विकासन्युज

यस वर्षको बडादशैं टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैं शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते मंगलबार परेको छ ।  सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११ः४७ बजे रहेको छ ।  फूलपाती असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे र महानवमी कात्तिक ३ गते मंगलबार परेको छ । विजया दशमीका दिन टीका लगाउँदा पश्चिम मोहडा गरेर टीका लगाइमाग्नेले पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ ।

राहुल गान्धीसहितका विपक्षी दलका नेतालाई किन हिरासतमा लिइयो ?

काठमाडौं । भारतका लोकसभा विपक्षी दलका नेता राहुल गान्धीसहित विपक्षी दलका नेताहरूलाई मंगलबार दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।  निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्दै आयोगको कार्यालयतर्फ अघि बढ्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनका सांसद तथा नेताहरू संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ मार्च गर्दै थिए । उनीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा, मतदाता नामावलीको ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ (एसआईआर) प्रक्रिया खारेज गर्नुपर्ने तथा निर्वाचन प्रक्रियामा थप सुधार गर्नुपर्ने माग राखेका थिए । प्रहरीले निर्वाचन आयोगको कार्यालयतर्फ जाने बाटोमा ब्यारेकेड राखेर प्रदर्शनकारीलाई रोकेको थियो । त्यस क्रममा विपक्षी सांसदहरूले सडकमा धर्ना दिएका थिए ।  राहुल गान्धी ब्यारेकेडमाथि चढेर राष्ट्रिय झन्डा फहराउँदै देखिएका थिए । त्यसपछि प्रहरीले उनलाई र अन्य विपक्षी नेताहरूलाई नियन्त्रणमा लिएर बसमा राखी विभिन्न प्रहरी कार्यालयतर्फ लगेको थियो । राहुल गान्धी र विपक्षी दलहरूले मतदाता नामावली संशोधनका क्रममा अनियमितता भएको आरोप लगाउँदै आएका छन् । उनीहरूले यस्तो प्रक्रियाले मतदाताको अधिकार प्रभावित पार्न सक्ने दाबी गरेका छन् ।  निर्वाचन आयोग र भारतीय जनता पार्टी (भाजपा) भने विपक्षीहरूको आरोप अस्वीकार गर्दै आएका छन् । आयोगले एसआईआरसम्बन्धी निर्णयहरू सर्वसम्मत रूपमा भएको बताएको छ । विपक्षी नेताहरूले मुख्य निर्वाचन आयुक्तसँग भेटेर आफ्ना माग राख्न खोजेको बताएका थिए । तर निर्वाचन आयोगले भने प्रमुख निर्वाचन आयुक्त वा अन्य निर्वाचन आयुक्तसँग भेटका लागि विपक्षी पक्षबाट औपचारिक अनुरोध प्राप्त नभएको जनाएको छ । प्रहरीका अनुसार प्रदर्शनकारीहरू ब्यारेकेड पार गरेर निर्वाचन आयोगतर्फ अघि बढ्न खोजेपछि उनीहरूलाई हिरासतमा लिइएको हो । घटनामा राहुल गान्धीसँगै उनकी बहिनी तथा कांग्रेस सांसद प्रियंका गान्धी वाड्रा, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, तृणमूल कांग्रेसका नेता डेरेक ओब्रायनलगायत विपक्षी नेताहरू पनि हिरासतमा परेका थिए । राहुल गान्धीसहित हिरासतमा लिइएका विपक्षी नेताहरूलाई पछि प्रहरीले रिहा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना भारतमा मतदाता नामावली संशोधन र निर्वाचन आयोगको भूमिकालाई लिएर विपक्षी दलहरूले गरिरहेको आन्दोलनकै क्रममा भएको हो ।

प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि मंगलबार उक्त आदेश जारी भएको हो ।  शेरचनमाथि सञ्चालक समितिको स्वीकृतिविना गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको र विप्रेषणबापतको ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज बैंकलाई प्राप्त नभएको आरोप छ ।  बयानका क्रममा शेरचन स्वयंले पछि अनुमोदन गराउने गरी पूर्वस्वीकृतिबिनै ऋण प्रवाह गरेको स्वीकारेका छन् । कुल २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गरी दायर गरिएको उक्त मुद्दा बैंकले नै सीआईबीमा पठाएको पत्रका आधारमा अघि बढेको हो । 

विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।  उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए ।  त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । यस्तै, उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ ।  उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो । यसअघि उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन् । 

अन्तरिक्षका रहस्य खोल्ने वैज्ञानिक हेल्जेनलाई भौतिकशास्त्रको नोबेल

काठमाडौं । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई प्रदान गर्ने घोषणा गरेको छ । आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पु‍र्याएको तथा खगोलीय स्रोतबाट आउने उच्च ऊर्जाका न्युट्रिनो पत्ता लगाएको योगदानको सम्मानस्वरूप हेल्जेनलाई यो पुरस्कार प्रदान गरिएको हो । नोबेल समितिका अध्यक्ष मार्क पियर्सले फ्रान्सिस हेल्जेनको प्रशंसा गर्दै उनले अनुसन्धानकर्ता तथा इन्जिनियरहरूको अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरेको बताए ।  उक्त टोलीले वैज्ञानिकहरूलाई अत्याधुनिक वैज्ञानिक उपकरण उपलब्ध गराएको उनले जानकारी दिए । पियर्सका अनुसार हेल्जेनको दृढता र वैज्ञानिक दृष्टिकोणले खगोल विज्ञानको नयाँ युगको आधार तयार गरेको छ ।

स्काइवाकमा पोखरा फाइनान्सका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाकको टिकट खरिदमा १५ प्रतिशत छुट पाउने भएका छन् । पोखरा फाइनान्स र वन्डर्स नेपाल प्रालिअन्तर्गत सञ्चालित स्काइवाकबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता भएपछि फाइनान्सका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  ग्राहकलाई थप सुविधा र लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको सहकार्यबाट ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने फाइनान्सले जनाएको छ । पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ तथा सीआईएसलगायतका सेवा दिँदै आएको छ ।  फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।  

पर्यटन बोर्डले दशैंमा देशभर लिंगे पिङ निर्माण गर्ने

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिंगे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो । बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको छ । सम्झौताअनुसार विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण गरी दशैंको अवधिभर सञ्चालन गरिनेछ । विशेषगरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा लिंगे पिङ राखिने व्यवस्था गरिएको हो । नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा संस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने उल्लेख छ । दशैंको कार्यक्रम सम्पन्न भएपछि पिङ हटाई निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ । नेपाल पर्यटन बोर्डले नेपालीहरूको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले दशैंमा लिंगे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाएको जनाएको छ ।

कांग्रेस महाधिवेशनमा भरतराज ढकालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  युवा उद्यमी तथा सफल बैंकर्स ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार (आज) उम्मेदवारी दर्ता गराएका हुन् । उनी नेपाली कांग्रेसको १५ औं अधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ बाट १००९ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । बैंक तथा वित्तीय क्षेत्रमा लामो समय बिताएका ढकाल मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।  उनी डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष र मुक्तिनाथ कृषि कम्पनीको प्रबन्ध सञ्चालक तथा अध्यक्ष पनि हुन् । ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आएका विज्ञको रूपमा परिचित रहेका छन् ।