संवेदनशील सूचना चुहाउनेलाई कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीलाई गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई नदिन चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले आफ्नो पदीय हैसियत भुलेर संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् ।

उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरेका छन् । पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ ।

गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गरी देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने उनले बताएका छन् ।

त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने गृहमन्त्री गुरुङले चेतावनी दिएका छन् ।

Share News