मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाहीले भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियाे, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’ यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, ‘छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।’ स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे । रासस