यस्तो छ प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमण तालिका
काठमाडौं । ४ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिए । यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ । नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ । हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ । यसैगरी नेपालले बङ्गलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्नसमेत भारतलाई आग्रह गरिँदै आएको छ । बङ्गलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ । भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्याउने तयारी गरिएको छ । प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नुहुने छ । प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । आज साँझ केही महहत्वपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । परराष्ट्र मन्त्रालयले दिएकोे जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ । हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । उनले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ । प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुने कार्यक्रमम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने कार्यसूची छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ । प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यसअघि विसं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरेका थिए । त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गरेका थिए । प्रधानमन्त्रीले भ्रमणको तयारीका क्रममा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कूटनीतिक तथा सरोकारवालासँग छलफल गरेर राष्ट्रिय सहमति बनाउने प्रयास गरेका छन् । प्रतिनिधिसभामा समेत भ्रमणका बारेमा जानकारी गराए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने जानकारी दिए । यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुनेछ । भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री रिजालले जानकारी दिए । कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले जानकारी दिए ।
युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघसवित्तले जेठ ११ गतेदेखि बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज जेठ १७ गते अन्तिम दिन हो । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय अंकित मूल्य दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयर बिक्री खुला गरेको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको संस्थाको कुल चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँको ९४.०१ प्रतिश अर्थात् संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५ सय रुपैयाँ र ५.९९ प्रतिश अर्थात् सर्वसाधारण समूहको ६६ लाख ३० हजार रकम बराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम बिक्री गरेको हो । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
पाटाको शिखर सम्मेलने नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाइने
पोखरा । पर्यटकीय नगरी पोखरामा एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट–२०२३ आजदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित २१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजना एवं पोखरा पर्यटन परिषद् (पीटीसी)को संयोजनमा आयोजित सम्मेलन नेपालमा पहिलोपटक आयोजना भएको हो । सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी, अष्टे«लिया, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, फिलपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, साउदी अरेबीया, भारत, पाकिस्तान, श्रीलङ्का, चीन, हङकङ, थाइल्याण्ड, ताइपेई, अजरवैजान, मलेसियालगायतका देश र नेपाल गरी २१ देशका प्रतिनिधि सहभागी रहेको आयोजकले जनाएको छ । सम्मेलनको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले नेपाल प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि राम्रो गन्तव्य भएको बताए । पोखरामा आयोजित यस कार्यक्रमले नेपालको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने उनले बताए । पोखरा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटीका लागि आआफ्नो देशमा पहल गर्न पनि पाटा प्रतिनिधिलाई उनले आग्रह गरे । मालदिभ्सका पर्यटनमन्त्री डा.अब्दुल मौसुमले आफूले पोखरा साच्चीकैको साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै हिमाल र समुद्रबीचको पर्यटनलाई जोड्न नेपाल र मालदिप्सले मिलेर काम गर्न सकिने धारणा राखे । पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालमा आयोजित सम्मेलनले समग्र पर्यटनका बारेमा सकारात्मक सन्देश प्रभाव गर्ने बताउँदै यसलाई सम्पन्न गर्न नेपालले गरेको सहयोगप्रति आभार व्यक्त गरे । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा साहसिक पर्यटनको केन्द्र भएको बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई पोखरा भ्रमण गर्न र आग्रह गरे । नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य मदन आचार्यले पाटाले प्रकृति र संस्कृतिको धनी पोखरामा आयोजना गरेको यस कार्यक्रमले नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले पाटा इन्टरनेसनले नेपालको समग्र पर्यटन विकासमा लामो समय देखि सहयोग गर्दै आइरहेको बताउँदै यो कार्यक्रमका माध्यमबाट पनि कोभिडपछि सुस्ताएको पर्यटनलाई चलायमान बनाउन, दिगो पर्यटन विकासमा सहयोग पुग्ने धारणा राखे ।नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययबीच हुने छलफल तथा अन्तक्र्रियासहितको पाटा मार्टले पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालले आयोजना गरेको यो कार्यक्रमले आगामी दिनमा नेपालमा विदेशी पर्यटक आगमनमा समेत वृद्धि हुने बताए । सम्मेलनमा कोभिड–१९ पछिको पर्यटन र पर्यटनका विभिन्न आयामका बारेमा समूहगत छलफल तथा बीटुबीलयागतका कार्यक्रम हुने छन् । सम्मेलनमा सहभागि हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताले दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा छलफल गरिने छ । सम्मेलनको अवसरमा पाटा इन्टरनेसनले आफ्नो वार्षिक कार्यक्रमअनुसार विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । पाटाले मेम्मबरसिप अवार्डदेखि स्पेशल अवार्ड प्रदान गरेको थियो । सो अवसरमा पाटाले नेपाल पर्यटन बोर्ड तथा बोर्डका कार्यकारी प्रमुख डा.रेग्मीलाई पाटा स्पेसल अवार्ड प्रदान गरेको छ । नेपालले पाटा इन्टरनेसनलको सदस्यता सन् १९७५ मा लिएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो २ः५० मा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा.प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
लक्ष्मी बैंकले डाक्यो विशेष साधारण सभा, सनराइजसँगको मर्जरलाई अन्तिम रुप दिने
काठमाडौं । लक्ष्मी बैंकले आगामी असार ३ गते विशेष साधारण सभा आव्हान गरेको छ । बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो विशेष साधारण सभा डाकेको हो । बैंकको सञ्चालक समितीको जेठ १६ गते बसेको बैठकले असार ३ गते काठमाडौंमा बिहान ११ बजे अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बोलाएको हो । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने छन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने छ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको सीईओ बन्नेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । सम्झौतापत्र साधारण सभाले पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पश्चात् एकीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ । बैंकले विशेष साधारणसभा प्रयोजनार्थ जेठ २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तका बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत बोनस बापत २ लाख ५५ हजार ६५५.७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
१ लाख कित्ता किन्न पाइने घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि प्रिमियममा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आईपीओमा आज जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६ सय रुपैयाँको २० प्रतिशत अर्थात् ७९ करोड ४३ लाख ८० हजार १ सय रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले ३ करोड ९७ लाख १९ हजार रुपैयाँको प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एसबिआई बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक, ज्योति विकास बैंक र घोराही सिमेन्ट इण्डष्ट्रीबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सनराइज बैंकले वीरेन्द्रनगरमा दियो दुग्ध उत्पादन बारे सिपमुलक तालिम
काठमाडौं । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने कार्यक्रमा गरेको बैंकले जनाएको छ । जेठ ८ गतेदेखि वीरेन्द्रनगरमा संचालन गरिएको कार्यक्रममा ३५ जना महिलाहरु सहभागी थिए ५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले दिएका थिए ।