काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै आगामी असोज २३ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवाला निकायहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
अग्रिम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनलाई जुनसुकै रुटमा सञ्चालन हुन पाउने गरी रुट परमिट छुट दिने व्यवस्था समेत गरिएको छ । यस निर्णयले चाडपर्वमा घर फर्किन टिकट बुकिङ नखुलेर अन्योलमा परेका सर्वसाधारण तथा यात्रुहरूलाई ठूलो राहत पु¥याएको छ ।
यसैगरी, चाडपर्वका बेला काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने मुख्य सडकहरूमा हुन सक्ने सवारी जामलाई नियन्त्रण र व्यवस्थापन गर्न विशेष निर्णय गरिएको छ ।
जसअनुसार अत्यावश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं आवतजावतमा रोक लगाइने भएको छ । तर खाद्यान्न, औषधि, इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीहरूलाई भने यो प्रतिबन्ध लागू नहुने र निर्बाध रूपमा सञ्चालन हुन दिइने जनाइएको छ ।