विकासन्युज

सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको टिप्पणी गरेका छन् । ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले जेन–जी आन्दोलनबाट स्थापित शक्ति नभई अर्कै शक्तिले अहिले सरकार सञ्चालन गरिरहेको दाबी गरेका हुन् । उनले जेन–जी आन्दोलनले स्थापित राजनीतिक शक्तिलाई झकझकाउने र सुधार्ने उद्देश्य राखेको भए पनि आन्दोलन नियन्त्रणमा लिएर अर्कै शक्तिले पुराना राजनीतिक दल र नेताहरूलाई पूर्ण रूपमा विस्थापित गरेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध व्यक्तिहरूमा समेत राजनीतिक अनुभवको कमी रहेको आफूले देखेको बताए । अचानक आएको जिम्मेवारीका कारण वर्तमान सरकारमा अनुभवको कमी देखिएको उनको भनाइ छ । तर, फागुन २१ गतेको निर्वाचनपछि ठूलो जनमतबाट सरकारलाई अनुमोदन गरिसकेकाले त्यस जनमतको अवमूल्यन गर्न नहुने उनले बताए । उनले भने, ‘जेन–जी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन गर्‍यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन । यो छुट्टै शक्ति आएर स्थापित भएको हो । फागुन २१ को चुनावमा जनताले अब देश बन्छ, अब देश बनाउनुपर्छ भन्ने आधारमा भोट दिएका हुन् ।’ उनले निर्वाचनमा जनताले देश निर्माणको अपेक्षासहित मतदान गरेको उल्लेख गर्दै अहिले सरकारको नेतृत्व गरिरहेको समूहमा रहेको अनुभवको कमीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए । उनले सरकारले मुलुक र नागरिकको पक्षमा काम गर्ने दिशामा अघि बढ्नुपर्ने बताए । 

क्यानका पूर्व अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्व अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । इन्डोनेसियाको जकार्तामा सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७/२८ कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै सन् २०२२ देखि असोसियोको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले सन् २०२२–२०२४ र २०२५–२०२६ कार्यकालमा समेत उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए । पुनः उपाध्यक्षमा निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय सूचना प्रविधि मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताएका छन् । उनले असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली विकास गर्दै नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थापित गर्न सकिने बताए । यसबाट नवप्रवर्तन, प्रविधि विकास र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ । नयाँ कार्यसमितिमा मलेसियाका स्टान सिंह जितको नेतृत्वमा नेपालसहित मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधि निर्वाचित भएका छन् । क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले कुँवरको नेतृत्वमा नेपाली सूचना प्रविधि क्षेत्र र संस्थाहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह भएकाले पुनः सर्वसम्मत निर्वाचित हुने वातावरण बनेको बताए । उनले आगामी कार्यकालमा पनि कुँवरबाट उल्लेख्य योगदान पुग्ने र त्यसबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् । भुर्तेलले असोसियोमा कुँवरको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच विस्तार गर्दै सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल निर्माण गर्ने क्यान महासंघको प्रयासमा सहयोग पुग्ने बताए ।

कांग्रेस महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक, आजै उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा सहभागी हुने ७ हजार ११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । निर्वाचन समितिले दाबी–विरोध तथा आवश्यक जाँचबुझको प्रक्रिया पूरा गरेपछि मतदाताको अन्तिम सूची प्रकाशन गरेको हो । कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको जानकारी दिए । अन्तिम सूचीअनुसार अब सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ११४ प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचन समितिका अनुसार मंगलबार बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्ने समय तोकिएको थियो । त्यसपछि बिहान ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको थियो । त्यसपछि निर्वाचन प्रक्रिया थप निर्णायक चरणमा प्रवेश गर्नेछ । निर्वाचन समितिले उम्मेदवार मनोनयन दर्ता फारम वितरण तथा दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि यसपटक संशोधित विधानअनुसार निर्वाचन हुँदैछ । सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधान संशोधन गर्दै २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरेको छ । सोही संशोधित संरचनाअनुसार नयाँ नेतृत्व चयन हुने निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिने नेताहरूले मंगलबार मनोनयन दर्ता गर्नेछन् । त्यससँगै कांग्रेसको नयाँ नेतृत्वका लागि लामो समयदेखि चल्दै आएको आन्तरिक प्रतिस्पर्धा औपचारिक निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ । प्रतिनिधिको व्यवस्थापनमा २०० भन्दा बढी स्वयंसेवक यसैबीच कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको व्यवस्थापन तथा सहजीकरणका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिलाई कार्यक्रमस्थलमा आवतजावत, बैठक तथा निर्वाचन प्रक्रियामा सहजीकरण गर्न स्वयंसेवक परिचालन गरिएको हो । लामाका अनुसार बन्दसत्र सञ्चालन हुने स्थलदेखि निर्वाचन हुने स्थानसम्म स्वयंसेवक खटाइएको छ । प्रतिनिधिको चापलाई व्यवस्थापन गर्दै निर्वाचन प्रक्रिया सहज र व्यवस्थित बनाउन स्वयंसेवक परिचालन गरिएको उनले बताए । कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब ७ हजार ५ सय प्रतिनिधि काठमाडौं आएको व्यवस्थापन समितिको दाबी छ । यद्यपि निर्वाचनमा सहभागी हुने प्रतिनिधिको अन्तिम सूचीमा भने ७ हजार ११४ जनाको नाम कायम भएको छ । 

सिक्लेस हाइड्रोले सेयरधनीलाई १३.३७ प्रतिशत लाभांश दिने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १३.३७५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार १२.७०६ प्रतिशत बोनस सेयरको रकम १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ बराबर हुनेछ । यस्तै, ०.६६९ प्रतिशत नगद लाभांशबापत ६५ लाख ३६ हजार ९०९ रुपैयाँ ३२ पैसा वितरण गरिनेछ । कम्पनीले प्रस्तावित बोनस सेयर तथा नगद लाभांश स्वीकृतिका लागि विद्युत् नियमन आयोगसमक्ष पेस गर्ने निर्णय गरेको जनाएको छ । आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारणसभाबाट समेत प्रस्ताव पारित गरी लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।

मंगलबारको विदेशी विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ। यस्तै, आज युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ घटेको छ। युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा तोकिएको छ। सोमबार युरोको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा थियो। पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा थियो। त्यसैगरी, स्वीस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन स्वीस फ्र्यांकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा थियो। अर्कोतर्फ, आज अस्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा कायम भएको छ। सोमबार यसको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा थियो। क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा पुगेको छ। अघिल्लो दिन यसको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा थियो। सिङ्गापुर डलरको भाउ भने सामान्य घटेको छ। आज एक सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा थियो।

खुकुलो बन्यो विदेशी मुद्रा कारोबार, उपचारदेखि जहाज मर्मतसम्म डलर सुविधा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा उपचार गराउने नेपाली नागरिकलाई वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा वार्षिक १५ हजार डलरसम्म मात्र थियो । राष्ट्र बैंकले विदेशस्थित अस्पतालमा उपचार गराउने तथा आवश्यक औषधि र उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि तोकिएका कागजात र प्रक्रिया पूरा गरेपछि बैंक तथा वित्तीय संस्थाले वार्षिक ३० हजार डलरसम्म सटही सुविधा दिन सक्ने व्यवस्था गरेको हो । त्यस्तै, दूरसञ्चार सेवा प्रदायक नेपाली कम्पनीले विदेशी सेवा प्रदायकसँग सम्झौता गरी उपग्रह सेवा भाडामा लिँदा वा प्रयोग गर्दा वार्षिक ५ लाख डलरसम्मको भाडा रकम बैंक तथा वित्तीय संस्थाले आफैं भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो भुक्तानीको सीमा १ लाख डलर थियो । नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत भएको वा सटही सिफारिस प्राप्त भएको अवस्थामा वाणिज्य बैंकले प्रतिपटक ३० हजार डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो सीमा १५ हजार डलर थियो । ३० हजार डलरभन्दा बढीको प्रतिपटक भुक्तानीका लागि भने सम्बन्धित नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ । नियामक निकाय नभएको वा त्यस्तो निकायबाट सम्झौता वा सहमति स्वीकृत हुन नसकेको अवस्थामा ८ हजार डलरभन्दा बढीको भुक्तानीका लागि पनि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सेवा आयातका क्रममा प्रतिपटक ३० हजार डलरभन्दा बढी अग्रिम भुक्तानी गर्नुपर्ने भए विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्था गरिएको छ । हवाई जहाजका इन्जिन वा पार्टपूर्जा विदेशमा लगी मर्मत गरी ल्याउने प्रयोजनका लागि आवश्यक कागजातका आधारमा बैंक तथा वित्तीय संस्थामार्फत ५ लाख डलरसम्म अग्रिम भुक्तानी पठाउन सकिने व्यवस्था गरिएको छ । यसैगरी, बैंकहरूले निर्यातबाट प्राप्त रकमको सीमाभित्र रहेर तेस्रो मुलुकमा ३० हजार डलर र भारतमा ६० लाख भारतीय रुपैयाँसम्म आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्नेछ । यसअघि तेस्रो मुलुकका लागि यस्तो सीमा १२ हजार डलर र भारतका लागि ३० लाख भारतीय रुपैयाँ थियो । विदेशमा पर्यटकीय सेवा उपलब्ध गराउने इजाजतपत्रप्राप्त ट्राभल तथा टुर एजेन्सीले विदेशस्थित एजेन्टलाई सेवा शुल्क भुक्तानी गर्दा नेपाल वा विदेशबाट सो प्रयोजनका लागि प्राप्त विदेशी मुद्राको सीमाभन्दा बढी रकम पठाउन नपाउने व्यवस्था गरिएको छ । अन्य इजाजतपत्रप्राप्त एजेन्सीबाट सेवा खरिद गरी ग्राहकलाई उपलब्ध गराएको अवस्थामा पनि विदेशी मुद्रा प्राप्त भएको प्रमाण र विदेशी मुद्राको विजकसहित प्राप्त रकमको सीमाभित्र रहेर मात्र भुक्तानी गर्नुपर्नेछ । राष्ट्र बैंकले सूचना प्रविधि, व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन र ऊर्जा क्षेत्रमा विदेशी ऋण भित्र्याउने नेपाली फर्म तथा कम्पनीका लागि ‘क’ वर्गका बैंकले विदेशी मुद्रामा बैंक ग्यारेन्टी वा प्रत्याभूति जारी गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो ग्यारेन्टी वा प्रत्याभूति ऋणको बक्यौता साँवा र ऋणको अवधिसम्म मात्र कायम रहनेछ । त्यस्तै, कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेर आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । कार्डमा मौज्दात १० हजार डलरभन्दा बढी भए बढी भएको रकम अनिवार्य रूपमा सम्बन्धित व्यक्तिको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ । सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा विदेशी मुद्रा सटहीको वार्षिक सीमा आर्जन गरेको रकम र ५०० डलरको योगबराबर हुने व्यवस्था गरिएको छ । तर, यस्तो सुविधा वार्षिक १० हजार डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी हुने छैन ।

राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र प्रयाप्त आवेदन नपरे कात्तिक १२ गतेसम्म समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

२८.९४ लाख डलरमा जीपीओएन खरिद गर्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । नेपाल टेलिकमले जीपीओएन ओएनटी तथा सहायक उपकरण खरिदका लागि चीनको सिचुआन तियानी कमहार्ट टेलिकम कम्पनी लिमिटेडलाई ठेक्का दिने भएको छ । टेलिकमका अनुसार सबैभन्दा कम मूल्यमा मूल्याङ्कन भई योग्य ठहरिएको उक्त कम्पनीलाई ठेक्का दिन लागिएको हो । टेलिकमले गत जेठ ६ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअन्तर्गत कम्पनी छनोट गरेको हो । छनोट भएको कम्पनीले कर तथा मूल्य अभिवृद्धि करबाहेक २८ लाख ९४ हजार ४१५.६६ अमेरिकी डलरमा जीपीओएन ओएनटी तथा सहायक उपकरण आपूर्ति गर्नेछ । यस्तै, सेवा तथा आन्तरिक ढुवानीबापत २२ लाख १५ हजार ३१८ रुपैयाँ खर्च हुने टेलिकमले जनाएको छ । उक्त रकममा मूल्य अभिवृद्धि करसमेत समावेश छ । जीपीओएन अर्थात् गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क फाइबरमा आधारित प्रविधि हो । यसले एउटै मुख्य फाइबरमार्फत उच्च गतिको इन्टरनेट, टेलिफोन तथा आईपीटीभीजस्ता सेवा धेरै ग्राहकसम्म पुर्याउन मद्दत गर्छ । जीपीओएन प्रणालीमा अप्टिकल स्प्लिटरमार्फत एउटै फाइबरबाट धेरै ग्राहकलाई सेवा वितरण गर्न सकिन्छ । यस प्रणालीमा ओएलटी अर्थात् अप्टिकल लाइन टर्मिनल मुख्य उपकरणका रूपमा प्रयोग हुन्छ । ओएलटी सेवा प्रदायकको कार्यालय वा डेटा केन्द्रमा राखिने केन्द्रीय उपकरण हो । यसले मुख्य नेटवर्कबाट प्राप्त डेटा सिग्नललाई अप्टिकल सिग्नलमा रूपान्तरण गरी ग्राहकतर्फ पठाउने तथा जीपीओएन सञ्जालको व्यवस्थापन र नियन्त्रण गर्ने काम गर्छ । नेपाल टेलिकमले जीपीओएन ओएनटी तथा सहायक उपकरण आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा सहभागी हुन ४० हजार रुपैयाँ, २७० अमेरिकी डलर वा २४० युरो दस्तुर तोकेको थियो । त्यस्तै, बोलपत्र जमानतका लागि १ करोड ३६ लाख ७१ हजार रुपैयाँ, ९१ हजार ५९० अमेरिकी डलर वा ७९ हजार ५३० युरो बराबरको रकम तोकिएको थियो ।