ललितपुरले अवैध संरचना हटाउन दियाे ३५ दिनको अल्टिमेटम
काठमाडौं । ललितपुर महानगरपालिकाले नक्सा विपरितका अवैध संरचनाहरु हटाउन ३५ दिनेको अल्टिमेटम दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै ३५ दिनभित्र सबै अवैध संरचनाहरु हटाउन निर्देशन दिएको हो । सूचनामार्फत महानगरपालिकाले सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका सबै संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचनाहरु नहटाए महानगर आफैले त्यस्ता संरचना हटाउने जनाएको छ ।
म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन
बेनी । म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरी ‘रिसेका’ रिखार, सेञ्चुरी, कालीबराह पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरी परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका अभियन्ता मनबहादुर खत्रीको टोलीले ‘रिसेका’ पदमार्गकोसमेत अध्ययन गरेको हो । भदौ अन्तिम सातादेखि असोज ३ गतेसम्म म्याग्दीको चिमखोला, कुइनेमङ्गले हुँदै मुस्ताङको कालापानीसम्मको रिसेका पदमार्गको सम्भाव्यता अध्ययन गरिएको मोहनबहादुर खत्रीले बताए । उनका अनुसार, धौलागिरि हिमालको दक्षिण आधार शिविर जाने सेञ्चुरी पदमार्ग, कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार र चिमखोलाको कालीबराह ताल क्षेत्र र मुस्ताङको लेते जोड्ने गरी नयाँ पदमार्गको खोजी गरिएको हो । यस पदमार्गअन्तर्गत कुइनेमङ्गलको पात्लेखर्कबाट पदमार्ग सुरु गरी रिखार–रुरुचौर–मानापाथि आधार शिविर–धौलागिरि दक्षिण आधार शिविर–आइसफल भ्यु पोइन्ट–कालिबराह ताल र त्यहाँबाट मुस्ताङको कालापानी निस्कन सकिने गरी पदमार्गको पहिचान गरिएको खत्रीले बताए । बेनीबाट एक साताको पदयात्रा गर्न सकिने गरी पदमार्गको पहिचान गरिएको र यसलाई नक्साङ्कनको तयारी गरिएको उनको भनाइ छ । यस पदमार्गमा धौलागिरि आइसफल पदमार्गका साथै धौलागिरि पदमार्गको सिङ्कोसबगर, मल्कबाङको च्यामलीडाँडा, चौरवन हुँदै रिखार जोड्ने परम्परागत भेडीगोठ मार्ग र कालीबराहदेखि पहेलीबराह, ठूलीमेला, मुली, घ्वाङ्खर्क, खल्मी, टकसार हुँदै मुस्ताङको कोवाङ जोड्ने परम्परागत चौरी मार्गसमेत जोडिन्छन् । हिमाली भूगोललाई समेटिएको यो पदमार्ग अन्य पदमार्गको तुलनामा शाहसिक हुने पर्यटनविद् बताउँछन् । पदमार्गअन्तर्गत सबैभन्दा अग्लो स्थान चार हजार नौ सय मिटर उचाइको बाँझोखर्क, भ्यु–पोइन्टबाट लोभलाग्दो दृष्यको अवलोकन गर्न सकिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका हिमालको अवलोकनका साथै हिमाली भेगमा रहेका भेडा र चौँरीका गोठ, वन्यजन्यु, चराचुरुङ्गी, जडीबुटी, हिमाली भूगोल पर्यटकका लागि थप आकर्षणका रुपमा रहेका छन् । धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर नै तयार गरिएको अवस्थामा दुवै पदमार्गलाई समेट्दै छुटेका गन्तव्यलाई समेत समेट्ने रिसेका पदमार्गले यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । रासस
ग्रेटवाल मोटरको ‘हाभल जोलायन’ले प्रतिष्ठित एनक्याप सेफ्टी रेटिङमा पायो फाइभ–स्टार
काठमाडौं । जि.डब्लु.एम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) ले सेफ्टी रेटिङमा ५ स्टार दिएकाे छ । यस परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरुसँग ठोक्किँदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो । एनक्याप सेफ्टी रेटिङ एनक्याप को २०२०–२०२२प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिईएको हो । हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको एनक्यापका प्रमुख कार्यकारी अधिकृत कार्ला हुरवेगले बताएका छन् । थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्याननले पहिले नै एनक्यापबाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेकाे छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो ।
महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा
खलङ्गा । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरे । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो । सुदूर पहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटरेवल पुल बन्न लागेको हो । यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेवल पुल रहेका छन् । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । त्यसैले त्रिदेशीय नेपाल–भारत–चीन व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ । महाकाली नदीमा पक्की पुल निर्माण दुई देशको सम्बन्ध झन मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताए । दार्चुलामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताए । ‘यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास छ’, उनले भने । भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ एक सय १० मिटर रहेको छ । पुल निर्माणपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताउँछन् । ‘सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्वपूर्ण हुनेछ । उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थलमा पर्यटकको आगमन बढ्ने देखिन्छ’, उनले भने । सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थल दार्चुलाको मालिकार्जुन, तपोवन तीर्थस्थल, ब्यास गुफा, बैतडीको त्रिपुरासुन्दरी र निङ्गलासैनी, बझाङको सुर्मासरोवर, बाजुराको बडिमालिका, डडेलधुराको उग्रतारा मन्दिर, अमरगढी किल्लालगायतमा भारतीय पर्यटकको आगमन बढ्ने उनी बताउँछन् । त्यस्तै अछाममा रामारोसन, वैजनाथ र विनायकपञ्च प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिन्छन् । त्यस्तै डोटीको शैलेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् । नेपाल–भारत जोड्ने पक्की पुलले दार्चुलामा रहेको अपी हिमाल र बझाङमा रहेको साइपाल हिमाल अवलोकन गर्न पर्यटकको आगमन हुने सम्भावना छ । प्रमुख पर्यटकीय धार्मिकस्थल कैलाश मानसरोवरसम्म पर्यटकलाई आवतजावत गर्न सहज हुने छ । भारत सरकारको लगानीमा बन्ने पुल र महाकाली करिडोरले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ । नेपाल–भारत–चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर निर्माण गरिँदै छ । विसं २०६६ देखि उक्त करिडोर निर्माण थालिएको हो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको तिङ्करसम्मको करिडोरको लम्बाइ चार सय २५ किलोमिटर छ । महाकाली करिडोरअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारबाट तिङ्करसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । रासस
कमेडियन राजु श्रीवास्तवकाे निधन
काठमाडौं । भारतिय हास्य कलाकार रनजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।श्रीवास्तवलाई साउन २५ गते जिममा ट्रेडमिलमा दौडिरहेको बेला हृदयाघात भएपछि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेकै दिन उनको एन्जियोप्लास्टी अपरेसन पनि गरिएको थियो । श्रीवास्तवलाई अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । भेन्टिलेटरमा १५ दिनपछि राखेपछि उनी होशमा आएका थिए । तर, भदाै १६ गते उनलाई १०० डिग्री ज्वरो आएपछि फेरि भेन्टिलेटर सपोर्टमा राखिएको थियो । उनले १९८० को दशकको अन्त्यदेखि मनोरञ्जन उद्योगमा काम गर्न सुरु गरेका थिए । २००५ मा स्ट्यान्डअप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनमा भाग लिएपछि उनी चर्चामा आएका थिए ।
बढी आम्दानी हुने भएपछि मकैखेतीमा किसान आकर्षित
झापा । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गरेका छन् । भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । ‘धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ’, यादव भन्छन्, ‘बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहेनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकैखेती गर्दै आएको छु ।’ उनले प्रतिबिघा वार्षिकरूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । जसमध्ये तीन बिघा जमिनमा उनले यसपालि बैमासमी मकै लगाएका छन् । उनले पानी नजम्ने अली डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताए । यादवले एउटै मकैको बोटमा दुईवटासम्म घोगा लाग्ने र प्रतिघोगा १५ रुपैयाँका दरले बोटबाटै बिक्री गर्ने गरेको बताए । उनले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताए । भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकरभिट्टालगायतका सडकपेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकैखेती आफूले सुरु गरेको उनको तर्क छ । ‘गर्दा यही हुँदोरहेछ’, उनले भने ‘व्यापारीले पनि भारतपुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकैखेती गर्दा हुन्छ ।’ कृषि ज्ञान केन्द्रका पूर्वप्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यतिबेला लहलह मकै हुनु खुसीको कुरा भएको बताए । उनले असारदेखि कात्तिक मङ्सिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदोरहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताए । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बताए । रासस
प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
सहकारी क्षेत्रमा मर्जरको लहर, सहकारीकर्मी भन्छन् : अब पाँच हजारमा झार्नुपर्छ
काठमाडौं । पछिल्लो समय सहकारी क्षेत्रमा मर्जरको लहर सुरु भएको छ । सहकारी संस्थाहरुमा विभिन्न समस्या देखिन थालेको र अर्थतन्त्रमा देखिएको समस्या सहकारी संस्थाहरुमा पनि देखिन थालेपछि एकपछि अर्को सहकारी संस्थाहरु मर्जरमा जान थालेका हुन् । केही समय अघि एकदुइ वटा सहकारी संस्थाहरुमर्जर भइरहे पनि पछिल्लो समय भने बिग मर्जरका रुपमा एकै पटक धेरै संस्थाहरु मर्ज हुन लागेका छन् । यतिबेला सहकारी संस्थाहरुले बिग मर्जर अभियान नै सुरु गरेका छन् । सहकारी संस्थाहरुको संख्या अत्याधिक भएपछि संख्यात्मकबाट मर्जर गरेर गुणात्मक सेवामा अग्रसर भएका देखिन्छन् । नियामक निकायलाई पनि अनुगमन र निरीक्षण गर्न गाह्रो भएपछि सहकारी क्षेत्रमा धेरै समस्या देखिन थालेका छन् । जसले गर्र्दा अहिले धमाधम सहकारी संस्थाहरु मर्ज हुन लागेका हुन् । सहकारी संस्थाहरुको संख्या धेरै भएपछि अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै सहकारी सञ्चालकहरु स्वेच्छिक रुपमा मर्जरमा जोड दिइरहका छन् । हाल सहकारी संस्थाहरु केन्द्र सरकार मात्रै नभएर प्रदेश र स्थानीय तहले पनि दर्ता गर्न पाउने व्यवस्था छ । जसले गर्दा सहकारीको संख्या बढ्दै गएको र अस्वस्थ प्रतिस्पर्धा बढेका कारण मर्जरमा जोड दिइरहेको सञ्चालकहरुले बताएका छन् । राष्ट्रिय सहकारी महासंघकी जनरल म्यानेजर चित्रा कुमारी थामसुङ सुब्बाले सहकारी संस्थाको संख्यात्मक वृद्धि मात्रै भएकाले अब गुणात्मक सुधारका लागि सहकारी संस्थाको मर्जर आवश्यक रहेको बताइन् । सहकारी संस्था प्रतिस्पर्धात्मक हुनुपर्ने आवश्यक भएकाले मर्जरका लागि आफै स्वेच्छिक अग्रसर भएको उनको भनाइ छ । ‘संख्या धेरै भएकाले अब सहकारीमा गुणात्मक वृद्धि गर्नुपर्छ, अहिलेको युग प्रतिस्पर्धात्मक हो, जति राम्रो सेवा दिन सकिन्छ सदस्यहरुको विश्वास त्यति नै धेरै बढ्छ, सहकारी संस्था सदस्यहरुले चल्ने हो,’ उनले भनिन्, ‘सहकारी संस्था धेरै र सानो हुँदा कस्ट अफ फण्ड, व्यवस्थापन खर्च बढी लाग्ने गरेको छ, व्यवस्थापन खर्च कम, संस्थालाई वित्तीय लगात हरेक रुपमा स्मार्ट बनाउनका लागि सहकारी संस्थाहरु मर्जरमा जान जरुरी छ । बैंक तथा वित्तीय संस्थामा तरलता संकट र लगानीयोग्य रकमको अभाव, कोरोना महामारी पश्चात् र रुस–यूक्रेनको युद्धका कारण आर्थिक मन्दीको समस्या देखिएकाले त्यसको चाप सहकारी क्षेत्रमा परेको उनको धारणा छ । बैंक तथा वित्तीय संस्थाले अस्वीकार गरेका ऋणीहरु कर्जा चाहियो भनेर सहकारी संस्थामा आइरहेकाले नियमित सेवा सुविधा प्रवाह गर्नका लागि सहकारी संस्थालाई बलियो, सबल, सक्षम बनाउन मर्जर हुनु परेको उनी बताउँछिन् । ‘३० हजारबाट सहकारी संस्थाहरुको संख्या ५ हजारमा झार्नुपर्छ, कतिपय संस्थामा एउटा ब्यक्ति र अर्काे संस्थामा त्यहि ब्यक्ति हुन्छ, अब सहकारी संस्थालाई ५ हजारमा झार्नेगरी योजनाबद्ध रुपमा जानुपर्छ,’ उनले भनिन्, ‘यो बेलामा संकट आयो र सहकारी क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ, त्यो प्रभावलाई न्यूनीकरण गर्नका लागि एकिकरणमा जानुपर्ने आवश्यक छ, अहिले मर्जरको सुरुवात भएको छ, मर्जमा गएका संस्थाहरुलाई प्रोत्साहन तथा उत्सहान गर्न कर छुट लगायतको व्यवस्था गर्नुपर्छ ।’ सरकारले मर्जरका लागि दबाव र जवरजस्ती गर्ने भन्दा पनि सदस्यहरु र सञ्चालक समितिले छलफल गरेर जाने विषय हो । तर, मर्जरको स्वीकृति नियामकले दिने भएकालेमर्जरका प्रक्रियाहरु छिटोछरितो हुनु पर्ने उनले बताइन् । ‘बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरका लागि दबाव दिने गरेको छ, बैंक तथा वित्तीय संस्था सहकारी संस्थाभन्दा एडभान्स हो, प्रतिस्पर्धी बन्नका लागि बैंक तथा वित्तीय संस्थालाई मर्जर गराइरहेको छ भने सहकारी संस्था त स्वभाविक रुपमा मर्जरमा जानै पर्छतर, मर्जरपश्चात् शुसासित, मर्यादित रुपमा सञ्चालन हुनुपर्छ, सहकारीका मूल्य र सिद्धान्त अनुसार काम गर्नुपर्छ,’ उनले भनिन् । राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका सहारा नेपाल बचत तथा सहकारीका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी पनि ३० हजार सहकारी संस्थालाई मर्जर गराएर ५ हजारमा झार्नुपर्ने बताउँछन् । अहिलेको परिस्थिती र अवस्थालेसहकारी संस्थालाई ५ हजारमा झार्नसम्भव रहेको उनले बताए । तरलता अभावको समस्या, सा–साना संस्थाको प्रशासनिक खर्चदेखि लिएर सम्पूर्ण वित्तीय खर्चमा समस्या पर्ने भएकाले मर्जर आवश्यक रहेको उनको भनाइ छ । ‘सबै स–साना संस्था मर्ज भयो भने तरलताको व्यवस्थापन, वित्तीय खर्च जुटाउन सहज र सदस्यहरुलाई राम्रो सेवा दिन सकिन्छ, सहकारी संस्था ५ हजार भए प्रयाप्त हुन्छ, राज्यको दबावले भन्दा पनि स्वेच्छिक रुपमा मर्ज हुनुपर्छ,’ उनले भने, ‘सहकारीमा देखिएका समस्याका कारण मर्जरमा जानु पर्ने बाध्यता पनि आएको स्वभाविक हो तर, स्वस्फूर्त रुपमा सदस्यहरुलाई बैंक तथा वित्तीय संस्थाको भन्दा राम्रो सुविधा दिनका लागि मर्जर आवश्यकता हो, राम्रो शुसासनयुक्त संस्था बन्नका लागि मर्जर आवश्यक परेको हो ।’ राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुबनारायण यादव अहिले सहकारी क्षेत्रमा मर्जरको लहर चलेको बताउँछन् । ‘सहकारी क्षेत्रमा मर्जर हुनु अतिउत्तम रहेको उनको भनाइ छ । ‘सहकारीले दिइरहेको सेवालाई अझै बढी सेवा दिन, पूँजी प्रयाप्त गर्न, कर्मचारीहरुको सेवा सुविधा सम्पन्न गर्न, संस्थामा आवद्ध सदस्यहरुको सम्पत्ति वा पूँजी बढी भएपछि थोरै लागतमा धेरै काम गर्न मर्जर आवश्यक छ,’ उनले भने । सहकारी संस्थाहरुमा मर्जरको अभियान क्यानडा लगायतका देशहरुबाट सुरुवात भएकोले नेपालमा पनि आवश्यक रहेको उनले बताए । मधेश प्रदेशमा भने मर्जरमा खासै आक्रामक नदेखिएको उनी बताउँछन् । मधेश प्रदेशमा विभिन्न जाति, धार्मिक, राजनीतिक हिसावले मर्जर गर्न कठिन भएको उनले बताए । ‘सहकारीमा देखिएको समस्याले मर्जरमा बाध्यता आएको भएपनि यसलाई सुनौलो अवसरका रुपमा लिनुपर्छ, बैंक तथा वित्तीय संस्थामा संकट छ, बैंकहरु पनि मर्जर भएर ठूलो संस्था बनाउन लागि रहेका छन्, तरलताको समस्याले मर्जरलाई बढी झकझक्याएको छ, अहिलेको वित्तीय संकटलाई मर्जरले सघाउ पुर्याएको छ,’ उनले भने, ‘सहकारीले गर्न खोजेको कामलाई वित्तीय संकटले प्रहार गरेको छ, एक्लै काम गर्नुभन्दा सबै जना मिलेरसमस्या समाधान गर्न सजिलो हुने भएकाले मर्जरले पनि सहज अवस्था आउँछ, मर्जर गर्ने संस्थाहरुलाई अझै अनुदानको व्यवस्था गर्याे भने प्रोत्सहान हुन्थ्यो ।’ राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती सहकारीमा गुणात्मक आवश्यक रहेकाले मर्जरबाट मात्रै सम्भव हुने बताउँछन् । संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेकाले क्षमता वृद्धि गर्न मर्जरले सहयोग पुर्याउने उनले बताए । ‘सहकारी क्षेत्रमा संख्या बढी छ गुणात्मक कम छ, संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा धेरै छ, संस्थामा कतिपय सदस्य नै दोहोरिएका छन्, ५० करोडको कारोबार गर्ने संस्था मर्ज हुँदा एक अर्बको कारोबार हुन्छ,५ करोड सेयर भएको संस्था १० करोड पुग्छ, क्षमता, सिपका हिसावले मर्जर अहिलको आवश्यकता हो, तरलताको अभावको कारण मर्जरमा जान लागेका हुन्,अहिले भएका सहकारी संस्थालाई ५० प्रतिशत घटाउनु पर्छ,’ उनले भने, ‘राष्ट्रिय सहकारी बैंकले पनि कार्यविधि बनाएको छ, सहकारी संस्थालाई एकीकरण गर्न सक्छ, एकीकरणका गर्न निःशुक तालिम दिने, ऐन कानुनका काम सिकाउने काम गरिहरको छ ।’ राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल सहकारी संस्था मर्ज भएर पूँजी वृद्धि हुने बताउँछिन् । नेपाल राष्ट्र बैंकले पनि अर्बाैं रुपैयाँ पूँजी भएका बैंकहरुलाई मर्जरमा दबाव दिइरहेकाले सहकारीमा पनि जरुरी रहेको उनको भनाइ छ । ‘नेपाल जत्रै क्षेत्रफल भएका जापान, कोरिया लगायतका देशमा सहकारी संस्थाहरु १ हजार भन्दा कम छन्, नेपालमा ३० हजार सहकारी संस्था हुनु भनेको धेरै हो, वित्तीय संस्थाको पूँजी वृद्धि गर्न र समय सापेक्ष चल्नपर्छ, अहिले च्याउ सरी संस्था छन्,एकीकरण गरेपछि बलियो हुन्छ, बढी क्यापिटल, कारोबार क्षमता बलियो हुन्छ,’ उनले भनन्,ि ‘सदस्यलाई करोडौंको लोन आवश्यक परेपनि एउटै संस्थाले दिन सक्छ, बचतमा बढी ब्याज पाउनका लागि मात्रै सहकारीमा राख्ने होइन की लोन लिनका लागि पनि बैंकको ढोका ढकढक्याउन नपरोस भनेर एकीकरणमा जान लागेका हुन् ।’ अहिले डिजिटल युग भएकाले सहकारी संस्था पनि डिजिटलमा जानु पर्ने उनको धारणा छ । सानासाना पूँजी भएका संस्थाले डिजिटल प्रविधि भित्र्याउन नसक्ने भएकाले मर्जरका माध्यमबाट नै ठूलो संस्था भएपछि यो सम्भव भएको उनले बताइन् । ‘सहकारी नयाँ डिजिटलमा जानुपर्छ किनभने बैंक तथा वित्तीय संस्थाहरुका एटिएम कार्डदेखि लिएर नयाँ प्रविधिबाट आफ्नो पैसालाई परिचालन गर्न सक्ने अवस्थामा पुगिसकेका छन्,सहकारीमा थोरै पूँजीमा खोलेका संस्था भएर त्यो सम्भावना छैन, अहिलेपनि कतिपय सहकारी हातमा गन्न मिल्ने काम मात्रै गरिरहको छन्, त्यसैले समय सापेक्ष बैंकहरुसँग प्रतिस्पर्धाका रुपमा चल्न सक्ने अवस्थामा पुर्याउनुपर्छ,’ उनले भनिन्, ‘सहकारी संस्थालाई फोनबाट नै आफ्नो कारोबार गर्न सक्ने बाउन सहकारी एकीकरण गर्नु परेको हो, जब एकीकरण सम्भव हुन्छ तब त्यो सम्भव हुन्छ, कारोबार वृद्धि हुने वित्तिकै लागत कम हुन्छ, लागत कम हुने वित्तीकै नाफा बढ्छ ।’ सहकारी क्षेत्रमा दक्ष कर्मचारीको अभाव रहेको छ । त्यो लेभलको कर्मचारी आवश्यक परेको हुँदा एकीकरण आवश्यक परेको हो । काठमाडौ जिल्ला सहकारी महासंघका अध्यक्ष ज्ञान बहादुर तामाङ सहकारी संस्थाहरुलाई सबल, सक्षम बनाउन जिल्ला सहकारी संघले काठमाडौं, भक्तपुर र ललितपुरका सहकारी संस्थालाई मर्जरमा जोड दिएको बताउँछन् । कारोबार गर्न मिल्ने, भूगोल मिल्ने, कारोबार गर्न सहज हुने, सदस्य एउटै क्षेत्रको हुने सहकारी संस्थलाई एकीकरण गर्नका लागि आफूहरुले प्रोत्साहन गरिरहेको उनको भनाइ छ । काठमाडौं जिल्लामा एक हजार भन्दा कम सहकारी हुनु पर्नेमा उनको जोड छ । ‘मर्जरपश्चात् सहकारी संस्था शक्तिशालि हुन्छ, एकता भयो भने पावर बढी हुन्छ,मर्जर गर्दै काठमाडौं जिल्लामा १ हजारभन्दा बढी संस्था हुनु हुँदैन, सम्बन्धित संस्थाहरुलेपनि हामीसँग परामर्श गरेर मर्जर कार्यक्रमहरु अगाडि बढाइरहेका छन्,’ उनले भने । बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै सहकारीमा पनि मर्जर सम्भव रहेको उनको भनाइ छ । मर्जर हुँदा दैनिक प्रशासन खर्चदेखि कष्ट अफ फण्ड सबै घट्ने उनको दावी छ । हाल काठमाडौं जिल्लामा मात्रै ३८३९ वटा सहकारी दर्ता भएका छन् । यस महिनामा मात्रै ३४ वटा संस्थाले मर्जरका लागि सम्झौता गरेका छन् । यी ३४ वटा संस्था घटेर ६ वटामा झर्छन् । ‘सहकारी संस्था मर्ज हुँदा कष्ट अफ फण्ड घट्छ, खर्च घटेपछि आम्दानी बढ्छ, आम्दानी बढ्ने वित्तिकै आफ्ना रिजर्भ फण्डहरु पनि बढ्ने भयो, जगेडा कोष राम्रो हुँदै गएपछि संस्था अझै बलियो हुन्छ,’ उनले भने । देशभर अहिले कति सहकारी संस्था छन् भनेर सरकारसँग एकिन पनि तथ्याङ्क छैन । अघिल्लो पटकको तथ्याङ्कमा २९ हजारको हाराहारीमा सहकारी संस्था दर्ता भएको तथ्याङ्क सार्वजनि भएको थियो । अहिले पालिकाहरुमा समेत सहकारी दर्ता हुन थालेकाले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । देशभरि अधिकतम २ हजारसम्म सहकारी संस्था उपयुक्त हुने उनले बताए । एकपटकसहकारीको संख्यालाई जागरणको रुपमा अभियानको रुपमा ल्याएको र अब यसलाई व्यवस्थापन गर्ने समय आएको उनको बुझाइ छ । ‘पालिकामा दर्ता गर्ने व्यवस्था गरेको हुँदा संख्या बढेरसमस्या पनि आउन सक्छ, काठमाडौं जिल्ला भित्र रहेका पालिकालाई अब नयाँ संस्था दर्ता नगर्न अनुरोध गरेका छौं, पालिकाले सहकारी दर्ता गर्ने प्रक्रिया रोक्नु पर्छ, पहिला दर्ता भइसकेकोलाई व्यवस्थापन गर्ने दायित्व हाम्रै हो, पालिका र प्रदेश सरकार, केन्द्र सरकारलाई पनि लविङका लागि हामी लागि रहेका छौं,’ उनले भने ।