विकासन्युज

एनआईसीले १३ अर्बले निक्षेप बढाउँदा प्रभुको १३ अर्बले घट्यो, कर्जा लगानीमा नेपाल इन्भेष्टमेन्ट आक्रमक

काठमाडौं । दुई महिनामा बैंकहरुको निक्षेप औषतमा ५५ अर्ब ९२ करोड रुपैयाँले घटेको छ । गत असारको तुलनामा भदौसम्ममा २६ वटा वाणिज्य बैंकहरुको निक्षेप रकम सो मात्राले घटेर ४४ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको हो । सञ्चालित बैंकहरुमध्ये प्रभु बैंकको निक्षेप सबैभन्दा बढीले घटेको छ । गत असारमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप रकम भदौसम्ममा घटेर १ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । जुन असारको तुलनामा आधारमा १४ अर्ब रुपैयाँले घटी हो । त्यस्तै, एनसीसी बैंकको निक्षेप संकलन पनि घटेर १३ अर्ब ४ करोड रुपैयाँले घटेको छ । गत असारमा बैंकहरुमा यस्तो रकम १ खर्ब ४१ अर्ब रुपैयाँ थियो भने गत भदौमा घटेर १ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकहरुमा निक्षेप घटेनि कर्जा लगानी गर्नेको संख्या भने बढेको छ । एनबीएका अनुसार कर्जा लगानी १५ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । गत असारमा ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौमा ४१ खर्ब ९० अर्ब रुपैयाँ गरेका छन् । २६ कम्पनीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी कर्जा लगानी बढेको छ । गत असारमा १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा बढाएर १ खर्ब ७४ अर्ब रुपैयाँ पुर्याएको छ । जुन ६ अर्ब रुपैयाँले बढी हो । त्यस्तै, एनसीसी बैंकले सबैभन्दा बढी रकमको कर्जा लगानी घटाएको छ । गत असारमा १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा जम्मा १ खर्ब १८ अर्ब रुपैयाँ गरेको छ । जुन दुई महिनामै ८ अर्ब ४७ करोड रुपैयाँले घटी हो । कुनको कतिले घट्यो ?

स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न असोज ८ गते ‘एनएमबि बजार’ हुँदै

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि बजार’ आयोजना गर्ने भएको छ । स्वदेशी सीप र उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन गर्ने प्लाष्टिक रहित ‘एनएमबि बजार’ आयोजना गर्ने लागेको बैंकले जनाएको छ । दशैं र तिहारलाई लक्षित गरी संचालन गरिएको एनएमबि बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी दिएको छ । बैंकको अनुसार बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने छ । एनएमबि बैंकले असोज ८ गते सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म आयोजना गर्ने जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अब स्याटलाइटमार्फत ग्रामिण क्षेत्रमा इन्टरनेट सेवा प्रवाह

काभ्रेपलाञ्चोक । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण एशियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ । कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल हुनेछ । कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, अफ्गानिस्तान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटानका टेलिकम्यूनिकेशनको उत्पादक, सेवाप्रदायक र नियामक निकाय तथा स्याटलाइट स्पेसमा कार्यरत हङ्कङ र मलेसियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको छ । कार्यशालाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आज उद्घाटन कार्यक्रममा कोभिड–१९ को महामारी र त्यसपछिको समयमा प्रविधिको महत्व अझ बढेको बताए । उनले नेपालका गाउँगाउँमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न गरिने छलफलले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताए । यस्तै दक्षिण एशियाली टेलिकम्यूनिकेशनका महासचिव मेनोसोरी कोण्डोले नेपालस्थित नेपाल दूरसञ्चार प्राधिकरणले दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल गरेकोमा खुसी व्यक्त गरे । सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले टेलिकम्यूनिकेशनको प्रविधि ठूलो क्षेत्रमा प्रयोग भइरहेने हुँदा जुन प्रविधिको प्रयोग हुन्छ फ्रिक्वेन्सी प्रयोग, सामग्रीको उपलब्धतामा सहजताका कारण सोही प्रविधि अन्य राष्ट्रले पनि प्रयोग गर्नुपर्ने बताए । नेपालको पहाडी भू–भागमा कस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने उनले जानकारी दिए । आचार्यका अनुसार एशियाली क्षेत्रअन्तर्गत नेपालको भौगोलिक र सांस्कृतिक सामिप्यताका कारण ‘फाइभ–जी’, स्याटलाइट प्रविधि, वाइफाइ एक्सेसका क्षेत्रका लागि उपयुक्त के हुनसक्छ र प्रत्येक नागरिकको हातमा इन्टरनेट पु¥याउन के प्रयोग गर्दा ठिक हुन्छ भन्ने विषयमा विविध छलफलको योजना बनाइएको छ । कार्यशालाको मूल उद्देश्यनै टावरले नधानेको नेपालका विभिन्न स्थानमा इन्टरनेट पु¥याउने उपायको खोजी नै रहेको जनाइएको छ । ‘स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न पहिला महँगो थियो, अहिले सस्तो आएको यसबारे उपायको खोजी गरिनेछ र वाइफाइ, अप्टिकल फाइवर, आर्टिफिसियल इन्टेलिजेन्समा पनि छलफल केन्द्रीत रहनेछ’, आचार्यले भने । नेपालको ‘फाइभ–जी’ इन्टरनेट सेवा मोबाइलमा मात्र हैन, अब सूचना–प्रविधिका सामग्रीमा पनि इन्टरनेटबाट नियन्त्रण गर्न सकिने भएकाले प्रविधिमा नयाँपनको आवश्यकता महसुस गरिएको हो । बिहीबारसम्म सञ्चालन हुने कार्यशालामा भौतिक रुपमा ८० र भर्चुअल माध्यमबाट एक सय जना सहभागी छन् । रासस

बीमा समितिले संशोधन गर्याे बाख्रा बीमालेख, ३५ दिनभित्र बीमितले दावी भुक्तानी पाउने

काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । अब कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सक्ने, बीमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बीमा गरिएका बाख्रामा क्षति भएमा तीन दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । यस्तै, बाख्रा बीमालेख बमोजिम बीमाङ्क गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बीमाङ्क रकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था रहेको छ । बाख्रा बीमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १ सय प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । बाख्रा बीमालेख खरीद गर्दा दुर्घटना बीमा वापत् बीमाशुल्क प्रति बीमित ५ सय रुपैयाँ बीमाशुल्क बुझाउुपर्ने र त्यसरी बुझाइएको बीमाशुल्क वापत बीमित बाख्रापालक कृषकको २ लाख रुपैयाँको दुर्घटना बीमा हुने समेत व्यवस्था संशोधित बाख्रा बीमालेखमा रहेको छ । बाख्रा बीमा अन्तर्गत भौतिक सम्पत्तिको बीमा गर्दा बीमा समितिबाट जारी सम्पत्ति बीमा निर्देशिका, २०७५ बमोजिम गर्नुपर्ने र त्यसमा अनुदानको व्यवस्था नभएको समेत उल्लेख छ । बीमकले आफूसमक्ष परेको बाख्राको बीमा दावीको तत्काल छानविन प्रक्रिया प्रारम्भ गर्न ७ दिनभित्र क्षति मूल्याङ्कनकर्तालाई खटाउनुपर्ने, क्षति मूल्याङ्कनकर्ताले १५ दिनभित्र क्षति मूल्याङ्कन गरेर प्रतिवेदन पेश गर्नुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन पेश गरिएको मितिले ३५ दिनभित्र बीमकले दायित्व यकीन गरी बीमितलाई दावी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । बीमितले दाबी भुक्तानी वापत रकम नपाउने भएमा सोही अवधिभित्र कारण सहित बीमितलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था समेत रहेको छ ।

जलविद्युत् र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गरे’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोेनेशियाली जनतालाई आग्रह गरेका ढकालले जानकारी दिए । उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशियाली सरकारसमक्ष पु¥याउने बताए । राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबरमा इन्डोनेशियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवद्र्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताए । रासस

फोनपे मार्फत कारोबार गर्दा हरेक दिन ग्राहकलाई १ लाख, मर्चेन्टलाई सामसुङ्गको मोबाईल

काठमाडौं । फोनपे पेमेन्ट सर्भिसले चाडपर्वलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तर्गत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सक्नेछन् । यो योजना ग्राहकहरुका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । यस योजनामा अन्य केही शर्तहरु समेत लागु हुने कम्पनीले बताएको छ । यति मात्र नभएर फोनपेले दशैँको समयमा किनमेल गर्न सहज होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ । फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म हरेक दिन  एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन् । यस्तै, कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कार्तिक सम्म पहिलोपटक क्युआर मार्फत भुक्तानी गर्दा ३०० सम्म छुट पाउनेछन् । यसैगरि सानिमा बैंकका ग्राहकहरुले असोज १६ गतेदेखि २२ गतेसम्म १०० रुपैयाँसम्म छुट पाउनेछन् । यस्तै गरिमा विकास बैंक र एनसीसी बैंक,एनआइसी एशिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० १०० सम्म छुट पाउनेछन् । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म, कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत अथवा रु सय छुट प्राप्त गर्न सक्नेछन् । आइएमई पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्युआर गर्दा १० प्रतिशत अर्थात् रु सय सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यस्तै माछापुच्छ्रे्र बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताए । ती क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनले लगानीको अभावमा ती क्षेत्र धारासयी बन्न नहुने उल्लेख गरे । अर्थमन्त्री शर्माले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिए । उनले ग्रामीण अर्थतन्त्रको विकास नगरिकन मुलुक आर्थिक रुपमा सबल बन्न नसक्ने स्पष्ट पारे । हालको नीतिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिइए पनि त्यसैबाट घर जग्गामा लगानी हुने अवस्था देखिएको भन्दै उनले यस्ता विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ । औद्योगिक र उत्पादनमूलक क्षेत्रलाई दुई प्रतिशत कम ब्याजमा ऋण दिनुपर्छ ।’ आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएको लामो समय भएपनि प्रभावकारी नीति, कार्यक्रम र योजना बनाउन नसकेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गरे । उनले भने, ‘कोषको काम पैसा सङ्कलन गर्ने मात्रै होइन । अन्य क्षेत्रमा पनि लगानीका लागि काम गर्नुस् ।’ मुलुकको अर्थतन्त्रले आन्तरिक, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको गभर्नरको भनाइ छ । कार्यक्रममा कोषका अध्यक्षसमेत रहेएका राजस्व सचिव रामेश्वर दङ्गालले कोषलाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताए । रासस

सातामै ४१ अर्बले बढ्यो बैंकहरुमा निक्षेप

काठमाडौं । पछिल्लो एक सातामा बैंकहरुमा निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो । भदौ २४ गतेसम्म ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप भदौ ३१ गतेसम्ममा बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । जुन साउनको तुलनामा ५३ अर्ब रुपैयाँले बढी हो । साउनको अन्तिम सातामा बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो । त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि बढेको छ । अघिल्लो साता ४१ खर्ब ८८ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी एक सातामा २ अर्बले बढेर ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । साउनको अन्तिम साता भने बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन भदौको अन्तिम साताको तुलनामा १३ अर्ब रुपैयाँले घटी हो ।