नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा बन्धु बाँस्तोला नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा बन्धु प्रसाद बाँस्तोला नियुक्त भएका छन् । बैंकको संस्थापक नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका महेश आचार्यको स्थानमा अर्थ मन्त्रालयले बाँस्तोलालाई पठाएपछि उनलाई सञ्चालकमा नियुक्त गरिएको हो । बैंक सञ्चालक समितिको १९४औँ बैठकले बाँस्तोलालाई असोज १९ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नयाँ सञ्चालक नियुक्तिपछि बैंकको सञ्चालक समितिमा महेश प्रसाद दाहाल स्वतन्त्र सञ्चालक तथा अध्यक्ष रहेका छन् । त्यस्तै, बन्धु प्रसाद बाँस्तोला नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सञ्चालक बनेका छन् । समितिमा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सुरेन्द्रराज रेग्मी, विशाल ग्रुपका प्रतिनिधि दीपक कुमार अग्रवाल र इमर्जिङ नेपालका प्रतिनिधि विशाल उप्रेती संस्थापक समूहबाट सञ्चालक छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट डा. मनिष थापा र अनिता रायमाझी सञ्चालक रहेका छन् ।
सर्वोच्चमा ५ न्यायाधीश सिफारिसको तयारी, ११ जना प्रतिस्पर्धामा
काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न न्यायपरिषद्को बैठक मंगलबार (आज) बस्ने भएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको आह्वानमा परिषद्को बैठक आज अपरान्ह १ बजे बस्न लागेको हो । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि उम्मेदवारको मूल्यांकन तथा नाम सिफारिस गर्ने विषयमा छलफल हुने परिषद् स्रोतले जनाएको छ । सर्वोच्च अदालतमा हाल चार न्यायाधीशको पद रिक्त छ । परिषद्ले भने सर्वोच्चका पाँच न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ । पाँच पदका लागि उच्च अदालतका मुख्य न्यायाधीश, कायममुकायम मुख्य न्यायाधीश, विशेष अदालतका अध्यक्ष तथा उच्च अदालतका न्यायाधीशसहित ११ जना प्रतिस्पर्धामा रहेका छन् । प्रतिस्पर्धामा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठताको आधारमा सिफारिश हुन सक्ने परिषद स्रोतले जानकारी दिएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी पनि सम्भावित दावेदार मानिएको छ । त्यस्तै, उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर, विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, उच्च अदालत पोखरा–बागलुङ इजलासकी न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीश रमेश ढकाल र उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश दिनेशप्रसाद यादव पनि प्रतिस्पर्धामा रहेका छन् । यीमध्ये यमुना भट्टराई प्रतिस्पर्धामा रहेकी एक मात्र महिला न्यायाधीश हुन् । विगतमा परिषद्ले उम्मेदवार छनोट गर्दा वरिष्ठता, न्यायिक अनुभव, कार्यसम्पादन, योग्यता तथा समावेशितालगायतका आधारलाई ध्यान दिने गरेको सिफारिस पनि सोही आधारमा हुने स्रोतले बताएको छ ।
सुत्केरीको मृत्युपछि थापाथली अस्पतालमा तनाव, चिकित्सकमाथि लापरवाहीको आरोप
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ । मृतकका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । धादिङको गजुरी गाउँपालिका–८ की करिब ३२ वर्षीया रबिना तामाङलाई असोज १८ गते प्रसूतिका लागि अस्पताल भर्ना गरिएको थियो । सोमबार दिउँसो शल्यक्रियामार्फत बच्चा जन्मिएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र सोही राति मृत्यु भएको परिवारले जनाएको छ । बच्चा जन्मिएपछि आमाको मृत्यु भएपछि अहिले रबिनाका परिवार तथा आफन्त आक्रोशित छन् । उनीहरूले उपचारका क्रममा भएको कमजोरीबारे अस्पताल प्रशासनसँग जवाफ मागिरहेका छन् । घटनापछि अस्पताल परिसरमा तनावको अवस्था बनेपछि प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार अस्पताल प्रशासन, चिकित्सक र पीडित परिवारबीच घटनाबारे छलफल भइरहेको छ । ‘अस्पताल प्रशासन र चिकित्सकहरूसँग पीडित परिवारको कुराकानी भइरहेको छ,’ एसपी थापाले भने । नवजात शिशुको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बैंकहरूले ५० प्रतिशतसम्म विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एजेन्सी बैंकमा रहेको विदेशी मुद्रा मौज्दात विभिन्न न्यून जोखिम भएका वित्तीय उपकरणमा लगानी गर्न थप सुविधा दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले एजेन्सी मौज्दातबाट आफ्नो दैनिक तरलतामा प्रतिकूल असर नपर्ने गरी बढीमा एक वर्ष अवधिको कल डिपोजिट, सर्टिफिकेट अफ डिपोजिट वा यस्तै अन्य वित्तीय उपकरणमा लगानी गर्न सक्नेछन् । एक वर्षभन्दा बढी अवधिका लागि लगानी गर्नुपरेमा बैंक तथा वित्तीय संस्थाले आफ्नो नीतिगत व्यवस्थाअनुसार एजेन्सी बैंकमा रहेको कुल मौज्दातको बढीमा ४० प्रतिशतसम्म दुई वर्ष अवधिका कल डिपोजिट, सर्टिफिकेट अफ डिपोजिट वा अन्य न्यून जोखिम भएका वित्तीय उपकरणमा लगानी गर्न सक्नेछन् । यस्तो सीमाभित्र उच्च तरल विदेशी सरकारी सुरक्षणपत्रमा भने अधिकतम पाँच वर्ष अवधिका लागि लगानी गर्न सकिने व्यवस्था गरिएको छ । नेपाल सदस्य रहेको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग संगठनका विभिन्न कोषबाट परिवर्त्य विदेशी मुद्रामा प्राप्त हुने निक्षेप सोही मुद्रामा न्यून जोखिम भएका वित्तीय उपकरणमा लगानी गर्दा भने ४० प्रतिशतको सीमा लागू नहुने व्यवस्था गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्थाबाट ए माइनस तथा ए थ्री वा सोभन्दा माथिल्लो श्रेणीको मूल्याङ्कन प्राप्त देशको उच्च तरल विदेशी सरकारी ऋणपत्रमा लगानी गर्दा ४० प्रतिशतको सीमामा थप १० प्रतिशत लगानी गर्न सकिनेछ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले कुल मौज्दातको बढीमा ५० प्रतिशतसम्म र अधिकतम पाँच वर्ष अवधिका लागि लगानी गर्न सक्ने राष्ट्र बैंकले जनाएकाे छ । यसैगरी, सूचना प्रविधि, व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन तथा ऊर्जा उद्योगले प्राप्त गर्ने विदेशी मुद्राको कर्जा सुविधा वा पूँजीगत वस्तु आयातका लागि बिक्रेताबाट उपलब्ध हुने उधारो सुविधाको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्न उपलब्ध गराइने हेजिङ सेवासँग सम्बन्धित वित्तीय उपकरणमा पनि लगानी गर्न सकिने व्यवस्था गरिएको छ । यस्तो लगानी हेजिङ सेवाको अवधि तथा रकमभन्दा बढी नहुने गरी अधिकतम पाँच वर्ष अवधिका वित्तीय उपकरणमा गर्न सकिनेछ ।
गुराँस लघुवित्तको स्वतन्त्र सञ्चालकमा शशिभूषण कर्ण नियुक्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा शशिभूषण कर्ण नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको सोमबार बसेको १६९औँ बैठकले विराटनगर महानगरपालिका–१० निवासी कर्णलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कर्णलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से), को कार्यालयलाई जानकारी गराएको छ । कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालनमा रहेको गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटामा छ भने कर्पोरेट कार्यालय मोरङको बुढीगंगा गाउँपालिका–१, पुष्पलालचोकमा रहेको छ ।
संवेदनशील सूचना चुहाउनेलाई कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीलाई गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई नदिन चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले आफ्नो पदीय हैसियत भुलेर संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् । उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरेका छन् । पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ । गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गरी देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने उनले बताएका छन् । त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने गृहमन्त्री गुरुङले चेतावनी दिएका छन् ।
मातातीर्थ–चोभार प्रसारण लाइन निर्माण सम्पन्न, उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो हुने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर प्रसारण लाइन शुक्रबारबाट चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि यो राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएर नियमित विद्युत् प्रवाह हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने बताए । उनका अनुसार चोभार सबस्टेसनदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । आगामी हिउँदयाममा काठमाडौं उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । त्यसका लागि चोभार सबस्टेसनमा दुईवटा वे निर्माण गरिएको छ । चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका नौवटा फिडर रहेका छन् । उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत्को भोल्टेज सुधार हुनुका साथै आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ । मुख्यतः त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ । मातातीर्थदेखि चोभारसम्म १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ । चोभार सबस्टेसनबाट चक्रपथ हुँदै ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ । त्यसका लागि पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने काम अघि बढाइएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । ललितपुरतर्फ भने खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि निर्माण अघि बढ्न सकेको छैन । यसका कारण काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना प्रभावित हुँदै आएको छ ।
कांग्रेसको उम्मेदवारी दर्ता सुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन् । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण हुँदैछ । महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिइ उम्मेदवारी दर्ता गर्न सकिने छ । त्यस्तै दिउँसो साढे १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु‍र्‍याएको छ । नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु‍र्‍याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ । दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ । यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो । यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।