काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गाेल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋणलाई बैंकमार्फत उपलब्ध गराए तरलतामा स्थायित्व आउने बताए ।
नेपाल आर्थिक संघ र सिबिफिनले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी गरेकाे बैठकमा उनले यस्ताे बताएका हुन् ।
उनले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराए साँच्चिकै तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने धारणा राखेका थिए ।
उनले दिगो आर्थिक विकास र उदीयमान संकटको सामना गर्नका लागि एमएसएमइएसलाई लक्षित ऋण पनि बैंक तथा वित्तीय संस्थाहरूमार्फत उपलब्ध गराउनुपर्ने सुझाव दिए ।
यस्तै, उनले भारतीय रुपैयाँलाई नेपाली रुपैयाँसँग अनपेग गर्ने कुरा आउँदा वस्तु र सेवाहरूको मूल्यहरू अझ बढ्ने र उपभोक्ताहरूलाई अझ गाह्रो हुने उनी बताउँछन् ।
कार्यक्रममा विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले दक्षिण एशियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्ने, विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाव दिएका थिए ।
यस्तै, कार्यक्रममा नेपाल आर्थिक संघका महासचिव डा. गोपालप्रसाद तिवारीले साना तथा मझौला उद्योगको दिगो प्रवर्धनको लागि संकटको समयमा नया मोडेल नै विकसित गरेर लागु गर्नु पर्ने बताएका थिए ।