प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, छलफल सुशासन र विकासमा केन्द्रीत
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए । सोमबार नै नेपाल सरकार र एडिबीबीच करिब २५ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।
घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ । प्रतिवेदनका अनुसार आव २०८१/८२ को नौ महिनाको तुलनामा चालु आवको ११ महिनामा घरजग्गाको कुल कारोबारको सङ्ख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कारोबार सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो । प्रतिवेदनका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार सङ्ख्या ०.६२ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ६.७१ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या १२.१७ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ३.२६ प्रतिशतले घटेको छ । प्रतिवेदनका अनुसार चालु आवको नौ महिनामा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँबराबरको घरजग्गाको कारोबार भएको छ । जबकि अघिल्लो आवको सोही अवधिमा भने एक खर्ब सात करोड रुपैयाँ मूल्यबराबरको घरजग्गाको कारोबार भएको थियो । चालु आवको नौ महिनामा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार (आज) मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे । यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।
राष्ट्र बैंकले बैंकहरूको वर्गीकरण पुनरावलोकन गर्ने, नयाँ यी १२ काम गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्न विस्तृत अध्ययन भइरहेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै बैंकहरूको वर्गीकरण र कार्यदायरामा पुनरावलोकनका लागि अध्ययन भइरहेको बताएको हो । राष्ट्र बैंकले समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नका लागि अध्ययनको काम भइरहेको पनि बताएको छ । यस्तै, सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्नका लागि पनि अध्ययनको काम जारी नै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्नका लागि अध्ययनको काम भइरहेको र बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्नका लागि अध्ययन भइरहेको बताएको छ । नेपाल राष्ट्र बैंकले सबल र सुरक्षित भुक्तानी प्रणालीको विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गर्न पनि अध्ययन भइरहेको बताएको छ । यस्तै, हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्थामा फिट एण्ड प्रपर टेष्ट कर्जाको ब्याजदर गणना, सेवा शुल्कलगायतका विषयहरूलाई समेटी उक्त नियामकीय व्यवस्थामा आवश्यक संशोधन गर्नका लागि अध्ययनको काम भइरहेको पनि बताएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको तरलता जोखिम न्यूनीकरण गरी स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार लिक्विडिडी कभरेज रेसियो र खुद स्थिर फण्डिङ अनुपात जस्ता व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भएपश्चात्कर्जा निक्षेप अनुपातसम्बन्धी नियामकीय व्यवस्थामा पुनरावलोकन गर्नका लागि अध्ययनको काम भइरहेको जानकारी दिएको छ । यस्तै, चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गर्नका लागि र विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्नका लागि पनि अध्ययनको काम भइरहेको बताएको छ । राष्ट्र बैंकले डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबटिक ल्याब र एआई लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गर्नका साथै, त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गर्नका लागि अध्ययनको काम भइरहेको बताएको छ ।
भक्तपुरको बालविनायक विद्यालयलाई एनआईसी एशिया बैंकले दियो कम्प्युटर
काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित श्री बालविनायक आधारभूत विद्यालयलाई सूचना–प्रविधि सामग्री सहयोग गरेको छ । बैंकले विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का र काठमाडौं पूर्व सर्कल प्रमुख गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष जनार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीको पनि उपस्थिति रहेको थियो। बैंकले उपलब्ध गराएको सूचना–प्रविधि सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई थप सहज बनाउनुका साथै विद्यालयमा आधुनिक शैक्षिक वातावरण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, सूचना–प्रविधिमैत्री शिक्षाको विस्तारमा यस्ता सहकार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ ।
ट्रम्पको दावी– भारत–पाकले एक-अर्काका ११/११ विमान खसालेका थिए, मैले युद्ध रोकेँ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच भएको द्वन्द्वबारे फेरि टिप्पणी गरेका छन् । युक्रेनको राजधानी किएभमाथि रुसले गरेको आक्रमणबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले आफूले अहिलेसम्म आठवटा युद्ध रोक्न सफल भएको दाबी गरे । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले भारत र पाकिस्तानबीचको द्वन्द्व पनि रोकेँ । अन्य धेरै मामिलामा पनि त्यस्तै गरेको छु । भारत र पाकिस्तानको अवस्था अत्यन्त खतरनाक बन्न सक्थ्यो। परमाणु युद्धको जोखिम थियो । पाकिस्तानका प्रधानमन्त्रीका अनुसार त्यसबाट चार करोड मानिसको ज्यान जान सक्थ्यो । सम्भवतः पाँच करोड मानिससमेत मारिन सक्थे ।’ ‘दुवै देशले एकअर्काका ११ वटा विमान खसालेका थिए । अवस्था निरन्तर बिग्रँदै गएको थियो । चार दिनसम्म तनाव कायम रह्यो, त्यसपछि मैले त्यसलाई रोकेँ,’ उनले थपे । जुलाई ४ मा किएभमाथि भएको आक्रमणबारे ट्रम्पसँग प्रश्न सोधिएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पटक–पटक वार्ता भए पनि उनीमाथि कुनै दबाब परेको देखिएको छैन । सोही विषयमा ट्रम्प भन्छन्– ‘मलाई लाग्छ, पुटिनमाथि दबाब छ । उनी यो युद्ध अन्त्य गर्न चाहन्छन् र भोलोदिमिर जेलेन्स्की पनि युद्ध समाप्त गर्न चाहन्छन् । दुवै पक्षसँग हाम्रो निरन्तर संवाद भइरहेको छ । हामी यो युद्ध अन्त्य गराउन सफल हुन्छौं कि हुँदैन, हेर्न बाँकी छ । यो अत्यन्त दुःखद अवस्था हो ।’ उनले अन्त्यमा भनेका छन्, ‘मैले आठवटा युद्ध अन्त्य गराएको छु । मेरो विचारमा यो युद्ध त तुलनात्मक रूपमा अझ सजिलै अन्त्य हुनुपर्ने थियो, किनभने म दुवै नेतालाई चिन्छु । अन्य धेरै मामिलामा भने म सम्बन्धित नेताहरूलाई चिन्दिनथेँ ।
सिँचाइदेखि बजारसम्म एउटै योजना, किसानको आय बढाउन दुई मन्त्रालयको सहकार्य
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो । छलफलका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण समेत प्रभावकारी हुन सके मात्र लगानीको पूर्ण प्रतिफल प्राप्त हुने धारणा राखे । त्यसका लागि सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव उनले गरे । कृषिमन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म समन्वयलाई थप सुदृढ बनाउने बताइन् । यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेका थिए । उनले रानी-जमरा-कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणाली लगायतको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख तथा प्राविधिकहरूसँग अन्तरक्रिया गरेको थियो । त्यसक्रममा आयोजनाको प्रगति, सञ्चालनका चुनौती र किसानको आवश्यकता बारे प्रत्यक्ष छलफल भएको थियो । बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाले जिल्लाका छ वटा स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । त्यसैगरी कैलालीको रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ । त्यस्तै बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ । यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको छ भने मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारसँगै किसानले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन् । सरकारको अपेक्षाअनुसार यी आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने, खाद्य सुरक्षा सुदृढ हुने, किसानको आयआर्जन बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । मन्त्रालयका अनुसार सिँचाइ आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार र ग्रामीण समृद्धिको आधारका रूपमा विकास भइरहेका छन् ।