विकासन्युज

एनएमबि बैंकले शुरु गर्यो भिसा डाईरेक्ट सेवा, रेमिट्यान्स रकम सोझै खातामा आउने

काठमाडौं । एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई यो सुविधा दिन लागेको हो । यससँगै एनएमबि बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ । उक्त रकम एनएमबि भिसा डेबिट (बैंक खाता) मा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब लगायत विश्वका १०० बढी देशबाट भिसा डाइरेक्ट प्लेटफर्म प्रयोग गरेर पठाएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिने छ । भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । यो सेवा समावेश भएसँगै एनएमबि भिसा कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । यसरी रकम पठाउने विदेशी तथा स्वदेशी नागरिकले आफ्नो मोबाइल अथवा इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

चौतर्फी दबावमा सेयर लगानीकर्ता, ब्याजदेखि मार्जिन कलसम्मको तनाब

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको बेला सेयर लगानीकर्ताले समस्यामा परेको गुनासो गर्न थालेका छन् । गत वर्ष उच्च बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको सेयर बजार अहिले भने निरन्तर ओरालो लाग्दा विभिन्न दबाव खेप्नु परेको गुनासो लगानीकर्ताले गरेका हुन् । सेयर बजार घट्दा सेयर मूल्य पनि घटेर ठूलो घाटा ब्यहोरेका लगानीकर्ता पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा झनै समस्यामा परेको बताएका छन् ३२ सय बढीको विन्दुबाट करिब दोब्बर अंकले घटेको नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक हाल १८ सयको विन्दुमा कारोबार भइरहेको छ । यसरी ओरालो लागेको सेयर बजारबाट ग्रसित भएका लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा झनै समस्यामा परेका हुन् । यस्तै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिका कारण नै सेयर बजार घटेको लगानीकर्ताहरु बताउँछन् । उच्च सेयर मूल्य भएका बेला खरिद गरेको सेयर यति बेला ठूलो रकमले घटेको छ । यही बेलामा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा अर्काे दबाव आइपरेको सेयर लगानीकर्ताहरु बताइरहेका छन् । एकातिर सेयर मूल्य घटेर तनावमा रहेका लगानीकर्ता झनै त्यसमा ब्याजदर बढ्दा अर्काे तनाव खेप्नु परेको उनीहरुको गुनासो छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा केही लगानीकर्ता घाटामा भएपनि सेयर बिक्री गरेर बैंकको निक्षेपमा राखेर ब्याज खाने अवस्थामा पुगेका छन् भने केही लगानीकर्तालाई सेयर धितो कर्जामा लागत बढ्दा अर्काे तनाव खेप्नु परेको बताउँछन् । यता बैंक तथा वित्तीय संस्थाले तरलता अभाव कायम रहेकाले नै ब्याजदर बढाएर निक्षेप भित्र्याउन खोजिरहेको देखिन्छ । जसले गर्दा सेयर बजारमा नकारात्मक प्रभाव पार्दा प्रत्यक्ष मारमा लगानीकर्ता परेका हुन् । यस्तै, सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि सेयर धितो कर्जा लिएका लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ‘मार्जिन कल’ गरेर सताउने गरेको गुनासो लगानीकर्ताले गरेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक वर्षअघि २०७८ असार १ गते दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गर्याे । त्यो बेलामा बोर्डले लगानीकर्ताको पक्षमा काम गर्नको लागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त देखिएको बताएको थियो । जसले सेयर लगानीकर्ताको मनोबलमा ठूलो प्रभाव पारेको थियो । आफूले लगानी गरेको कम्पनीलाई नियामक निकायले नै जोखिमयुक्त भनेर सार्वजनिक गर्दा लगानीकर्तामा ठूलो दबाव परेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिमा सेयरधितो राखेर एउटै व्यक्तिले एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँमात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसको नकारात्मक प्रभाव लगानीकर्तालाई अहिलेसम्म पनि छोड्न सकिरहेको छैन । ऐतिहासिक रेकर्ड बनाइहेको सेयर बजार घटाउन सोही व्यवस्थाले ठूलो भूमिका खेलेको लगानीकर्ताहरु बताउँदै आएका छन् । लगानीकर्ता राधा पोखरेल बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा लगानीकर्ताहरु दबावमा परेको बताउँछिन् । ब्याजदर बढ्दा कर्जाको लागत पनि बढेकाले लगानीकर्ता ठूलो दबावमा परेको उनको भनाइ छ । उनका अनुसार एकल अंक ब्याजदर हुँदा लिएको कर्जाको ब्याजदर दोब्बर हुँदा लगानीकर्तालाई ठूलो समस्या परेको छ । उनले बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले सहज रुपमा सेयर धितो कर्जा पाउन पनि समस्या रहेको बताइन् । ‘अहिले सहज रुपमा सेयर धितो कर्जा पाउँदैन, बैंक तथा वित्तीय संस्थाले अलि–अलि पैसा दिन्छ, लगानीकर्ताले माग गरेजति कर्जा दिँदैनन्,’ उनले भनिन्, ‘कर्जाको लागत बढ्दा सेयर बजार घटिरहेको छ, ६÷७ प्रतिशत ब्याजदर हुँदा लिएको सेयर धितो कर्जा ब्याज १५ प्रतिशतसम्म पुगेको छ, यसले गर्दा लगानीकर्तालाई प्रत्यक्ष मार परेको छ ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । सेयर बजार सामान्य घट्दा पनि मार्जिन कल आउँदा लगानीकर्ता दबावमा पर्ने गरेको उनले बताइन् । सेयर धितो कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँदा लगानीकर्ता पीडित हुनु परेको उनको भनाइ छ । ‘सेयर बजार घटेको बेलामा मार्जिन कल धेरै आउँछ, बजार अलिकति घट्ने बित्तिकै दैनिक २÷३ पटक फोन गरेर दबाव दिन्छन्, बैंक तथा वित्तीय संस्थाको कारण लगानीकर्ता धेरै पीडित हुनु परेको छ, बैंकले ब्याजदर बढी लिए पनि सहज रुपमा कर्जा पाउन सकिरहेको छैनन्, बैंकहरुमा पैसा नै छैन भन्छन्,’ लगानीकर्ता पोखरेलले भनिन्, ‘पछिल्ला केही दिनमा केही सहज भएको जस्तो महसुस भएको थियो तर बैंकको ब्याजदर खुकुलो गर्ने निर्णयले नै तरलता अभाव नै छ भन्ने बुझिन्छ, यसले झनै समस्यामा पारेको छ ।’ तर, यस पटकको सेयर बजारबाट भने लगानीकर्ता पोखरेलले राम्रो शिक्षा पाएको बताइन् । सेयर बजारमा लगानी गरेर मात्रै भर नपर्नुपर्ने उनको धारणा छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा नराम्रो प्रभाव पारेको उनले बताईन् । ‘सेयर बजारमा यसपटक मैले राम्रो शिक्षा पाएकी छु, सबै काम छोडेर सेयर बजारमा मात्रै डिपेन्डेन्ड हुनुहुन्न भन्ने ज्ञान पाएकी छु, लगानीकर्तालाई पनि यही आग्रह गर्छु, सेयर बजार सँगसँगै अन्य प्रोफेसनपनि बढाउनुपर्दाे रहेछ,’ उनले भनिन् । लगानीकर्ता दिपेन्द्र अग्रवाललेराष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सेयर धितोकर्जा पाएपनि लागत भने उच्च तिर्नु परेको बताए । हाल १६ प्रतिशत लागतमा कर्जा लिनु परेको उनको भनाइ छ । सेयर धितोको लागत बढेको कारण सेयर बजार घटेको उनको भनाइ छ । ‘लगानीकर्ताले राष्ट्र बैंकको सीमाभित्र रहेर सेयर धितो कर्जा पाइरहेका छन् तर कर्जामा १५÷१६ प्रतिशत लागत लाग्ने गरेको छ, कर्जाको लागत बढेको हुँदा सेयर बजार घटेको हो,’ उनले भने, ‘मार्जिन कल खासै नहुन सक्छ, १८५० भन्दा तल नझर्दासम्म मार्जिन कल आउँदैन, अन्य क्षेत्र हेर्ने हो भने सेयर बजार सेक्टर सुगम छ, अन्य सेक्टर टाट पल्टिने अवस्थामा छन्, यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको लगानी गर्न सेयर बजार नै हो ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा पनि सेयर बजार बढ्ने गरेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो गर्ने निर्णयले कर्जा बढी गएको क्षेत्रका लागनीकर्तालाई बढी असर गर्ने उनले बताए । सेयर धितो कर्जाका आधारमा मात्रै लगानीकर्ता सेयरमा लगानी गर्छन भन्ने अवस्थाको अन्तय भएको उनले बताए । ‘जतिजति ब्याज बढ्छ उती नै सेयर बजार बढ्ने अवस्थामा आइसकेको छ, आगामी दिनमा बजारको यात्रा रम्रो हुने देखिन्छ, ब्याजदर खुकुलो पार्ने बैंकहरुको निर्णले जुन क्षेत्रमा बढी कर्जा छ उनीहरुलाई असर पर्छ, सेयर बजारमा जम्मा ७० अर्ब बराबरको कर्जा छ,’ लगानीकर्ता अग्रावालले भने, ‘सेयर धितो कर्जा घट्दा बजारमा चाम छैन भन्ने बुझिन्छ, ब्याजदर महँगो भयो भन्दैमा भोलिका दिनमा कर्जाका आधारमा मात्रै नभएर नगद बाट मात्रै बजार चल्न सक्छ ।’ लगानीकर्ता विष्णु अग्रवाल लगानीकर्ता चौतर्फी दबावमा परेको कुरा घटेको सेयर बजारले प्रष्ट देखाएको बताउँछन् । लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेकाले बजार धेरै तल झरेकाले अब बजार नघट्ने उनको आश्वासन छ । अहिले यी सबै त्रासहरु सिमित अवधिका लागि मात्र रहेकाले छिट्टै उकालो यात्रा गर्ने उनको धारणा छ । उनले अहिले लगानीकर्ता चौतर्फी रुपमा दबावमा परेको उनी बताए । ‘बजार जुन तरिकाले तल झरिरहेको छ, त्यसको प्रभाव त्यहि नै हो, नेगेटिभ सेन्टिमेन्ट सिर्जना गर्न सफल भएको छ,’ उनले भने । बैंकहरुले आफ्नो क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेको उनले बताए । तर, ब्याजदर बढेको हुँदा लागत पनि उच्च रहेको हुँदा लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । ‘बैंकको क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिट गरेको छ भने त्यो बैंकबाट कर्जा पाउने अवस्था छैन, कर्जा दिएपनि अहिले ब्याजदर बढी भएकाले लागत बढी छ,’ उनले भने, ‘सेयर बजार घट्दा मार्जिन कल गर्ने गरेको छन्, अहिले पनि मार्जिन कल आइरहेको छ, यसअघि मार्जिन कल गर्दा बजार सम्हालियो भनेका थिए तर अहिले सेयर बजार घटेको हुँदा फेरि मार्जिन कल आउन सक्छ ।’ लगानीकर्ता छोटेलाल रौनियार बैंकहरुका कारण लगानीकर्ता पीडित बन्नु परेको बताउँछन् । बजार घटिरहेको बेलामा ब्याजदर बढाउँदा झनै दबावमा पारेको उनको भनाइ छ । लगानीकर्ताको मानोविज्ञान अनुसार बजारमा धारणा राख्नुपर्ने उनको भनाइ छ । लगानीकर्तालाई हतोत्साहित गर्न नियामक निकायदेखि सार्वजनिक ब्यक्तिहरुले बजारलाई हिट गर्ने किसिमका गतिविधि गर्दा लगानीकर्ताको मनोबल घट्ने गरेको उनले बताए । ‘नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोडेको दिनदेखि पूँजी बजार घटिरहेको छ, बैंकहरुले लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ, एक वर्षअघि ३२ सय परिसूचक हुँदा लगानीकर्ताको आम मनोविज्ञान बुलिस थियो,’ उनले भने, ‘त्यसपछि नियामक नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्याे, राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयरधितो कर्जामा ४÷१२ करोडको सीमा तोक्यो, अर्थमन्त्रालयले यस्तै प्रकारका सार्वजनिक बक्तव्य बोलिरह्यो, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायत जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा लगानीकर्ताको मनोविज्ञान कमजोर बन्यो, १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् ।’

बागलुङमा मकैको उत्पादन घट्दा किसान मारमा

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ सम्मर गाउँका कृषक यसवर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन विनानै वितरणगर्दा उत्पादन राम्रो नभएपछि कृषक मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पटेक क्षेत्र घोषणा गरिएको थियो । गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो तर सम्मर गाउँ एक हजार छ सय मिटरको उचाइमा छ । गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ । यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गरेका र उक्त जातको बीउले उत्पादन पनि राम्रो दिएको थियो । ‘यसवर्ष कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउले नै ठग्यो’, स्थानीय कृषक प्रेमबहादुर पुनले भने, ‘यसपालि उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बीउ लगाउनै नहुने भो ।’ मकै ब्लगका अध्यक्षसमेत रहनुभएका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउ लगाएका छन् । नयाँ जातको बीउबाट राम्रो उत्पादन गर्न सकिने आश गरिएको तर उत्पादनमा निकै कमी भएपछि निराश हुनुपरेको बताए । ज्ञान केन्द्रका प्राविधिकले अर्को वर्षदेखि यो बीउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जातनै लगाउन सुझाएको उनको भनाइ छ । स्थानीय कृषक छमप्रकाश पुनले भए भरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नुपरेको बताए । उनले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिक रुपमा माटो जाँच गरेर बीउ वितरण गरेको भए आफूहरुले धेरै नोक्सानी व्यहोर्ननपर्ने बताए । ‘बीउ वितरण गर्ने बेलामा प्राविधिक आएर यहाँको वस्तु स्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीले यति धेरै नोक्सानी भोग्नुपर्ने थिएन’, उनले भने, ‘अब अर्को वर्षदेखि पहिलेको बीउले राम्रो उत्पादन दिएको त्यसैलाई निरन्तर गर्नुपर्छ ।’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ एक हजार छ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बीउको माग गरेको र सोही अनुसार केन्द्रले बीउ उपलब्ध गराएको बताए । उनले उत्पादनमा केही कमी आए पनि नयाँ बीउ भएको हुँदा प्राविधिक रुपमा उत्पादनमा खासै कमी नआएको बताउँछन् । ‘नयाँ बीउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो एक हजार सात सय मिटरभन्दा माथिको उचाइमा राम्रो उत्पादन हुने हो, कृषकहरुले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गरे । हामीले पनि सोहीअनुसार उनीहरुलाई मकैको बीउ उपलब्ध गरायौँ’, प्रमुख भट्टराईले भने, ‘यसका लागि कृषकले बढी मेहिनत गर्नुपर्छ, उनीहरुले कम मेहिनत गरे, कम्पोस्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो ।’ भट्टराईले ज्ञान केन्द्रले तालिम दिएअनुसार कृषकले काम नगर्दा उत्पादनमा कमी आएको समेत बताए । उनले अर्को वर्षदेखि मकामना–३ जातकै बीउ वितरण गर्ने योजना बनाएको बताए । त्यस क्षेत्रमा आगामी वर्षका लागि मनकामना जातकै बीउ प्रस्ताव गरि केन्द्रमा सिफारिस गरेको जानकारी गराए । रासस

साफ महिला च्याम्पियनसिप : खेल जिते नेपाली खेलाडीले जनही ५ लाख पाउने

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि जिते खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सरकारले हालै बनाएको नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेल फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । यस्तै, प्रमुख प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले जनही २ लाख र सो खेलको राष्ट्रिय संघले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका पाँच बजेदेखि सुरु हुनेछ ।    

बैतडीमा बन्द हवाई सेवा पुन: सञ्चालनको तयारी

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । असोज ८ गतेदेखि शनिबार नियमित रुपमा उडान हुने भट्टको भनाइ छ । ‘दसैँ तिहारको बेला यात्रु नियमित चाप हुन्छ’, उनले भने, ‘असोज ८ गते शनिबार यहाँ फ्लाइट हुने जानकारी आएको छ, त्यसपछि नियमित रुपमा उडान हुन्छ ।’ यसअघि बिहीबार हुँदै आएको हवाइ सेवा असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रुपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको छ । नियमित रुपमा यहाँ हवाई उडान हुने भएपछि यहाँ नागरिक खुसी भएका छन् । हवाई उडान नियमित हुँदा आकस्मिक रुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान सहज हुने स्थानीय कपिल केसीले बताए । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा ८ घण्टा लाग्ने गर्दछ । यसअघि यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भए पनि अब नियमित रुपमा सञ्चालन हुने जनाइएको छ । बैतडी–धनगढी हवाई भाडा अबदेखि पाँच हजार रुपैयाँ कायम गरिएको छ । यसअघि चार हजार छ सय रुपैयाँ रहेको थियो । गत चैतमा हवाई सेवा सञ्चालनमा रहेको बेला बैतडीदेखि धनगढीसम्मको हवाई भाडा चार हजार छ सय रुपैयाँ थियो । बैतडीबाट धनगढी १७ मिनेटमा पुगिन्छ । हवाइ कम्पनिले तोकेको भाडा महँगो भएको यात्रुहरुको गुनासो गरेका छन् । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय भागरथी भट्टले बताए । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनःसञ्चालनमा आएको हो । विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर विसं २०३५ देखि हवाई सेवा सुरु भएको थियो । पछि विसं २०५२ देखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । रासस

अब कपाल काट्न २ सय रुपैयाँ लाग्ने

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका कपाल काटेको शुल्क बढाएको छ । संघले कपाल काट्दा ५० रुपैयाँ सेवा शुल्क बढाएको हो । जसअनुसार अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरले बताए । यसअघि कपाल काट्दा डेढ सय मात्र शुल्क तिर्नु पर्थ्यो । संघले आकासिएको महँगाइलाई मध्यनजर गर्दै सो शुल्क बढाएको जनाएको छ । संघले अन्य सेवाको शुल्क पनि बढाएको छ । संघले तोकेको नयाँ शुल्क अनुसार कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म रहेको छ । 

एउटै इन्स्योरेन्सका तीन जना विभूषित

काठमाडौं । नेपाल सरकारले एउटै इन्स्योरेन्सका तीन जनालाई विभूषित गर्ने भएको छ । सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकलाई विभूषितको सूचीमा राखेको हो । जसमा सीईओ संचित बज्राचार्य, अध्यक्ष कुसुम लामा र संचालक शिक्षा भट्टचन रहेका छन् । जसमध्ये सीईओ बज्राचार्य अलंकार राष्ट्र यशोवर्दकबाट, अध्यक्ष तथा व्यवसायी लामा सुप्रबल जनसेवाश्रीबाट र सञ्चालक भट्टचन विकास रत्न पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका विभिन्न व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

गलकोट । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाएका थिए । उनले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएका स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा स¥यो । दश वर्षअघि उनले लगाएका स्याउका बिरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहेएका जुमबहादुरले २०५८ सालमा अवकाशपछि थालनी गरेका स्याउखेतीप्रतिको रुचि उनमा अझै घटेको थिएन । स्याउखेतीका विषयमा जागिरे जीवनमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसकेका जुमबहादुरले जनआन्दोलनपछि परम्परागतरुपमै स्याउखेती थालेका थिए । स्याउ राम्रो उत्पादन हुन नसक्दा उनकोे मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् तर जुमबहादुरले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने तयारी गरे । पन्ध्र रोपनी जग्गामध्ये आठ रोपनी जग्गामा स्याउखेतीका लागि तयारी अवस्थामा राखिएको छ । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा छन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्नेगरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एकै वर्षदेखि उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहनुभएका जुमबहादुरले बताए । ‘मैले स्याउखेती गर्न थालेको धेरै भयो, परम्परागत स्याउ फस्टाउन सकेन तर एक वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० बिरुवा लगाइसकेको छु, एक वर्षअघि लगाइएका सय बोटमध्ये २१ बोटमा स्याउ फलेको छ’, जुमबहादुरले भने, ‘यहाँका किसानले परम्परागत तरिकाले लगाएका स्याउको उत्पादन हावापानीअनुसार राम्रो उत्पादन नहँुदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातिको स्याउका बिरुवा अनुदानमा प्राप्त गरेकामा एक वर्षमै स्याउ फल्दा दङ्ग परेका छन् ।’ बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यकाका सेन्तुङ, श्यालपाखे र निशेलढोर, मसलगायत स्थानमा परम्परादेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरेपनि त्यसले व्यावसायिकता पाउन सकेको थिएन । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई मसेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रमसमेत चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् । ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले एक सय ८१ वटा बिरुवामध्ये केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताए । यस्तै ढोरपाटनकै जीवन पुनले पनि परीक्षणका रुपमा उक्त प्रजातिको एक सय १६ बिरुवा लगाउनुभएकामा १६ वटाको हुर्काइ राम्रो देखेपछि थप एक सय बिरुवा लगाएका हुन् । ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुमबहादुरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानलाई कृषि ज्ञानकेन्द्रमार्फत चार हजार ५०० बिरुवा माग गर्नुभएको उक्त केन्द्रकाका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । ‘छिटो फल्ने, थोरै जग्गामा धेरै बिरुवा लगाउन सकिने र आधुनिक प्रजातिका स्वादिलो स्याउ फलाउन सकिन्छ’, उनले भने, ‘ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाटसमेत उक्त स्याउका बिरुवाको माग भएको छ, स्याउ किसानको उत्साहलाई ज्ञानकेन्द्रले मनन गरेको छ, बागलुङको हावापानीमा इटालीबाट ल्याइएको बिरुवा राम्रोसँग हुर्किएर फल दिएको छ ।’ उक्त बिरुवा डेढदेखि दुई मिटरसम्म अग्लो हुन्छ । ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजातिअन्तर्गतका चार प्रकारका आधुनिक स्याउको परीक्षण सफल भइसकेकाले व्यावसायिक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा बिरुवा दिन थालिएको प्रमुख भट्टराईले बताए । इटालियन प्रजातिको एउटै बिरुवाको बजार मूल्य एक हजार २०० रहेको छ भने अहिले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दासमेत किसानको लागत प्रतिबिरुवा तीन सय रुपैयाँ पर्ने गरेको छ । परम्परागतरुपमा लगाइएको स्याउको बोटले तीन वर्षदेखि चार वर्षसम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकामो आधुनिक प्रजातिको स्याउको बिरुवाले एक वर्षमै उत्पादन दिन थालेपछि यहाँका स्याउ किसान हर्षित भएका छन् । उक्त बिरुवाको मनाङ र मुस्ताङमा सेमत उच्च माग रहेको छ । थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको बिरुवा उपयुक्त छ । छुट्टाछुट्टै स्याउखेती गर्दा तारबार र पर्खालमा धेरै लागत लाग्ने भएकाले सामूहिकरुपमा नै स्याउ खेती गर्ने अभियानमा निशेलढोर र ढोरपाटनका किसान अग्रसर भएका छन् । स्थानीय जागतको स्याउलाई हाइब्रिड गरेर उक्त प्रजातिको स्याउका बिरुवा उत्पादन गरिएको हो । लगाएको एक वर्षमा फल्न थाल्ने उक्त इटालियन प्रजातिका स्याउ सुरुमा १०केजीदेखि सुरु भएर बयस्क रुखमा ८० केजीसम्म फल्ने गर्दछ । रासस