विकासन्युज

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

काठमाडौं । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिए । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाया दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको बताए । अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, टोलटोलमा माइकिङ गर्नुका साथै पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीसँग निरन्तर छलफल तथा अन्तक्र्रिया गरिने भएको छ । चाडपर्वको समयमा काठमाडौँको मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, काठमाडौँ प्रवेश गर्ने नाकामा सिसिटिभीबाट मनिटरिङ गर्ने, ड्रोनबाट तस्बिर लिई सुरक्षा प्रदान गर्ने, अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गर्ने, प्रहरी एप्सको प्रयोग गरिने प्रवक्ता मैनालीले बताए । यस्तै, काठमाडौंभित्र रहेका १४ प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई प्रभावकारी परिचालन गरिने, १२ स्थानमा प्रहरी हेल्प डेस्क स्थापना गर्ने, १२ स्थानका टिकट काउण्टरमा प्रहरी खटाउने, २४ स्थानमा मोबाइल गस्ती गर्ने, ९१ स्थानमा पिकेटिङ, प्रहरी निरीक्षकको कमाण्डमा १४ स्थानमा क्युआरटी, २८ स्थानमा नाका सिल, कर्डन एण्ड सर्च, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट, ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ । यसैगरी, १२ वटा मन्दिरमा प्रहरी परिचालन, खसी, कुखुरा किनबेच हुने बजारमा सुरक्षा, २२ स्थानमा एम्बुसिङ र निगरानी, ४६ स्थानमा सिआरबी परिचालन, छ स्थानमा अनुगमन र अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको प्रवक्ता मैनालीले बताए । रासस

गभर्नरले अर्थमन्त्रीलाई पढाए, सम्बन्ध सुध्रिएको हो ? (भिडियोसहित)

काठमाडौं । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो ४९औं वार्षिकोत्सब कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु अतिथिको रुपमा आमन्त्रित थिए भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विशिष्ट अथिति र अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अतिथिको रुपमा निमन्त्रण गरिएको थियो । कोषले औपचारिक कार्यक्रमको सुरुवात बिहान १० बजेका लागि तय गरेको थियो । तर, १० बजेसम्म कार्यक्रममा आयोजक र केही सीमित मानिसहरु मात्रै उपस्थित थिए । १० बजे तय गरेको कार्यक्रममा साढे १० बजे आइपुगे विशिष्ट अतिथि रहेका नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी । आयोजकले केही समय प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री शर्मालाई कुर्यो । तर, पौने ११ बजेसम्म शर्मा नआएपछि औपचारिक कार्यक्रम अगाडि बढाइयो । कार्यक्रममा हस्याङफस्याङ तथा हतारिएको भान दिलाउँदै अर्थमन्त्री शर्मा आइपुगे । स्टेजमा तीन वटा सोफा राखिएका थिए । दायाँ तर्फको सोफामा गभर्नर अधिकारी बसेका थिए भने बायाँतर्फको सोफामा कोषका अध्यक्ष तथा राजश्व सचिव रामेश्वर दंगाल थिए । शर्मा मञ्चमा उक्लिने बित्तिकै गभर्नर अधिकारीले मुस्कुराउँदै नमस्कार गरे । शर्माले पनि नमस्कार फर्काए । बिचमा रहेको खालि सोफामा बस्ने बित्तिकै हतारिँदै इशारा गर्दै शर्माले गभर्नर अधिकारीलाई आफु बसेकै सोफामा आउन आग्रह गरे । गभर्नर अधिकारी पनि सोही सोफामा आएर बसे । अर्थमन्त्री शर्माले अगाडि टेबलमा रहेको पेपर समात्दै नोट गर्न थाले । उनीहरुले एउटै साेफामा बसेर केही कुरा गरे । पछि गभर्नर आफ्नै सोफामा गएर शर्मालाई उनले सोधेको प्रश्नको उत्तर दिन थाले । अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको खासखुस निरन्तर चलिरह्याे । गभर्नर अधिकारीले उनलाई जवाफ दिएको कुरा उनी हतारिँदै नोट गरिरहेका थिए । उनीहरुको वार्तालाप हेर्दा र शर्माले नोट गरेको देखदा उनले कोषको विषय र कार्यक्रममा राख्नु पर्ने धारणाको विषयमा जानकारी लिएको बुझ्न सकिन्छ । कार्यक्रमको सुरुमा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले कोषले गरेका र गर्दै आएका कामकारवाहीको विषयमा प्रकाश पारे । उनी बोले लगत्तै कार्यक्रमकी सञ्चालिकाले प्रमुख अतिथि रहेका शर्मालाई हतार भएकोले धारणा राख्न आव्हान गरिन् । उनले करिब १४ मिनेटको वक्तव्य राखे । कार्यक्रममा उनले कोषले केही काम गर्दै आएको भएपनि त्यति मात्रै प्रयाप्त भने नभएको बताए । कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाले उत्पादनशिल क्षेत्र र कृषिमा गरेको लगानीसँगै विद्यमान तरलताको विषयमा पनि बोल्न भ्याए । उनले गभर्नर अधिकारीलाई समेत उनले निर्देशन दिँदै भने, ‘उत्पादनशील क्षेत्रमा आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था छ, अब त्यो बढी भयो कि भन्ने विषय पनि छ, म त्यसलाई घटाउन आग्रह गर्छु ।’ करिब १४ मिनेट बोलेर उनी हतार भएको र वल्र्ड बैंकका प्रतिनिधिसँग बैठक भएको भन्दै कार्यक्रमबाट बाहिरिए । गभर्नरसँग सम्बन्ध सुध्रिएको हो ? गभर्नर अधिकारी र अर्थमन्त्री शर्माको सम्बन्धको विषयमा विभिन्न समयमा टिकाटिप्पणी हुने गर्छन् । अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्बाट निलम्बनमा परेदेखि यी दुई जनाबीचको सम्बन्ध बिग्रिएको विषय बाहिरिएको हो । पछि अधिकारी सर्वोच्च अदालतको आदेशबाट पुर्नस्थापित भए । पुर्नस्थापित भएपछि पनि उनीहरुबीच बोलचाल नै थिएन । तर, पछिल्लो समय भने उनीहरुबीच सम्बन्ध सुध्रिएको होकि भन्ने अनुमान पनि गर्न सकिन्छ । त्यो संकेत मंगलबार भएको वार्तालापले पनि पुष्टि गर्छ । कार्यक्रम अवधिभर उनीहरु दुइजनाबीच भएको खासखुसले पनि सम्बन्ध सुध्रिएको होकि भन्ने आँकलन सबैले गरेका छन् । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्

राष्ट्रिय वाणिज्य बैंकले किङ्गस कलेजमार्फत युवाहरुलाई सहुलियतमा कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ओथारो कार्यक्रम मार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यवसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरी परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ । त्यसपछि, कलेजले तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त सम्झौता बैंकले उद्यमशीलता बन्न चाहने युवाहरुलाई लक्षित कार्यक्रमले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले यस्तो सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरुलाई व्यवसायी बन्न सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रवाह र राज्यले अबलम्बन गरेको यस सम्बन्धी नीतिका बारेमा प्रकाश पार्दै सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए ।

नयाँ स्टक र ब्रोकर थप्ने बारे अर्थ समितिले मन्त्रालयसँग ७ दिनभित्र माग्यो विवरण

काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र नकयाँ ब्रोकर कम्पनी थप गर्ने विषयका बारेमा पुरा विवरण पठाउन निर्देशन दिएको छ । संसद्को अर्थ समितिले गत भदौ ३१ गते पत्र लेख्दै ७ दिन भित्र पुरा विवरण पठाउन निर्देशन दिएको हो । नयाँ स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयमा ७ दिन भित्र समितिमा आइपुग्ने गरी विस्तृत विवरण पठाउन निर्देशन दिएको हो । ‘नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धित समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पुरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको छ,’ पत्रमा उल्लेख छ । तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकोले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्न साथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकोले यस सम्बन्धमा भएका काम कारबाही सम्बन्धी विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने उपलब्ध गराइदिन समितिले अनुरोध गरेको छ ।

‘बिजुली बेचेरभन्दा नेपालमै खपत बढाएर अर्थतन्त्र सुधार गर्न सकिन्छ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको मुख्य उदेश्य विद्युत निर्यात गर्ने नभएको बताएका छन् । मंगलबार सुन्दर यातायातले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको बताए । उनले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्याउने बताए । नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने उनी बताउँछन् । ‘हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुन्छ, नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिब ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ, विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउन सकिन्छ,’ उनले भने । उनले अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताए । घिसिङले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताए ।

‘द क्लिफ’का अध्यक्ष कार्की राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित

कुश्मा । ‘द क्लिफ’का अध्यक्ष राजु कार्की संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित भएका छन् । राजुको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदिको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प निर्माण भएकाे छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ २९ को सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा उक्त पदक कार्कीले पाएका हुन् । पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरी विशिष्ट योगदान पुर्‍याए वापत कार्की गत वर्ष पर्यटन मन्त्रालय र नेपाल जेसिजबाट पनि सम्मानित भएका थिए ।

सोपान फर्मास्युटिकल्सले १४ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । सोपान फर्मास्युटिकल्सले सर्वसाधारणलाई १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको सेयर गर्ने भएको हो । आईपीओ निष्काशन पश्चा्त कम्पनीको पूँजी ७० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ । आईपीओ निष्काशनका लागि सोपान फर्मास्युटिकल्स र एनएमबि क्यापिटलबीच सम्झौता भएको छ । सोपाल फर्मास्युटिकल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिज्नेश अफिसर कमल प्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृतले यस वर्षभित्रमा नै आईपीओ निष्काशन गरिसक्ने बताए । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ८ मा औषधि उत्पादन गरिरहेको छ । कम्पनीमा प्रतिष्ठित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको लगानी रहेको छ । कम्पनीले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्डको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आर्थिक वर्ष २०७८/०७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरु उत्पादन गरीरहेको छ । कम्पनीले औषधि व्यवस्था विभागमा ११० वटा औषधिहरुको उत्पादन अनुमतिको लागि आवेदन पेश गरेकोमा हालसम्म ६० वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त गरेको छ । यस्तै, २५ वटा औषधिहरु हाल बजारमा विक्री वितरण भैरहेको छ । त्यसैगरी थप ६० वटा औषधिहरु अनुसन्धान तथा विकासको चरणमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी २ वर्ष भित्र औषधिको संख्या २०० पुर्याउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । यस उद्योगले एन्टिवायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ । साथै आगामी २ वर्ष भित्रमा आइ एण्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुल समेत उत्पादन गर्ने योजना बनाएको छ ।

एनआईसीले १३ अर्बले निक्षेप बढाउँदा प्रभुको १३ अर्बले घट्यो, कर्जा लगानीमा नेपाल इन्भेष्टमेन्ट आक्रमक

काठमाडौं । दुई महिनामा बैंकहरुको निक्षेप औषतमा ५५ अर्ब ९२ करोड रुपैयाँले घटेको छ । गत असारको तुलनामा भदौसम्ममा २६ वटा वाणिज्य बैंकहरुको निक्षेप रकम सो मात्राले घटेर ४४ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको हो । सञ्चालित बैंकहरुमध्ये प्रभु बैंकको निक्षेप सबैभन्दा बढीले घटेको छ । गत असारमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप रकम भदौसम्ममा घटेर १ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । जुन असारको तुलनामा आधारमा १४ अर्ब रुपैयाँले घटी हो । त्यस्तै, एनसीसी बैंकको निक्षेप संकलन पनि घटेर १३ अर्ब ४ करोड रुपैयाँले घटेको छ । गत असारमा बैंकहरुमा यस्तो रकम १ खर्ब ४१ अर्ब रुपैयाँ थियो भने गत भदौमा घटेर १ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकहरुमा निक्षेप घटेनि कर्जा लगानी गर्नेको संख्या भने बढेको छ । एनबीएका अनुसार कर्जा लगानी १५ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । गत असारमा ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौमा ४१ खर्ब ९० अर्ब रुपैयाँ गरेका छन् । २६ कम्पनीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी कर्जा लगानी बढेको छ । गत असारमा १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा बढाएर १ खर्ब ७४ अर्ब रुपैयाँ पुर्याएको छ । जुन ६ अर्ब रुपैयाँले बढी हो । त्यस्तै, एनसीसी बैंकले सबैभन्दा बढी रकमको कर्जा लगानी घटाएको छ । गत असारमा १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा जम्मा १ खर्ब १८ अर्ब रुपैयाँ गरेको छ । जुन दुई महिनामै ८ अर्ब ४७ करोड रुपैयाँले घटी हो । कुनको कतिले घट्यो ?