टेलिकमको ई-सिम अब ८ वटा स्थानबाट पाइने
काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई-सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको छ । ग्राहकहरुको अत्यधिक रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई-सिम भोलि (२०७९ असोज ४ गते) देखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने छ । मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई-सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई-सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान ग्राहकलाई अनुरोध गरेको छ । यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई-सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई-सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डेटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः ई-सिम चल्छ भन्ने कुरा थाहा हुन्छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ । ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
एक दाना रुद्राक्षको मूल्य ४० लाख रुपैयाँ !
काठमाडौं । अहिले संखुवासभा र भोजपुरका अधिकांश मानिसहरू रुद्राक्षको बोटमा देखिन्छन् । रुद्राक्षको व्यापार तथा व्यवसाय गर्नमा किसानदेखि व्यापारीसम्म लागिपरेका छन् । किसानलाई ठुलामुखि (मुख्दार) रुद्राक्ष संकलन गर्न र व्यापारीलाई रुद्राक्ष किन्न भ्याइनभ्याई छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष मुख्दारको उत्पादन बढी भएको र बजारमा पनि अत्याधिक ठूला मुखे दानाको कारोबार भइरहेकोले किसानदेखि व्यापारीहरु रुद्राक्षकाे पछि लागेका हुन् । मुख्दारको उत्पादन भएपनि रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । तर, रुद्राक्षको उचित मूल्यका साथ नै रुद्राक्षको कारोबार भइरहेको रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार चापागाईंले बताए । संखुवासभा र भोजपुर किसानको मुख्य आम्दानीको स्रोत रुद्राक्ष हो । धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने र बजार मूल्य पनि राम्रो भएकाले कृषकले खेतीयोग्य जमिनलाई रुद्राक्ष खेतीका रूपमा परिणत गरेका छन् । प्रायः जसो रुद्राक्षको कारोबार भदौबाट सुरु हुन्छ । रुद्राक्षको कारोबार सुरु भएदेखि हालसम्म २१ मुखे रुद्राक्ष मात्रै विभिन्न ठाउँमा करिब २० वटा फलेको चापागाईंले बताए । २१ मुखे रुद्राक्ष धेरै बिक्री भइसकेको छ भने केही किसानहरूले बिक्री गर्न चरणमा छन् । सो रुद्राक्ष थोरै रुद्राक्षको बगैचा मात्र फल्ने गर्छ । चापागाईंका अनुसार सो रुद्राक्ष प्रति गोटा ५ लाखदेखि ४० लाख रुपैयाँसम्ममा किनबेच भएको छ । २१ मुखे रुद्राक्ष संम्भवत अहिलेसम्मकै सबै भन्दा धेरै फलेको हो । बजारमा सबैभन्दा बढी २१ मुखे दानाको माग छ । रुद्राक्षमा हुने सबै गुण २१ मुखे दानामा हुने मान्यता रहेकाले यसको माग बढेको अध्यक्ष चापागाईं बताउँछन् । ‘यस वर्ष मुख्दार रुद्राक्षको उत्पादन धेरै छ, व्यापारीहरुले दानाको साइज आकार हरेर राम्रो दानाको राम्रो नै मूल्यमा खरिदबिक्री भइरहेको छ,विगतका वर्षहरूमा जस्तो अहिले भने ठुला मुखी दानाको मूल्य छैन, किसानलाई मर्का नहुने गरी किनबेच भइरहेको छ,’ उनले भने । चापागाईंका अनुसार अहिले २६ मुखेसम्मको रुद्राक्ष उत्पादन भएको छ । २६ मुखे उत्पादन भए पनि २१ मुखे रुद्राक्षको नै बढी मूल्य पर्न जान्छ । विदेशी व्यापारीको उपस्थिति कम भएसँगै रुद्राक्षको मूल्यमा कमि आएको हो । नेपाली बजारमा उत्पादन भएको रुद्राक्ष विशेष गरी चाइना र भारतमा निर्यात हुँदै आएको छ । विगत वर्षहरूमा घर-घरमा पुग्ने भारतीय र चिनियाँ व्यापारी अहिले भने आएका छैनन् । राम्रो र आकर्षक ५ मुखे रुद्राक्ष उच्च मूल्यका साथ चीन निर्यात हुँदै आएको थियो । यस वर्ष चाइनिज व्यापारी नआउँदा नेपाली रुद्राक्ष व्यपारीहरु आत्तिएका छन् । करोडौं रुपैयाँमा रुद्राक्ष ठेक्का लिएर व्यपारीहरुले ५ मुखे रुद्राक्ष बिक्री गर्न पाइएन भने लगानी फस्ने चिन्ता उनीहरुलाई छ । हाल देशका ४५ वटा जिल्लामा रुद्राक्षको व्यवसायिक खेती भइरहेको छ । रुद्राक्ष उत्पादनको मुख्य क्षेत्र भने पूर्वी नेपालको भोजपुर र सङ्खुवासभालाई लिइन्छ ।
टिभिएसले ल्यायो नयाँ एनटर्क १२५ रेस एक्सपी, मूल्य ३ लाख रुपैयाँ
काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एक्जोनेट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस-असिस्ट फिचर युक्त स्मार्ट एक्जोनेट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उद्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ । १२५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर रहेको कम्पनीको दावी छ । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ । टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ र यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउनपाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौं। टिभिएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मकप्रतिक्रिया र प्रतिक्रियाहरू संकलन गरिसकेको छ । भर्खरै लन्च गरिएको टीभीएस एनटर्क १२५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट-इन-सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिवद्धता मात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट-फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ।’ लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाईरेक्टर साहिल अग्रवाले भने- ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ । हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको बिषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।’ टेक्नोलोजी यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टीभीएस स्मार्ट एक्जोनेट हो जसलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टाछुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा-गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् । त्यस्तै अपडेटेड र रिफ्रेस्ड यूआई/यूएक्स एवम् राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ । यसैगरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । पर्फर्मेन्स यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ । म्यानेजिङ हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार ट्राइ-टोन कलर रिमसहित उपलब्ध यो स्कुटरको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।
सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–साँखु सडक
काठमाडौं । तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ? कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चावहिल–जोरपाटी–वाग्मती–साँखु सडकका विभिन्न खण्डका काम अझै अलपत्र छ । मूलपानीका स्थानीयवासी रणेन्द्र फुँयाल तिवारीटोलको सडकमा हुने खाल्डाखुल्डी टाल्न सरोकार भएका निकायलाई पटक–पटक आग्रह गरेपनि पूरा हुन नसकेको बताउनुहुन्छ । वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रबिन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा सडक किनार दायाँबायाँका घर तथा जग्गा धनीले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्चले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तारगर्नु भनी सरकारका नाममा २०७४ असोजमा आदेश दिएको थियो । सरकारले पुनरावलोकनको माग गरेकामा मुआब्जा नै दिनु भन्ने आदेश भएको थियो । यसपछि सरकारले चावहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि पाँच वर्ष बितिसकेको छ । तर सडक भने बन्न सकेको छैन । सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो । एउटा समूह सडक छिटो बनाऊ भन्छ । अर्को समूह सर्वोच्चको आदेश कार्यान्वयन गर भन्छ । उपलब्ध सडकमा छिटो कालोपत्रगर्न सरकारले भनेको वर्षौ वितिसक्दा पनि यात्रु र स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । वर्षौ चुप लागेर बस्ने निर्माण व्यवसायी सरोकार भएका निकायले अनुगमनगर्ने भनेपछि यन्त्रसहित सडकमा काम गरेझैँ गरी रिझाउन खोज्छन् । चावहिलका स्थानीयवासी शङ्करकुमार श्रेष्ठ अनुगमन टोली फर्कने वित्तिकै काम बन्द हुने गरेको अनुभव सुनाउँछन् । कालोपत्र गरिएका स्थानको पनि किनारका भागमा अझै अलपत्र छोड्दा सडकमा समस्या भएको उनले गुनासो गरे । टुसालचोकमा हायात होटलको पौडीपोखरीबाट निस्कने पानी र महाङ्कालबाट वर्षाद्का समयमा आउने बाढीले सडक जीर्ण छ । दुवैको व्यवस्थापन नभएसम्म सडक सुध्रिँदैन । हायात होटलबाट टुसालसम्म गरिएको कालोपत्र पौडी पोखरीको पानी र वर्षाद्को भेलले केही दिनमै बिगारेको थियो । टुसालचोकबाट महाङ्काल निस्कने अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले बनाएको सडक पनि दुई महिना पनि टिकेन । दुवै सडकमा निर्माण व्यवसायीले हायात होटलबाट आउने भेलले सडक बिगारेको दाबी गर्दै आएका छन् । टुसालसम्म २२ मिटरकै हाराहारीको सडक भए पनि त्यसपछि साँघुरो देखिन्छ । महानगरीय प्रहरी वृत्त बौद्धको भवनसमेत काठमाडौँ उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्डविपरीत छ । मापदण्ड विपरीतको सरकारी भवन पहिलो चरणमा भत्काउनुपर्ने भनी सङ्घीय संसद्को विकास समितिले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । प्रत्येक वर्ष डुबानमा पर्ने गर्छ विश्व सम्पदा क्षेत्र बौद्ध स्तुप विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपसहितको सांस्कृतिकस्थल एवं यस वरपरको सडक तीन चुलेबाट आउने बाढीका कारण प्रत्येक वर्ष वर्षाद्मा डुब्ने गरेको छ । यद्यपि यो सडकमा कालोपत्र भइसकेको छ । कालोपत्र गर्दा पनि ढल व्यवस्थित नगर्दा सम्पदा क्षेत्र डुबान हुन नछोडेको हो । डुबानका बेला यस क्षेत्रमा सवारी आवागमनमा समेत बाधा पुग्ने गरेको छ । सवारी घण्टौँ जाममा पर्दा टाढा पुग्ने यात्रुले सास्ती भोग्छन् । बौद्ध पिपलबोटबाट जोरपाटीतर्फ तल्लोपट्टि भागमा सडक बढाउन खोजेपछि स्थानीयवासीले घर भत्काएका छैनन् । प्राधिकरणले पक्षपात गरेर एकातर्फमात्र ‘डिमार्केसन’ गरेको स्थानीय महेन्द्र लामाले बताए । केन्द्रबिन्दुबाट दुवैतिर उत्तिकै जग्गा लिए दिन तयार रहेको उनले बताए । जोरपाटी क्षेत्रका केही घर भत्किए पनि धेरैले मुआब्जा माग गरेका छन् । यस क्षेत्रको सडककोबीच भाग कालोपत्र भए पनि दायाँबायाँ अझै जीर्ण छ । कति ठाउँमा कालोपत्र भएको केही समयमै सडक भत्कन थालिसकेको छ । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जङ्गलतिरबाट आउने खोलाको बाढीले वर्षाद्मा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले बताए । दशकौँदेखि यो समस्या समाधान हुन नसकेको उनले गुनासो गरे । तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घर जग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । करिब १२ किमीको यो सडक पाँच खण्डमा काम भइरहेको छ । चावहिलबाट वाग्मती पुलसम्मको ३।६ किमी खण्डमा युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरिरहेको छ । दक्षिणढोकाबाट थली उकालोसम्म २।४ किमी दूरीमा बज्रगुरु/च्याङमिला/खानी जेभीको ठेक्का छ । थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु/बिरुवा/खानी जेभी, डाँछीबाट सलम्बुटार वनकोबीच सडकसम्म बिटी/सुनकोसी/वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा/समानान्तर जेभीले ठेक्का पाएका छन् । लामा/समानान्तर जेभीको केही काम मात्र बाँकी रहेको विस्तार आयोजनाले जनाएको छ । साइड पोष्ट र रोड मार्कको काम मात्र बाँकी छ । आयोजना प्रमुख कृष्णनाथ ओझा यो सडकका लागि पुससम्मको समय दिएको बताउँछन् । त्यससमयसम्ममा काम सक्न निर्देशन दिइएको छ । करिब दुई किमी क्षेत्रको काममात्र बाँकी रहेको पनि उनले सुनाए । रासस
डिशहोममा रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते एक लाख रूपैयाँ
काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गरेका पाखृवास न पा २ धनकुटाका सन्त बहादुर राना मगरले एक लाख रूपैयाँ जितेका छन् । सन्त बहादुरले भारद्वाज इन्टरप्राइजेज डिलर अन्तर्गत रहेको केधान १० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत साे रकम पाएका हुन् । डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालले विजेता सन्त बहादुरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । विजेता मगरलाई बधाई दिँदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै, यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्नेछन् ।
काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिका लागि भरपर्दो उपचार केन्द्र
झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा सेवा लिने ६० हजारभन्दा बढी आँखाका रोगीमध्ये ८० प्रतिशत भारतीय रहेका पाइएको छ । भारतका बिहार, झारखण्ड, आसाम, सिक्किम, नागल्याण्ड, मेघालय, वेष्ट बङ्गाललगायत स्थानबाट आँखा उपचारका लागि नेपाल आउने गरेका अस्पतालका सञ्चालक बताउँछन् । सीमा क्षेत्रका अस्पतालमा आँखाका बिरामी नेपालीभन्दा बढी भारतीय हुने उनीहरुको भनाइ छ । अधिकांश मोतियाविन्दुका बिरामी उपचारका लागि भारतबाट धाएर आउने गरेको काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पतालका प्रशासन प्रमुख सुरेश सापकोटा बताउँछन् । उनका अनुसार उक्त अस्पतालमा गत आर्थिक वर्षमा उपचार गराउने १४ हजार दुई सय ८३ मध्ये ८० प्रतिशत भारतीय नागरिक थिए । मेची अभियानका संयोजक विजय डालमिया नेपालमा आँखाको उपचार सस्तो र राम्रो भएको हुँदा भारतीय नागरिक बढी आउने गरेको बताउँछनु । ‘भारतमा आँखाका राम्रा राम्रा अस्पताल छन् तर सामान्य मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्दा भारतीय रु २० हजारसम्म तिर्नुपर्छ’, उनी भन्छन्, ‘नेपालमा सोको उपचार पाँच हजार रुपैयाँसम्ममै हुन्छ । भारतीय अस्पतालका तुलनामा उपचार नेपालमै सस्तो हुँदा उनीहरु यतै धाउँछन् ।’ संयोजक डालमिया अन्य रोगको उपचारका लागि भारत धाउने नेपाली धेरै भए पनि आँखाको उपचारमा भारतीय नागरिकलाई नेपालका अस्पतालले आकर्षण गर्न सकेकोमा खुशी व्यक्त गर्छन् । भारतसँगको खुल्ला सिमाना र आउतजावतमा समस्या नहुँदा पनि उपचार गर्न आउन उनीहरुलाई सजिलो भएको उनको भनाइ छ । अघिल्लो आवमा कोभिडका कारण भारतीय बिरामी नपाउँदा यी आँखा अस्पताल प्रायः सुनसान नै बनेका थिए । यसैगरी काँकरभिट्टास्थित बाहुनडाँगी रोडमा विगत १५ वर्षदेखि सञ्चालनमा रहेको मेची नेत्रालयमा पनि उपचार गराउन आउने आँखाका बिरामीमध्ये ७० प्रतिशत भारतीय हुने गरेको अस्पतालकी प्रशासन प्रमुख पुनम प्रधान बताउनुहुन्छ । उक्त अस्पतालमा गत आव ४४ हजार छ सय २२ आँखाका बिरामीको उपचार भएकामा दुई हजार आठ सय २८ जनाको मोतियाविन्दु, रेटिनालगायतको शल्यक्रिया भएको उनले जानकारी दिए । प्रशासन प्रमुख प्रधानका अनुसार भारतका विभिन्न स्थानबाट आउने आँखाका बिरामी बच्चादेखि वृद्धसम्म हुने गरेका छन् तर धेरैजसो बिरामी भने ४१ वर्षमाथिका थिए । यसैगरी विगतमा उक्त अस्पतालमा बङ्गलादेशी पनि उपचारका लागि आएका थिए कोरोनाको महामारी पछि उनीहरु उपचारका लागि नआएको उनको भनाइ थियो । प्रायः काँकरभिट्टा क्षेत्रमा दुई किलोमिटर क्षेत्रको अन्तरालमा तीन ठूला आँखा अस्पताल रहेका छन् । यी अस्पताल भारतीय नागरिकलाई नै लक्ष्य गरेर सञ्चालनमा ल्याइएको काँकरभिट्टावासीको भनाइ छ । उपचार गर्न आउने भारतीय नागरिकका कारण काँकरभिट्टा आसपासका होटललाई फाइदा पुगेको छ । झापाको ठूलो व्यापारिक सहरको रुपमा चिनिएको विर्तामोड क्षेत्रमा पनि तीन ठूला आँखा अस्पताल छन् । मेची आँखा अस्पताल, दृष्टि र विर्तामोड आँखा अस्पतालका सेवाग्राही आधा जति भारतीय नागरिक नै हुने गरेका छन् । जिल्लामा सबैभन्दा पुरानो र ठूलो मेची आँखा अस्पताल हो । यो अस्पतालले स्थापनाको २६ वर्ष पार गरिसकेको छ । सो अवधिमा यो अस्पतालले तीन लाख ५० हजारभन्दा बढीलाई सेवा दिइसकेको छ । तीमध्ये झण्डै ५० प्रतिशत विरामी भारतीय नागरिक नै रहेको अस्पताल प्रशासनको भनाइ छ । रासस
एनएमबि बैंकले शुरु गर्यो भिसा डाईरेक्ट सेवा, रेमिट्यान्स रकम सोझै खातामा आउने
काठमाडौं । एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई यो सुविधा दिन लागेको हो । यससँगै एनएमबि बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ । उक्त रकम एनएमबि भिसा डेबिट (बैंक खाता) मा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब लगायत विश्वका १०० बढी देशबाट भिसा डाइरेक्ट प्लेटफर्म प्रयोग गरेर पठाएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिने छ । भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । यो सेवा समावेश भएसँगै एनएमबि भिसा कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । यसरी रकम पठाउने विदेशी तथा स्वदेशी नागरिकले आफ्नो मोबाइल अथवा इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
चौतर्फी दबावमा सेयर लगानीकर्ता, ब्याजदेखि मार्जिन कलसम्मको तनाब
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको बेला सेयर लगानीकर्ताले समस्यामा परेको गुनासो गर्न थालेका छन् । गत वर्ष उच्च बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको सेयर बजार अहिले भने निरन्तर ओरालो लाग्दा विभिन्न दबाव खेप्नु परेको गुनासो लगानीकर्ताले गरेका हुन् । सेयर बजार घट्दा सेयर मूल्य पनि घटेर ठूलो घाटा ब्यहोरेका लगानीकर्ता पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा झनै समस्यामा परेको बताएका छन् ३२ सय बढीको विन्दुबाट करिब दोब्बर अंकले घटेको नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक हाल १८ सयको विन्दुमा कारोबार भइरहेको छ । यसरी ओरालो लागेको सेयर बजारबाट ग्रसित भएका लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा झनै समस्यामा परेका हुन् । यस्तै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिका कारण नै सेयर बजार घटेको लगानीकर्ताहरु बताउँछन् । उच्च सेयर मूल्य भएका बेला खरिद गरेको सेयर यति बेला ठूलो रकमले घटेको छ । यही बेलामा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा अर्काे दबाव आइपरेको सेयर लगानीकर्ताहरु बताइरहेका छन् । एकातिर सेयर मूल्य घटेर तनावमा रहेका लगानीकर्ता झनै त्यसमा ब्याजदर बढ्दा अर्काे तनाव खेप्नु परेको उनीहरुको गुनासो छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा केही लगानीकर्ता घाटामा भएपनि सेयर बिक्री गरेर बैंकको निक्षेपमा राखेर ब्याज खाने अवस्थामा पुगेका छन् भने केही लगानीकर्तालाई सेयर धितो कर्जामा लागत बढ्दा अर्काे तनाव खेप्नु परेको बताउँछन् । यता बैंक तथा वित्तीय संस्थाले तरलता अभाव कायम रहेकाले नै ब्याजदर बढाएर निक्षेप भित्र्याउन खोजिरहेको देखिन्छ । जसले गर्दा सेयर बजारमा नकारात्मक प्रभाव पार्दा प्रत्यक्ष मारमा लगानीकर्ता परेका हुन् । यस्तै, सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि सेयर धितो कर्जा लिएका लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ‘मार्जिन कल’ गरेर सताउने गरेको गुनासो लगानीकर्ताले गरेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक वर्षअघि २०७८ असार १ गते दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गर्याे । त्यो बेलामा बोर्डले लगानीकर्ताको पक्षमा काम गर्नको लागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त देखिएको बताएको थियो । जसले सेयर लगानीकर्ताको मनोबलमा ठूलो प्रभाव पारेको थियो । आफूले लगानी गरेको कम्पनीलाई नियामक निकायले नै जोखिमयुक्त भनेर सार्वजनिक गर्दा लगानीकर्तामा ठूलो दबाव परेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिमा सेयरधितो राखेर एउटै व्यक्तिले एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँमात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसको नकारात्मक प्रभाव लगानीकर्तालाई अहिलेसम्म पनि छोड्न सकिरहेको छैन । ऐतिहासिक रेकर्ड बनाइहेको सेयर बजार घटाउन सोही व्यवस्थाले ठूलो भूमिका खेलेको लगानीकर्ताहरु बताउँदै आएका छन् । लगानीकर्ता राधा पोखरेल बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा लगानीकर्ताहरु दबावमा परेको बताउँछिन् । ब्याजदर बढ्दा कर्जाको लागत पनि बढेकाले लगानीकर्ता ठूलो दबावमा परेको उनको भनाइ छ । उनका अनुसार एकल अंक ब्याजदर हुँदा लिएको कर्जाको ब्याजदर दोब्बर हुँदा लगानीकर्तालाई ठूलो समस्या परेको छ । उनले बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले सहज रुपमा सेयर धितो कर्जा पाउन पनि समस्या रहेको बताइन् । ‘अहिले सहज रुपमा सेयर धितो कर्जा पाउँदैन, बैंक तथा वित्तीय संस्थाले अलि–अलि पैसा दिन्छ, लगानीकर्ताले माग गरेजति कर्जा दिँदैनन्,’ उनले भनिन्, ‘कर्जाको लागत बढ्दा सेयर बजार घटिरहेको छ, ६÷७ प्रतिशत ब्याजदर हुँदा लिएको सेयर धितो कर्जा ब्याज १५ प्रतिशतसम्म पुगेको छ, यसले गर्दा लगानीकर्तालाई प्रत्यक्ष मार परेको छ ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । सेयर बजार सामान्य घट्दा पनि मार्जिन कल आउँदा लगानीकर्ता दबावमा पर्ने गरेको उनले बताइन् । सेयर धितो कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँदा लगानीकर्ता पीडित हुनु परेको उनको भनाइ छ । ‘सेयर बजार घटेको बेलामा मार्जिन कल धेरै आउँछ, बजार अलिकति घट्ने बित्तिकै दैनिक २÷३ पटक फोन गरेर दबाव दिन्छन्, बैंक तथा वित्तीय संस्थाको कारण लगानीकर्ता धेरै पीडित हुनु परेको छ, बैंकले ब्याजदर बढी लिए पनि सहज रुपमा कर्जा पाउन सकिरहेको छैनन्, बैंकहरुमा पैसा नै छैन भन्छन्,’ लगानीकर्ता पोखरेलले भनिन्, ‘पछिल्ला केही दिनमा केही सहज भएको जस्तो महसुस भएको थियो तर बैंकको ब्याजदर खुकुलो गर्ने निर्णयले नै तरलता अभाव नै छ भन्ने बुझिन्छ, यसले झनै समस्यामा पारेको छ ।’ तर, यस पटकको सेयर बजारबाट भने लगानीकर्ता पोखरेलले राम्रो शिक्षा पाएको बताइन् । सेयर बजारमा लगानी गरेर मात्रै भर नपर्नुपर्ने उनको धारणा छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा नराम्रो प्रभाव पारेको उनले बताईन् । ‘सेयर बजारमा यसपटक मैले राम्रो शिक्षा पाएकी छु, सबै काम छोडेर सेयर बजारमा मात्रै डिपेन्डेन्ड हुनुहुन्न भन्ने ज्ञान पाएकी छु, लगानीकर्तालाई पनि यही आग्रह गर्छु, सेयर बजार सँगसँगै अन्य प्रोफेसनपनि बढाउनुपर्दाे रहेछ,’ उनले भनिन् । लगानीकर्ता दिपेन्द्र अग्रवाललेराष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सेयर धितोकर्जा पाएपनि लागत भने उच्च तिर्नु परेको बताए । हाल १६ प्रतिशत लागतमा कर्जा लिनु परेको उनको भनाइ छ । सेयर धितोको लागत बढेको कारण सेयर बजार घटेको उनको भनाइ छ । ‘लगानीकर्ताले राष्ट्र बैंकको सीमाभित्र रहेर सेयर धितो कर्जा पाइरहेका छन् तर कर्जामा १५÷१६ प्रतिशत लागत लाग्ने गरेको छ, कर्जाको लागत बढेको हुँदा सेयर बजार घटेको हो,’ उनले भने, ‘मार्जिन कल खासै नहुन सक्छ, १८५० भन्दा तल नझर्दासम्म मार्जिन कल आउँदैन, अन्य क्षेत्र हेर्ने हो भने सेयर बजार सेक्टर सुगम छ, अन्य सेक्टर टाट पल्टिने अवस्थामा छन्, यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको लगानी गर्न सेयर बजार नै हो ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा पनि सेयर बजार बढ्ने गरेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो गर्ने निर्णयले कर्जा बढी गएको क्षेत्रका लागनीकर्तालाई बढी असर गर्ने उनले बताए । सेयर धितो कर्जाका आधारमा मात्रै लगानीकर्ता सेयरमा लगानी गर्छन भन्ने अवस्थाको अन्तय भएको उनले बताए । ‘जतिजति ब्याज बढ्छ उती नै सेयर बजार बढ्ने अवस्थामा आइसकेको छ, आगामी दिनमा बजारको यात्रा रम्रो हुने देखिन्छ, ब्याजदर खुकुलो पार्ने बैंकहरुको निर्णले जुन क्षेत्रमा बढी कर्जा छ उनीहरुलाई असर पर्छ, सेयर बजारमा जम्मा ७० अर्ब बराबरको कर्जा छ,’ लगानीकर्ता अग्रावालले भने, ‘सेयर धितो कर्जा घट्दा बजारमा चाम छैन भन्ने बुझिन्छ, ब्याजदर महँगो भयो भन्दैमा भोलिका दिनमा कर्जाका आधारमा मात्रै नभएर नगद बाट मात्रै बजार चल्न सक्छ ।’ लगानीकर्ता विष्णु अग्रवाल लगानीकर्ता चौतर्फी दबावमा परेको कुरा घटेको सेयर बजारले प्रष्ट देखाएको बताउँछन् । लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेकाले बजार धेरै तल झरेकाले अब बजार नघट्ने उनको आश्वासन छ । अहिले यी सबै त्रासहरु सिमित अवधिका लागि मात्र रहेकाले छिट्टै उकालो यात्रा गर्ने उनको धारणा छ । उनले अहिले लगानीकर्ता चौतर्फी रुपमा दबावमा परेको उनी बताए । ‘बजार जुन तरिकाले तल झरिरहेको छ, त्यसको प्रभाव त्यहि नै हो, नेगेटिभ सेन्टिमेन्ट सिर्जना गर्न सफल भएको छ,’ उनले भने । बैंकहरुले आफ्नो क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेको उनले बताए । तर, ब्याजदर बढेको हुँदा लागत पनि उच्च रहेको हुँदा लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । ‘बैंकको क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिट गरेको छ भने त्यो बैंकबाट कर्जा पाउने अवस्था छैन, कर्जा दिएपनि अहिले ब्याजदर बढी भएकाले लागत बढी छ,’ उनले भने, ‘सेयर बजार घट्दा मार्जिन कल गर्ने गरेको छन्, अहिले पनि मार्जिन कल आइरहेको छ, यसअघि मार्जिन कल गर्दा बजार सम्हालियो भनेका थिए तर अहिले सेयर बजार घटेको हुँदा फेरि मार्जिन कल आउन सक्छ ।’ लगानीकर्ता छोटेलाल रौनियार बैंकहरुका कारण लगानीकर्ता पीडित बन्नु परेको बताउँछन् । बजार घटिरहेको बेलामा ब्याजदर बढाउँदा झनै दबावमा पारेको उनको भनाइ छ । लगानीकर्ताको मानोविज्ञान अनुसार बजारमा धारणा राख्नुपर्ने उनको भनाइ छ । लगानीकर्तालाई हतोत्साहित गर्न नियामक निकायदेखि सार्वजनिक ब्यक्तिहरुले बजारलाई हिट गर्ने किसिमका गतिविधि गर्दा लगानीकर्ताको मनोबल घट्ने गरेको उनले बताए । ‘नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोडेको दिनदेखि पूँजी बजार घटिरहेको छ, बैंकहरुले लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ, एक वर्षअघि ३२ सय परिसूचक हुँदा लगानीकर्ताको आम मनोविज्ञान बुलिस थियो,’ उनले भने, ‘त्यसपछि नियामक नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्याे, राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयरधितो कर्जामा ४÷१२ करोडको सीमा तोक्यो, अर्थमन्त्रालयले यस्तै प्रकारका सार्वजनिक बक्तव्य बोलिरह्यो, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायत जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा लगानीकर्ताको मनोविज्ञान कमजोर बन्यो, १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् ।’