विकासन्युज

लालीगुराँस बहुउद्देश्यीय र स्टार सहकारीबीच मर्जर सम्झौता

ललितपुर । सहकारी क्षेत्रमा मर्जरको लहर चलेका बेलामा ललितपुरका दुई वटा सहकारी संस्था मर्ज हुने भएका छन् । महानगरपालिका–३ स्थित रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र वडा नम्बर ५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भएको हो । बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लालीगुँरासका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचतका अध्यक्ष दिनेश राईले हस्ताक्षर गरेका हुन् । सहकारी ऐन २०७४, नियमावली २०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको जनाएको छ । साथै मर्जर गर्न कार्यदल पनि गठन भएको छ । कार्यदलमा लालीगुँरासका तर्फबाट अध्यक्ष श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट (सीए) गोविन्द शर्मा गैरे रहेका छन् भने स्टार बचतका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट (सीए) प्रयास श्रेष्ठ रहेका छन् । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले संस्थाको संचालक समिति, उपसमिति र सेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद् बैठक : प्रदेश गौरवको योजनामा जिरी र रुबी भ्याली समावेश गर्ने निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी र धादिङको रुबी भ्याली क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ । आज बसेको बैठकले जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनका अनुसार कूल एक अर्ब रुपैयाँ खर्च अनुमान गरिएको सो ताल निर्माणका लागि चालु आर्थिक वर्षमा १५ करोड प्रदेश सरकारले विनियोजन गरिसकेको छ । त्यस्तै मानव स्रोतसाधन सूचकमा कमजोर रहेको धादिङ जिल्लाको रुबी भ्यालीलाई पनि प्रदेश गौरवको योजनामा समावेश गरी एकीकृत विकास परियोजनाअन्तर्गत काम अघि बढाउने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनोट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहनेगरी कार्यदल गठन गर्ने निर्णय भएको हो । सो कार्यदलको सदस्यमा क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सदस्य रहने छन् । प्रदेश सरकारले अब ५० लाखसम्मको काम उपभोक्ता समितिबाट गराउने निर्णय गर्नुका साथै पर्यटन व्यवसायीलाई उकास्न प्रोत्साहन कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय खेल घोषणा भएका जुनसुकै खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई प्रदेश सरकारको तर्फबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको प्रवक्ता खनालले जानकारी दिए । रासस

लाभांश घोषणाका लागि राष्ट्र बैंकमा पुगे एक दर्जन बैंक

काठमाडौं । लाभांश घोषणाका लागि एक दर्जन वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार आधा दर्जन वाणिज्य बैंक वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् । ‘एक दर्जन बढी वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा पठाएका छन्, त्यस विषयमा हामी अध्ययन गरिरहेका छौं, पूर्ण रुपमा अध्ययन गरेपछि हामी हाम्रो निर्णय गर्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सिद्धार्थ, सिटिजन्स, मेगा र कुमारी लगायत एक दर्जन बैंक राष्ट्र बैंक पुगेका छन् । सिटिजन्स बैंकले स्वीकृति पनि पाइसकेको राष्ट्र बैंकले जनाएको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ । यससँगै सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ । अब केही दिनमै अन्य बैंकले पनि लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । ‘राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि आएका बैंकहरुलाई हामीले जति सक्दो छिट्टो स्वीकृति दिने योजना बनाएका छौं, सकेसम्म दशैं अगाडि नै स्वीस्कृति दिने हाम्रो योजना थियो तर केही प्राविधिक समस्या देखियो, अझै पनि समय छ, दशैं अगाडि नै सबै बैंकले स्विकृति पाउन सक्छन्न्’ राष्ट्र बैंक स्रोतले भन्यो । बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउँछन् । नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न सक्ने स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ ।

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण ‘स्कील ग्याप एनालाईसीस’ आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश-स्तर र मध्य-स्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिँदाका चुनौती लगायत विषयमा केन्द्रित रहेको थियो । यसैगरी दक्ष जनशिक्त उत्पादनका लागि शैक्षिक संस्थाहरुलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ । ‘स्कील ग्याप एनालाईसीस’ मा सूचना प्रविधी, कृषि, आतिग्थ्य लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी रहेका थिए । हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् । कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर ‘सिएनआई रोजगार तथा सीप मेला’ आयोजना गर्न लागिएको छ । सिएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ ।

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो सिटिजन्स, ९ प्रतिशत प्रस्ताव

काठमाडौं । सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेसँगै सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको हो । बैंकको आज अर्थात असोज ६ गते बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले  आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि बैंकले दिनेछ । बैंकले गत आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

एनसीसी बैंकका ग्राहकले ‘फोन पे’को क्युआर प्रयोग गर्दा १० प्रतिशत क्यासब्याक पाउने

काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र ‘फोन पे’बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा १०० रुपैयाँसम्म क्यासब्याक प्रदान गर्नेछ । यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ । दशैँ र तिहार गरी २ पटक यो अफर संचालन हुने बैंकले जनाएको छ । दशैँ लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म संचालन हुने र तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गते सम्म संचालन हुने बताइएको छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

यी ६ ब्राण्डका विद्युतीय कार : ३० लाखदेखि साढे २ करोडसम्म मूल्य

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा इभी अटो एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार विद्युतीय सवारी साधनको प्रदर्शनीको उद्घाटन गर्दै एक्स्पोको सुरुवात भएको हो । नाडाले यस पटक विद्युतीय सवारी साधनको मात्रै प्रदर्शनी गरेको छ । एक्सोमा ३० लाखदेखि साढे २ करोड रुपैयाँसम्मका गाडीहरु प्रदर्श नीमा राखिएका छन् । एक्स्पोमा विभिन्न ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पाँग्रे विद्युतीय सवारीका वितरक कम्पनीहरुले सहभागी जनाएका छन् । आजदेखि आइतबारसम्म चल्ने एक्स्पोमा ४० हजारले अवलोकन गर्ने नाडाको अनुमान छ । नाडामा टेस्ला, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लस, मोडल वाई लङ्ग रेन्ज, हुण्डाई, कोना ईभी जीएल , कोना ईभी जीएलएस, आयोनिक ५, टाटा नेक्सन, टाटा, नेक्सन ईभी एक्सजेड प्लस, नेक्सन ईभी एक्सजेड प्लस लक्जरी, दीगा र बीवाईडी लगायतका गाडी प्रदर्शनमा राखिएका छन् । टेस्ला टेस्ला गाडी पनि प्रदर्शनीमा राखिएको छ । टेस्ला गाडीको बिक्रेता अरेटी इन्टरनेशनलले तीन वटा मोडल प्रदर्शनीमा राखेको छ । टेस्लाको मोडल–३, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लस र मोडल वाई लङ्ग रेन्ज प्रदर्शनीमा राखेको छ । कम्पनीले टेस्ला मोडल–३ को १ करोड ५५ लाख, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लसको २ करोड १५ लाख र मोडल वाई लङ्ग रेन्जको २ करोड ४० लाख रुपैयाँ मूल्य तोकेको छ । हुण्डाई हुण्डाईले पनि एक्स्पोमा तीन वटा मोडल प्रदर्शनीमा राखेको छ । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी जीएल, कोना ईभी जीएलएस र आयोनिक ५ प्रदर्शनीमा राखेको छ । यी गाडीहरुको मूल्य क्रमशः ६० लाख ५६ हजार, ६२ लाख ९६ हजार र १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोकेको छ । टाटा टाटाले विभिन्न ७ मोडलका गाडी प्रदर्शनमा राखेको छ । टिगोर ईभी एक्सएम (मिड अप्सन)को मूल्य ३१ लाख ४९ हजार, टिगोर ईभी एक्सजेड प्लस (फुल अप्सन)को मूल्य ३२ लाख ९९ हजार, नेक्सन ईभी एक्सएमको मूल्य ३७ लाख ९९ हजार, नेक्सन ईभी एक्सजेड प्लसको मूल्य ३९ लाख ९९ हजार, नेक्सन ईभी एक्सजेड प्लस लक्जरी (फुल अप्सन विथ सनरुफ)को मूल्य ४१ लाख ९९ हजार, नेक्सन ईभी जेडएक्स प्लस डार्क एडिसनको मूल्य ४१ लाख ९९ हजार र नेक्सन ईभीएक्स जेड प्लस लक्जरी डार्क एडिसनको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग हो । नेटा भी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्स नेटा गाडीको आधिकारिक बिक्रेता हो । प्रदर्शनमा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । दिगो दिगो गाडी जेएसी टी८ ईभी पनि एक्स्पोमा राखिएको छ । जसको मूल्य मूल्य ७१ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । बीवाईडी नाडा इभी एक्स्पोमा बिवाईडी ई–६गाडी पनि प्रदर्शनीमा राखिएको छ । जसको मूल्य मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ ।

सन नेपाल लाईफ छैटौं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ५ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै, कम्पनीले विभिन्न अस्पताल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै, सोही अवसरमा कम्पनीले विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १ हजारभन्दा बढी विद्यार्थीहरुको उपस्थितीमा बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।