विकासन्युज

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभागृहमा वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि  उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  कांग्रेसको १५औं महाधिवेशनको दोस्रो दिन सोमबार बसेको बन्दसत्रबाट संसोधित विधानअनुरुप पहिलोपटक वरिष्ठ उपसभापतिका पद सिर्जना गरिएको हो ।   शर्मा गत पुस २७ गतेदेखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट पहिलोपटक उपसभापति निर्वाचित भएका थिए । १४औं महाधिवेशनमा भने उनी निर्वाचित महामन्त्री थिए । शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय सदस्यमा थापाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सौगात थापाले उम्मेदवारी दिएका छन् । मंगलबार दिउँसो उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् । थापाले ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । थापा कास्की–२ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् । थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचित समेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् । थापा पोखरा महानगरपालिकाको नेवीसंघको सभापति भइसकेका छन् । उनी क्षेत्रीय प्रतिनिधि २ पटक भइसकेका छन् । १४ औं महाधिवेशनमा पनि विजयी भएका थिए । १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भए ।  पोखरा उद्योग वाणिज्य संघमा २ पटक सदस्य  भइसकेका छन् ।

खुट्टाजोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया अब नेपालमै

काठमाडौं । खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब ठूलो चीरा फाटेर शल्यक्रिया गराउनुपर्ने बाध्यता अन्त्य भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले अत्याधुनिक ‘मिनिमली इन्भेसिभ सर्जरी’ प्रविधिमार्फत खुट्टा तथा एंकलका जटिल शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फुट एन्ड एंकल सर्जन डा. दमन कुमार झाको नेतृत्वमा यो आधुनिक सेवा सञ्चालनमा ल्याइएको हो ।  सेवा विस्तारकै क्रममा डा. झाले नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक ‘एमआईएस ह्यालक्स भल्गस’ (खुट्टाको बूढीऔँलाको हड्डी बाङ्गो हुने समस्या) को सफल शल्यक्रिया समेत गरिसकेका छन् । परम्परागत शल्यक्रियामा ठूलो भाग काटेर उपचार गर्नुपर्ने हुन्थ्यो भने एमआईएस प्रविधिमा विशेष खालका आधुनिक उपकरणहरूको प्रयोग गरिन्छ । यस प्रविधिमा साना प्वाल वा अति साना चीरामार्फत शल्यक्रिया सम्पन्न गरिन्छ । बिरामीको अवस्था र समस्याको प्रकृति अनुसार यो प्रविधि खुट्टाको बूढीऔँलाको हड्डी सोझ्याउन मात्र नभई खुट्टाको बनोट सम्बन्धी अन्य समस्या सुधार गर्न र जटिल पुनर्निर्माणका लागि समेत प्रयोग गर्न सकिन्छ । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी चुनावी सरगर्मीका बीच डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार काठमाडौंको खुलामञ्चमा उनले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरेका हुन् । आइतबारबाट सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ । उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले कांग्रेसलाई थप गतिशीलता प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए ।

दादुरा संक्रमण बढेपछि न्युयोर्कमा आपत्काल घोषणा

काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ । न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपत्काल घोषणा गरेका छन् । यस वर्ष न्युयोर्क राज्यमा अहिलेसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ । तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । न्युयोर्क सहरमा पनि ७ जनामा दादुरा पुष्टि भएको छ । छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म ३९ जिल्लामा १ हजार ४ जनामा दादुरा पुष्टि भएको छ । दादुरासँग सम्बन्धित ५ जनाको मृत्यु भएको जनाइएको छ । न्युयोर्क सरकारले दादुराविरुद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाएको छ । साथै, नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । घोषणा गरिएको आपत्काल नोभेम्बर ४ सम्म लागू हुने बताइएको छ । अमेरिकामा अक्टोबर १ सम्म यस वर्ष ३ हजार ८८७ जनामा दादुरा पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूले दादुराबाट सुरक्षित रहन दुई मात्रा दादुरा, गलगण्ड र रुबेलाविरुद्धको खोप लगाउन सुझाव दिए । अमेरिकाका विद्यालय जाने बालबालिकामा खोप लगाउने दर पछिल्ला वर्षमा घटेको छ । सन् २०२५–२६ को शैक्षिक वर्षमा खोप लगाउने दर ९२.४ प्रतिशत रहेको छ । स्वास्थ्य अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकाले खोप लगाउनुपर्ने लक्ष्य राखेका छन् । 

एकै दिन विपद्का १७ घटना, तीन जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विभिन्न विपद्का १७ वटा घटना भएका छन् । ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।  विपद्का घटनाबाट करिब ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार असोज १९ गते बिहान १० बजेदेखि असोज २० गते बिहान १० बजेसम्म उक्त घटना भएका हुन् । प्राधिकरणका अनुसार डडेल्धुरामा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१२ की १७ वर्षीया बालिकाको सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, बागलुङको निसीखोला गाउँपालिका–३ मा बाटो स्तरोन्नतिको क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी सहायक ठेकेदार र एक मजदुरको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा गरी सर्पदंशका पाँच वटा घटना भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा भने जन्मदिन मनाइरहेको स्थान नजिकै चट्याङ पर्दा सात जना घाइते भएका छन् । घाइते हुनेमा एक बालक, तीन बालिका र तीन महिला रहेका छन् । यस्तै, भक्तपुर, चितवन र लमजुङमा तीन वटा आगलागीका घटना भएका छन् । भक्तपुरमा भएको आगलागीबाट मात्रै करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । पहिरोका कारण सल्यान र प्युठानमा सडकसमेत अवरुद्ध भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित राप्ती राजमार्ग र प्युठानको बहाने–बाग्दुला सडकखण्डमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।

सेयर बजारमा १६९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार ३५९ कम्पनीको ८९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   साथै लिबर्टी इनर्जीको १३ करोड, हिमाल दोलखाको ९ करोड र लक्ष्मी सनराइजको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   आज सेयर बजारका अधिकांश उपसूचक बढेका छन् । ट्रेडिङ उपसूचक सबैभन्दा धेरै ०.८२ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक ०.६५ प्रतिशतले बढेर १,४९३.४३ अंकमा पुगेको छ । विकास बैंक ०.५५ प्रतिशतले बढेर ५,३३९.४४ अंकमा पुगेको छ । हाइड्रोपावर उपसूचक ०.६२ प्रतिशतले बढेर ३,५११.४१ अंकमा पुगेको छ । होटल तथा पर्यटन ०.५३ प्रतिशतले बढेर ६,९४०.७७ अंकमा पुगेको छ । जीवन बीमा उपसूचक ०.३५ प्रतिशतले बढेर ११,६०३.२५ अंकमा पुगेको छ । उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशत र लगानी उपसूचक ०.४३ प्रतिशतले बढेको छ । यस्तै, अन्य उपसूचक ०.३९ प्रतिशत र वित्त उपसूचक ०.१५ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड ०.२० प्रतिशतले बढेको छ । लघुवित्त उपसूचक भने सामान्य घटेको छ । यो ०.१७ अंकले घटेर ४,४४६.८३ अंकमा कायम भएको छ। गैरजीवन बीमा उपसूचक पनि ०.०६ प्रतिशतले घटेर ९,४०६.२८ अंकमा झरेको छ ।  

हिम पर्वत हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले असोज २० गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सिटिजन्स क्यापिटलका अनुसार पछिल्ला केही महिनायता प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाउनेमध्ये यो पहिलो निष्कासन हो, जसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । अनुमति पाएसँगै हिम पर्वत हाइड्रोपावरले विभिन्न समूहका लागि सेयर निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीका लागि सेयर निष्कासन गर्नेछ । त्यसपछि सर्वसाधारणका लागि समेत आईपीओ जारी गरिनेछ ।