टक्सार पिखुवा खोला हाइड्रोको साधारणसभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको खिचापोखरीमा कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ ।

साधारणसभाबाट रुपेश तामाङ, सुरेश कुमार स्थापित, मिरा पाण्डे र कुशल खरेल सञ्चालकमा निर्वाचित भएका हुन् ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि पारित गरेको कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ । साथै, नयाँ परियोजनाको पहिचान गरी आवश्यकताअनुसार लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

कम्पनीले अन्य कम्पनीमा लगानी गर्न सहज बनाउने उद्देश्यले होल्डिङ कम्पनीमा परिणत हुने गरी कम्पनीको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गरेको छ । सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको हो ।

प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन वा थपसम्बन्धी विषयमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिइएको कम्पनीले जनाएको छ । 

Share News