विकासन्युज

एनएमबि बैंकका नायब महाप्रबन्धक उपाध्याय र घिमिरे डीसीईओमा बढुवा

काठमाडौं । एनएमबि बैंकका दुई नायब महाप्रबन्धकहरु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन् । नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे सो पदमा बढुवा भएका हुन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जुन आगामी असोज ११ गतेदेखि लागू हुने छ ।

नवलपुरमा पोल्ट्री उद्योग खोल्दै चार उद्यमी, स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने, लागत आठ करोड रुपैयाँ

नवलपुर । पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित दलदलेमा चार उद्यमीको आठ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो । पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सङ्गम घिमिरेले जानकारी दिए । पोल्ट्रीजन्य उद्योगलाई चाहिने सबै सामग्रीसहित कृषिसँग सम्बन्धित सामग्री उत्पादन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उनले बताए । कम्पनीले पोल्ट्री फार्ममा आवश्यक पर्ने सम्पूर्ण प्लाष्टिकका सामग्री, कृषि उत्पादनमा थोपा सिँचाइका लागि आवश्यक पर्ने सामग्री तथा अन्य प्लाष्टिकका सामग्रीसमेत उत्पादन सुरु गरेको जनाइएको छ । ‘पोल्ट्री फार्मका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी सामग्री हामीले यहाँ नै उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘यसका साथै व्यवसायी र किसानले चाहेअनुसारका सबै प्रकारका प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने क्षमता राख्दछौं ।’ कम्पनीले पोल्ट्रीको ड्रिङकर्स, पोल्ट्रीको फिडर्स (केजहरू ठूला, मिडियम र साना आकारमा) उत्पादन सुरु गरेको छ । त्यसैगरी प्यारेन्ट्स, ब्रोइलर र लेयर्स जातका कुखुराहरूका लागि अटोमेटिक ड्रिङकर्स, निप्पल ड्रिङकिङ सिस्टम उत्पादन भइरहेको जनाइएको छ । कम्पनीमा उत्पादन भएका निप्पल तथा ड्रिङकिङ सिस्टमहरू ठूला ह्याचरी, इनहाउस, मध्यम र साना ह्याचरीहरूमा जडान गर्ने गरिएको कार्यकारी घिमिरेले जानकारी दिए । कम्पास एग्रो इन्डष्ट्रिज प्रालिबाट उत्पादित सामग्रीको प्रयोग गरेपछि कुखुराले कहिल्यै पनि फोहरपानी नखाने र चल्ला पनि छिटो हुर्कने तथा कुखुरामा रोग कम लाग्न उनले दाबी गरे । कुनै पनि वितरक, पोल्ट्री व्यवसाय तथा अन्य कम्पनीले आफ्नो लोगो र नामसहित सामान उत्पादन गराउन चाहेमा पनि उद्योगले सोहीअनुसार प्रिन्टसहितको उत्पादन उपलब्ध गराउने उनले बताए । नेपालमा स्थापना भएका पोल्ट्री र ह्याचरी उद्योगसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामान भारत र चीनबाट आयात हुने गरेकामा अब भने स्थानीय उत्पादन प्रयोग गर्न पाइएको वितरक शिव पौडेलले जानकारी दिए । ‘नेपालमा पहिले केही प्लाष्टिक कम्पनीहरूले एउटा-एउटा प्रोडक्टको मात्र उत्पादन गर्ने गर्दथे । तर, कम्पास एग्रोले सबै सामान एकै ठाउँमा उत्पादन सुरु गरेपछि हामी वितरकहरूलाई समेत सहज भएको छ,’ उनले भने, ‘पोल्ट्री उद्योगसँग सम्बन्धित सानादेखि ठूला सबै सामान यही उत्पादन सुरु भएकाले अब भारत र चीनबाट सामान ल्याउनुपर्ने बाध्यता हटेको छ ।’ कम्पनीले उत्पादन गरेका सामान आफूहरूले देशका विभिन्न सहरमा पठाइरहेको उनको भनाइ छ । यहाँ उत्पादन भएको सामान बाहिरबाट ल्याएको भन्दा रु २०-२५ सस्तो पर्ने गरेको जनाइएको छ । ‘यहाँका सामान प्रयोग गर्दा साना-साना सामान हराउने, फुट्ने समस्या भएको छैन,’ उनले भने, ‘बाहिरबाट ल्याउँदा एउटा फिडरको सानो सामान पाइएन भने पूरै फिडर फेर्नुपर्छ । तर कम्पास एग्रोले सबै फेर्न मिल्ने सामान उपलब्ध गराएको कारण यसले डिलरहरू र ग्राहक दुवैलाई सजिलो भएको हामीले पाएका छौं ।’ कम्पासका सबै उत्पादन गुणस्तरीय भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत घिमिरेले दाबी गरे । ‘हाम्रो कम्पनीले हरेक उत्पादनको तीनवटा क्वालिटी बनाउने गरेको छ । सानो, मध्यम र उच्च दरको फरक-फरक मूल्य तोकिएको छ,’ उनले भने, ‘थोरै लगानीमा थोरै समय कुखुरा पाल्छु भन्ने किसानले धेरै लगानी गर्ने कुरा भएन । यसलाई पनि मध्यनजर गर्दै कम्पास एग्रोले सामान उत्पादन गरेको छ ।’ कसरी हुन्छ किसानलाई सहज बनाउने भन्ने नै आफूहरूको प्रमुख उद्देश्य रहेको उनले बताए । रासस

दिनानुदिन बढ्दै डेङ्गुका बिरामी, परीक्षणका लागि किट अभाव

बागलुङ । बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिए । ‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ,’ उनले भने, ‘अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।’ स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए । ‘अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौं,’ उनले भने, ‘अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।’ डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ । डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ । रासस

चिया पारखीलाई खुसीको खबर : दैनिक ४ कप चिनी बिनाको चिया पिउँदा मधुमेहको जोखिम १७ प्रतिशतले कम हुने

एजेन्सी । यदि तपाई चिया वा कफी पिउन मन पराउनुहुन्छ भने तपाईको लागि यो निकै खुसीको विषय हो । वास्तवमा, दिनमा चार कपभन्दा बढी चिया पिउनाले टाइप२ मधुमेहको जोखिम कम हुन्छ। लगातार १० वर्षसम्म यसो गर्दा मधुमेहको जोखिम १७ प्रतिशतले कम हुन्छ । जसमा कालो, हरियो र अन्य प्रकारका चिया पर्दछन् । चिनी बिनाको चिया पिउनाले स्वास्थ्यलाई झनै फाइदा पुर्याउँछ । कालो चिया जस्तै दुधको चिया पनि फाइदाजनक हालै चीनको वुहान युनिभर्सिटीमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो । यसअघिका अन्य १९ अनुसन्धानलाई उद्धृत गर्दै वुहान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका शियिङ लीले चियामा दूध मिसाउँदा स्वास्थ्यलाई बेफाइदा हुने अनुमान पुरानो भएको भन्दै सो अनुसन्धानले दूधसँगको चिया पनि कालो चिया जत्तिकै फाइदाजनक रहेको बताएका छन् । अर्को, मेटा एनालाइसिसले पनि अमेरिका, एसिया र युरोपका आठ देशका करिब ११ लाख वयस्कहरूलाई समावेश गरेर अनुसन्धान गर्दा दिनमा एक, दुई वा तीन कप चिया पिउने मानिसहरूलाई चिया नपिउनेहरूको तुलनामा टाइप २ मधुमेहको जोखिम ४ प्रतिशत कम हुने कुरा पत्ता लगाएको छ । एकै दिनमा चार वा बढी कप पिउने व्यक्तिहरूमा मधुमेहको जोखिम १७ प्रतिशतले कमी देखिएको थियो । दक्षीण एसियाकै ठूलो मुलुक भारतमा हरेक ११ जना मध्ये एक जना मधुमेहबाट पीडित छन् । यीमध्ये ९० देखी ९५ प्रतिशतलाई टाइप–२ मधुमेह रोग लागेको छ । त्यस्तै बेलायतका ४० लाख मधुमेह रोगीमध्ये ९० प्रतिशतलाई टाइप २ मधुमेह रोग लागेको छ । कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कमी हुने कफी पिउनाले मृत्युको जोखिम कम हुने अनुसन्धानले देखाएको छ। बेलायतका १.७ लाखभन्दा बढी मानिसमा गरिएको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । ७ वर्षसम्म हरेक दिन १.५ देखि ३.५ कप चिनी नभएको कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कम हुने अनुसन्धानले देखाएको छ ।

नियमित व्यायाम गर्ने महिलाहरुमा स्तन क्यान्सरको जोखिम ४१ प्रतिशतले कमी हुने

एजेन्सी । नियमित रुपमा व्यायाम गर्ने र धेरै समय आराम नगर्दा स्वास्थ्यमा ठूलो फाइदा हुन्छ। बैज्ञानिकहरुको एक अध्ययनले मानिसहरुको व्यायामसँग क्यान्सरको सम्बन्ध पत्ता लगाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित यो अनुसन्धानले शारीरिक क्रियाकलाप नगर्ने मानिसलाई स्तन क्यान्सरको जोखिम अरुको तुलनामा बढी हुने गरेको देखाएको छ । यो स्तन क्यान्सर रोगको सबै चरणमा लागु हुने अनुसन्धानले दाबी गरेको छ । यस अनुसन्धानमा १,३०,९५७ महिलालाई समावेश गरिएको थियो । जसमध्ये ६९ हजार ३८३ महिलामा ट्युमर फैलिएको थियो भने ६ हजार ६६७ महिलामा ट्युमर थिएन । अनुसन्धानमा सहभागी गराइएका ५४,४५२ महिलाहरूमा स्तन क्यान्सर थिएन। बैज्ञानिकहरुले सहभागिहरुको बारेमा थप जानकारीको लागि युके बायो बैंकसँग सहकार्य गरेका थिए । अनुसन्धानमा महिलाहरुको उनीहरुको शारीरिक गतिविधि र बस्ने अवधिको तथ्यांक संकलन गरिएको थियो । अनुसन्धानकर्ताहरूले त्यसपछि महिनावारी बन्द भएको अवस्था, महिलाको उमेर, स्तन क्यान्सरको प्रकार, क्यान्सरको चरण र क्यान्सरको ग्रेड जाँच गर्ने काम गरे । अध्ययनले अनुसार धेरै शारीरिक गतिविधि गर्ने आनुवंशिक प्रवृति भएका मानिसहरूमा स्तन क्यान्सरको जोखिम ४१ प्रतिशत कम देखायो । यसमा उनीहरूको महिनावारीको बन्द, क्यान्सरको अवस्था र चरणसँग कुनै सरोकार देखिएको थिएन । साथै, हप्ताको ३÷४ दिन कडा व्यायाम गर्ने महलिाहरुमा क्यान्सरको जोखिम ३८.५ प्रतिशत जोखिम कम हुने अध्ययनले देखाएको थियो । धेरै समय बस्ने प्रवृति भएका महिलाहरुमा ट्रिपल नेगेटिभ स्तन क्यान्सरको जोखिम १०४ प्रतिशतले बढी हुने गरेको अनुसन्धानले देखाएको छ । यो स्तन क्यान्सरको सबैभन्दा खतरनाक र दुर्लभ प्रकार हो, जुन शरीरमा छिटो फैलिन्छ। धेरैजसो अवस्थामा, ट्युमर पत्ता लाग्नु अघि नै फैलिएको हुन्छ, यसको उपचार निकै कठिन रहेको बताइन्छ । सन् २०१९ मा गरेको मेटा एनलाइसिसमा स्तन क्यान्सरका बिमारीहरुले यदि नियमित रुपमा व्यायाम गर्छन भने उनीहरुलाई अन्यको तुलनामा ४० प्रतिशत जोखिम कम रहेको देखिएको थियो । प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सरको जोखिमको व्यायामसँग सम्बन्ध सोही प्रकारले हुने सो अध्ययनमा देखिएको थियो ।

अनावश्यक इमेलहरूबाट हैरान हुनुभएको छ ? यी टिप्सको प्रयोग गर्नुहोस्

एजेन्सी । जिमेलले तपाईंलाई बारम्बार र अनावश्यक वेबसाइट इमेलहरूबाट सदस्यता रद्द गर्न पनि अनुमति दिएको हुन्छ । अनावश्यक इमेल आइरहने त्यस्ता वेबसाइटहरुलाई अनसस्क्राइब गर्न पनि सकिन्छ, त्यसपछि अनावश्यक लाग्ने इमेलहरु आउन बन्द हुन्छ । जीमेल डिजिटल संसारमा एक प्रसिद्ध नाम हो। धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरूको जिमेलमा अनिवार्य रुपमा एकाउन्ट रहेको हुन्छ । जिमेल स्कूल, कलेजदेखि अफिससम्मको कामका लागि प्रयोग गरिन्छ र यस अर्थमा यो निकै महत्त्वपूर्ण प्लेटफर्म हो। अहिले विश्वभर १५० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू जिमेलको प्रयोग गर्छन्। यदि तपाइँ पनि जिमेलको प्रयोग गर्नुहुन्छ भने, यो रिपोर्ट तपाइँको लागि सहयोगी हुन सक्छ । यस रिपोर्टमा, हामी तपाईंलाई अनावश्यक इमेलहरू मेटाउने र स्प्याम इमेलहरू ब्लक गर्ने सजिलो तरिकाहरूको बारेमा जानकारी दिने कोशिष गरेका छौं । अनावश्यक इमेलहरू कसरी मेटाउने ? तपाईं दुई तरिकामा अनावश्यक इमेलहरू मेटाउन सक्नुहुन्छ। पहिलो, तपाइँ एक एक गरी सबै इमेलहरू छानेर डिलिट गर्न सक्नुहुन्छ । यो तरिकाले इमेलहरू मेटाउन धेरै समय लाग्छ, तर यो सबैभन्दा सुरक्षित तरिका हो । यसरी मेटाउँदा महत्वपूर्ण इमेलहरु सुरक्षित रहन सक्छन् । दोस्रो, अनावश्यक इमेल हटाउने छिटो तरिका पनि छ । यो अप्सनमा तपाईं अनावश्यक इमेलहरू मेटाउन फिल्टरहरू प्रयोग गर्न सक्नुहुन्छ। यसमा तपाईले एक क्लिकमार्फत धेरै इमेलहरु मेट्न सक्नुहुन्छ । यसका लागि, तपाईंले इमेलको सर्चमा जानुहोस् र अनसब्सक्राइब वा अनरिड टाइप गर्नुहोस् । त्यसपछि तपाईंको स्क्रिनमा सबै अनसब्सक्राइब र नपढिएको इमेलहरूको पूर्ण सूची देखा पर्नेछ। यसपछि तपाईंले सबैलाई एकै पटक छनोट गरेर मेटाउन सक्नुहुन्छ। स्प्याम इमेलहरू एकैपटक मेट्न सकिन्छ तपाईंले स्प्याम इमेलहरू फेला पार्न र हटाउन जिमेल फिल्टरहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि जिमेलको सर्च इन मेल बक्समा गएर अनसबस्क्राइब टाइप गर्नुपर्नेछ। यस पछि तपाईले सबै आफुले सस्क्राइब नगरेका र स्प्याम मेलहरूको पूरा सूची देख्नुहुनेछ। तपाईंले यी सबै स्प्याम इमेलहरू एकैपटक छनोट गर्नसक्नुहुन्छ । त्यसको लागि तीनवटा डट्सहरुमा क्लिक गर्नुहोस् र विकल्पहरु मध्ये सन्देश फिल्टरमा जानुहोस्। यसपछि तपाईले यसमा डिलेट, मार्क एज रिड र स्किप इनबक्स जस्ता धेरै विकल्पहरू पाउनुहुनेछ। तपाईं आफ्नो इच्छा अनुसार कुनै पनि विकल्प छनोट गर्न सक्नुहुन्छ। यसपछि जीमेलले त्यस्ता इमेलहरूलाई तपाईंको छनोट अनुसार स्वतः फिल्टर गरेर देखाउँछ । अनावश्यक इमेल अनसस्क्राइब गर्न सकिन्छ जिमेलले तपाईंलाई बारम्बार र अनावश्यक वेबसाइटबाट आउने इमेलहरूबाट अनसस्क्राइब गर्ने सुविधा पनि दिएको छ । तपाईंले यी वेबसाइटहरूबाट आउने इमललाई अनसस्क्राइब गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंलाई ती वेबसाइटहरूबाट इमेलहरू प्राप्त हुन छाड्छन् । त्यस्ता अनावश्यक इमेलहरुको अनसस्क्राइब गर्न तपाईंले स्प्याममा गएर इमेल छनोट गर्नुपर्नेछ र त्यसपछि रिपोर्ट स्प्याम र सदस्यता रद्द गर्ने विकल्पमा जानुहोस् । स्प्याम रिपोर्ट गर्नुहोस् र अनसस्क्राइब गर्नुहोस, त्यसपछि तपाईंले त्यो इमेलबाट फेरि मेल प्राप्त गर्नुहुने छैन।

क्रिप्टोकरेन्सी जोखिममा, बिटक्वाइनको मूल्य २० हजार डलरभन्दा तल झर्यो

एजेन्सी । सोमबार मात्रै क्रिप्टोकरेन्सीको कारोबार प्रति बिटक्वाइन कारोबार १९ हजार डलर भन्दा तल झरेर कारोबार भयो । दिनको पछिल्लो समयमा मात्रै थोरै सुधार भएको छ । संसारभर बैंकिङ क्षेत्रमा भएको ब्याजदर वृद्धिको कारणले लगानीकर्ताहरुले क्षेत्र परिवर्तन गरेको कारण यस्तो अवस्था आएको हुनसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । पछिल्लो ३ महिनामध्ये सोमबार बिट्क्वाइनको मूल्य सबैभन्दा न्यून मूल्य १८ हजार ३ सय १३ डलरमा कारोबार भयो । त्यस्तै दोस्रो ठुलो मूल्य रहेको इथरको मूल्य घटेर सोमबार १ हजार २ ८५ दशमलब ०३ अमेरिकी डलरमा कारोबार भयो । पछिल्लो हप्तामा मात्रै इथरियम ब्लकचेनले आफू्रलाई अपग्रेड गरेर न्यून उर्जा खपत गर्ने तरिका अवलम्बन गरेको छ । नयाँ प्रविधीको अनुसरणसँगै इथरको मूल्य बढ्ने अनुमान धेरैले गरेका थिए तर त्यसो हुन सकेन ।

केएल दुगडका प्रबन्ध निर्देशक ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरिने घोषणा भएको छ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई ‘प्रबल जनसेवाश्री’  पदकबाट विभुषित गरिने भएको हो । देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याउँदै आएको योगदानको कदरस्वरुप उनी सम्मानित हुने भएका हुन् । निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याएका छन् । उनले उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक-हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा-पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।