विकासन्युज

अस्पताल र पीडित पक्षबीच सहमति

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको घटनामा अस्पताल र पीडित पक्षबीच सहमति भएको छ । धादिङको गजुरी गाउँपालिका–८ की ३२ वर्षीया रविना तामाङको मृत्युको विषयमा परिवार र अस्पतालबीच छलफल भएपछि सहमति जुटेको अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले जानकारी दिए ।  सहमतिपछि परिवारले रविनाको शव बुझेर लगिसकेको उनले बताए । अस्पतालले भने रविनाको मृत्युमा चिकित्सकीय लापरवाही नभएको दाबी गरेको छ ।  निर्देशक अधिकारीका अनुसार शल्यक्रियामार्फत बच्चा जन्माएको करिब १८ घण्टापछि बेडबाट उठाएर ह्विलचेयरमा राख्ने क्रममा रविना अचानक बेहोस भएकी थिइन् ।  तत्काल उपचारको प्रयास गरिए पनि उनको मृत्यु भएको अस्पतालको भनाइ छ । पीडित परिवार । मृतकका आफन्तले भने ह्विलचेयरमा राख्ने क्रममा अर्को ह्विलचेयरसँग ठोक्किँदा रविनालाई चोट लागेको र त्यसपछि उनको अवस्था बिग्रिएको आरोप लगाएका थिए ।  अस्पतालले भने ह्विलचेयर ठोक्किनुलाई मृत्युको कारण मान्न नसकिने जनाएको छ । ‘डाक्टरको गल्ती देखिएको छैन । ह्विलचेयर ठोक्किएको विषयलाई मृत्युको कारण भनिएको छ, तर त्यसरी ठोक्किँदैमा आधा घण्टा वा एक घण्टाभित्रै मृत्यु हुने होइन,’ निर्देशक अधिकारीले भने । अधिकारीका अनुसार शल्यक्रियाको भोलिपल्टसम्म रविना पानी तथा चिया सेवन गर्दै सामान्य अवस्थामा थिइन् ।  उनको रक्तचापसमेत सामान्य रहेको अस्पतालले जनाएको छ । बेहोस हुने क्रममा एकपटक रक्तचाप बढे पनि त्यसपछि सामान्य अवस्थामा आएको अधिकारीले बताए । उनका अनुसार बिरामीको अवस्था हेर्दा एम्बोलिजम, हृदयघात वा ब्रेन हेमोरेजमध्ये कुनै कारणले मृत्यु भएको हुन सक्ने चिकित्सकहरूको आशंका थियो ।  यकिन कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अस्पतालले आग्रह गरे पनि परिवारले नमानेको अधिकारीले बताए । ‘बिरामी सामान्य अवस्थामा हुनुहुन्थ्यो । उठ्ने क्रममा अचानक बेहोस हुनुभयो । यस्तो अवस्थामा एम्बोलिजम, हार्ट अट्याक वा ब्रेन हेमोरेजमध्ये कुनै कारण हुन सक्छ,’ अधिकारीले भने, ‘त्यसैले पोस्टमार्टम गरौं भनेका थियौं, तर परिवारले मानेन ।’ ब्रेन हेमोरेज भएको अवस्थामा अचानक रक्तचाप बढ्न सक्ने भएकाले चिकित्सकहरूले त्यसतर्फ पनि आशंका गरेको उनको भनाइ छ । अस्पतालका अनुसार रविनाको शल्यक्रिया वरिष्ठ चिकित्सकबाट गरिएको थियो । उपचार प्रक्रियामा चिकित्सकीय त्रुटि नभएको निर्देशक अधिकारीको दाबी छ । घटनापछि क्षतिपूर्तिको विषयसमेत उठेको थियो । तर सरकारी अस्पताल भएकाले अस्पतालले क्षतिपूर्ति दिन नसक्ने र उपचारका क्रममा आवश्यक सहजीकरण तथा सहयोग गर्न सक्ने परिवारलाई जानकारी गराइएको अधिकारीले बताए । अधिकारीका अनुसार मृतककी आमाको पनि बच्चा जन्माउने क्रममा यस्तै प्रकृतिको मृत्यु भएको पारिवारिक इतिहासबारे अस्पताललाई जानकारी भएको थियो ।  यसले पनि रविनाको मृत्युको सम्भावित कारणबारे थप चिकित्सकीय आशंका उत्पन्न गरेको उनले बताए ।  

नेपाली कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी

काठमाडौंं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र देशको समुन्नतिका लागि पक्षमा दृढ रहेको बताएका छन् । काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिँदै केन्द्रीय सदस्य शाहीले पिछडिएको क्षेत्र र कर्णाली प्रदेशको सशक्त बनाउने बताएका हुन् । नेता शाहीले प्रभावकारी प्रतिनिधित्वका लागि पार्टीको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दिएको स्पष्ट पारे । शाहीले कर्णालीको भूगोल, उत्पीडित, दलित, जनजाति तथा पिछडिएको क्षेत्रका जनताको आवाजलाई पार्टीको नीति निर्माण तह र केन्द्रीय पदाधिकारी तहसम्म पु¥याउनका लागि आफूले उम्मेदवारी दिएको बताए । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले कर्णालीको समग्र विकास र त्यहाँका जनताको जीवनस्तर उकास्नु नै आफ्नो मुख्य राजनीतिक एजेण्डा रहेको उल्लेख गरे । ‘विकासबिना कुनै पनि भूगोलको समृद्धि सम्भव छैन र विकास अभावमा जनताको मनोबल पनि उच्च हुन सक्दैन । भौगोलिक रूपमा पछि पारिएको कर्णालीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन र समावेशीकरणलाई व्यवहारमा उतार्न पदाधिकारी तहमा कर्णालीको प्रतिनिधित्व अत्यावश्यक छ,’ शाहीले भने । यसअघि पनि ११औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म लगातार केन्द्रीय सदस्यमा निर्वाचित भइ सहमहामन्त्रीमा समेत प्रतिस्पर्धा गरिसकेको प्रसंग उल्लेख गर्दै नेता शाहीले कर्णालीको पीडा र भूगोलको अवस्था बुझेको नेतृत्वले मात्रै यस क्षेत्रको सही प्रतिनिधित्व गर्न सक्ने दावी गरे । शाहीले अनुभव र युवा जोशको समिश्रणपार्टीभित्र चलिरहेको युवा नेतृत्वको बहस र पुस्तान्तरणका विषयमा टिप्पणी गर्दै राजनीति र पेसागत दक्षता फरक कुरा भएको बताए । शाहीले पार्टी र देश सञ्चालनका लागि अनुभवी पुराना नेताहरूको मार्गदर्शन र युवाको नयाँ विचार तथा उत्साहको समीश्रण हुनुपर्नेमा जोड दिए । ‘एउटा परिवारमा बाजे, बुबा र छोराको जुन सम्बन्ध र सहकार्य हुन्छ, राजनीतिमा पनि त्यस्तै अन्तरपुस्ता समन्वय आवश्यक छ, केवल युवा वा केवल पाका नेताहरूले मात्रै सिङ्गो देश वा पार्टी चलाउन सक्दैनन्, त्यसैले अनुभव र नवीनताको सन्तुलन हुनुपर्छ,’ उनले भने । नेता शाहीले पार्टीले ३५ वर्षमुनिका युवालाई खुला तथा आरक्षण कोटाबाट अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गरेको र ती युवालाई अग्रजहरूले राजनीति र मुलुकको रणनीतिबारे प्रशिक्षित र मार्गदर्शन गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । उनले महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउनेविगतका चुनाव तथा आन्तरिक अभ्यासमा केही उतारचढाव आए पनि यो महाधिवेशनले नेपाली कांग्रेसलाई एकीकृत र थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले संगठनभित्रका असन्तुष्ट पक्ष र बाहिरिएका साथीहरूलाई समेटेर अगाडि बढ्न नेतृत्व तहबाट पहल भइरहेको जानकारी दिए । ‘सबैलाई मिलाएर लैजाने वातावरण निर्माण भइरहेको छ । यो महाधिवेशन एकताको महाधिवेशन बन्नेछ र यसले पार्टीलाई नयाँ ऊर्जाका साथ एकढिक्का बनाएर अगाडि बढाउनेछ,’ नेता शाहीले भने । 

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको प्रदर्शन

काठमाडौं । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो । पल्सर एन१६० मार्फत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको आकर्षण थप बढाएको थियो । कार्यक्रममा स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिता रहेको थियो । स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुतिले पनि सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो । त्यस्तै, पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोन राखिएको थियो । यसमार्फत सहभागीले मोटरसाइकललाई नजिकबाट हेर्नुका साथै टेस्ट राइडको अनुभव लिन पाएका थिए । कफी, खानाका परिकार तथा गिफ्ट पप–अप स्टलले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएको थियो । पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा तथा युवा समुदायलाई आफ्नो सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो । काठमाडौंमा सुरु भएको पल्सर आरपीएमको यात्रा बुटवलसम्म विस्तार हुँदै स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग जोडिएको कम्पनीले जनाएको छ । कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा सहभागी सबैलाई बजाज पल्सरले धन्यवाद दिएको छ । कम्पनीका अनुसार बुटवलसम्म आइपुगेको पल्सर आरपीएमको यात्रा अब नयाँ सहर र नयाँ समुदायसँग जोडिँदै अघि बढ्नेछ । 

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा बाइ वान गेट वानसहित विशेष छुट

काठमाडौं । एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट तथा ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारीअन्तर्गत ग्राहकका लागि यस्तो योजना सार्वजनिक गरिएको हो । रु ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन् । अर्थात्, दुई जनाले एक जनाको मूल्यमा यी सेवा लिन सक्नेछन् । त्यस्तै, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् । यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले पनि विशेष छुट पाउनेछन् । युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत एकमुस्ट छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउनेछन् । साझेदारीसम्बन्धी सम्झौता एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हालै एक कार्यक्रमबीच आदानप्रदान गरेका थिए । अफरको लाभ लिन ग्राहकले एनसेल एप खोलेर ‘पार्टनर्ड सर्भिसहरू’ मा गई ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा लाभ रिडिम गर्न सक्नेछन् । एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा निर्धारण हुनेछ । योग्य नभएका ग्राहकले सम्बन्धित योग्य प्याक वा योजना खरिद गरी सुविधा लिन सक्नेछन् । एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले साझेदारीले ग्राहकलाई कनेक्टिभिटीबाहेक अन्य क्षेत्रमा पनि थप मूल्य र सुविधा प्रदान गर्ने बताए । उनका अनुसार वेलनेस अनुभवलाई एनसेलको इकोसिस्टममा जोडेर ग्राहकका लागि थप सान्दर्भिक र पहुँचयोग्य लाभ उपलब्ध गराउने लक्ष्य राखिएको छ । एनसेलले आफ्नो बढ्दो पार्टनर इकोसिस्टममार्फत ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्ने निरन्तर प्रयासअन्तर्गत यो सहकार्य गरिएको जनाएको छ ।

चिरीबाबुले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा उनले खुलातर्फ कांग्रेस केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । उनले मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गरे । कांग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको उनको भनाइ छ । उनले भने, ‘नेपाली कांग्रेस भनेको नेपालको लार्जेस्ट डेमोक्रेटिक पार्टी हो । प्रजातान्त्रिक पार्टीभित्र कम्पिटिसन हुनु भनेको सामान्य कुरा हो । यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन । तर लेखिराख्नुस्, गगनकुमार थापा धेरै भोट ल्याएर उहाँ जित्नुहुन्छ ।’ ललितपुर महानगरपालिकाको दुई पटक मेयर भइसकेका महर्जन अब पार्टी राजनीतिमा सक्रिय हुने तयारीमा लागेका हुन् । संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगातार दुई पटकभन्दा बढी हुन बन्देज लगाएको छ ।

ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो । रेग्मी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए । सन् २००९ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन् । रेग्मीले बैंकमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) र ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन् । रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । 

सहमहामन्त्रीमा डिल्लीराम सुवेदीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डिल्लीराम सुवेदीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबारदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रियाअन्तर्गत सुवेदीले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिएका हुन् । सुवेदी कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् । पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले यसपटक केन्द्रीय पदाधिकारीतर्फ सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । १५औँ महाधिवेशनबाट कांग्रेसले सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ । उम्मेदवारी दर्तासँगै विभिन्न पदमा नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । 

उपत्यकासहित देशभर असिना र वर्षा, मौसमविद् भन्छन् : शनिबारसम्मै रहन्छ

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने क्रममा रहे पनि नेपालका विभिन्न पहाडी तथा हिमाली भूभागहरूमा मौसम पूर्ण रूपमा सफा भइसकेको छैन ।   काठमाडौं उपत्यकासहित काभ्रे, धादिङ, नुवाकोट, बागमती र कर्णाली प्रदेशका दैलेख, सुर्खेत, अछाम, कालिकोट तथा जाजरकोट लगायतका जिल्लाहरूमा हाल मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको महाशाखाका मौसमविद् सुदर्शन अधिकारीले विकासन्युजसँग बताए ।   अधिकारीका अनुसार पहाडी भूभाग र पश्चिमी तराईका क्षेत्रहरूमा आगामी तीनरचार दिनसम्म ९शनिबारसम्म० वर्षाको असर अझै कायम रहने सम्भावना छ । तर, निरन्तर झरी पर्नुको सट्टा दिउँसो र साँझपख केही समय छोटो तर ठूलो पानी पर्ने अनुमान गरिएको छ ।   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यका तथा अन्य मुख्य शहरहरूबाट घर फर्कने यात्रुहरूकोचाप बढ्दै गएकाले मौसमविद् अधिकारीले सम्भावित हवाहुरी, चट्याङ्ग र असिनापानीबाट जोगिन पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन् । आगामी तीनरचार दिनपछि मात्रै मौसममा क्रमिक सुधार आउने महाशाखाको अनुमान छ ।