विकासन्युज

कोशी प्रदेश सरकारले पहिचान पक्षधरलाई बोलायो वार्तामा

काठमाडाैं । कोशी प्रदेश सरकारले आन्दोलनकारीलाई संवादबाट समस्याको हल खोज्न आह्वान गरेको छ । कोशी नामविरूद्धको आन्दोलन चर्किँदै जान थालेपछि प्रदेश सरकारले यस्ताे आह्वान गरेको हाे । कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् । ‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ, नामाङ्कनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ, मन्त्री सिटौलाले भनेका छन ।’ प्रदेश सरकारलाई पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न सांसदहरूले पनि तीव्र दबाब दिँदै आएका छन् । फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।

पूर्व गुणस्तर अधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडाैं । गुणस्तर तथा नापतौल कार्यालयका पूर्व अधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएकाे छ । सार्वजनिक पदमा रहँदा अख्तियार दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौ|बाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए ।

विदेशबाट सुन ल्याउने मापदण्ड फेरियो, अब कति ल्याउन पाइन्छ ?

काठमाडौं । सरकारले विदेशबाट ल्याउने सुनको मापदण्ड फेरेको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत विदेशबाट सुन ल्याउन पाउने मापदण्ड परिवर्तन गरेको हो । नयाँ मापदण्ड अनुसार अब विदेशबाट फर्किनेले ल्याउने ५० ग्रामसम्मको सुनको गहनामा महसुल लाग्ने छैन । यद्यपी यसमा पुरुष र महिनाको लागि फरक मापदण्ड रहेको छ । नयाँ मापदण्ड अनुसार पुरुषले २५ ग्राम र महिलाले ल्याउने ५० ग्रामसम्मको सुनको गहनामा महसुल लाग्ने छैन । यस्तै, पहिलो ५० ग्रामसम्म प्रचलित दर अनुसारको कर लाग्नेछ भने ५० ग्रामभन्दा बढीमा प्रचलित दर अनुसार भन्सारमा अतिरिक्त तीन प्रतिशत कर तिर्नु पर्नेछ । यसअघि महिला र पुरुषको हकमा एकै नियम रहेको थियो ।

स्याङ्जाको वालिङमा पहिलोपटक प्रसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न

स्याङ्जा । स्याङ्जाको वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा मंगलबार पहिलोपटक पसूति सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वालिङ नगरपालिकाका अनुसार एकजना गर्भवतीको आकस्मिक सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । डा. नारायणबहादुर गोदार, डा. सुरज ढकाल लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले सल्यक्रिया गरेको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

सबै संघीय अस्पतालमा मृगौला प्रत्यारोपण गर्न कठिन, सरकारको ‘पपुलिष्ट प्रोग्राम’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै संघीय अस्पतालहरुमा मृगौला प्रत्यारोपण सेवा प्रारम्भ गरिने उल्लेख छ । अर्थमन्त्रीको यो उद्घोषले यसको कार्यान्वयनको विषयमा बहस हुन थालेको छ । कतिपयले यसलाई ‘पपुष्टि प्रोग्राम’का रुपमा लिएका छन् । धेरैले बजेट सुनिश्चित नगरिएको तर लोकप्रिय सो कार्यक्रम सबै संघीय अस्पतालमा कार्यान्वयन गर्न सम्भव नहुने धारणा राखिरहेका छन् । केन्द्रीय, शिक्षण, विशेष, क्षेत्रीय, साधारण लगायतका ३५ वटा संघीय अस्पताल सञ्चालनमा छन् । यी मध्ये सीमित अस्पताल र शिक्षण अस्पतालमा मात्रै मृगौला प्रत्यारोपणको सुविधा छ भने निजी क्षेत्रबाट सञ्चालित अन्य सीमित अस्पताल तथा शिक्षण अस्पतालहरुले मात्रै सो सेवाको सञ्चालन गरेका छन् । नेपालमा वर्षेनी तीन हजारभन्दा धेरै मृगौला रोगी थपिने गरेको तथ्यांकले देखाउँछ । तर, नेपालमा मृगौला प्रत्यारोपण शुरु भएको १४ वर्षमा झण्डै २२ सय जना बिमारीले मात्रै प्रत्यारोपणको सुविधा पाएका छन् । प्रत्याोपण सेवा प्रवाह गर्न सक्ने अस्पताल र जनशक्तिको अभाव र उपचार पहुँचको अभावमा अधिकांश मृगौला रोगीले ज्यान गुमाउँदै आएका छन् । सरकारले मृगौला फेल भएका रोगीहरुलाई डाइलासिस र प्रत्यारोपणमा अनुदान दिने नीति लिएको छ । जसमा सरकारले वर्षेनी ठूलो मात्रामा रकम खर्च गर्दै आएको छ । सरकारबाट झण्डै डेढ दर्जन अस्पताल तथा शिक्षण अस्पतालहरुले मृगौला प्रत्यारोपणको लागि लाइसेन्स लिएका छन् भने गत मंसिरसम्मको तथ्यांक अनुसार ६४ जना डाक्टरहरुले मात्रै प्रत्यारोपणको लाइसेन्स प्राप्त गरेका छन् । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, किस्ट मेडिकल कलेज, सुमेरु अस्पताल, निदान अस्पताल र ग्राण्डी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्दै आएका छन् । त्यस्तै पछिल्लो समयम राजधानीमा रहेको नर्भिक अस्पतालले पनि सो सेवालाई सञ्चालन गरेको छ । त्यस्तै, राजधानीबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ मेडिकल साइन्स चितवन र विराटनगरको नोबेल मेडिकल कलेज र कर्णाली प्रदेश अस्पतालले पनि सो सेवा प्रारम्भ गरेका छन् । कोशी अस्पताल र हेटौंडा अस्पतालले पनि सो सेवालाई विस्तार गर्ने सम्झौता गरेका छन् । तर, लाइसेन्स लिएर पनि २/३ वटा स्वास्थ्य संस्थाले सेवा शुरु गरेका छैनन् । सरकारी तथ्यांकहरुलाई नै हेर्दा हालको अवस्थामा वर्षेनी रुपमा मृर्गौला रोगीको संख्या बढ्दै जानु र आम जनताको पहुँचमा अस्पताल नपुग्दा बिमारीहरुमा ठूलो समस्या सिर्जना भएको छ । सरकारले सोमबार आगामी आर्थिक वर्षको लागि संसदमा प्रस्तुत गरेको बजेटमा भनिएअनुसार सबै संघीय अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुचारु हुने हो भने नेपालमा मृर्गौला रोग उपचारको क्षेत्रमा ठूलो क्रान्ति हुने अनुमान गर्न सकिन्छ । तर, सो सेवा सबै संघीय अस्पतालमा सञ्चालन गर्ने विषय सम्भव नहुने किस्ट मेडिकल कलेज युरो एन्ड ट्रान्सप्लान्ट सर्जन प्रमुख डा. नारायण भुसालले बताएका छन् । विकासन्युजसँग कुरा गर्दै डा. भुसालले वीर/टिचिङ जस्ता अस्पतालहरुले पनि लामो समयदेखि ठूलो संख्यामा प्रत्यारोपण गर्न नसकेको उनले बताएका छन् । ‘एउटा ट्रान्सप्लान्ट गर्न ८० जनाको टिम चााहिन्छ, नेपालमा कहाँ छ जनशक्ति ?, यस्तो हावा कुरा गरेर हुन्छ ?’, डा. भुसालले प्रश्न गरे, ‘हामीलाई दिए बरु हामीले निःशुल्क गर्छौं ।’ नेपाल सानो मुलुक भएकाले प्रत्यारोपण जस्तो विषय सबै ठाउँमा सञ्चालन गर्न जरुरी नहुने उनको भनाइ छ । ‘नेपाल कत्रो छ र ? हामी सबै गाउँगाउँमा गएर गर्ने भन्न मिल्छ ?’, उनले भने, ‘एक/दुई ठाउँमा राम्रो केन्द्र बनाए भैहाल्छ, गर्ने मान्छेलाई प्रोत्साहन छैन, बजेटमा पैसा खाने कुरा मात्रै हो ।’ गुणस्तरीय सेवासहित सञ्चालन गर्न २०/३० स्पेशियालिटी सहितको सेवा सञ्चालन गर्नुपर्ने भएकाले सबै अस्पतालमा सो सेवा विस्तार गर्न सम्भव नहुने उनको भनाइ छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगंजको ले रायरा रेष्टुरेन्टमा १० प्रतिशत सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकले नेपालगंज स्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा पार्क टिकट खरीदमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यम तर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटी एक्सप्रेसको सीइओमा निरज मान सैंजु, २० वर्षभन्दा बढीको अनुभव

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैंजु नियुक्त भएका छन् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ । ४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्षभन्दा बढी अनुभव रहेको छ । क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका उनी सुरक्षा र लगानीको क्षेत्रबारे जानकार छन् । नवनियुक्त सीइ‌ओ सैंजुले आफुले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बताएका छन् ।