विकासन्युज

राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अपमान र अवमूल्यन गरेको बताएको छ । सत्तारुढ गठबन्धनको बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संघीय संसदको घोर अपमान र अवमूल्यन गरेको निष्कर्ष निकालेको हो । बैठकले सो विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको समेत उल्लेख गरेको छ । राष्ट्रपतिको यो कदमको विरुद्ध सचेत रहन पनि बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समूदाय, सञ्चार जगत लगायत सम्पूर्ण नेपालीहरुमा आह्वान गरेको नेपाली काँग्रेसका नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । राष्ट्रपति भण्डारीको सो कदमले नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्यमान्यतामा गम्भिर प्रहार गरेको पनि सरकारमा सत्तारुढ गठबन्धनको आरोप छ । सत्तारुढ दलहरुले पुनः पारित गरेर संघीय संसदले पठाएको कुनै पनि विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नैपर्ने संवैधानिक व्यवस्था रहेको जिकीर गर्दैै आएका छन ।

यती एयरलाइन्सले एक वर्षमा १० लाख बढीलाई दियो सेवा

काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । काठमाडौंबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो । एयरलाइन्सले आज आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको विज्ञप्तिमा एक वर्षमा १५ हजार नौ सय २५ वटा उडानमार्फत यात्रुलाई सेवा प्रदान गरेको जनाइएको छ । यतीले हवाइ सेवा प्रदान गरेका यात्रुमध्ये २७ हजार छ सय ६३ जना विदेशी रहेका छन् । एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले यतीले एक वर्षको अवधिमा एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको जानकारी दिए । ‘दुई वर्षअघि हामीसँग जहाज धेरै भए पनि सिट सङ्ख्या कम थियो, अहिले ठूला जहाज मात्र हुँदा सिट सङ्ख्या वृद्धि भएको अवस्था छ, अर्को वर्ष थप एउटा एटिआर–७२ ल्याएर यात्रु सङ्ख्या १५ लाख पु¥याउने लक्ष्य लिएका छौँ,’ उनले भने । यतीले पाँच वटा एटिआर–७२ जहाजमार्फत देशका विभिन्न भूभागमा उडान भर्दै आएकामा गत महिना थप एउटा एटिआर जहाज थप गरेको छ । एयरलाइन्समा हाल सात सय ३० कर्मचारी आबद्ध छन् । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत पनि सेवा प्रदान गर्दै आएको छ । ताराको तीन वटा ट्वीनअटर जहाजमार्फत नेपालगञ्जबाट हुम्ला, जुम्ला, रारा, बाजुरा, पोखराबाट मुस्ताङ र काठमाडौँ र रामेछापबाट लुक्ला, फाप्लुलगायतका स्थानमा सेवा दिँदै आएको छ । रासस

‘विश्व बैंकले नेपाल सरकारलाई दिने ऋण बैंकमार्फत दिए तरलतामा स्थायित्व आउँछ’

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गाेल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋणलाई बैंकमार्फत उपलब्ध गराए तरलतामा स्थायित्व आउने बताए । नेपाल आर्थिक संघ र सिबिफिनले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी गरेकाे बैठकमा उनले यस्ताे बताएका हुन् । उनले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराए साँच्चिकै तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने धारणा राखेका थिए । उनले दिगो आर्थिक विकास र उदीयमान संकटको सामना गर्नका लागि एमएसएमइएसलाई लक्षित ऋण पनि बैंक तथा वित्तीय संस्थाहरूमार्फत उपलब्ध गराउनुपर्ने सुझाव दिए । यस्तै, उनले भारतीय रुपैयाँलाई नेपाली रुपैयाँसँग अनपेग गर्ने कुरा आउँदा वस्तु र सेवाहरूको मूल्यहरू अझ बढ्ने र उपभोक्ताहरूलाई अझ गाह्रो हुने उनी बताउँछन् । कार्यक्रममा विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले दक्षिण एशियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्ने, विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाव दिएका थिए । यस्तै, कार्यक्रममा नेपाल आर्थिक संघका महासचिव डा. गोपालप्रसाद तिवारीले साना तथा मझौला उद्योगको दिगो प्रवर्धनको लागि संकटको समयमा नया मोडेल नै विकसित गरेर लागु गर्नु पर्ने बताएका थिए ।  

बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला

कुश्मा । ‘हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा।’ लोकपप गायक तिलकबम मल्लको हो । आफ्नै गीतका बारेमा गायक मल्ल भन्दै थिए, ‘प्राकृतिकरुपमा अन्नपूर्ण शिरदेखि बग्दै आउने हिउँको चिसो पानीमा असला माछा पाइन्थ्यो । वीरेठाँटी, नयाँपुल, हुुँदै कुश्माको आसपासका बजारमा असला माछा खानका लागि आन्तरिक पर्यटकको भिड्नै लाग्थ्यो, त्यही दृश्यले तानेपछि गीत बन्यो ।’ गायक मल्लले विसं २०५५ मा गाउनुभएको यस गीतले मोदी खोलामा पाइने असला माछाका बारेमा खुबै चर्चा चल्यो । मोदी खोला आसपासका ठाउँ अम्बोट, डिमुवा, नयाँपुल र वीरेठाँटीका साना बजारमा माछा खानका लागि आन्तरिक पर्यटक यहाँसम्म पुग्ने गर्दथे । ‘हामी सानैछँदा दाइहरुसँग मोदी खोलामा गएर माछा मारेर ल्याउथ्यौँ, दाइहरुले नयाँ पुलको होटलमा लगेर बिक्री गर्नुहुन्थ्यो’, राजमार्ग छेउ अम्बोटमा रेस्टुराँ सञ्चालन गर्नुभएका गौरव क्षेत्रीले भने, ‘मोदीको माछा भनेपछि पोखरा बागलुङ हिँडेका गाडी पनि अम्बोटमा रोक्थे र माछा खाएर मात्रै गन्तव्यतर्फ लाग्दथे ।’ अहिले भने मोदीखोलामा असला माछा पाइन छाडेको छ । एकपछि अर्को विद्युत्गृह धमाधम निर्माण हुन थालेसँगै मोदीखोलामा माछाको सङ्कट परेको हो । तीस वर्ष पहिले लोकपप गायक तिलकबम मल्लले गीतमा ‘हिउँको पानी मोदीको असला’ भनेका थिए । तर अहिले आएर मोदी खोलाको परिभाषा बदलिएर ‘हिउँको पानी मोदीको बिजुली’ भएको छ । अर्थात् मोदीखोलालाई ऊर्जा नदीका रुपमा लिने गरिन्छ । मोदी खोलाको सिरानदेखि पुछारसम निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माण सुरु हुने क्रममा रहेका गरी छ वटा जलविद्युत् आयोजना रहेका छन् । मोदीमा तीन आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । एउटा आजोजना निर्माणको अन्तिम चरणमा छ भने दुई आयोजना निर्माणको चरणमा छन् । मोदी खोलामा निर्माण सम्पन्न तीन आयोजना मोदी खोलामा सबैभन्दा पहिले सञ्चालनमा आएको जलविद्युत् आयोजना हो, मोदी खोला जलविद्युत् केन्द्र । नेपाल विद्युत् प्राधिकरणले विसं २०५७ मा निर्माण सम्पन्न गरेको यो जलविद्युत् केन्द्रले १४ मोगावाट विद्युत् उत्पादन गर्दै आएको छ । मोदी गाउँपालिकामा रहेको जलविद्युत् केन्द्रले २०७८/७९ को आर्थिक वर्षमा अहिलेसम्मकै बढी विद्युत् उत्पादन गर्न सफल भएको छ । केन्द्रका प्रमुख आभास ओझाका अनुसार निर्माण सम्पन्न भएको २२ वर्षको अन्तरालमा गत आर्थिक वर्षको पहिलो महिना साउनमा सात हजार एक मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएकामा आठ हजार ८९९ मेगावाट उत्पादन भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सञ्चालनमा ल्याएको १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको १० वर्ष भइसकेको छ । कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको यो विद्युत् आयोजनालाई गत वर्षको पहिराले क्षति पु¥याएको थियो । जसका कारण रु पाँच करोडभन्दा बढी रकमको क्षति भएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । यस्तै १० मेगावाट क्षमताको अर्को तल्लो मोदी–२ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको कम्पनीले उक्त विद्युत् आयोजना निर्माण नगर्ने भएको छ । जग्गा खरिद गर्नेदेखि डिपिआर लगायतका काममा रु पाँच करोड बढी खर्च गरिसकेको कम्पनीले आयोजना निर्माण गर्दा घाटा हुने देखेपछि पछाडि हटेको हो । कुश्मा नगरपालिका–८ मा पावरहाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको तल्लो मोदी जलविद्युत् आयोजनाले केही महिनादेखि विद्युत् उत्पादन सुरु गरेको छ । मनाङ ट्रेड लिङ्कको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदीले निर्माण सुरु भएको नौ वर्षमा व्यावसायिक उत्पादन सुरु गरेको हो । विसं २०७४ असार भित्रै उत्पादन गर्ने भए पनि भूकम्प नाकाबन्दी, श्रमिकको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा पाँच वर्ष ढिला उत्पादन दिएको छ । गाउँपालिका आफैँले स्थानीयको विद्युत् शुल्क तिरिदिने मोदी गाउँपालिकाको कार्यालयले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट प्रत्येक वर्ष रु एक करोड ३० लाख रोयल्टी बुझ्ने गरेको छ । गाउँपालिकाले रोयल्टी बुझेबापत यस वर्षदेखि मोदी गाउँपालिकाभित्रका उपभोक्ताको मिटरमा जति युनिट महसुल उठेको भए पनि दामासाहीमा मासिक ३० युनिट मानेर गाउँपालिकाले रकम तिर्ने भएको छ । ‘पर्वत वितरण केन्द्रद्वारा मिटर जडान भएका ग्राहकको स्वीकृत लोड क्षमता जति भए पनि सम्पूर्ण ग्राहकको मासिक दामासाही रु ३० का दरले तिर्नेछौँ,’ गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलले भने, ‘गाउँपालिकामा झण्डै तीन हजार उपभोक्ताको मासिक न्यूनतम शुल्क ३० रुपैयाँ दरले मासिक ९० हजार रुपैयाँमध्ये प्रत्येक तीन महिनाको एकमुष्ट रकम पर्वत विद्युत् वितरण केन्द्रको खातामा जम्मा गर्नेछौँ, वर्षमा करिब १२ लाख रुपैयाँ खर्च हुने अुनमान गरेका छौँ ।’ यता कुश्मा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका विद्युत् आयोजनाबाट वार्षिक ३० देखि ३५ लाख रुपैयाँको हाराहारीमा रोयल्टी बुझ्ने गरेको छ । १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजना र मनाङ ट्रेड लिङ्कको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदीबाट नगरपालिकाले रोयल्टी बुझ्ने गरेको हो । निर्माणको अन्तिममा चरणका आयोजना चौधरी समूहको लगानीमा १५।१ मेगावाट क्षमताको मध्यमोदी आयोजना निर्माणको अन्तिम तयारीमा रहेको छ । मध्यमोदी हाइड्रो पावर कम्पनीमार्फत विसं २०७२ मा आयोजना निर्माणको काम सुरु गरिएको थियो । करिब दुई अर्ब ८० करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनाले विसं २०७५ मङ्सिरमा विद्युत् उत्पादन गरिसक्नुपर्ने थियो । कोरोना, भूकम्प, नाकाबन्दीलगायतका कारणले निर्धारित मिति भन्दाबढी समय खर्च भएको आयोजनाले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले वीरेठाँटीमा ४० मेगावाट क्षमताको माथिल्लो मोदी जलविद्युत् आयोजना र माथिल्लो मोदी जलविद्युत् ‘ए’ बाट १८ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिने कुरा मोदी खोला जलविद्युत् केन्द्रका कर्मचारी प्रदीप सापकोटाले जानकारी दिए । छोटो दूरीमा बग्ने मोदी खोलाको पानी उपयोग गरेर निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाको उत्पादन जोड्दा एक सय १७ दशमलव १ मेगावाट पुग्छ । रासस

जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

गलेश्वर । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको सो सडक हुँदै खाद्यान्न ढुवानीको व्यवसाय गर्दै आएका राज शर्माले बताए । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने चालक तीर्थ विकले जानकारी दिए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लिंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ । यो सडक २०६२/६३ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत चार वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको दानाका श्याम विकले बताए । भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिजप्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले बताए । उनका अनुसार २०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधिको प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ । कूल ७६ किलोमिटरको बेनी–जोमसोम सडकमा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेको गुनासो सुनिदै आएको छ । न्यून कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचक्र्याइँ गरिरहेको गुनासो बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख ईन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो । ‘कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हँुदैन’, उनले भने,’खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।’ राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ । बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । भीरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला बस एकतर्फी मात्र आवतजावत गर्न सक्छन् । बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजरलगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छ्याउने र यातायात सञ्चालन गर्ने गरिएको जानकारी दिए । म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उनको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । कागबेनीमा दिवङ्गत पितृलाई सोह्रश्राद्धमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ । यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ ।बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको गुनासोे छ । रासस

आधा दर्जन बढी कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै छन् ?

काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये ७ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी बीमा कम्पनीहरु रहेका छन् । ७ वटा कम्पनीमा ४ वटा जीवन बीमा, २ हाइड्रो र १ उत्पादनमूलक क्षेत्रका कम्पनीहरु रहेका छन् । जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । त्यस्तै, हाइड्रोमा सानिमा माइ र अरुण काबेली पावरले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यता म्यान्युफ्याक्चरिङ समूह अन्तर्गतको नेपाल ल्युब आयलले लाभांश घोषणा गरि उक्त लाभांश पारित गर्नको लागि साधारण सभा समेत आव्हान गरिसकेको छ । यी कम्पनीले छुट्टा छुट्टै आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । कुनले कति ? नेपाल लाइफ नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुने समेत कम्पनीले खुलाएको छ । कूल लाभांशदर अघिल्लो वर्षको तुलनामा भने बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । विगतका वर्षमा नगदभन्दा बोनस सेयरमा फोकस भएको कम्पनी यो पटक भने नगदमा मात्रै केन्द्रित भएको देखिन्छ । नेशनल लाईफ  नेशनल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि कम्पनीका सेयरधनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ । योसँगै बीमा समितिले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न कम्पनीलाई ३७ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ । एशियन लाइफ एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई बीमा समितिले समेत पारित गरिसकेको छ । कम्पनीले चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ । गुराँस लाइफ गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस र कर वापत ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा कम्पनीहरुको लाभांश प्रस्तावलाई नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने छ । र, सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीमा वितरण हुने छ । सानिमा माई सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित सो मात्राको लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जान कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । यससँगै, असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको उक्त लाभांश पाउने छन् । अरुण काबेली पावर अरुण काबेली पावरले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर बाहेक सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । हाइड्रो समूहअन्तर्गतका यी कम्पनीको प्रस्तावित बोनसलाई विद्युत नियमन आयोगले स्वीकृत तथा सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । त्यसपछि मात्रै सम्बन्धित कम्पनीका सेयरधनीले उक्त लाभांश पाउने छन् । नेपाल ल्युब आयल नेपाल ल्युब आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज २८ गते वार्षिक साधारण सभा समेत बोलाइसकेको छ । कम्पनीले सो दिन बिहान साढे ११ बजे ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आफ्नो ३१औं सभा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउने छन् ।

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

बुटवल । रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने संवाद, क्रियाकलाप अस्वभाविक व्यवहार देखापर्ने अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेती बताउँछन् । ‘यो जन्मजात समस्या हो, तर के कारणले हुन्छ यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन’, उनले भने, ‘यद्यपि वैज्ञानिकले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् ।’ डा रुपाखेतीका अनुसार नेपालमा कूल जनसङ्ख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ । जसअनुसार नेपालमा तीन लाखमा र लुम्बिनी प्रदेशमा आठदेखि १० हजारमा यो समस्या रहेको अनुमान गर्न सकिन्छ । रुपन्देही जिल्लामा करिब दुई सय ५० जना अटिजम केयर सोसाइटीको सम्पर्कमा आएका छन् । रुपन्देही जिल्लामा अटिजम विद्यालय सञ्चालनका लागि रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले एक चरणमा तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटी लुम्बिनीसँग छलफल गरेको छ । लुम्बिनी प्रदेश सरकार, तिलोत्तमा नगरपालिका, शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटीबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको अध्यक्ष भण्डारीले बताए । त्यस्तैगरी अटिजम र सिकलसेस एनिमिया दुई वटा परियोजनामा सहयोग गर्नका लागि क्लबले जापानको ‘रोटरी सेटेलाइट क्लब अफ बाको २१ साकितामा’ लाई प्रस्ताव गरेको छ । रासस

ट्र्याक खुलेको २५ वर्षपछि मानुङकोट सडक कालोपत्र

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो । दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन वर्षदेखि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । कोभिड–१९ का बेला भएको बन्दाबन्दीका बीचमा मानुङकोट ‘भाइरल’ नै भएको थियो । त्यतिबेला एकैदिनमा १० हजारभन्दा बढी पर्यटक मानुङकोट पुगेको तथ्याङ्क छ । विसं २०७५ साउन १७ गते सम्झौता भएर कालोपत्र थालिएकाेमा गत असार १५ गते कालोपत्र सम्पन्न भएको सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । सात करोड तीन लाखको लागतमा ४.६ किलोमिटर सडक कालोपत्र भएको हो । उक्त सडक खण्डमा ४.९ किलोमिटर नालीसमेत निर्माण गरिएको छ । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ । अझै दुई किलोमिटर सडकखण्ड कालोपत्र गर्न बाँकी छ । मानुङ पर्यटकीय मोटरमार्गका अध्यक्ष वीरबहादुर थापाले विसं २०५४ सालमा खनिएको सडक अहिले बल्ल कालोपत्र भएको बताए । ‘अझै पनि बाटो कालोपत्र पुरा भइसकेको छैन, ठाउँ ठाउँमा अझै कालोपत्र बाँकी छ,’ थापाले भने । बाटो कालोपत्र हुँदा मानुङ पुग्ने सर्वसाधारणलाई समस्या हुँदै आएकामा अब कालोपत्र सडकमा सजिलैसँग यात्रा गर्न पाइने थापाले बताए । सडक कालोपत्र भएपछि मानुङकोट पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । यसअघि कच्ची सडक हुँदा मानुङकोट जान पर्यटकलाई सास्ती हुँदै आएको थियो । कोभिड–१९ र बन्दाबन्दीपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ । ‘कालोपत्र सडकले मानुङकोटमा पर्यटक बढायो, पर्यटकको चहलपहल बढेपछि मानुङकोटमा होटल खुल्नेक्रम बढ्यो’, श्रेष्ठले भने । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाड्नुभएकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनःमानुङकोट उक्लिएको उनले बताए । ‘अहिले त बाटो कालोपत्र भइसक्यो, जे चाहिए पनि दमौलीबाटै लैजान सकिन्छ’, उनले भने, ‘गाउँमै सम्भावना देखेपछि फर्किएर होटल चलाइरहेको छु ।’ मानुङकोटको विकास अभियानमा व्यास नगरपालिकाको मुख्य चासो रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने बताउँछन् । ‘मानुङकोटमा लगानी गर्न निजी क्षेत्र आकर्षित भइरहेका छन्’, उनले भने, ‘सरकारी र निजी क्षेत्रको साझेदारीमा मानुङकोटको विकास गर्छौं ।’ यसअघि बतास समूहले मानुङकोटमा चार अर्ब योजनाको प्रस्ताव गरे पनि त्यसमा मुद्दा परेपछि रोकिएको बताउँदै अहिले मुद्दाको फैसला आइसकेकाले अब त्यो प्रक्रिया अगाडि बढ्ने न्यौपाने बताउँछन् । चिसो मौसम सुरु भएसँगै मानुङकोटमा पर्यटकको सङ्ख्या झनै बढ्छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालयीत आन्तरिक पर्यटक मानुङकोट पुग्छन् । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला र तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।