काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न न्यायपरिषद्को बैठक मंगलबार (आज) बस्ने भएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको आह्वानमा परिषद्को बैठक आज अपरान्ह १ बजे बस्न लागेको हो ।
बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि उम्मेदवारको मूल्यांकन तथा नाम सिफारिस गर्ने विषयमा छलफल हुने परिषद् स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतमा हाल चार न्यायाधीशको पद रिक्त छ ।
परिषद्ले भने सर्वोच्चका पाँच न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ । पाँच पदका लागि उच्च अदालतका मुख्य न्यायाधीश, कायममुकायम मुख्य न्यायाधीश, विशेष अदालतका अध्यक्ष तथा उच्च अदालतका न्यायाधीशसहित ११ जना प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिस्पर्धामा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठताको आधारमा सिफारिश हुन सक्ने परिषद स्रोतले जानकारी दिएको छ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी पनि सम्भावित दावेदार मानिएको छ ।
त्यस्तै, उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर, विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, उच्च अदालत पोखरा–बागलुङ इजलासकी न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीश रमेश ढकाल र उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश दिनेशप्रसाद यादव पनि प्रतिस्पर्धामा रहेका छन् ।
यीमध्ये यमुना भट्टराई प्रतिस्पर्धामा रहेकी एक मात्र महिला न्यायाधीश हुन् ।
विगतमा परिषद्ले उम्मेदवार छनोट गर्दा वरिष्ठता, न्यायिक अनुभव, कार्यसम्पादन, योग्यता तथा समावेशितालगायतका आधारलाई ध्यान दिने गरेको सिफारिस पनि सोही आधारमा हुने स्रोतले बताएको छ ।