विकासन्युज

एनआरएनलाई आईपीओ बिक्रीको बाटो खुल्यो, ८५ प्रतिशतसम्म जारी गर्न सक्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई लक्षित गरेर नेपालमा विदेशी मुद्रामा आईपीओ जारी गर्ने बाटो खुलेको छ । सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै एनआरएनलाई लक्षित गरी सेयर निष्काशन तथा कारोबारको कानुनी आधार तयार गरेको हो । संशोधित नियमावलीअनुसार निश्चित प्रकृतिका कम्पनीले आफ्नो जारी पुँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन् । त्यस्तो सेयरमा प्रिमियम थपेर निष्काशन गर्न भने नपाइने व्यवस्था गरिएको छ । यस्तै, यस्तो सेयरको कारोबार प्रणाली धितोपत्र बजारले निर्धारण गरेबमोजिम हुनेछ भने कारोबारको न्यूनतम इकाइ १ हजार कित्ता कायम गरिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का एक अधिकारीका अनुसार कानुनी बाटो खुलेसँगै अब आवेदन दिने कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिइनेछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३ दर्ता भएसँगै आजदेखि लागू भएको उनले बताए । बैंकिङ विज्ञ तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईका अनुसार यो व्यवस्था विशेषगरी गैरआवासीय नेपालीलाई लक्षित गरेर विदेशी मुद्रामा लगानी भित्र्याउन महत्वपूर्ण हुनेछ । ‘गैरआवासीय नेपालीबीच कारोबार गरेर विदेशी मुद्रामा भुक्तानी हुने गरी आईपीओ जारी गर्न माग गरेका थियौँ । विश्वभर छरिएर रहेका नेपालीलाई सहभागी गराउन न्यूनतम १० प्रतिशतदेखि ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सकिने व्यवस्था हुनुपर्ने हाम्रो माग थियो । सोही बमोजिम नै व्यवस्था बनेको छ,’ उनले भने । उनका अनुसार विदेशबाट लगानी गर्दा सानो परिमाणमा सेयर खरिद गर्दा रकम पठाउने लागत तुलनात्मक रूपमा बढी पर्ने भएकाले न्यूनतम १ हजार कित्ताको व्यवस्था गरिएको हो । एक हजार कित्तालाई करिब १ लाख रुपैयाँ बराबरको न्यूनतम लगानीको एकाइका रूपमा लिन सकिने उनले बताए । ‘बाहिरबाट माग गर्दा १० कित्ता थोरै हुन्छ । पैसा पठाउनका लागि पनि लागत लाग्छ । त्यसैले १ लाख रुपैयाँलाई न्यूनतम लगानीको एकाइका रूपमा लिइएको हो,’ भट्टराईले भने । यो व्यवस्थामार्फत नेपाली मूलका विदेशी नागरिक तथा विदेशमा बस्ने गैरआवासीय नेपालीले विदेशी मुद्रामा नेपालमा लगानी गर्न सक्नेछन् । लगानीका लागि विदेशी मुद्रामा रकम ल्याउने र आवश्यक प्रक्रियामार्फत लगानी व्यवस्थापन गर्ने प्रणालीसमेत विकास भइरहेको भट्टराईले बताए । भट्टराईका अनुसार गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउन विदेशी मुद्रासँग सम्बन्धित खाता र लगानी व्यवस्थापन प्रणाली विकास भइरहेको छ । ‘रुपी डिनोमिनेटेड फरेक्स एकाउन्ट अर्थात् विदेशी मुद्रासँग सम्बन्धित नेपाली खाताको व्यवस्था हुन्छ । त्यसमा पैसा आउने–जाने व्यवस्था हुनेछ,’ उनले भने । यसका लागि ‘डायस्पोरा व्यवस्थापन प्रणाली’ निर्माण भइरहेको र त्यसबाट लगानीका लागि रकम भित्र्याउनेदेखि लगानी गर्ने प्रक्रियासम्मलाई सहज बनाइने उनले बताए । उनका अनुसार नेपाल राष्ट्र बैंकले नीतिगत सुधार गरिसकेको छ भने नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडले पनि आवश्यक प्रक्रिया अघि बढाएका छन् । ‘यसमा लगानी गर्ने, पैसा भित्र्याउने सबै बन्दोबस्त भइसकेको छ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले नीतिगत सुधार गरिसकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पनि व्यवस्था अगाडि बढाइसकेका छन्’, उनले भने । भट्टराईका अनुसार अब गैरआवासीय नेपालीले विदेशी मुद्रामा लगानी गर्ने र लगानीबाट प्राप्त प्रतिफलसमेत विदेशी मुद्रामा लैजान सक्ने व्यवस्था कार्यान्वयनमा आएमा यो एनआरएन लगानीका लागि नयाँ आयाम हुनेछ । ‘विदेशी मुद्रामा भुक्तानी हुने र विदेशी मुद्रामै प्रतिफल लैजान पाउने गरी पहिलोपटक आईपीओ जारी हुन्छ र कारोबार पनि सुरु हुन्छ,’ उनले भने । गैरआवासीय नेपाली र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएका कम्पनीले समेत यस्तो आईपीओ जारी गर्न सक्ने बाटो खुलेको उनले बताए । ‘गैरआवासीय नेपाली र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले आईपीओ जारी गर्न पाउने बाटो खुलेको छ । अब आगामी दिनमा कार्यान्वयन सुरु भएपछि यो अझ विस्तार हुँदै जानेछ,’ उनले भने । विश्वका १७८ देशमा गैरआवासीय नेपाली रहेको उल्लेख गर्दै भट्टराईले ठूलो संख्यामा रहेका नेपालीलाई नेपालको पुँजी बजारसँग जोड्ने अवसर सिर्जना भएको बताए । उनका अनुसार एक जना गैरआवासीय नेपालीले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्ने गरी व्यवस्था अघि बढाउने लक्ष्य छ । तर, ठूलो लगानीकर्ताभन्दा धेरैभन्दा धेरै गैरआवासीय नेपालीलाई सहभागी गराउनु महत्वपूर्ण हुने उनको भनाइ छ । ‘यसमा धेरैभन्दा धेरै गैरआवासीय नेपालीलाई समेट्नुपर्ने हुन्छ । पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्तालाई जोड्नुपर्छ,’ उनले भने । एनआरएनको ठूलो संख्यालाई सहभागी गराउन आवेदनको सीमा र लगानीको आकारलाई व्यवस्थित गर्नुपर्ने उनले बताए । विदेशबाट हुने लगानीमा माग अत्यधिक हुन सक्ने भएकाले धेरैभन्दा धेरै व्यक्तिलाई अवसर दिने उद्देश्यले लगानीको सीमा निर्धारण गर्नुपर्ने उनको भनाइ छ । ‘ओभर सब्स्क्राइब हुने भएकाले लगानीको आकार सानो गरेर धेरै गैरआवासीय नेपाली सहभागी हुन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने । उनका अनुसार यसले विदेशमा रहेका नेपालीलाई नेपालमा आफ्नो लगानी रहेको अनुभूति दिलाउनेछ । ‘नेपालमा मेरो लगानी छ, अब नेपालमा लगानी गर्न पाउँछु भन्ने भावना विकास हुन्छ,’ उनले भने । संशोधित नियमावलीले कानुनी बाटो खोलेसँगै अब एनआरएन लक्षित आईपीओ कार्यान्वयनमा ल्याउन आवश्यक प्राविधिक तथा संस्थागत तयारी पूरा गर्ने चरण अघि बढेको छ । यसले विदेशमा रहेका नेपालीको पुँजीलाई नेपालको पुँजी बजारमा भित्र्याउने नयाँ माध्यम तयार हुने अपेक्षा गरिएको छ ।

सहमहामन्त्रीमा मनोजमणि आचार्यले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मनोजमणि आचार्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले खस आर्यतर्फ उम्मेदवारी दिएका हुन् । आचार्यले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।  आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेसँग काम गरेका नेता हुन् ।

तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार (आज) राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् ।  महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए ।  उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन् । महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।

भालुको पित्त र हात्तीको दाह्राजस्तो वस्तुसहित तीन जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्री गर्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौं र सिन्धुलीबाट उनीहरूलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेबाट भालुको पित्तजस्तो देखिने वस्तुसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका–१ सिसनियाका ३१ वर्षीय योगेन्द्रप्रसाद चौधरी छन् । विशेष सूचनाका आधारमा सीआईबीको टोलीले असोज १८ गते चौधरीलाई पक्राउ गरेको हो। उनको साथबाट भालुको पित्तजस्तो देखिने एक थान वस्तु बरामद भएको छ। त्यसको तत्काल तौल १४० ग्राम रहेको सीआईबीले जनाएको छ । बरामद वस्तुसहित चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि असोज १९ गते डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको छ । त्यस्तै, सिन्धुलीबाट हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन् । सीआईबीको टोलीले इलाका प्रहरी कार्यालय भीमानसँगको समन्वयमा असोज १९ गते कमलामाई नगरपालिका–१४, तल्लो रानीबास क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१४ का ६० वर्षीय सोमबहादुर माझी भन्ने पोरे माझी र महोत्तरीको बर्दिबास नगरपालिका–५ का ६० वर्षीय चित्रबहादुर विश्वकर्मा छन् । उनीहरूको साथबाट हात्तीको दाह्राजस्तो देखिने एक थान वस्तु बरामद भएको छ। बरामद वस्तुको तौल ६ किलोग्राम रहेको सीआईबीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सिन्धुलीमाडी, सिन्धुलीमा बुझाइएको छ । सीआईबीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्रीवितरणविरुद्ध कारबाही जारी रहेको जनाएको छ ।

माछापुच्छ्रे बैंकले २० मेगावाट सौर्य आयोजनामा ८० प्रतिशतसम्म लगानी गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिले निर्माण गर्न लागेको ग्रिड–आबद्ध सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन बैंकले गरेको हो । बैंकका अनुसार परियोजनामा माछापुच्छ्रे बैंकको एकल लगानी रहनेछ। बैंकले आयोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्नेछ । आयोजनाको निर्माण अवधि १ वर्ष ६ महिना रहनेछ । २० मेगावाट क्षमताको यो आयोजनाबाट नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासमा समेत योगदान पुर्‍याउने बैंकको विश्वास छ । माछापुच्छ्रे बैंकले वातावरणमैत्री र दिगो विकासमा योगदान गर्ने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय लगानी गर्दै आएको जनाएको छ । सौर्य आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने बैंकको निरन्तरताको हिस्सा भएको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा नेपालको ऊर्जा आवश्यकता पूरा गर्न, स्वच्छ ऊर्जा प्रवद्र्धन गर्न र दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग गर्ने जनाएको छ । 

दशैं-तिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्दै, रुट परमिटमा छुट

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै आगामी असोज २३ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवाला निकायहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । अग्रिम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनलाई जुनसुकै रुटमा सञ्चालन हुन पाउने गरी रुट परमिट छुट दिने व्यवस्था समेत गरिएको छ । यस निर्णयले चाडपर्वमा घर फर्किन टिकट बुकिङ नखुलेर अन्योलमा परेका सर्वसाधारण तथा यात्रुहरूलाई ठूलो राहत पु¥याएको छ । यसैगरी, चाडपर्वका बेला काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने मुख्य सडकहरूमा हुन सक्ने सवारी जामलाई नियन्त्रण र व्यवस्थापन गर्न विशेष निर्णय गरिएको छ । जसअनुसार अत्यावश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं आवतजावतमा रोक लगाइने भएको छ । तर खाद्यान्न, औषधि, इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीहरूलाई भने यो प्रतिबन्ध लागू नहुने र निर्बाध रूपमा सञ्चालन हुन दिइने जनाइएको छ ।

उपसभापति पदमा भुसालसहित ६ जनाले उम्मेदवारी दर्ता गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत मंगलबार (आज) नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । जसका लागि विभिन्न पदमा नेता तथा महाधिवेशन प्रतिनिधिले उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  उम्मेदवारीकाे तयारी गरिरहेका नेताहरूकाे प्राेफाइल हेर्दा उपसभापति पदमा रोचक प्रतिस्पर्धा  हुने देखिएको छ ।  नयाँ कार्यसमितिका लागि उपसभापतिमा हाल उपसभापति रहेकी पुष्पा भुसाल, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्यहरू डा.मिनेन्द्र रिजाल, मधु आचार्य र चन्द्रकान्त भण्डारीले हालसम्म उम्मेदवारी दिने तयारी गरेका छन् । उपसभापति भुसालले सञ्चारमाध्यममार्फत उपसभापतिमा आफ्नो उम्मेदवारी दिने तयारी गरेकी हुन् । ‘पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै समावेशी प्रतिनिधिलाई नेतृत्वको अवसर दिने महाधिवेशनको सन्देश दिन मैले उम्मेदवारीलाई अवसरको रुपमा लिएकी छ,’ उनले भनिन् । यस्तै, संशोधित विधानमा व्यवस्था भएअनुरूप समावेशीताको धारणालाई पार्टीले दीर्घकालसम्म संरक्षण गर्ने उनको भनाइ छ । अधिवक्तासमेत रहेकी उनले नेपालको संघीय संसदको प्रतिनिधि सभामा उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरिसकेकी छिन् । प्रवक्ता चालिसे १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार थिए । विशेष महाधिवेशनपछि भने चालिसेलाई सभापति गगनकुमार थापाले प्रवक्ताको जिम्मेवारी दिएका हुन् । उक्त जिम्मेवारी सम्हालेका उनी अब भने उपसभापतिका आकांक्षी हुन् ।  ‘मैले उपसभापतिमा उम्मेदवारी दिने हो,’ उनले भने, ‘प्रवक्ता भइसकेपछि उपसभापति हुने मेरो चाहना छ । महाधिवेशन प्रतिनिधिहरूले मेरो चाहना पूरा गरिदिनुहुनेछ भने मेरो विश्वास छ,’ विकासन्युजसँग उनले भने ।  गत वर्षको पुसमा भएको विशेष महाधिवेशनयता तटस्थ बसेका डा.रिजालले पनि उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । १५औं महाधिवेशनका लागि भएको एकताको अन्तिम प्रयासमा मात्रै सभापति गगनकुमार थापा पक्षमा समाहित भएका हुन् ।  यसअघिका महाधिवेशनमा भने उनी डा. शेखर कोइराला निकट प्रभावशाली नेता हुन् ।  १४ औं महाधिवेशनमा उनी महामन्त्री पदमा पराजित भएका थिए । उक्त समयमा मन्त्रिपरिषद्को बलियो मानिने रक्षामन्त्री पदबाट राजीनामा समेत दिएका थिए । त्यसमा उनले नैतिकता प्रदर्शन गरेको बताउँदै आएका छन् ।  यस्तै, केन्द्रीय कार्यसम्पादन समिति सदस्य मधु आचार्यले पनि  उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता थप सुदृढ गर्ने उद्देश्यसहित आफूले उपसभापतिमा उम्मेदवारी दिएको आचार्यको दावी छ ।  विशेष महाधिवेशनको तयारीका क्रममा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलनमा पनि उनले सक्रिय भूमिका निर्वाह  गरेका थिए ।  आचार्य उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुखसमेत हुन् । पार्टीको काभ्रे सभापतिसमेत रहेका आचार्यले पार्टी रूपान्तरणको एजेन्डासहित मेची–महाकाली अभियान सञ्चालन गरेका थिए । ‘साध्य–समृद्ध मुलुक, खुसी नेपाली’ र ‘साधन–समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’ को लक्ष्यसहित अर्का  केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो उम्मेदवारीलाई समयअनुकूल विचार, संगठनको रूपान्तरण र मुलुकको समृद्धिसँग जोडेर अघि बढाउने बताएका छन् । भण्डारी १४औं महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार भएका थिए । त्यसैगरी, उद्यमी विनोद चौधरीले पनि उपसभापति पदमा उम्मेदवारी दिएका छन् । उनले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।  कांग्रेसले सोमबार बन्दसत्रबाट पारित गरेको विधानअनुरुप उपसभापतिमा पदाधिकारीको संख्या बढाएर एक वरिष्ठ उपसभापतिसहित ४ पुर्याएको छ । वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहनेछन् ।  चार उपसभापतिमा एक महिला अनिवार्य गरिएको छ । उपसभापतिको दुई पदमा खुला तर्फबाट प्रतिस्पर्धा हुनेछ ।  मंगलबारबाट सुरु भएको मनोनयन दर्ता अपराह्न चार बजेसम्म हुनेछ ।  उम्मेदवारीका लागि जसका लागि सात हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ कार्यसमिति चयन गर्नेछन् । 

जगदम्बा मोटर्सलाई टिभिएस मोटरका दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले दुई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । दुबईमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा विभिन्न देशका टिभिएसका अन्तर्राष्ट्रिय वितरक सहभागी थिए । जगदम्बा मोटर्सले ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ । दुबईको पाम जुमेराहस्थित ताज रिसोर्टमा सम्पन्न सम्मेलनमा टिभिएस मोटरले यी सम्मान प्रदान गरेको हो । कम्पनीका अनुसार ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड विशेष महत्त्वपूर्ण छ । यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवाको स्तरलाई सम्मान गरेको हो । कम्पनीले नेपाली टिभिएस प्रयोगकर्ताले नेपालमै विश्वस्तरीय सेवा पाउने प्रमाणका रूपमा यो सम्मानलाई लिएको छ । जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले सम्मानलाई ग्राहकको विश्वास र सेवा टोलीको मेहनतको उपलब्धि भएको बताइन् । उनले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको प्रमाणका रूपमा अवार्डलाई लिन सकिने बताइन् । टिभिएसका ग्राहकले आफू उत्कृष्ट सेवाको पहुँचमा रहेकोमा विश्वस्त हुन सक्ने उनको भनाइ छ । जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । शंकर ग्रुप गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धका लागि परिचित रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सले दक्ष प्राविधिक, वास्तविक स्पेयर पार्ट्स, पारदर्शी सेवा र देशभरको सर्भिस नेटवर्कमार्फत ग्राहक सेवा निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।