काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वमा आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने पार्टीको १५औँ महाधिवेशन नै आधिकारिक भएको दाबी गर्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई निर्धक्क भएर सहभागी हुन आग्रह गरेका छन् ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै महतले अन्तिम फैसला नआएसम्म १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै आधिकारिक मान्नुपर्ने बताएका हुन् । उनले आधिकारिकताको विषय टुङ्गो नलाग्दै अर्को समूहले महाधिवेशनमा सहभागी भए कारबाही गर्ने चेतावनी दिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको टिप्पणी गरेका छन् ।
तर, असोज १६ मा आयोजित महाधिवेशनबाट नवनिर्वाचित नेताहरूले इतर समूहको महाधिवेशनमा सहभागी भए कारबाही गर्ने बताएका छन् । यही परिस्थितिमा नेता महतले देउवा नेतृत्वको महाधिवेशनमा सहभागी हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।
देउवा समूहले कांग्रेसबाट निर्वाचित तथा महाधिवेशन प्रक्रियामा सहभागी जनप्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने घोषणा गरेको थियो । तर, कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री प्रकाश स्नेही श्रीपालीले अर्को समूहको महाधिवेशन प्रक्रियामा सहभागी हुने जनप्रतिनिधिहरूमाथि कारबाही हुन सक्ने चेतावनी दिएका थिए ।
श्रीपालीको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै महतले कुनै अनधिकृत समूहले कारबाहीको डर देखाएर जनप्रतिनिधिहरूलाई तर्साउनु लोकतन्त्रविरोधी क्रियाकलाप भएको बताएका छन् । उनका अनुसार अदालतबाट आधिकारिकतासम्बन्धी विवादको अन्तिम टुङ्गो नलागेसम्म १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक हो ।
महतले जनप्रतिनिधिहरूलाई कुनै दबाब वा संकोचमा नपरी देउवा नेतृत्वको महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै आधिकारिकताको विवादलाई कारबाहीको चेतावनीमार्फत प्रभावित पार्न नहुने बताए ।
कांग्रेसको आधिकारिकता र १५औँ महाधिवेशनको वैधानिकतालाई लिएर दुवै पक्षबीच मतभेद कायम छ । अदालतको अन्तिम निर्णय नआइसकेको अवस्थामा महाधिवेशनमा सहभागिताको विषयले पार्टीभित्र थप विवाद सिर्जना गरेको छ ।