कात्तिकमा सरकारी कर्मचारीलाई विदै विदा

१२ दिनमात्रै कार्यालय खुल्ने

काठमाडौं । २०८३ को कात्तिक महिना नेपालीका लागि पर्व र बिदाले भरिएको महिना बन्ने भएको छ । दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व यही महिनामा परेकाले कात्तिकमा सरकारी कार्यालयहरू अधिकांश दिन बन्द रहनेछन् ।

कात्तिकको सुरुवात नै दशैंको लामो बिदाबाट हुनेछ । असोज ३१ गतेदेखि दशैं विदा सुरु हुनेछ । कात्तिक १ गते आइतबार महाअष्टमीदेखि महानवमी, विजया दशमी, पापांकुशा एकादशी तथा द्वादशीका अवसरमा बिदा रहनेछ । 

कात्तिक ६ गते शुक्रबारसम्म दशैंसँग सम्बन्धित बिदा रहने र त्यसको भोलिपल्ट कात्तिक ७ गते शनिबार परेकाले लगातार सात दिन कार्यालय बन्द हुनेछन् ।

दशैं सकिएपछि केही समय नियमित कामकाज हुने भए पनि कात्तिकको चौथो साता फेरि तिहारको लामो बिदा सुरु हुनेछ । कात्तिक २२ गते आइतबार लक्ष्मीपूजादेखि तिहारको बिदा सुरु हुनेछ । 

कात्तिक २३ गते गाईपूजा, २४ गते गोवर्धन पूजा र २५ गते भाइटीकाको अवसरमा बिदा रहनेछ । कात्तिक २६ गते बिहीबार पनि तिहारको सार्वजनिक बिदा रहेकाले लगातार पाँच दिन सरकारी कार्यालय बन्द हुनेछन् ।

तिहारलगत्तै कात्तिक २९ गते आइतबार छठ पर्वको सार्वजनिक बिदा परेको छ । यससँगै कात्तिकमा प्रमुख चाडपर्वका कारण मात्रै १२ दिन सार्वजनिक बिदा पर्नेछ ।

त्यसमा नियमित आइतबार र शनिबारको बिदासमेत थपिँदा कात्तिकमा सरकारी कार्यालय खुल्ने दिनको संख्या निकै कम हुनेछ । कात्तिक ७, १४, २१ र २८ गते गरी चारवटा शनिबार परेका छन् भने कात्तिक १, ८, १५, २२ र २९ गते आइतबार परेको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिँदै आएको छ । 

यसरी चाडपर्वका दिन र चार शनिबार र चार आइतबार जोड्दा कात्तिकमा १७ दिन सार्वजनिक बिदा पर्नेछ । अर्थात् ३० दिनको कात्तिक महिनामा सरकारी कार्यालय १२ दिन मात्रै खुल्नेछन् ।

लगातार लामो बिदा पर्ने भएकाले सरकारी सेवा प्रवाह, बैंकिङ कारोबार, यातायात, पर्यटन तथा बजार गतिविधिमा समेत यसको प्रभाव पर्नेछ

अर्कोतर्फ, लामो समयसम्म परिवार र आफन्तसँग भेटघाट तथा चाडपर्व मनाउने अवसर मिल्ने भएकाले सर्वसाधारण तथा सरकारी कर्मचारीका लागि कात्तिक विशेष महिना बन्ने देखिन्छ ।
 

Share News