विकासन्युज

अर्थमन्त्रीले गभर्नरसँग भने : उत्पादनशील क्षेत्रको कर्जामा प्रिमियम बढी भयो, कम गरौं

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग उक्त माग गरेका हुन् । ‘अब उत्पादनशील क्षेत्रमा २ प्रतिशत प्रिमियम बढी भयो, यसले धेरै उद्योग समस्यामा छन्, यसलाई संसोधन गर्नु पर्छ,’ उनले भने ।

भदौमा दुई अर्ब ४२ करोडको विद्युत निर्यात, ४ महिनामा ७ अर्ब बढीको

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ ९द्द व्गलभ द्दण्द्दद्द० बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ । हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘अब चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं, भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं ।’ आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ । थप १०० मेगावाट निर्यात प्रस्ताव नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले केही दिनअघि ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो । निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ । यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

‘बैंकको नीति बदलौं, कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बैंकको नीति परिवर्तन गर्नुपर्न बताएका हुन् । उनले कृषि कर्जाका नाममा जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए । यस्तो अवस्था अन्त्य गर्नका लागि बैंकको नीति बदल्नु पर्ने मन्त्री शर्माले बताए । नीतिहरु देशको आवश्यकताका आधारमा विकास र विस्तार गर्नुपर्ने धारणा उनले राखे । वित्तीय क्षेत्रले सर्वसाधारण जनताको विश्वास जित्नु पर्ने उनले बताए । ‘कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छु, यसका लागि बैंकको नीति बदल्नु पर्छ, देशको आवश्यकताका आधारमा नीतिहरु विकास र विस्तार गर्नुपर्छ, सर्वसाधारण जनताको विश्वास जित्ने गरी वित्तीय क्षेत्रले काम गर्नुपर्छ,’ उनले भने । उनले निक्षेपको सुरक्षाको अभिभारा पूरा गर्नु पर्ने आवश्यकता रहेको बताए । साउन १ गतेदेखि ५ लाख रुपैयाँको निक्षेप सुरक्षण कायम गरिएको मन्त्री शर्मा बताउँछन् । धितो नभएका तथा साना किसानलाई लगानी गरेको कर्जाको जोखिम सुरक्षण आवश्यक रहेको उनले बताए । सरकारी संस्थानमा भएको रकमले लघुवित्त कोष स्थापना गर्नुपर्ने उनको भनाइ छ । ‘बिनाधितो ऋण भइरहेकोले यसको कार्यभार बढेको छ, जोखिम व्यवस्थापन सँगै अनुशासनमा अगाडि बढ्न जरुरी छ, लघुवित्त कोषमा सरकारी संस्थानमा भएको रकम लगानी गर्नु पर्छ, मिटरब्याजले सर्वसाधारण संकटमा परेका छन्, सहुलियत ऋण सर्बसाधारणमा पुर्याउनु पर्छ,’ उनले भने । बैंकहरुले सानालाई लगानी गर्न झन्झट भएकाले अब लघुवित्त संस्थाले मात्रै सानालाई लगानी गर्नुपर्ने उनको धारणा छ । लघुवित्तको कोषमा भएको रकम अप्रयाप्त भएपनि लगानी बढाएर आयात प्रतिस्थापन गर्न सहज हुने अर्थमन्त्री शर्माले अपेक्षा गरेका छन् ।

गरिमा विकास बैंकको देशव्यापी साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकले देशव्यापी वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम सम्पन्न  गरेको छ । बैंकले सोमबार संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तर्गत बैंकले  बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत करिब ५० हजार ग्राहकलाई सेवा प्रदान गरेको छ । बैंकले कार्यक्रम मार्फत आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा जानकारी दिएको थियो । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकमरुको घरआँगनमै बैंक खाता खोलिएको थियो । हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिँदै आईरहेको छ ।

बागलुङमा उत्पादन बढाउन कृषकलाई भत्ता

बागलुङ । ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिए । यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्, उसलाई उति धेरै प्रोहोत्सान भत्ता उपलब्ध गराउने उनको भनाइ छ । कृषकले बाँझो जमिनमा खेती गरेवापत गाउँपालिकाले प्रतिरोपनी रु दुई हजार उपलब्ध गराउने उनले बताए । ‘गाउँपालिकाले कृषकका लागि निकै राम्रो कार्यक्रम ल्याएको छ, उनीहरूलाई चाहिने आवश्यक सहयोगसँगै जति धेरै क्षेत्रफलमा कृषि गछन्, उति धेरै भत्तासमेत पाउनु हुनेछ, अहिले प्रतिरोपनी दुई हजार रुपैयाँका दरले प्रोहोत्सान भत्ता दिने भएको छ’, उनले भने । बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाँझिदै गएपछि उत्पादनसमेत निकै कम भएको उनको भनाइ छ । उत्पादन बढाउनकै लागि यो कार्यक्रम ल्याएको भन्दै यसले कृषकलाई खेती गर्नतर्फ आकर्षित गर्ने उनले बताए । उनले बाँझो जमिनमा खेती विस्तार गरी कृषिमा पालिकाले आत्मनिर्भर बन्ने लक्ष्य राखेको बताए । ‘अहिले गाउँ रित्तो बनिसक्न थाल्यो, गाउँले सबै बसाइँसराइ गरेर बजार झरिरहेका छन्, गाउँमा बस्नेले पनि थोरै बारीमामात्रै खेतीपाती गर्ने गरेका छन्, पहिले–पहिले बालीले हराभरा हुने खेतबारी अहिले पूरै वनमाराले ढाकेको छ, हरेक वर्ष उत्पादन घट्दै गएको छ’, कृषिशाखा प्रमुख भट्टराईले भने, ‘गाउँपालिकाले अहिले नयाँ कार्यक्रम ल्याएको छ, यो कार्यक्रमले बसाइँसराइ रोकेर बाँझिएका जमिनमा खेती गर्न प्रोहोत्सान गर्ने र उत्पादन बढाउने छ ।’ ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ । कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ । पालिकाले मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण योजना गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिए । उनले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताए । ‘हामीले अघिल्ला वर्षहरूदेखि नै कृषकलाई प्रोहोत्सान हुने खालका कामहरू गर्दै आएका थियौँ, यस वर्ष पनि प्रोहोत्सान भत्तासँगै कृषकलाई आधुनिक औजार वितरण गर्ने कार्यक्रम छ, मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण हुने छ, यसले कृषकलाई खेतीपाती गर्न सहज हुने छ, उत्पादनमा पनि वृद्धि हुने अपेक्षा लिएका छौँ’, उनले भने, ‘उत्पादन वृद्धि गर्ने नै मुख्य लक्ष्य रोको हुँदा कृषकको आवश्यकतानुसार सहयोग भइरहेको छ, केही कृषकले पालिकाबाट अनुदान पाएपछि कृषिलाई व्यवस्थितरूपमा गर्न थालेका छन् ।’ उच्च पहाडी क्षेत्रमा पर्ने ताराखोलामा आलु, भाँगो, किबी, कोदो, मकैलगायतका खाद्यबाली उत्पादन हुने गर्छ । उनले व्यावसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग पालिकाले निरन्तर गर्दै आएको बताए । ‘थोरै सङ्ख्यामा व्यवसायिक खेतीमा लाग्नुभएका कृषक पनि यहाँ छन्, उनीहरुले आफूलाई आवश्यक परेको सहयोग पालिकालाई माग्नछन्, पालिकाले पनि प्राविधिक तथा अन्य सहयोग गर्दै आइरहेको छ’, उनले भने । गाउँपालिकाले जिल्लामै पहिलोपटक जैविक कृषि बगैँचासमेत सञ्चालन गरेको छ । यो बागलुङमा विल्कुलै नयाँ हो । गत वर्षदेखि सुरु भएको जैविक कृषि बगैँचा ३७ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको १५ लाख रुपैयाँबाट बगैँचा सञ्चालन गरेको उनले बताए । ३७ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा किबीखेती र अन्य १७ रोपनीमा आलु, भाँगोलगायत विभिन्न खाद्यबाली तथा फलफूल लगाएको उनको भनाइ छ । ‘ताराखोलामा जैविक कृषि बगैँचा सञ्चालन गरेको एक वर्ष भइसक्यो, गत वर्षदेखि जैविक कृषि बगँैचा सञ्चालन भएको हो, बगैँचामा सबैभन्दा धेरै किबीखेती गरिएको छ, किनकि यहाँ धेरैको किबी उत्पादनतर्फ चासो देखिएको छ’, उनले भने, ‘आलु, भाँगोलगायतका खाद्यबाली र फलफूल पनि यहाँ लगाइएको छ, यहाँ लगाएका खाद्यबाली र फलफूल पनि राम्रो हुँदै गएको छ, यहाँ कृषकहरू आएर अवलोकन गर्न सक्छन् भने उनीहरूले यहाँबाट केही सिकेर आफैँ पनि व्यावसायिकरूपमा खेती सुरु गर्न सक्छन् ।’ धेरैको शहर बजार मोहले गाउँ रित्तिए । एक दशकअगाडिसम्म निकै चहलपहल हुने गाउँ सुनसान बन्दै गए । गाउँका खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिए । गाउँमा कसैलाई साह्रो–गाह्रो प¥यो भने उद्धार गर्ने पनि छैनन् । यो समस्या बागलुङको अधिकांश पालिकाको हो । गाउँ छाडेर बजार झर्नु कतिको रहर त कतिको बाध्यता पनि हो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारलगायतका सुविधा नहुँदा बजार झर्नु स्वाभाविक पनि हो । तर, पछिल्लो समय जिल्लाका पालिकाहरूले आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएका छन् । विकास हुन थालेपछि केही त गाउँमै रोकिए तर धेरैले बजारलाई नै रोजे । गाउँमा बस्नेले पनि कृषि भने कम नै गर्न थाले । गाउँमा बस्नेहरूले पनि कृषि गर्न छाड्न थालेपछि बारीसँगै करेसाबारीमा पनि कालोपाती बताएका छन् । त्यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । जिल्लामा उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउनतर्फ धेरैको ध्यान छैन । रासस

अरुण काबेली पावरको लाभांश घोषणा, चुक्ता पुँजी २ अर्ब नाघ्ने

काठमाडौं । अरुण काबेली पावरले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर बाहेक सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको प्रस्तावित बोनसलाई विद्युत नियमन आयोगले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ ।

बुवाको उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँदै राजीव

बेलबारी । राजीव साह भर्खर १५ वर्षमा हिँड्दै छन् । तर उनको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउँथे । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउँछन् । ‘डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उनी बताउँछन् । सफारी कुदाएर दैनिक चार/पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनले गुनासो गर्छन् । सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउँछन् । ‘कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्छन्’, उनी बताउँछन् । स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग आग्रह गरे । रासस

‘ब्याजदर बढ्दा सेयर बजारमा आतंक मच्चियो, तत्काल भद्र सहमति गर्नुपर्छ’

छोटेलाल रौनियार- पूर्वअध्यक्ष, इन्भेष्टर्स फोरम ब्रोकर लाइसेन्स र नयाँ स्टक मार्केटको लाइसेन्स खुल्ने भनेपछि दुई दिन मार्केट राम्रो बढेको थियो । तर, बजार बढेको तेस्रो दिन नेपाल बैंकर्स एशोसिएसनले भद्र सहमति तोड्यो । भद्र सहमति तोडेर आफूखुसी ब्याजदर तोक्ने भनेपछि बजार फेरी ओरालो लागेको हो । दुई तीन वटा बैंकहरुले किचलो गरेका कारण ब्याजदर खुकुलो पारेको भन्ने सुनिएको छ । राष्ट्र बैंकले पनि नयाँ सिस्टम अनुसार बोनस वितरण गर्न रोकिरहेको छ । एउटा सिस्टम खडा गरेर बैंकहरुलाई वित्तीय विवरणमा एनपीएल वा एनपीए बढाउन लगाउने कुराहरु गरिरहेको छ । बोनस सेयर वितरण गर्ने धेरै बैंकले राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइसकेका छन् । यसमा राष्ट्र बैंकले पनि स्वीकृति गरिरहेको होला । यसअघि पनि पहिला बैंकहरुले आफूखुसी ब्याजदर बढाएका थिए । त्यसपछि त्यसको ठूलो विवाद भयो । आफूखसी ब्याजदर तोक्दा कम्प्लेन आएको थियो । त्यसको छानबिन गरेर बैंकहरुले रकम तिर्नुपरेको थियो । फेरि यसपटक बैंकहरुले भद्र सहमति तोडेका छन् । बैंकहरुले भद्र सहमति तोडेर ब्याजदर बढाएर कमाउन खोजिरहेका छन् । पहिलादेखि नै दुई तीनवटा बैंकले ब्याजदर बढाउन किचकिच गरेको हामीले सुन्दै आएका थियौं । अहिलेपनि यी दुईतीनवटा बैंकले कचकच गर्दा ब्याजदरको भद्र सहमति तोडिएको हुनसक्छ । अहिले ब्याजदरको भद्र सहमति तोडिएर वृद्धि गर्दा सेयर बजार घटेको हो । यस्तै, केही बैंकर्सहरुले नै ब्याजदर १८ प्रतिशत पुग्छ भनेर सार्वजनिक बक्तव्य दिइरहेका हुन्छन् । बैंकर्सहरुले बजारलाई नकारात्मक प्रभाव पार्ने कुराहरु सार्वजनिक रुपमा बोल्नु हुँदैनथ्यो । ब्याजदर बढ्यो भने पूँजी बजारका लगानीकर्ताले नेगेटिभ रोल खेल्छन् । ब्याजदर बढ्यो भने पूँजी बजार घट्छ, ब्याजदर घट्यो भने पूँजी बजार बढ्छ । अहिले भएको पनि यहि हो, ब्याजदर बढ्यो पूँजी बजार घट्यो । जुन दिन नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोड्यो त्यो दिनदेखि पूँजी बजार घटिरहेको छ । यसमा लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ । एक वर्षअघि ३२ सय बढी इण्डेक्स हुँदा त्यो बेला लगानीकर्ताहरुको मास साइकोलोजी बुलिस थियो । त्यसपछि नियमनकारी निकाय सेबोनले ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्नु, राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितोकर्जामा ४/१२ को सीमा तोक्नु, अर्थमन्त्रालयबाट पनि यस्तै प्रकारका सार्वजनिक बक्तव्य आइरहनु, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायतका जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा आम लगानीकर्ताको मास साइकोलोजी मनोविज्ञान कमजोर बनेको छ । १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् । सार्वजनिक रुपमा टिप्पणी गरेको अभिब्यक्तिले बजारमा असर नगर्ने भए केही सामाजिक सञ्जालमा ब्रोकरले आफ्नो भाषा प्रयोग गर्न सक्छन् । कोही लगानकर्ता ट्रेडर छन् उनीहरुले बजार घटाउन विभिन्न हतियार प्रयोग गरेका छन् । यस्तै कुराले गर्दा बजारको मास साइकोलोजी कमजोर बनेको छ । सेयर बजारको मास साइकोलोजी सबैभन्दा महत्वपूर्ण हो । बजार सेन्सेटिभ हो । लगानीकर्ताको मनोबल कमजोर भएकाले खराब समाचार चाहीँ एकदम छिटो मनस्थितिमा हिट गर्छ । ब्याजदरको कुराले पनि सबैभन्दा छिटो हिट गरेको हो । हामीले १२/१४ वर्षदेखि ब्रोकरको लाइसेन्स खुलाउनुपर्ने माग गर्दै आएका थियौं । त्यो कार्यान्वयनमा आइसकेको छ । हामीले नयाँ स्टक ल्याउनुपर्छ भनेर माग गरेका थियौं । हामीले सिआश्वा शुल्क घटाउनुपर्ने लगायतका मागहरु राखेका थियौं । ती सबै कुराहरु पुरा हुँदै गएका छन् । यस्तै, दशैंतिहारपछि ब्रोकर, सिडिएस, नेप्से, सेबोन लगायतको कमिशन घटाउने पनि भनेको छ । हाम्रा राम्रा मागहरु पुरा भइरहेका छन् । अहिले लगानीकर्ता आत्तिनुपर्ने अवस्था नै छैन । तर मास साइकोलोजी वीक भएपछि अलिकति गाह्रो भएको हो । यस्तो अवस्थामा सकारात्मक कुरा आएपनि लगानीकर्तालाई त्यति छिटो असर गर्दैन । तर नेगेटिभ कुराहरु आयो भने एकैपल्ट त्रसित हुने देखिएको छ । अहिले त्रसित वातावरणको अवस्था छ । त्यसकारण बजार घटेको हो । तर म बजार देख्ने कारण देख्दिन । १३ महिनामा निरन्तर १३ सय अंकले बजार घटेको छ । यो भनेको धेरै ठूलो घटाइ हो । जुन नहुनुपर्न थियो । आजको सेयर बजारमा ३ सय रुपैयाँमा सेयर किनेको छ भने करिब त्यसमा ६० रुपैयाँ ब्याजको पैसा छ । केहीकेही ब्यक्तिहरुले त्यो पैसा तिरिसक्यो । ३ सय रुपैयाँको सेयर किन्दा कष्ट ६० रुपैयाँ हो भने २४० रुपैयाँ वास्तविक हो नी त । १३ महिनाको त ब्याज तिरिसक्यो त्यहाँ । दशैं तिहार लगत्तै बोनस सेयर वितरण गर्ने समय हो । अब पाकेको रोटी खाने समय हो । बालिनाली भित्र्याउने समयमा सेयर बिक्री गर्नु भनेको घाटा हुन्छ । सेयर कारोबार घटेर ७०/८० करोड रुपैयाँमा झरेको छ । यसअघि १८ सयको इण्डेक्सबाट ११ सयको इण्डेक्समा झर्दा धेरैले त्यो बेलामा ९ सयमा झथ्र्याे भनेको थिए । तर ९ सयमा झरेन त्यो बेलामा । त्योबेला लगानीकर्ताले सेयर बिक्री गर्न मानेन् । त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुने गरेको थियो । त्यसपछि विस्तारै बजार बढ्न थाल्यो । अहिलेको अवस्था पनि त्यहि देखिरहेको छु । अहिले सेयर लगानीकर्ता बिक्री गर्न मानिरहेका छैनन् । बजारमा नयाँ लगानीकर्ता धेरै भएकाले उनीहरु आत्तिएका छन् । अहिले जसलाई जरुरी उनीहरुले बिक्री गरिरहेका छन् । नयाँ लगानीकर्ताका लागि सेयर शिक्षाको कमी छ । ५४ लाख डिम्याट खाता खोल्ने पुगिसकेका छन् । अनलाई टिएमस लिने १३ लाख बढी पुगेका छन् । यसअघि आईपीओमा २७ लाखले आईपीओमा आवेदन दिएपनि अहिले । धेरै लगानीकर्ता शिक्षित छैनन् । उनीहरुलाई सेयर शिक्षा पुगेको छैन् । त्यसैले उनीहरु आत्तिने र मात्तिने गरेका छन् । हरियो वा पोजेटिभ सर्किट लाग्यो भने किन्न जान्छन् । अनि नेगेटिभ सर्किट लागेर बजार घट्दै गयो भने झन् आत्तिएर बिक्री गरेर आत्तिन्छन् । विदेशमा रातो भयो भने किन्छन् हरियो भने बिक्री गर्छन् । वारेन वफेटले लगानी गर्दा हरियोमा भन्दा रातोमा बढी रमाइलो गर्नुपर्छ भनेका छन् । रातो भएका बेलामा लगानी गर्ने समय हो । हरियोमा बिक्री गरेर रमाइलो गर्ने हो । तर यहाँ रातो भयो भने सबैभन्दा बढी बिक्री गर्न हतार गर्छन् । अहिले किन्नु पर्ने बेला हो । अहिले रिस्क १५/२० प्रतिशत छ भने अवसर ७५/८० प्रतिशत छ । यसकारण अहिले लगानी गर्ने समय हो । वारेन बफेटले दीर्घकालका लागि लगानी गर्दा प्रतिफलमा धेरै हुन सक्छ भनेका छन् । ३२ सय विन्दुमा सेयर बजार हुँदा लगानी गरेको छ भने यो व्यवस्था लागू गर्ने हो भने केही फाइदा हुँदैन । यदि १८ सयमा बजार मूल्य हेर्ने हो भने यो सिस्टम पनि लागू भयो । अहिलेको सेयर बजारमा वारेन बफेटको दुईवटा सिद्धान्त नै लागू हुन्छन् । यसकारण अहिले लगानी गर्ने समय हो । अवसर पनि धेरै छ । सेयर बजारमा सधैं रिस्क भएपनि अहिले १५/२० प्रतिशत मात्रै छ भने अवसर ७५/८० प्रतिशत छ । वारेन बफेटले सबै डराएको समयमा सेयर किन्नुपर्छ भनेका छन् । राम्रो सेयर लगानीकर्ताहरु जोसँग पैसा छ उनीहरुले सेयर बिक्री गरिरहेका छैनन् । पैसा हुनेहरुले अहिले सेयर खरिद गरिरहेका छन् । अहिले आत्तिने र डराउनेहरुले सेयर बिक्री गरिरहेका छन् । अहिले बैंकको लोन लिएर सेयर किन्ने समय होइन । बैंकहरुले पनि यति महँगो ब्याजदरमा कर्जा दिनु हुँदैन । आफ्नो पैसा बचत छ भने लगानी गर्ने हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएका बेलामा ब्याज खाने किन सेयर किन्ने भन्ने पनि हुन सक्छ । तर उद्यमी ब्यापारीहरुले ब्याजको पैसा खानेभन्दा पनि ब्यापार उद्यम गरेर पनि खान्छन् । ब्याजदर उच्च केही समयको लागि मात्रै हो । बजार बढ्ने नै हो, सधैं घट्दैन । बजार बढ्नुपर्छ । अहिले लगानीकर्ताले १३ महिनाको ब्याज तिरिसकेको, बोनस सेयर वितरण गर्ने समय, १३ महिनामा १३ सय अंक घटेको लगायतका सबै कुराहरुलाई राम्रो गरी बुद्धि पुर्याउने हो भने सेयर किनेर राख्ने हो । बोनस सेयर वितरण गर्छ, बजार पनि बढ्छ अनि बहुआयामीक रुपमा लगानीकर्तालाई फाइदा हुन्छ । २/३ वर्षमा डबल त्रिबल फाइदा हुन बेर लाग्दैन । तर, बैंक तथा वित्तीय संस्थामा राख्यो भने त्यो हुँदैन । बैंकबाट १२/१५ प्रतिशभन्दा बढी ब्याज पाइँदैन । त्यहि पनि उच्च ब्याज दिने भनेको रेमिट्यान्स खातामा मात्रै हो । नेपाल बैंकर्स एसोशिएसनले तोडेको भद्र सहमति पुनः भद्र सहमति गर्छन् । किनभने यसले बजारमा आतंक मच्चाएको छ । बैंकर्सहरुले पनि सर्भिस दिएर कमाउने हो । यसरी लुटेर मनपरी गरेर हुँदैन । बैंकहरुले एनपीए/एनपीएल बढाएर राष्ट्र बैंकले कारवाही गर्दा कर्जा लिने लगानीकर्तालाइ समस्यामा पार्ने काम गर्नु हुँदैन । अहिले वेट एण्ड वाच गरेर बजार स्थिर भइसकेपछि सेयर खरिद गर्ने हो । केही दिन अघिसम्म बजार स्थिर भइसकेको अवस्था थियो । दुईचार विन्दु घट्नेबढ्ने भइरहेको थियो । त्यसपछि विस्तारै दुई दिन राम्रोसँग बढ्यो । बजार स्थिर हुन खोजिरहेको छ । बजार बढ्दा ट्रेडर्स पनि प्रवेश गरेका थिए । बैंकर्सहरुले पनि असोजसम्म हामी ब्याजदर बढाउँदैनौ भनेका थिए । तर अचानक यो भद्र सहमति तोड्दाखेरि बजार घटेको हो । यो निर्णय फिर्ता लिनै पर्छ । नेपाल बैंकर्स एशोसियसन, राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत सबैले हातेमालो गरेर २ कदम अघि बढ्नुपर्छ । यत्रो महँगो ब्याज लिँदा खेरि अन्ततः यसको फायर ब्याक बैंकलाई नै हुन्छ । एनपीएल धेरै नै बढ्छ । कर्जा लिनेहरुले महँगो ब्याज तिरेपछि उसले आफ्नो उद्योगधन्दा चलाउन सक्दैन । ब्याजदर नि तिर्न नसक्दा कम्पनी पनि डुब्छ । बैंकको एनपीएल बढ्ने भएपछि बैंक पनि यस कुरामा सावधान हुनुपर्छ । ब्याजदर बढायो भने बैंकलाई दूरगामी परिणाम हुन्छ । छोटो समयमा नाफा होला तर दीर्घकालमा बैंकलाई नै ब्याक फायर हुन्छ । बैंकहरुको सिडी रेसियो ८८ प्रतिशतको हाराहारीमा छ । ४/१२ को नीतिमा राष्ट्र बैंकले १२ सम्म दिने भनेको छ । अहिले कतिपय बैंकले पैसा लिन आउ भनरिहेका छन् । बैंकमा पैसा प्रयाप्त भएकाले लगानीकर्ताले सेयर धितो कर्जा पाइरहेका छन् । अहिले ब्याज मात्रै बढाएका हुन् । १ सय खर्बको हाराहारीमा बैंकले सेयर धितो कर्जा ब्याजदर बढ्दा घटेर ६०/७० अर्बको हाराहारीमा झरेको छ । बजार घटिरहेको बेलामा मार्जिन कल आइरहेको हुन्छ । १८ सय विन्दुमा झरेर माथि गइसकेपछि मार्जिन कल कम आएको थियो । बैंकहरुले सानोतिनो मार्जिन कल गर्नु हुँदैन भनेर बुझ्नुपर्ने हुन्छ । यस्तो बेलामा लगानीकर्तालाई चारैतिरबाट घेरबन्दी हुँदा गाह्रो हुन्छ । सानोतिनो कर्जामा हामी मार्जिन कल गर्दैनौ भनेर बैंसर्कहरुले भनिरहेका छन् । अहिले धेरै ठूला-ठूला कर्जा धेरैले तिरिसके । अहिले लगानीकर्ताका राम्रो अवसर आएको छ । अब बजार यो भन्दा कम घट्दैन । अब बजार धेरै घट्ने ठाउँ पनि छैन । बजारको यथावत स्थिति सधैं रहँदैन । रेमिट्यान्स बढिरहेको छ, चुनावी खर्च आइरहेको छ, राष्ट्र बैंकले पनि बैंकहरुलाई यसरी काम गर्न दिँदैन । बैंकको असहमति भयो भन्दैमा यस्तो निर्दयीतरिकाले हिन्दैन । पहिला पनि भद्र सहमति तोडेर फेरि मिलेकै हो । सेयर बजारमा गैरआवासिय नेपाली पनि भित्र्याउने र विदेशमा जाने नेपालीहरुले आईपीओमा १० प्रतिशत आरक्षण पाउँदा लगानी बढ्छ । (नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष रौनियासँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित )