बैंकको पुँजीकोष निरन्तर घट्दा लाभांश प्रभावित हुने, यी हुन् दबाबमा रहेका बैंक
काठमाडौं । वाणिज्य बैंकहरुको पुँजीकोष निरन्तर ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असारसम्मको तथ्यांक अनुसार वाणिजय बैंकहरुको औसत पुँजी कोष १३.५७ प्रतिशत रहेको छ भने प्राथमिक पुँजीकोष १०.७६ प्रतिशत रहेको छ । अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको नीतिगत व्यवस्थाको हाराहारीमै पुँजीकोष कायम गरेका छन् । पुँजी कोष कम हुँदा बैंकहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश क्षमतामा पनि कमि आउने देखिएको छ । राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार बैंकहरुले ११ प्रतिशत पुँजीकोष र प्राथमिक ८ प्रतिशत पुँजीकोष हुनु पर्ने हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार तीन वटा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । माछापुच्छ्रे, प्रभु र एनआइसी एसिया बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तै, पाँच वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष ९ प्रतिशतको हाराहारीमा छ भने ८ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष १० प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तै, दुईटा वाणिज्य बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा छ । हिमामलयन र एभरेष्ट बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा देखिन्छ । प्राथमिक पुँजीकोष र पुँजीकोषको न्यूनतम व्यवस्था कायम नगरेको अवस्थामा राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरणमा नै रोक लगाउँछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर लागू गर्ने बताइसकेको छ । राष्ट्र बैंकको सो नीतिपछि ११ प्रतिशत कायम रहेको पुँजीकोष बढाएर १३.५ प्रतिशत पुर्याउनु पर्ने हुन्छ ।
पृथ्वी राजमार्ग विस्तारले यात्रुलाई सास्ती, हिलो र धुलोले काममै जान मुस्किल
डुम्रे । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ । ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो । मोटरसाइकलमार्फत यस मार्ग हुँदै विद्यालय पुग्दा हिलो र धुलोका कारण अध्यापनका लागि पुग्न सकस भएको तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यमिक विद्यालयका शिक्षक पशुपति अर्याल बताउँछन् । ‘पानी परेका बेलामा हिलाम्मे र घाम लागेका समयमा धुलाम्मे भएर विद्यालय पुगिन्छ । कहिलेकहीँ त फेर्ने कपडा नै बोकेर जानुपर्ने अवस्था सिर्जना हुन्छ । धेरैजसो विद्यालय नजिकै पुगेपछि विद्यालय पोशाक पानीले पखाल्दा चिसै कक्षामा पुग्ने गर्छन्,’ उनी भन्छन् । विकास निर्माणलाई विरोध गरेको भने होइन तर पनि दैनिक यात्रा गर्दा समस्या झेल्नुपरेको शिक्षक अर्याल बताउँछन् । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारबाट राजमार्ग हुँदै भित्री सडक भएर विद्यालयमा पुग्दासम्म ठूला सवारी साधनका कारण उडेका धुलो र छ्यापिएको हिलोसहित अध्यापन गराउनुपर्ने अवस्था आएकाले छिटो गरी राजमार्ग विस्तार भए सहज हुने उनकोे भनाइ छ । धेरैजसो विशेष कार्यक्रम सदरमुकाम दमौलीमा हुने भएकाले हिलाम्मे तथा धुलाम्मे राजमार्गमार्फत स्कुटरमा आउँदा सास्ती खेप्दै आएको ग्यालेक्सी फोर केकी संवाददाता अस्मिता खनालको पनि गुनासो छ । ‘ठूला सवारी साधन चढेर आउँदा कपडामा टाँसिएको धुलोले गर्दा समयमा भेट्नुपर्ने व्यक्तित्वलाई भेट्न नै समस्या हुन्छ । आफ्नो सवारी साधनमा आउँदा धुलो र हिलो छ्यापिएर मान्छे नै चिनिँदैन । यसले काममा पुग्नसमेत समस्या बनाएको छु,’ उनी भन्छन्, ‘समाचारका लागि नै एकरदुई दिनको ग्यापमा दमौलीसम्म आउने–जाने गर्नुपर्ने भएकाले अति नै समस्या भएको छ ।’ पोखरा–बेँसीसहर ग१ज १९३० नम्बरका ट्याक्सी चालक नारायणप्रसाद शर्मा पनि राजमार्गमा सडक विस्तारको क्रममा रहे पनि सडकको बीच भागमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा साना सवारी साधनले सास्ती खेप्दै चलाउन बाध्य भएको पीडा सुनाउँछन्। ‘सडक विस्तारले पछि हामीलाई सजिलो हुने हो तर सडकको बीच भागमा बनेका ठूलाठूला खाल्डाखुल्डीलाई पुरिदिने गरेमा पनि साना सवारी साधनलाई सजिलो हुने थियो भन्ने मात्रै हो,’ उनको भनाइ छ । साना सवारी साधनले भाडा बढी लियो भनेर आरोप लाग्ने गरेको छ तर सडकको अवस्थाले यात्रु पाउने या नपाउने भन्ने पक्का नै नहुने समस्यासमेत रहेको चालक शर्मा उल्लेख गर्नुहुन्छ । सडक राम्रो हुँदा दैनिक दुईदेखि तीन टिप गर्न सकिने भए पनि सडकको अवस्थाले अहिले मुस्किलले एक टिप मात्रै गर्न सकिने उनको भनाइ छ । “सडककै कारण अहिले पोखराबाट दमौली र दमौलीबाट पोखरा जाने साना सवारी साधनसमेत जान नचाहने गरेको पाइन्छ”, चालक शर्मा बताउँछन् । निर्माण कम्पनीले साना सवारी साधनको मर्का बुझिदिएमा हामीलाई सहज हुने भन्ने उनको गुनासो छ । ठूला सवारी साधनको पाङ्ग्रा नै ठूलो हुने भएकाले तिनले सहजरुपमा खाल्डाखुल्डी पार गरे पनि साना सवारी साधन भने सास्ती खेप्न बाध्य हुँदै आएका छन् । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिँदैछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस राजमार्गको साइडमा ग्याविन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक एडिबीको ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो । पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको थियो । चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडा ४६ मिटरको हुनेछ । रासस
अमेरिकामा २४ हजार जनामा देखियो मङ्किपक्स
लस एन्जलस । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्दछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन् ।
विहारमा चट्याङ लागेर २१ जनाको मृत्यु
नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् । यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् । साथै उनले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।
सर्वाधिक प्रिमियम संकलन गरेका ६ जनालाई सूर्या लाइफको सम्मान, ४६ जनाले पाए ट्रफी
चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने एनुअल रिकग्निसन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उद्घाटन गरेकाे उक्त कार्यक्रममा १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए । चितवनको सौराहामा असोज १ गतेदेखि २ गतेसम्म भएको उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सीईओ खड्काले अवार्डसहित सम्मानित गरेका थिए । त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता, कमलप्रसाद घिमिरे र भक्त बहादुर राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । त्यस्तै देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरिएको थियाे ।
दसैंका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ, भाडा पनि बढ्यो
काठमडौं । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसँैका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दसैं आउन एक साता बाँकी हुदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौँ–धनगढी हवाई भाडा सात हजार पाँच सय रुपैयाँ रहेकामा अहिले अधिकतम १७ हजार रुपैयाँ कायम गरिएको छ । सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ । विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम चार हजार पाँच सय रुपैयाँ अधिकतम भाडादर १० हजार रुपैयाँ कायम गरिएको छ । अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए । उनका अनुसार काठमाडौँ फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ । रासस
नेपाल लाइफको प्रिमियम अब क्युआरबाटै तिर्न मिल्ने, जीवन बीमा क्षेत्रमै शुरु गर्यो नयाँ अभ्यास
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीले ई-सेवा सँगको सहकार्यमा उक्त सिस्टम सञ्चालनमा ल्याएको हो । जसको शुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले गरेका हुन् । त्यस्तै, नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे । यससँगै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ । डाइनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा डाइनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो । कार्यक्रममा बोल्दै सीईओ पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए । त्यस्तै, ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।
सिन्धुपाल्चोकका किसानलाई सघाउँदै कृषि सहकारी
सिन्धुपाल्चोक । काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्केका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपैयाँ हाराहारी आम्दानी गरिरहेका छन् । उनी जस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन । पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि नाफा कमाउने उद्देश्यतिर केन्द्रित हुँदा नागरिकमा सहकारीप्रतिको विश्वास घट्दै गएको छ । तर सूर्यमुखी साना किसान कृषि सहकारी मेलम्चीले भने किसानको हितका लागि काम गर्दै किसानलाई व्यावसायिक बन्न भरपर्दो सहयोगी बनेको छ । मेलम्ची नगरपालिका–२ की इन्दिरा खतिवडाले पनि सहकारीबाट लिएको ऋणले बाख्रापालन र होमस्टे सञ्चालन गरिरहेका छन् । व्यवसायबाट भएको आम्दानी खतिवडाले घर व्यवहार, छोराछोरी पढाउने र बचत गर्ने गरेका छन् । सहकारीमा अहिले दुई हजार नौ सय १३ साधारण शेयर सदस्य छन् । त्यसमा ज्येष्ठ नागरिक, खुत्रुके र बाल बचत गरेर नौ सय गरी ३८ सय ७३ शेयर सदस्य छन् । सहकारीमा कुल पुँजी २५ करोड रहेको सहकारीले जनाएको छ । सहकारीको आफ्नै भवन, चिस्यान केन्द्र रहेको छ । कृषि क्षेत्रमा उद्यमी बन्न चाहने किसानलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साना किसानमार्फत सहयोग गरिरहेको छ । मेलम्ची नगरपालिका–१ मा रहेको सूर्यमुखी साना किसान कृषि सहकारीले मेलम्ची नगरपालिका–१ देखि ५ सम्म र वडा नं १२ लाई कार्यक्षेत्र बनाएर अहिले काम गरिरहेको छ । योसँगै अन्य पालिकामा पनि साना किसान कृषि सहकारीको अवधारणालाई विकास गर्दै गइरहेको छ । अन्य सहकारीलाई व्यवस्थापनमा पनि सहयोग गर्दे आएको छ । किसानलाई व्यावसायिक बन्न ऋण सहयोगदेखि स्थानीय तहसँग विकास साझेदार भएर काम गरिरहेको बताउँछन् सहकारीका अध्यक्ष मित्रलाल चौलागाई । सहकारीले पशु बीमा दूध सङ्कलनदेखि बजारीकरण र अनुदानसमेत दिने गरेको उनी बताउँछन् । भेटेरीनरी सेवा, बीउ प्रशोधन केन्द्रलगायत पनि सहकारीको सेवामा रहेको छ । रासस