विकासन्युज

भारतीय दूध आयात खोलेको भन्दै चितवनका किसान विरोधमा

चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले किसानको हितविपरीत काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गरे । आयातित दूधका कारण नेपालमा किसान विस्थापित हुने स्थितिमा पुग्ने उनको भनाइ थियो । उनले भने, ‘नेपालका दुग्ध उत्पादक सहकारी एवं किसानसँग मोलमोलाई गर्नका लागि बिचौलियको पक्षमा सरकारले निर्णय गर्यो ।’ अहिले नेपालका दुग्ध उद्योगले किसानलाई तिर्नुपर्ने रकमसमेत नतिरेको बताउँदै उनले अहिलेसम्म नेपालको उत्पादनले पुगेको दूध अहिले नपुग्नुका कारण खोजिनुपर्ने बताए । सरकारको निर्णय नसच्चिए किसान आन्दोलनमा उत्रने उनको भनाइ थियो । सरकारले विसं २०७५ बाट दूध आयातमा रोक लगाएको बताउँदै सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सरकारबाट भएको गल्ती सच्चिनुपर्ने बताए । नेपालमा माग बढेको भए उत्पादनसमेत बढाउन लाग्नुपर्नेमा विनाआधार आयात गर्न दिनु किसानको हितविपरीत भएको उनको भनाइ थियो । चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्ला घोषणा भइसकेको भन्दै उनले भारतबाट आयात गरिने दूधलाई रोक्नका लागि सडकमा बस्न तयार रहेको बताए । सङ्घका सचिव किशोर बगालेले सरकारले किसानको मर्म बुझ्नुपर्ने बताए । आफूहरुले यो विषयमा सरकार र केन्द्रमासमेत जानकारी गराउँदा गराउँदै किसानको हितविपरीत निर्णय गरिएको बताए । चितवनमा दुधालु गाईभैँसी ६८ हजार छ सय ११ वटा रहेको र दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको उनले जानकारी दिए । यसमध्ये ४५ प्रतिशत दूध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादित दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको सङ्घले जनाएको छ । रासस

दरबारको मर्सिडिज गाडी कसरी पुग्यो व्यवसायी राजेन्द्र खेतानको घरमा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा सोमबार हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटियो । विगतमा राजदरबारले प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि घटनास्थलमा उपस्थित सबै आश्चर्यमा परे । लक्ष्मी बैंकको बेसमेन्टमा लामो समयदेखी लुकाएर राखिएको उक्त गाडी बेसमेन्ट खाली गर्ने क्रममा भेटिएपछि एककान दुइकान हुँदै सञ्चार माध्यममा समाचार फैलियो । सोमबार नै सो गाडीलाई त्यहाँबाट निकालेर अन्यत्रै लगियो । नेपालमा राजाले मात्रै चढ्ने गाडी बेसमेन्टबाट निकालिएपछि केही व्यक्तिहरुले र महानगर प्रहरीले त्यसलाई चासोका रुपमा लिए । धुलोमैलो भएको, टायरमा हावा नभएको र सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको सो गाडीलाई अहिले डोजरको सहायताले ट्रकमा राखेर अन्यत्रै लगिएको छ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गाडीको नम्बर बा १ झ ६९० हो । गाडीको अघिल्लो नम्बर प्लेट निकालिएको छ । गाडीको नम्बर प्लेट सरकारी रहेको पाण्डेको भनाइ छ । ‘त्यो कार दरबारको भन्ने कुरा हामीलाई शंका भयो, नम्बर चाहिँ अगाडिपट्टीको निकालिसकेको अवस्था थियो’, उनले भने, ‘पछाडिपट्टी बाँकी थियो तर कुच्चाइएको थियो ।’ सबैले शंकास्पद एवं चासोका साथ हेर्दा हेर्दै गाडीलाई टेलरको सहायताले ट्रकमा हालेर अन्यत्रै लगियो । महानगरका प्रहरी प्रमुख पाण्डेले भने, ‘त्यो गाडी बेसमेन्टमा राखिएको रहेछ, हिजोमात्रै टेलर ल्याएर निकाल्ने काम गर्न लागे, अनि हामीले चियो चर्चा गर्न लाग्यौं’, पाण्डेले भने, ‘त्यसपछि त्यो गाडी कहाँ लगे/किन लगे भन्ने विषय उठ्यो, हामीले पनि फलो गर्ने अवस्था रहेन् ।’ उनका अनुसार अहिले गाडी व्यवसायी राजेन्द्र खेतानको घरमा छ । दरबारको गाडी नै हो भनेर कसरी शंका गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रमुख पाण्डेले गाडीको नम्बर बा १ झ ६९० भएको र त्यो प्रकारको गाडी दरबारले मात्रै प्रयोग गर्ने गरेको बताए । ‘त्यो गाडी दरबारकै हो, खेतानको घरमा कसरी पुग्यो’, उनले अचम्मित हुँदै प्रश्न गरे । आफूहरुले दरबारसँग अनौपचारिक रुपमा पनि बुझेको बताए । दरवारले प्रयोग गर्ने गाडी व्यवसायी खेतानको घरमा कसरी पुग्यो भन्ने विषय अहिले चासोका रुपमा हेरिएको छ ।

छोरीलाई उच्च शिक्षा पढाउन २० लाख बजेट

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट विनियोजन गरिएको । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि २० लाख पचास हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका अनुसार ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरणका लागि विनियोजित रकम केही दिनमा सूचना जारी गरेर गरिब, विपन्न, अल्पसङ्ख्यक, जनजाती, आदिवासी बालिकालाई छनोट गरिनेछ । साथै छनोटमा परेका बालिकाको मुद्दति खाता खोलेर पैसा जम्मा गरिने छ । त्यो पैसा उसले २० वर्ष पुगेपछि निकाल्न पाउने व्यवस्था गरिएको छ । त्यतिबेला सम्म पढाइमा निरन्तरता हुनुपर्दछ । उपमहानगरपालिकाले राखिदिएको पैसा उसले २० वर्षपछि निकालेर विवाहमा खर्च गर्न पनि सक्छ र पढाइमा निरन्तरता दिन पनि सक्ने नियम छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाका प्रमुख शोभा शाहका अनुसार निर्देशिकामा बालिकाको खातामा २५ हजार रुपैयाँ राखिदिने ब्यवस्था गरिएको छ । उनका अनुसार गत वर्षको १० लाख ५० हजार रुपैयाँमा यो वर्ष १० लाख रुपैयाँ थपेर कार्यक्रमलाई साढे २० लाख रुपैयाँको बनाइएको छ । यसपाली पनि वडाबाट केही, प्रमुख र उपप्रमुख केही बालिका छनोट गर्ने रणनीतिलाई अघि सारिएको छ । नेपालगञ्जमा बालविवाह बढी नै छ । बालिकालाई ५ र ६ कक्षासम्म पढाउने र विवाह गरिदिने गरेको पाइन्छ । यद्यपि, पछिल्लो दिनमा खुलेयाम हुने बालविवाह रोकिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा सल्यानी बङ्गलामा कन्या माविसमेत सञ्चालनमा ल्याइएको छ । त्यहाँ गरिब, विपन्न, मधेसी, मुस्लिम समुदायका बालिकाको बाक्लो उपस्थिति रहेको छ । बाँके जिल्लामा यस्तो अभियान डुडुवा गाउँपालिकाले यसअघि नै सञ्चालन गरिसकेको छ । डुडुवामा छोरी जन्मिनेवित्तिकै खाता खोलेर पालिकाले पैसा राखिदिन्छ । जसलाई २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन्छ । रासस

बैंकको ब्याजदर बढेपछि सहकारीमा दबाब, सन्दर्भ ब्याजदर बढाउन लबिङ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि त्यसको दबाब सहकारी संस्थाहरुमा परेको छ । वाणिज्य बैंकहरुले पनि सहकारी संस्थाहरुले दिने हाराहारीमै ब्याज दिन थालेपछि सहकारीहरु ठूलो दबाबमा परेका हुन् । अहिले सहकारीकर्मीहरु सहकारीको सन्दर्भ ब्याजदर पनि बढाउनु पर्ने भन्दै लविङ सुरु गरेका छन् । यसअघि नै ब्याजदर बढाउन माग गरिरहेका सहकारी संस्थाहरुले यसपटक भने ठूलो दबाव नै दिन थालेका हुन् । यसअघि १४ प्रतिशतको हाराहारीमा रहेको सहकारीको ब्याजदर वृद्धि गरेर हाल १६ प्रतिशत कायम गरिएको थियो । तर, अहिले पुनः बैंकहरुले ब्याज बढाएपछि सहकारी संस्थाहरु पनि ब्याज बढाउनु पर्ने भन्दै नियामक सहकारी विभागमा लविङ सुरु गरेका हुन् । हाल सहकारी संस्थाहरुलाई १६ प्रतिशतको क्याप लगाइएको छ । सहकारी संस्थाहरुले यो भन्दा बढी लिन पाउँदैनन् । जसले गर्दा सहकारी संस्थाका सदस्यहरु बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरमा लोभिने अवस्था पुगेकाले बढाउनु पर्ने आवाज उठाउँदै आएका छन् । सहकारी संस्थाहरुले बजारको माग अनुसार ब्याजदर थपघट गर्न पाउनु पर्ने समेत माग गरेका छन् । बैंकको ब्याज बढेपछि सहकारीको निक्षेप बैंकमा जाने भन्दै सन्दर्भ ब्याज बढाउन सहकारीका संचालकहरुले माग गरेका हुन् । राष्ट्रिय सहकारी महासंघकी जनरल म्यानेजर चित्रा कुमारी थामसुङ सुब्बाले बैंक तथा वित्तीय संस्थाहरुले जस्तै सहकारी संस्थाले पनि सन्दर्भ ब्याजदर स्वचालित रुपमा थपघट गर्न पाउनु पर्ने बताइन् । सन्दर्भ ब्याजदरमा लगाइएको क्याप हट्नुपर्ने बताउँदै उनले बजारको माग अनुसार ब्याजदर निर्धारण गर्न पाउनुपर्ने उनको भनाइ छ । ‘सहकारीले १६ प्रतिशतभन्दा बढी दिन नपाउने भनेर क्याप लगाएको छ, अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको हुँदा सहकारी संस्थाको पनि बढ्नुपर्छ,’ उनले भनिन्, ‘सहकारीको ब्याजदर बैंक तथा वित्तीय संस्थाको जस्तै स्वचालित हुनुपर्छ, ब्याजदर बजारले निर्धारण गर्ने हो, बजारमा उच्च भयो सहकारीले बढाउन पाउनु पर्याे, बजारमा घट्यो भने सहकारीले पनि घटाउनुपर्याे, सन्दर्भ ब्याजदर पुनरावलोकन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका सहारा नेपाल बचत तथा सहकारीका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले सहकारीको सन्दर्भ ब्याजदर बढाउनु पर्ने माग गरे । सहकारीको सन्दर्भ ब्याजदर बढाउनु पर्ने अहिलको आवश्यकता भएको बताउँदै उनले परिस्थिति अनुसार अघि बढ्नु पर्ने धारणा राखे । राष्ट्रिय सहकारी बैंकको सञ्चालक ध्रुबनारायण यादवले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा सहकारीमा समस्या उत्पन्न भएको बताए । यसमा राष्ट्र बैंकले पनि एक्सन लिनु पर्ने उनको भनाइ छ । अन्य देशमा सामान्य ब्याजदर बढ्दा पनि केन्द्रिय बैंकले स्पष्टिकरण सोध्ने गरेको भएपनि नेपालमा त्यो अभ्यास नरहेको उनले बताए । ‘बैंकहरुको ब्याजदर बढ्दा राष्ट्र बैंकलले एक्सन लिनुपर्छ, अन्य मुलुकमा ब्याजदर ०.५ प्रतिशत बढाउँदा हँगामा हुन्छ, कुन बजारलाई आवश्यक परेर ब्याज बढायौं भनेर केन्द्रिय बैंकलाई स्पष्टिकरण साधिन्छ,’ उनले भने, ‘यहाँ बचतको ब्याजदर बढाएर तरलताको समाधान हुन्छ त ? जति ब्याजदर भएपनि पैसा बैंकमा नै आउने हो, तर बैंकको ब्याजदर बढ्दा सहकारी क्षेत्रमा समस्या पर्छ ।’ उनले ब्याजदर बढ्दा सहरी क्षेत्रका संस्थामा ठूलो समस्या परेको बताए । ‘गाउँका लागि न ब्याजदर बढाउन जरुरी छ न घटाउन जरुरी छ, यहाँ सरल रुपमा चलिरहेको छ, गाउँमा पहिलादेखि नै १२÷१४ प्रतिशतमा चलिरहेको छ, सहरमुखी संस्थाहरुलाई समस्या पछ’ उनले भने, ‘सदस्यहरुले बढी फाइदा कहाँ हुन्छ त्यहाँ जानु मानविय स्वभाव हो, यसकारण सहकारीको ब्याजदर बढाउनुपर्छ ।’ सहकारी संस्था अनुशासनमा बस्ने भएकाले ब्याजदर थपघट गर्न नपाएको गुनासो उनले गरे । विभागको ब्याजदर निर्धारण समितिले नयाँ ब्याजदर निर्धारण नगरेसम्म सहकारी संस्थाले स्वेच्छिक बढाउन नसक्ने उनको भनाइ छ । एक÷दुई प्रतिशत घाटा लागेपनि सहकारी संस्थाले नियम नतोड्ने उनी बताउँछन् । यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको हुँदा सहकारीको पनि ब्याजदर बढाउनु पर्ने माग गर्छन् । सहकारी संस्थाको ब्याजदर बढाउनुको विकल्प नरहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको भन्दा सहकारीको निक्षेपमा ब्याज कम भएपछि सहकारीमा पैसा नराख्ने सम्भावना बढी रहेको उनको धारणा छ । उनले बैंक तथा वित्तीय संस्थाका कारण सहकारीमा समस्या आउने गरेको बताए । ‘बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको हुँदा सहकारीको पनि ब्याजदर बढाउनुको विकल्प छैन, सहकारीको निक्षेपमा ब्याज कम ब्याज पाइने भएपछि पैसा नराख्ने सम्भावना छ,’ उनले भने, ‘बैंकहरुले ब्याजदर अप्रत्यासित ढंगले बढाए, बैंक तथा वित्तीय संस्थाहरुका कारण नै वित्तीय समस्या आउँछ, अप्रत्यासित रुपमा ब्याजदर बढाएपछि सहकारीका सदस्यहरु मार्केटिङ गरे, अहिले अस्वस्थ प्रतिस्पर्धा बढ्यो, सहकारीले पनि बढाउनुपर्छ ।’ जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ सहकारीको सन्दर्भ ब्याजदर बढाउन माग गरेको बताउँछन् । आफूहरुले ब्याजदर संशोधन हुनु पर्छ भनेर माग गरिरहेको उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धि गर्दा सहकारीको सन्दर्भ ब्याजदर बढाउन माग गरेका छौं, महासंघ र बैंक, समितिका साथीहरुले समन्वय गरिरहेका छन्, सन्दर्भ ब्याजदर संसोधन हुनुपर्छ, छिटोभन्दा छिटो यसलाई परिमार्जन गर्नर्छ,’ उनले भने । सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय अध्ययन, तथ्याङ्क विश्लेषण गरेर, बजारको माग हेरेर ब्याजदर बढाउने वा नबढाउने भनेर निष्कार्श निकाल्ने बताउँछन् । राष्ट्र बैंकका प्रतिनिधिहरु, महासंघको प्रतिनिधिहरुसँग, सहकारी अभियानका प्रतिनिधिहरुसँग छलफल गरेर ब्याजदर निर्धारण गरिने उनले बताए । सबैसँग छलफल तथा प्राप्त तथ्याङ्कको विश्लेषण गरेर थपघट गर्ने उनको भनाइ छ । सहकारी विभागले कानुनका आधारमा ब्याजदर निर्धारण गर्ने उनले बताए । कानुनमा भएका प्रावधान अनुसार सहकारी संस्थाको कम भएको हो की होइन भनेर तथ्याङ्क विश्लेषण गरेर मात्रै ब्याजदर बढाइने उनले बताए । सहकारी ऐन–२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । सहकारी विभागका रजिष्टार संयोजक रहेको समितिमा सहकारी मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रि सहकारी बैंक र सहकारी विभागकै उप–रजिस्टार सदस्य रहने व्यवस्था छ । हाल ब्याजदर निर्धाणरणका लागि एउटा उपसमिति बनेको छ । सो उपसमितिले निर्धारण गरेर सिफारिस गरेपछि मात्रै समितिले ब्याजदर बढाउने वा यथावत राख्ने भन्ने विषयमा निर्णय हुनेछ ।

याङ्री र लार्केको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि पाइप बिच्छ्याइँदै

काठमाडौं । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर एमएमका ठूला पाइप विच्छ्याउन थालिएको हो । दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले राससलाई जानकारी दिए । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म एक हजार ८०० मिलिमिटरको पाइप विच्छ्याइने छ । साँढे दुई किलोमिटर भन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने एक हजार ६०० मिलिमिटरको पाइप विच्छ्याइने छ । याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप विच्छ्याइएको उनले सुनाए । वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप विच्छ्याउन थालिसकेको छ । हवास उई कङ्काई कम्पनी जेभीले पाइप विच्छ्याउने कामको ठेक्का पाएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । दुई अर्ब ८८ करोड रुपैयाँको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए । सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप विच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप विच्छ्याइनेछ । रासस

नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनोट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताए । उनले भने, ‘हामीलाई तीन फिल्म प्राप्त भएको थियो । ऐना झ्यालको पुतली अहिले हामीले खोजिरहेको कलात्मकता बोकेको फिल्म नै हो । त्यसैले हाम्रो निर्णय यसलाई नै नेपालको प्रतिनिधित्व गरेर पठाउने भएको हो ।’ नेपालको ग्रामीण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ भाइको रहरको कथा, दिदीको सपनाको कथा र आमाको सङ्घर्षको कथा हो । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बू, विषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्तालगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २४ देखि देशैभरको फिल्म हलमा फिल्म प्रदर्शनरत छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म पेस गर्न आह्वान गरिएको थियो । नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो । रासस

सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’

सुर्खेत । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सुर्खेतमा सार्वजनिक गरेको छ । महिन्द्रा समूहको एक हिस्सा रहेकाे यस कम्पनीले मंगलबार सुर्खेत उक्त इलेक्ट्रिक अटो सार्वजनिक गरेकाे हाे । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जानकारी दिएकाे छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख (पेट्रोल अटोको तुलनामा) रुपैयाँ बचत गर्नसक्ने कम्पनी बताउँछ । भारतमा महिन्द्रा ट्रियो १० हजारभन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । याे पहिलाेपल्ट २०१८ मा सार्वजनिक गरिएकाे थियाे । ट्रियो ठूलो मात्र नभइ विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस अटाेमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध हुनुकाे साथै यस अटाेले पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी देखाउँछ । यसकाे अटाेकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।      

सेयर बजार निरन्तर ओरालो लाग्दै, कालिका पावरको सेयर मूल्य १० प्रतिशत घट्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । यसअघि हिजो आइतबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले गिरवाट आएको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्ने भएपनि ब्याजदर वृद्धिका कारण पूँजी बजार घटेको लगानीकर्ताको धारणा छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा सोमबकार २.०७ प्रतिशत घटेको हो । आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको थियो । यस्तै, मंगलबार दिनभरिमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर ३० हजार १३५ पटक खरिदबिक्री हुँदा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ । यअिसअघि आइतबारका दिन १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार सेयर बजारमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन । यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९२ प्रतिशत अर्थात् ५८ रुपैयाँ बढेर १ हजार ५३८ रुपैयाँ पुगेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३३.४० रुपैयाँ घटेर ३००.६० रुपैयाँमा सीमित भएको छ । आज हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ६५ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।