बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
वीरगञ्ज । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेका आर्थिक वर्ष २०८०/८१ को बजेटमा वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने भनिएको छ । ‘विगतमा हामीले उठाउँदै आएका केही सुझाव पनि अहिलेको बजेटमा सम्बोधन भएको छ’, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भने, ‘हामीले वीरगञ्ज–पथलैया खण्डलाई औद्योगिक करिडोरको रूपमा घोषणा गरिनुपर्र्छ भनिरहेका थियौँ, त्यो बजेटमा सम्बोधन भएको छ ।’ यो एकदमै स्वागतयोग्य कुरा हो, यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छौँ उनले भने । ‘बजेटमार्फत वीरगञ्ज–पथलैया औद्योगिक करिडोर घोषणा गरी सरकारले हाम्रो कुरालाई सम्बोधन गरेको छ’, अध्यक्ष अग्रवालले भने, ‘यो हाम्रा लागि उपलब्धिको कुरा हो, यसको आधारभूत कुराबारे अध्ययन गर्न बाँकी छ । विस्तृत अध्ययनपछि मात्रै यस विषयमा थप कुरा गर्न सकिन्छ ।’ निजी क्षेत्रलाई महत्व दिई वर्तमान आर्थिक अवस्थामा सुधारको प्रयास हुनु स्वागतयोग्य भएको भन्दै यहाँका उद्योगी व्यवसायीले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी, युवा मनोबल वृद्धि र व्यवसाय रक्षाका लागि महत्वकांक्षी कार्यक्रम अघि बढाइए पनि आर्थिक तरलता कायम रहेका बेला आर्थिक वृद्धिको लक्ष्य पूरा हुने अवस्था नरहेको उनको कथन थियो । ‘एकातिर खुल्ला बोर्डका कारण अवैधरूपमा समान आयात र निर्यात हुने क्रम बढेको छ भने अर्कोतिर करको दर बढाइएको छ’, अध्यक्ष अग्रवालले भने,‘त्यसैले खुल्ला नाकाबाट हुने अवैध आयात र निर्यात रोक्नुप¥यो र करको दरभन्दा पनि दायरा बढाउनु पर्छ ।’ त्यसो गर्न सकिए मात्र राजस्व सङ्कलनको लक्ष्य पूरा हुनसक्छ, नभए लक्ष्य पूरा हुनसक्ने सम्भावना छैन उनले भने । सरकारले बजेटमा स्वदेशी उद्योगको उत्पादनलाई स्वदेशमै खपत गर्ने, युवा र महिला उद्योगीलाई प्रोत्साहन, आविस्कार र नवप्रवर्तनमा जोड दिएको छ । ‘’बजेटमा दुईवटा औँद्योगिक क्षेत्रलाई अगाडि बढाउने र दुई वटालाई सार्वजनिक निजी साझेदारीअनुसार अगाडि बढाउने कुरा आएको छ’, उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले भने, ‘यो बजेटको सकारात्क पक्ष हो तर यसलाई कार्यान्वयन कसरी गरिन्छ भनेमा भरपर्छ ।’ पुजीगत खर्च बढ्न नसकेर अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौती गर्ने नीति लिनु सकारात्मक भएको उल्लेख गर्दै उनले बजेटमा उद्योग, वाणिज्य र लगानी क्षेत्रलाई सहजीकरण, प्रोत्साहन र कर छुटको घोषणा हुनु पनि स्वागतयोग्य भएको बताए । ‘सरकारी खर्च कटौती, नयाँ गाडी खरिद नगर्ने र नयाँ भवन नबनाउने घोषणा गर्नु बजेटको सकारात्मक पक्ष हो’, उनले भने,‘अहिलेको बजेटमा खासै उत्साहित हुनुपर्ने कुरा नभए पनि अर्थतन्त्रमा सुधार ल्याउन लिएका कतिपनि नीतिहरु सकारात्मक छन् ।’ त्यसैले यसको कार्यान्वयन महत्वपूर्ण पक्ष भएको उनको कथन थियो । एक सय रुपैयाँ पुँजीमै कम्पनी खोल्न पाउनेदेखि उद्योग तथा कम्पनी दर्तामा सूचना प्रविधिको अधिकतम प्रयोगसम्मका लोकप्रिय कार्यक्रम बजेटमा छन् । कोभिड र आर्थिक सङ्कुचनका कारण धर्मराएको विदेशी लगानी प्रोत्साहन गर्न विदेशी लगानीमा थुप्रै सहजीकरणको घोषणा बजेटमा गरिएको छ । उत्पादनमूलक उद्योगको सहजीकरणका लागि जग्गाको भाडा र हदबन्दीसम्बन्धी कानुन संशोधन, वैदेशिक लगानीको कानुनी स्थिरता, वैदेशिक लगानीको न्यूनतम् सीमा पुनःविचार र क्षेत्रगत सीमा तोकिने कार्यक्रमले उद्योगीको मनोबल बढ्ने पूर्वअध्यक्ष लाठको भनाइ थियो । बजेटले लिएको निर्यात वृद्धि र आर्थिक वृद्धि दुवै लक्ष्य पूरा हुननसक्ने अवस्था रहेकोले अहिले मुलुकमा देखिएको आर्थिक तरलतालाई यसले समाधान गर्न नसक्ने अन्य उद्योगी व्यवसायीको भनाइ थियो । ‘मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेको छ, यस्तो अवस्थामा उत्पादनमुखी बजेट आउनुपर्दथ्यो’, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुवोध गुप्ताले भने, ‘तर अहिले सरकारले प्रस्तुत गरेको बजेट उत्पादनशीलभन्दा पनि वितरणमुखी बजेट हो, यसले अर्थतन्त्रमा सुधार ल्याउनसक्ने अवस्था छैन ।’ बजेट वितरणमुखी रहेकाले यसको कार्यान्वयनमा थुप्रै चुनौती रहेको उनको भनाइ थियो । बजेटमा निजी क्षेत्रलाई विश्वासमा लिने र प्राथमिकता दिने भनिए पनि कार्यान्वयनमा कसरी हुन्छ भन्ने विषयलाई आफूहरुले हेरिरहेको सदस्य डा गुप्ताले बताए । विनियोजित बजेटमा औँद्योगिक पूर्वाधार विकास, स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा निर्यात प्रवद्र्धन, बहुमूल्य खानी अन्वेषण, पेट्रोलियम पदार्थ अन्वेषणलगायत कार्यक्रम बजेटमा समेटिनु अत्यन्तै सकारात्मक र महत्पूर्ण पक्ष भएको नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष मनोजकुमार दासले बताए । रासस
उपचार गर्न चितवन
चितवन । कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रुपमा विकास भएको छ । पहाडी क्षेत्रबाट बाध्यताले झर्ने चितवन अहिले उपचारका लागि आउने थलो रुपमा विकास हुँदै गएको छ । विसं २०१४ मा डिस्पेन्सरीका रुपमा हालको भरतपुर अस्पताल भएको ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सुरु भएपछि पछिल्लो १५ वर्षमा आमूल परिवर्तन भएको छ । यहाँ क्यान्सर, आँखा, अङ्ग प्रत्यारोपण सहितका अति विशिष्टीकृत सेवासहित ६ हजार हाराहारी क्षमता शय्याका अस्पताल सञ्चालनमा छन् । छ सय शय्याको सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल र २३ वटा निजी अस्पतालले सेवा दिइरहेका छन् । देशैभर र भारतीय सीमा क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । पछिल्लो समय थपिएका सेवा सुविधाका कारण नेपालमा हुने सबै खालका उपचार यहाँ हुने गरेका छन् । छिमेकी मुलुक भारतका दिल्ली, मुम्बई जस्ता सहरमा जाने बिरामीसमेत पछिल्ला वर्षहरुमा यही उपचार गर्न थालेको चिकित्सकहरु बताउँछन् । निजी र सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । जिल्लाको भरतपुर क्षेत्रमा अधिकांश स्वास्थ्य संस्था छन् । यहाँ रहेको सरकारी भरतपुर अस्पतालमा सधैँ बिरामी भरिभराउ हुन्छन् भने वरिपरि रहेका दुई मेडिकल कलेज र निजी अस्पतालहरुमा पनि बिरामीको चाप उत्तिकै छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छिमेकी देश भारत र बङ्गालादेशबाट समेत बिरामी आउने गरेका छन् । त्यहाँको चापलाई निजी स्तरमा रहेको चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युटले कम गर्ने गरेको छ । आँखा उपचारमा पनि भरतपुर आँखा अस्पताल नेपालकै अब्बल बनेको छ । देशका विभिन्न क्षेत्रसँगै भारतीय भूभागबाट समेत यहाँ आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । बढ्दो बिरामीको चापसँगै निजी क्षेत्रले समेत अत्याधुनिक उपकरणहरु भित्र्याएका छन् । कतिपय उपकरण विश्वका धनी मुलुकमा प्रयोग हुनेभन्दा कम छैनन् । विशिष्टीकृत अध्ययन हासिल गरेका धेरै चिकित्सक अहिले जिल्लामा कार्यरत छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने विगतको तुलनामा पछिल्ला वर्षहरुमा स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको बताउँछन् । आम नागरिक शिक्षितसँगै संसारका बारेमा बुझ्न थालेपछि स्वास्थ्य क्षेत्रमा पनि उनीहरुको चासो बढ्दै गएको भन्दै उनले आवश्यकताले पनि स्वास्थ्य क्षेत्रमा थप सुधार ल्याउन प्रेरित गरेको बताए । बिरामीहरु बुझ्ने भएसँगै उपचार गर्ने चिकित्सक स्वास्थ्यकर्मीहरुले अध्ययन गर्न थालेको र उपचार राम्रो बन्दै गएको उनले बताए । पछिल्ला वर्षहरुमा सिटिस्क्यान, एमआरआई जस्ता उपकरणहरु भित्रिएसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको उपचार यहाँ हुन थालेको उनको भनाइ छ । उनले भने, ‘नेपालमा हुने सबै खालका उपचार चितवनमा सम्भव छ ।’ नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्के गएको १५ वर्षमा आँखा उपचारका क्षेत्रमा ठूलो फड्को मारेको बताउँछन् । चितवन र छिमेकी जिल्लासँगै भारतका समेत बिरामी आँखा उपचारका लागि भरतपुर आँखा अस्पताल आउने गरेको उनको भनाइ छ । नेपालमा हुने सबै खालका आँखा उपचार गर्न सक्ने गरी आवश्यक जनशक्ति र उपकरण यही समयमा यहाँ भित्रिएको मास्केको भनाइ छ । उनले भने, ‘देशभित्र हुने सबै खालका उपचार गर्न हामी सक्षम छौँ ।’ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल गणतन्त्रपछि जिल्लामा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको बताउँछन् । भरतपुरमा रहेको भरतपुर अस्पताललाई सङ्घीय अस्पताल बनाइएको, शिक्षक अस्पताल भरतपुरमै बन्ने तयारीमा रहेको, एक सय शय्याको आयुर्वेदिक अस्पताल यही बन्न लागेको, महानगरपालिका एक वडा एक स्वास्थ्य केन्द्र नीति अघि बढाएको उनको भनाइ छ । उनले भने, ‘राजधानीपछिको स्वास्थ्य उपचारको केन्द्र भरतपुर बनेको छ ।’ सरकार र निजी क्षेत्रले सँगसँगै यहाँको स्वास्थ्य क्षेत्रको विकासमा अघि बढेको उनको भनाइ छ । उनले भने, ‘देशभित्र हुने उपचारका लागि भरतपुर छोडेर अन्यत्र जानु पर्दैन ।’ चितवनसहित छिमेकका धेरै जिल्ला र भारतीय क्षेत्रबाट समेत उपचारका लागि बिरामी आउने गरेको दाहालले बताए । यहाँको सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन महानगर लागिपरेको उनले जानकारी दिए । निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी १५ वर्ष अघिसम्म डोरीले दाँत फुकाल्ने गरेको चितवनमा अहिले लेजर प्रविधि प्रयोग भएको उदाहरण दिन्छन् । उनले भने, ‘हाम्रो जिल्लामा अमेरिका जस्ता विकसित मुलुकहरुमा प्रयोग हुने प्रविधि भित्रिएका छन् ।’ बाल सघन उपचार कक्ष र सघन उपचार कक्ष नहुँदा धेरै नवजात शिशु र अन्य बिरामीहरुले ज्यान गुमाउनु परेको विगत स्मरण गर्दै उनले अहिले घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने सेवासमेत विकास भएको बताए । उनले भने, ‘अहिले अनलाइनमार्फत स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था छ । घरमै स्वास्थ्यकर्मी पुगेर सेवा दिन थाल्नुभएको छ ।’ जिल्लामा स्वास्थ्यमा भएको लगानीमध्ये ८० प्रतिशत निजी क्षेत्रको भएको भन्दै उहाँले स्वास्थ्यमा देशमै उत्कृष्ट सेवा दिन सकिएको दाबी गरे । निजी क्षेत्रका मात्रै मेडिकल कलेजबाहेक जिल्लाभरमा २३ वटा अस्पताल भएको उनले जानकारी दिए । विगतमा दुर्घटनाका घाइतेहरु उपचार नपाएर ज्यान गुमाउने परेको भन्दै उनले अहिले छिमेकी जिल्लाबाट समेत घाइते यहाँ ल्याउन लागिएको बताए । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा विजयराज न्यौपानेले गणतन्त्रपछि स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तन आएको बताए । एक सय शय्याको क्यान्सर अस्पताल पाँच सय शय्याको पुगेको छ । नेपालभर मात्र नभएर छिमेकी देशहरुबाट समेत बिरामी आउन थालेका छन् । अस्पतालले विशिष्टीकृत सेवा दिन सुरु गरेको छ । निजी क्षेत्रले समेत क्यान्सरको उपचार थालेको बताउँदै उनले देशकै उपचारको केन्द्र बन्न सफल भएको बताए । उनले भने, ‘हाम्रो जिल्लामा झन्डै एक हजार विशेषज्ञ चिकित्सक छन् ।’ जिल्लामा गुणस्तरीय उपचारमा जोड दिन थालिएको छ । अत्याधुनिक उपकरण भित्रिएसँगै परीक्षण विश्वसनीय बनेको र उपचार सहज हुँदै गएको न्यौपाने बताउँछन् । कुनै समय चिकित्सक पाउन मुस्किल पर्ने यस जिल्लामा अहिले विशिष्टीकृत सेवा सुरु भएको बताP । भरतपुर अस्पालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले गणतन्त्रपछि नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक प्रगति भएको बताए । भरतपुर अस्पताल एक सय ५० शय्याबाट ६ सय शय्यामा पुगेको भन्दै उनले भौतिक निर्माणमा उल्लेख्य प्रगति भएको बताए । अस्पताल सङ्घीय बन्न सफल भएको छ । यससँगै विशिष्टीकृत सेवा दिन सुरु गरेको उहाँले जानकारी दिए । सिटिस्क्यान जस्ता उपकरणहरु अस्पतालमा भित्रिएको र छिट्टै एमआरआईसमेत आउँदै गरेको उनको भनाइ छ । अत्याधुनिक शल्यक्रिया कक्ष निर्माण गरिएको छ । राजधानी बाहिरको उत्कृष्ट सरकारी अस्पताल बन्न सकेको उनी बताउँछन् । उनले भने, ‘आम नागरिकमा सरकारी अस्पतालमा उपचार गराउनु पर्छ भन्ने भावनाको विकास गराउने गरी काम भएको छ ।’ जनशक्ति थपिन नसक्दा चाप थेग्न भने कठिन भएको पौडेल बताउँछन् । गणतन्त्रपछि देशभरकै स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको उनी बताउँछन् । उनले भने, ‘अस्पताल बन्ने क्रम बढेको छ भने चिकित्सकहरु गाउँ–गाउँमा पुग्न थालेका छन् यसबाट स्वास्थ्य क्षेत्रमा ठूलो सफलता मिलेको छ ।’ पहिला पहिला जिल्लामा एउटा अस्पताल र एउटा डाक्टर हुन्थ्यो उनले थपे, ‘अहिले त्यो अवस्था छैन । नेपालमा गणतन्त्र आइसकेपछि बनाएका नीतिहरु दुर्गममा गएर पढेका डाक्टरहरुले छिटो बढुवा हुने भएकाले सबैतिर चिकित्सक पुगेका छन् ।’ स्वास्थ्य शिक्षाका हिसाबले पनि चितवन महत्वपूर्ण स्थान हो । यहाँका दुई मेडिकल कलेजका अतिरिक्त प्राविधिक शिक्षा तथा तालिम परिषद् अन्तर्गत स्कूल अफ हेल्थ साइन र अन्य निजी स्वास्थ्य संस्थाहरुले पनि नर्सिङ लगायतका स्वास्थ्य शिक्षाको अध्ययन अध्यापन गराउँदै आएका छन् । भूकम्प र कोरोना जस्ता ठूला विपत्तिहरुमा चितवनको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । विसं २०७२ को भूकम्पमा ठूलो सङ्ख्यामा घाइते भएकाहरुलाई पहाडी जिल्लाहरुबाट समेत यहाँ ल्याएर उपचार गरिएको थियो । राजधानी काठमाडौं लगायतका पहाडी जिल्लाका अस्पतालहरुले थेग्न नसकेको अवस्थामा यहाँका अस्पतालहरुले उपचारको व्यवस्था गरेका थिए । जसले गर्दा विपत्तिको समयमा सहज भएको थियो । कोरोना सङ्क्रमणको समयमा पनि चितवनको स्वास्थ्य क्षेत्रले निकै ठूलो योगदान दिएको छ । जिल्ला र छिमेकी जिल्लाका मात्रै होइन, सुदूरपश्चिमदेखि पूर्व र पहाडी क्षेत्रका बिरामी यहाँ आएर सहज उपचार पाएका छन् । एम्बुलेन्स र हेलिकोप्टबाट समेत सङ्क्रमितलाई यहाँ उपचारका लागि ल्याइएको थियो । कोरोना सङ्क्रमण उच्च दरमा पुगेको समयमा राजधानी काठमाडौँ लगायतका ठूला सहरमा अक्सिजन र शय्या नपाएर बिरामी छट्पटाइरहेको समयमा यहाँ भने कुनै पनि दिन अक्सिनको अभाव भएन भने शय्या नपाएर बिरामीले भर्ना हुन नपाउने अवस्था आएन । यस हिसाबले पनि यहाँको स्वास्थ्य क्षेत्रले राष्ट्रलाई आइपर्ने स्वास्थ्य सङ्कटलाई थेग्दै आएको छ । रासस
कोसेलीका रुपमा विदेश पुग्छ म्याग्दीको औषधीय गुणले भरिपूर्ण रातो च्याउ
म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन् । मालिका गाउँपालिका २ रुमकीबेलकुमारी सुनारले अमेरिका, जापान बेलायत, हङकङलगायत देशमा रहेका आफन्तलाई कोसेली पठाउन जङ्गली रातो च्याउ खरिद गर्न टाढा–टाढाबाट मानिस गाउँमा नै आउने गरेको बताए । ‘विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरवाङ बजारबाट २० किलो रातो च्याउको माग आएको छ, त्यसैका लागि तीन जनालाई दैनिक ज्याला दिएर लेकतिर च्याउ खोज्न पठाएकी छु’, सुनारले भने । उनले जङ्गलबाट खोजेर ल्याएको रातो च्याउलाई घाममा सुकाएर सुकुटी जस्तो बनाइ बिक्री गर्दै आएका छन् । ‘घुम्न आउने पर्यटकले पनि किनेर लैजान्छन्, अहिले च्याउको सिजन भएकोले प्रतिकिलो आठ सयदेखि एक हजार दुई सय रुपैयाँ सम्ममा बिक्री गरेका छौँं’ उनले भने । म्याग्दीका गुर्जा, लुलाङ, मुदी, ओखरबोट, देवीस्थान, रुम लगायतका ठाउँका जङ्गलमा यो च्याउ पाइन्छ । जेठदेखि असोजसम्म उच्च लेकाली जङ्गलमा पाइने यो च्याउ शुद्ध प्राकृतिक च्याउ भएकाले यसको सेवनले विभिन्न किसिमका रोगसमेत निको हुने दरवाङका हीराबहादुर सिउथानी मगरको भनाइ छ । लेकबाट दरवाङ बजारमा झारेपछि यो च्याउ खोसाखोस नै हुन्छ । स्वदेशी पाहुनाले पनि च्याउ किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि ताजा च्याउ खरिद गरेर सुकाइ सुकुटी बनाउन लागेको दरवाङ बजारकी तिला बूढाथोकीले बताए । उनले करिब २० किलो च्याउको सुकुटी बनाएर राखेका छन् । विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराँका मेन्युमा रातो च्याउ परिकारका रुपमा पाइन्छ । रातो च्याउ स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा रातो च्याउको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाले रातो च्याउ किनेर लैजाने गरेका बताए । यसको आकार पङ्खा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्रा पानीमा उमालेर रस चियाको रुपमा पिउनुपर्ने हुन्छ । यसमा पोलिसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीयतत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टिक तत्व पनि पाइन्छ । यी तत्वले गर्दा हाम्रो शरीरमा रोगप्रतिरोधि क्षमता बलियो हुने आर्युवेदिक चिकित्सकहरु बताउँछन् । त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोग लागेका बिरामीलाई पनि फाइदा हुनेगर्दछ । औषधीय र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ । यो च्याउ क्यान्सर र एचआइभी एड्स रोगीका लागि अति उत्तम मानिने आर्युवेदिक चिकित्सक रघु शर्मा सापकोटाले बताए । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रातो च्याउको व्यावसायिक खेती समेत सुरु गरिएको छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । गुर्जामा रातो च्याउ, बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिए । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो । रातो च्याउको औषधीय महत्व यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभइ विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ । त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका बिरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउँदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँदछ, यौन सम्वद्र्धन पनि मानिएको छ । यसले हुने कलेजो वा प्यानक्रियाजआदिको कोषको संरक्षण गर्ने चिकित्सकहरु बताउँछन् । यसमा प्रोटिज र गानोर्डरिक अम्लमा मानिसको रगत जमाउने कार्यमा कमी ल्याउने वा जम्न नदिने क्षमता रहेको आर्युवेदिक चिकित्सक सापकोटाले बताए । रासस
निश्चित व्यापारीको पक्षमा बजेट ल्याएको प्रमाण देखाउनुस् तत्काल राजीनामा दिन्छु : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कुनै व्यापारिक समूहको स्वार्थका लागि बजेट नल्याएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कुनै व्यापारी वा व्यापारिक समूहको स्वार्थका लागि बजेट नल्याएको बताएका हुन् । बजटेमार्फत् भएका विभिन्न कार्यक्रम तथा राजश्वका नीतिका कारण उनले केही निश्चित व्यापारीको स्वार्थका लागि निर्णय लिएको आलोचना भइरहेको छ । त्यसको विरोध गर्दै उनले कुनै निश्चित समूहको स्वार्थका लागि बजेट ल्याएको प्रमाणित भएमा तत्काल राजीनामा दिन तयार भएको पनि बताएका छन् । ‘मैले नीजि क्षेत्रका कसैको पक्षमा बजेट ल्याएको छैन, यदि गरेको छु भने प्रमाण ल्याउनुस्, तत्काल राजीनामा दिन्छु,’ उनले पत्रकार सम्मेलनमा भने ।
मंगलबार ५३ अंकले घट्यो सेयर बजार, ४ कम्पनीमा सर्किट
काठमाडौं । मंगलबार सेयर बजार ५३.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८८८.६१ विन्दुमा पुगेको छ । घटेको बजारमा आज ७० लाख कित्ता सेयर किनबेच हुँदा कुल दुई अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोडको भएको छ । यस्तै, दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्था र बिपिडब्लु लघुवित्त वित्तिय संस्था रहेको छ । यस्तै, नकारात्मक सर्किट लेभलमा कारोबार हुनेहरु स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी र सिटिजन म्युचल फण्ड(१ रहेको छ ।
ईभीमा कर बढाएको भन्न मिल्दैन, मौद्रिक नीतिमार्फत् पनि बजेटको कार्यान्वयन हुन्छ
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा कर बढाएको भन्न नमिल्ने बताएका छन् । उनले अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय गाडीमा कम कर रहेकोले विद्युतीय गाडीमा सरकारले कर बढाएको भन्न नमिल्ने बताएका हुन् । उनले इभीमा सामान्य रूपमा र्यासनलाइज गरिएको धारणा राखे । उनले विद्युतीय गाडीलाई सरकारले प्राथमिकतामा राखेको पनि बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । सरकारले इन्ट्री लेभलका र नेपालमा धेरै आयात भएर प्रयोगमा रहेका ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार अन्तःशुल्क बढाएको छ भने सार्वजनिक विद्युतीय सवारीमा पनि कर बढाएको छ । अहिले यसको व्यापक आलोचना भइरहेको छ भने यसले निजी प्रयोजनका विद्युतीय सवारी करिब २५ प्रतिशत महँगो हुने अवस्था बनेको बताइन्छ । अर्थमन्त्री महतले यसमा सत्यता नरहेको दाबी गरेका हुन् । उनले सरकारले प्रस्तुत गरेको बजेट प्रभावकारी रुपमा कार्यानवयन हुने पनि बताएका छन् । बजेट कार्यान्वयन गर्न सकिन्छ, प्रभावकारी कार्यान्वयन गर्न सक्ने हैसियतले अनुमानित बजेट राखिएको हो, पोलिसिगत प्वाल र भन्सार प्वाल टालिन्छ, मौद्रिक नीति र बित्तियको संयोजनमा बजेट कार्यान्वयन कार्यान्वयन हुन्छ,’ उनले भने । यस्तै, उनले सांसद विकास कोषको विषयमा पनि प्रष्टिकरण दिन खोजेका छन् । सरकारले ५ करोडको सांसद कोष ब्यूत्याएको भन्दै अहिले चौतर्फ आलोचना भइरहेको छ । यस विषयमा धारणा राख्दै उनले यो सांसद विकास कोष नभई संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम भएको बताएका छन् । ‘पुरानो र यसमा धेरै फरक छ, यसलाई १६५ वटै निर्वाचन क्षेत्रमा पठाइने हो, सांसदको भुमिका सिफारिस मात्रै गर्ने हो, यो कार्यक्रम ठेक्का पक्रिया मार्फत जान्छ, यसमा सांसदको सिफारिसकर्ताको मात्रै भूमिका हो, कार्यान्वयन सम्बन्धित निकायले गर्छ,’ उनले भने । उनले सरकारले पुँजीगत खर्च घटाएको विषयमा पनि धारणा राखेका छन् । सरकारले बजेटमार्फत् ३ खर्ब बढी मात्रै पुँजीगत बजेट छुट्याएको छ । उनले ऋणको साँवा ब्याज दायित्व र समाजिक सुरक्षा दायित्व बढेकाले पुँजीगत खर्च घटेको बताए ।
दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउनेछ-प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताए । उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पु¥याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन् । ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन् । के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन । यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’ प्रधानमन्त्री दाहालले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाए । उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताए । उनले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेकोमा जोड दिए ।
एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट
काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिका(३ मा रहेको एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । मंगलबार मध्याह्न १२:२८ मिनेटमा क्यास काउन्टरबाट रकम लुटपाट भएपनि कति रकम लुटपाट भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।