घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा  बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ । प्रतिवेदनका अनुसार आव २०८१/८२ को नौ महिनाको तुलनामा चालु आवको ११ महिनामा घरजग्गाको कुल कारोबारको सङ्ख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ ।
 
अघिल्लो आवको सोही अवधिमा यस्तो कारोबार सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो ।  प्रतिवेदनका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार सङ्ख्या ०.६२ प्रतिशतले बढेको छ । 

अघिल्लो आवको पहिलो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ६.७१ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या १२.१७ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ३.२६ प्रतिशतले घटेको छ ।

प्रतिवेदनका अनुसार चालु आवको नौ महिनामा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँबराबरको घरजग्गाको कारोबार भएको छ । जबकि अघिल्लो आवको सोही अवधिमा भने एक खर्ब सात करोड रुपैयाँ मूल्यबराबरको घरजग्गाको कारोबार भएको थियो । चालु आवको नौ महिनामा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो ।  

Share News