विकासन्युज

फुटले धोका भयो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’ माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहोर्याउँदै अध्यक्ष दाहालले भने, ‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।’ घटनाक्रमले के साबित गर्यो भने हामी अलग-अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उनले उल्लेख गरे । जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उनको भनाइ छ । पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पारे । “यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व गर्यो उनीहरू अलग-अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस गर्यौं,’ अध्यक्ष दाहालले भने, ‘प्रचण्ड-बाबुराम दुई नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठूलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तीतो मार्मिक यथार्थ भोगिरहेका छौं ।’ ‘बाबुराम-प्रचण्ड मिल्दा एक प्लस एक दुई मात्र हुने होइन, यसको महत्व ठूलो हुन्छ’, उनले भने, ‘हामी एक अर्काका पूरक हौं । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’ संविधानको घोषणापछि आफूले एमालेसँग एकता र भट्टराईले नयाँ शक्तिको स्थापना गर्ने दुस्साहसिक प्रयोग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले ती दुवै प्रयोग असफल भएको स्वीकार गरे । उनले भट्टराई र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निष्कर्ष फुट होइन एकता नै भएको र एकता सङ्घर्ष रुपान्तरणमा पनि मुख्यतः रुपान्तरण नै रहेको बताए । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौं कि सक्दैनौं भनेर आफूहरुले छलफल गरेको अध्यक्ष दाहालको भनाइ छ । उनले एकता चुनावका लागि मात्रै नभएको स्पष्ट  पारे । उनले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको होइन, त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’ कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताए । रासस

दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौं : खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैँ लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराइने बताए । दसैँलगायतका चाड पर्वका असरमा दिएको छुटलाई दृष्टिगत गरी तत्कालको आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्ने कार्यले कहीँकतै भिडभाडका घटना भएको हुनसक्ने कम्पनीको भनाइ छ । उनले भने ‘आवश्यकताअनुसारको खाद्य वस्तु खरिद गरी सहयोग पुर्याउन कम्पनी सबै उपभोक्तासँग हार्दिक आह्वान गर्दछ ।’ उक्त संस्थाले मुलुकका ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत दरमा चामल, दाल, तेल, नुन, चीन र गेडागुडी लगायतका गुणस्तरीय खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ । दसैँलगायतका महत्वपूर्ण चाडका अवसरमा निजी क्षेत्रको तुलनामा अनुभव हुने गरी छुटको व्यवस्था गरिएको जनाउँदै कम्पनीले दुरदराजका जनतालाई सहजरुपमा खाद्यान्न पाउन भन्ने हेतुले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरिएको जनाएको छ । कतिपय दुर्गम जिल्लामा स्थानीयपालिका, वडा, आमासमूह र सहकारीसँग मिलेर सहुलियत दरमा सरल ढङ्गबाट अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन कम्पनीको प्रयास जारी छ । चाडबाडअघि नै अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भई ढुवानीको काम सुरु भइसकेको जनाउँदै कम्पनीले टेण्डर नपरेका कतिपय स्थानमा भने छोटो प्रक्रियाका आधारमा हेलिकप्टरद्वारा पुर्याइने जनाएको छ । कम्पनीबाट सञ्चालन गरिएको सुपथ मूल्य पसलको बिक्रीवितरण र मागको आकर्षण रहेको जनाउँदै काठमाडौं उपत्यकालगायतका सहरमा अनलाइन मागका आधारमा घरदैलोमै सेवा दिइरहेको जनाएको छ । कम्पनीबाट उपलब्ध हुने खाद्यान्न बजारमूल्यका तुलनामा निकै सस्तो रहेको जनाउँदै उनले वर्षैभर सहुलियत प्राप्त गर्ने सोच भने त्याग्न जरुरी रहेको बताए । दसैँमा काठमाडौँ उपत्यकामा हुने खसीबोकाको बिक्रीवितरणमा मूल्य सन्तुलन गर्न कम्पनीले मुलुकका विभिन्न क्षेत्रबाट खरिद गरी बिक्रीवितरण गर्दै आएको छ । यसअघि कम्पनीले २०५८ सालसम्म चीनको तीब्बतबाट भेडा ल्याएर बिक्री वितरण गर्ने गर्थ्यो । केही वर्षअघिसम्म मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएकामा मुलुकमा कोरोना सङ्क्रमणको घटनापछि त्यो काम रोकेको छ । रासस

धेरै बैंकहरुले ठूलो रकमको बचत फिर्ता दिन छाडे

पछिल्लो समय बैंक र सहकारीले ब्याजदर ह्वात्तै बढाएका छन् । बैंकले १७/१८ प्रतिशत व्याज दिन्छु भनेर सर्वसाधारण तान्न खोजेका छन् । मुद्धती खातामा पाँच वर्ष राख्नेलाई २० प्रतिशतसम्म ब्याज दिने बताउदैं आएका छन् । अहिले बैंक पिच्छे ब्याजदर फरक–फरक छ । अर्काको बैंकमा भएको पैसा तान्नका लागि बैंकहरुबीच नै हानाथाप भएको छ । एउटाले १३ प्रतिशत दिइरहेको छ भने अर्को बैंकले १४ प्रतिशत ब्याज दिन्छु भनेर लोभ्याइरहेका छन् । केही समययता बैंकहरुको बिजनेसको अवस्था नाजुक भइसकेको छ । तरलताको अभावले गर्दा बैंकहरुलाई बचतकर्ताको रकम फिर्ता गर्न पनि सकस हुने अवस्था छ । बचतकर्ता चेक लिएर बैंक पुग्यो भने विभिन्न बाहाना बनाएर पैसा फिर्ता दिन खोज्दैनन् । तातोचिसो भन्दै झुल्याउने अनि व्याज बढाइदिने प्रलोभनमा पार्ने । जसरी हुन्छ, बैंकमा भएको रकम त्यही रोक्न खोज्छन् । अहिले हरेक बैंकले व्याजदर बढाइरहेको छ । बचतकर्ताहरु पनि जुन बैंकले बढी व्याज दिन्छ त्यतै दौडिरहेका छन् । एउटाबाट निकालेर अर्कोमा लगेर राख्ने क्रम बढेको छ । यता, बैकबाट ऋणबाट खाने ऋणीहरु अहिले तनावमा देखिएका छन् । बैंकको ऋण तिर्न नसक्ने भयौं भनेर उनीहरुले हात उठाइसकेका छन् । बैंकले बढी ब्याज देखाएर पैसा त उठाएका छन्, तर कहाँ लगानी गर्ने ? उद्योग व्यवसायीले व्याजदर बढी भयो भनेर विरोध गरिरहेका छन् । बैंकले जसरी बढी ब्याजमा निक्षेपकर्ताबाट रकम असुलेको छ । त्यसैगरी लगानी गर्न पनि त सक्नुपर्ला । वित्तिय संस्था समस्यामा परे भनेर दुई वर्ष अघिदेखि नै अड्कलबाजी गर्न थालिएको थियो । सहकारीहरु भाग्छन् भनेर पहिले हल्ला भएको थियो अहिले त्यसको संकेत देखिन थालेको छ । बैंकको जोखिमपूर्ण लगानीले धेरैलाई समस्यामा पारेको छ । अहिले घरजग्गामा मन्दी आएको छ । पाँच दशक अगाडिको रेट र अहिलेको रेट उति नै छ । मालपोत कार्यालयमा घरजग्गा नामसारी ठप्पजस्तै छ । दिनमा एकदुई वटा पनि नामसारी हुदैन् । बजारमा घरजग्गा बेच्ने यत्तिकै छ किन्ने कोही पनि छैनन् । यता, कुनै दिन २२ अर्बसम्म कारोबार भएको सेयर अहिले ६५ करोडमै सीमित बनेको छ । तीन हजार प्रतिकित्ता किनेको सेयर अहिले ह्वात्तै घटेको छ । कर्जा लिएर सवारी साधन किन्नेहरुले पनि हात उठाएका छन् । गाडी लिलाम गर हामी कर्जा तिर्न सक्दैनौं भनेर ऋणीहरु सडकमा आइसकेका छन् । बरु, घरजग्गा र सेयर नै लिलाम गर्ने पक्षमा ऋणीहरु छन् । सहकारीहरुले २०/२२ प्रतिशत ब्याज दिन्छौ भनेर पैसा उठाइरहेका छन् । बैंक र सहकारीले राखेको पैसा फिर्ता नदिएपछि मिटरब्याजमा पैसा चलाउनेहरु बढेको बताइन्छ । मिटरब्याजमा पैसा लिएर आफ्नो समस्या हल गरेका कुराहरु बाहिर आइरहेका छन् । पछिल्लो समय मिटरब्याजमा लगानी गर्नेको संख्या ह्वात्तै बढेको छ । वित्तिय संस्थाबाट ऋण लिनेहरु ऋण तिर्नुको साटो सडकमा उत्रिनेतिर लागिपरेका छन् । यहाँबाट राजनीति छिरेको छ । ऋण लिइसकेपछि तिर्नु हरेक ऋणीको दायित्व हो । तर, ऋण तिर्न छाडेर वित्तिय संस्थालाई चक्नाचुर बनाउनतिर ऋणीहरु लागेका छन् । बैंक फाइान्सबाट लिएको ब्याजदर मँहगो भयो भनेर उद्योग व्यवसायीहरु पछि हटेका छन् । उनीहरुले बैंकबाट लिएको कर्जा तिर्न सक्दैनौ भनेर घोषणा गरिदिएका छन् । यता, होटल व्यवसायी, यातायात व्यवसायी, सेयर होल्डर, घरजग्गा व्यवसायी, निर्माण व्यवसायीहरुले पनि आन्दोलन छेड्ने भएका छन् । अब ऋणमा पनि राजनीति हुन्छ, बैंक फाइनेन्स डुबाउने खेल अगाडि बढेको छ । पर्दाभित्र बसेर राजनीतिक दलहरुले कर्जा लिनेहरुलाई सडकमा उत्रिन लगाउँछन् । माइतीघरमा दिनहु धर्ना हुन्छ । अनशन बसेर बैंकलाई घुँडा टेक्न बाध्य बनाउँछन् । ऋण तिर्न जानुको साटो माइतीघरमा आन्दोलन गर्न जान्छन् । जिल्लाजिल्लामा विरोध शुरु हुन्छ । राजनीतिक दलको झोले बन्छन्, सडकमा कराउदैं हिड्छन् । त्यसपछि बैंकको स्थिति थप नाजुक बन्छ । बैंकले कर्मचारीलाई तलब खुवाउन सक्दैन्, घरभाडा तिर्न सक्दैन् । यता, कर्जा दिदा राखेका धितो पनि बिक्री हुदैन् । अनि बैंकको त भागाभाग शुरु भइहाल्छ । अन्त्यमा डुब्ने भनेको बैंक हो । पहिले–पहिले ५० लाखको जग्गा धितो राखेर २० लाख ऋण लिन्थे । भोलि कर्जा तिर्न गाह्रो परे जग्गा बेचेर बैंकको कर्जा तिर्थे भने बाँकी भएको पैसा आफ्नै हुन्थ्यो । तर, अहिले त जग्गाको मूल्यमै मन्दी छाएको छ । बरु जग्गै छोडिदिने पक्षमा ऋणीहरु देखिन्छन् । बैंक फाइनान्ससँग अन्तिम विकल्प भनेको धितो स्वीकार गर्नु हो । तर, धितो स्वीकारेर पनि के गर्नु ? धितो बिक्री हुदैंन । बैंक त चारैतिरबाट फसिसकेको छ । धितोको मूल्य घटेपछि र बिक्री नभएपछि जनताको पैसा बैंकले कसरी फिर्ता गर्छ ? सावा त तिर्न सक्दैन भने ब्याजको कुरै छोडौं । जग्गा र सेयरको मूल्य बढाउने नै व्यापारी हुन् । बैंक र सरकारले चाहेर जग्गा र सेयरको मूल्य बढ्दैन । तर, अहिले व्यापारीहरुमै भागाभाग मच्चिएको छ । सेयर र जग्गाको मूल्य घटेर उनीहरुले नै ऋण तिर्न सकेका छैनन् । सरकारले पहिल्यै बैंक फाइनान्समा अंकुश लगाइदिएको भए आज यस्तो अवस्था आउदैनथ्यो । नेपाल राष्ट्र बैंक र सहकारी विभागले नियमन नगर्दा र छाडा छोडिदिँदा आज यस्तो दुर्दशा लाग्यो । नाफाको पछाडि भागिरहेको बैंक फाइनान्सले कहिल्यै पछाडि फर्केर हेरनेन् । सधैं नाफा भइरहन्छ, हामी रातदिन धनी भइरहन्छौं भन्ने सपना अहिले आएर टुक्राटुक्रा भएको छ । बैंक र सहकारीले यत्रो ब्याज दिने प्रलोभनमा पारेर पैसा उठाउदा राष्ट्र बैंक र सहकारी विभाग के हेरेर बसेको छ ? ब्याजको लोभमा पारेर सावा नै डुब्ने अवस्था आँउछ । यस्तो हुँदा पनि सम्बन्धित निकाय हात बाँधेर बस्नाले के अर्थ लाग्छ ? सरकार पनि कतै जनताको पैसा डुबाउने खेलमा सामेल त छैन् ? सवाल उठेको छ । दिनानुदिन सहकारीहरु बचतकर्ताको रकम कुम्ल्याएर भागेको खबरहरु बाहिर आइरहेका छन् । नभागेकालाई समेत दैनिक पाँच हजार फिर्ता गर्न गाह्रो छ । यता, बैंकले एक लाखको चेक साट्न सक्दैन् । अबको एक वर्षमा धेरै बैंक फाइनान्स समस्यामा पर्छन् भनेर अड्कलबाजी लगाउन थालिएको छ । बढी व्याजको प्रलोभनमा परेर पैसा नराख्नुस भनेर सरकारले सचेत गराएका छैनन् । सहकारी विभागले १६ प्रतिशतभन्दा बढी व्याजमा कर्जा लगानी पाइदैन भनेर प्रावधान बनाएको छ । यता, सेवाशुल्क एक प्रतिशत मात्र लिन पाउने भनिएको छ । तर, सहकारीहरुले २०/२२ प्रतिशत ब्याजमा कर्जा लगानी गरेका छन् । अनि खोइ त सहकारी विभाग ? विभागले बनाएको नियमकानूनको धज्जी सहकारीहरुले उडाइरहेका छन् । विभागको नेतृत्व गैरजिम्मेवार हुँदा बचतकर्ता र ऋणी दुवै ठगिए । सहकारीको कारणले गर्दा आज देशको अर्थतन्त्र धरासायी बन्यो । कर्जा लिनेहरु त डुबि नै हाले । कतिपयको घरमा रुवावासी चलेको छ । चाँडो नाफा कमाउन र घुस खानका लागि जनताको पैसा दाउमा लगाए । न कानून नै यिनीहरुले माने । आखिरी सरकारभन्दा बलियो त बैंक फाइनेन्स रहेछ भन्ने कुरा स्पष्ट भयो । बढी ब्याजको लोभमा परेर बैंकमा लगेर पैसा राख्दा सावा नै डुब्न सक्छ । त्यसैले, जनता आफैंमा चेतनशील हुन पर्छ । कतिपय बैंकल विज्ञापन गरेर पैसा उठाउन खोजेका छन् । विज्ञापनमा समेत प्रलोभनमा पार्ने विषयहरु मात्र समेटिएको छ । विज्ञापनको भरमा जनताले बैंक फाइनान्समा लगेर पैसा राख्नुहुन्न । कानुनमा विज्ञापन बजाउन रोक लगाइएको छ तर कत्ति पनि टेरेका छैनन् । घरभाडा तिर्न, कर्मचारीलाई तलब खुवाउन गाह्रो परेपछि कतिपय बैंकले शाखा बन्द गर्दै आएका छन् । बैंक फाइनान्स एउटा व्यापारिक संस्था हो । जति नाफा हुन्छ त्यति खाने त हो । तर, अहिले सबैतिर मन्दी छाएको छ । भएका कर्मचारीलाई तलब दिनसमेत गाह्रो परेको अवस्था छ । (लेखमा उल्लेखित विचार लेखकका व्यक्तिगत हुन् ।)

नेपाली श्रमिकका समस्या समाधान गर्ने मलेसियाका लागि नवनियुक्त राजदूत पौडेलको प्रतिवद्धता

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् । मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए । मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् । नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उनले बताए । नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गरेका हुन् । रासस

आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट

काठमाडौं । आइएमई पे र सोर्स कोड प्रा.लीबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टिएमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका छन् । डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

चन्द्रागिरिका उद्यमीले सहुलियतपूर्ण कर्जा पाउने, किसानले पनि ब्याज अनुदान पाउने

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो । नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपक्षीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज अनुदान प्रदान गर्नेछ । यसैगरी मत्स्यपालन, उत्पादित माछाको भण्डारण र बिक्री वितरण तथा पशुबधशाला एवं मासुजन्य उत्पादन गरिरहेका किसानले पनि यस्तो ब्याज अनुदान पाउने छन् । जडीबुटी उत्पादन प्रशोधन र भण्डारण, अलैँची र अदुवा खेती गर्ने किसानले पनि सहुलियत कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार दिइने अन्य व्यवसाय घरेलु उद्योग र साना तथा मझौला उद्यम सञ्चालकले पनि यस प्रकारको ब्याज अनुदान पाउने छन् । प्रमुख गिरीका अनुसार किसानले बैंकमार्फत सहुलियत कर्जा पाउनेछन् । नगरपालिकाले किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरणमा समेत मद्दत गर्नेछ । त्यसका लागि नगरका सबै वडामा सार्वजनिक स्थान पहिचान गरी हाटबजार लगाइने गिरीले जानकारी दिए । नगरका सुरक्षाका लागि सिसिटिभी जडान गर्नेबारे समेत छलफल भएको छ । रासस

सिद्धार्थ बैंकबाट अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । सिद्धार्थ बैंकले दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले असोज ८ गतेदेखि लागु हुने गरी उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले यहि आश्विन ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २०० रुपैयाँ) क्यास ब्याक पाउन सक्ने छन् । यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ । बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्ट मार्फत प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एनटीसीले ल्यायो सस्तोमा डाटा र भ्वाइस प्याक सुविधा, कसरी लिने ?

काठमाडौं । नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर ल्याएको छ । दशैंका अवसरमा ल्याइएको उक्त अफर असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् । जसमा डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी, १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाइस ओभर एलटीई (भोल्टे) सेवा पनि उपलब्ध गराइएको छ । उक्त प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।