लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार रुपैयाँ बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु
तुलसीपुर । दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ’, उनले भने, ‘अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।’ हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ । घोराही क्षेत्रमा एक करोड ४२ लाख ५५ हजार रुपैयाँ र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का लगाइएको हो । घोराही–तुलसीपुर चार लेन सडक मर्मतका लागि तीन करोड बजेट विनियोजन गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो । यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो । ठेक्का तोडिएसँगै तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताए । ‘चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो’,उनले भने । असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए । सडक मर्मत सुरु भएपछि यात्रु भने खुसी भएका छन् । ‘सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ’, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने,’पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो ।’ रासस
सरकारकाे ऋण दायित्व २२ खर्ब, एक नेपाली बराबर ७६ हजार ऋण
काठमाडौं । देशको ऋणको दायित्व बढ्दै गएपछि नेपालीको थाप्लोमा ऋणको भार बढी भएको छ । सरकारकाे दायित्वमा २२ खर्ब भन्दा बढी ऋण हुँदा एक जना नेपालीकाे भागमा ७६ हजार रुपैयाँभन्दा बढी ऋणको भार पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार गत असार मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार १७६ रुपैयाँ बराबर पर्न जान्छ । नेपालको २२ खर्ब २१ अर्ब रुपैयाँ सार्वजनिक ऋणलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जनालाई बराबरी भाग लगाउँदा प्रतिव्यक्ति ७३ हजार १७६ रुपैयाँ पर्छ । एक वर्षमा २ खर्बले बढ्यो ऋण आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सार्वजनिक ऋण २ खर्ब रुपैयाँभन्दा बढीले थपिएको छ । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्म सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुगेको हो । २०७९ को असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ हाराहारिमा थियो । तर एक वर्षको अबधिमा सार्वजनिक ऋण २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँले बढेको हो । यस हिसाबले एक वर्षमै एक जना नेपालीकाे भागमा ७ हजार १४४ रुपैयाँ बराबर ऋणभार थपिएकाे छ । कार्यालयको तथ्यांक अनुसार हाल ११ खर्ब २८ अर्ब ३२ करोड आन्तरिक ऋण र १० खर्ब ९३ अर्ब ३४ करोड वैदेशिक ऋण पुगेको छ । गत आर्थिक वर्ष सरकारलले ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ बराबरको ऋण लिएकोमा १ खर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ बराबर साँवा भुक्तानी समेत गरेको तथ्यांकमा उल्लेख छ । जसमा १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋणको सावाँ र ३४ अर्ब ६१ करोड वैदेशिक ऋणको सावाँ भुक्तानी गरिएको हो ।
आईएमई लाइफद्वारा कार्यालयका प्रमुखका लागि लगानी निवारण सम्बन्धि तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना नेपाल भरका क्षेत्रिय/शाखा/उप शाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । तालिम साउन ६ गते भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दिईएको थियो । कम्पनीका करिब १३० जना कर्मचारीहरुलाई नेपाल बीमा प्राधिकरणका उप—निर्देशक हृदयश्वर पण्डितले तालिम प्रदान गरेका थिए । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण बिभागिय प्रमुखको समेत उक्त तालिममा सहभागी थियो ।
लगातार दोस्रो पटक सिद्धार्थ बैंक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित
काठमाडौं । सिद्धार्थ बैंक बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो । सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो । उक्त अवार्ड शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका थिए । यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडरेसन अफ एकाउन्टेस् द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), १२३ शाखारहित बैंकिङ्ग सेवा र २२० एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ ।
ओझेलमा ‘सेतो सुन’, रबर खेती लगाउँदा प्रति बिघा ४ लाख मुनाफा
झापा । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो तुल्याउने सामथ्र्य बोकेको रबर खेती झापामा २०४७ सालमा सुरु भएको थियो । विसं २०४१ मा सरकारले गोरखामा गोरखकाली रबर उद्योग स्थापना गरेपछि त्यसको कच्चा पदार्थमा आत्मनिर्भर हुनका लागि झापामा रबर खेतीको थालनी भएको थियो । तर, गोरखकाली रबर उद्योगलाई राज्यले व्यवस्थित ढङ्गले सञ्चालन गर्न नसक्दा उद्योग मात्र बन्द भएन, मुलुककै अर्थतन्त्रलाई कायापलट गर्नसक्ने रबर खेतीको विस्तार अपेक्षित गतिमा हुन सकेन । धेरैले रबर भन्ने बित्तिकै टायर र ट्युबमा प्रयोग हुने लचिलो वस्तु मात्र सम्झन्छन् । तर, हवाइजहाजको टायरदेखि परिवार नियोजनको साधन कन्डमसम्ममा रबरको प्रयोग भएको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । विश्वमा रबरको प्रमुख स्रोत पेट्रोलियम पदार्थ हो । रबरको अर्को स्रोत प्राकृतिक रबर हो । वृक्षबाट उत्पादन हुने भएकाले यसलाई प्राकृतिक रबर भनिएको हो । रबर रुखमा फल्छ भन्दा आश्चर्य लाग्न सक्छ । रोपिएको बिरुवाले पाँच वर्षपछि लहिनो गाई झैं चोप (दूध जस्तै सेतो तरल पदार्थ) दिन थाल्छ । चालीस वर्षसम्म यसको उत्पादकत्व उर्वर नै हुने विज्ञहरु बताउँछन् । रबरको रुखबाट निस्कने दूध जस्तो बाक्लो चोपलाई ‘लेटेक्स’ भनिन्छ । प्रत्येक रुखको फेदमा बोक्रा चिरेर (ट्यापिङ) बटुकामा चोप सङ्कलन गरिन्छ । चोपलाई फर्मिक एसिड मिसाएर रासायनिक प्रक्रियाले दही जस्तो जमाइन्छ र रोलर मेसिनमा हालेर रबरको रोटी (सिट) बनाइन्छ । ‘स्मोक हाउस’मा सुकाएपछि बन्ने रबरको रोटी (सिट)लाई प्रशोधित रबर मानिन्छ । बजारमा यसको मूल्य र माग उच्च रहेको छ । डाक्टरले लगाउने पञ्जा, मेसिनका वासरलगायत हजारौं प्रकारका मूल्यवान सामान यही प्राकृतिक रबरबाट बन्ने गर्दछ । बलियो र वातावरणमैत्री हुने भएकाले विश्वभर पेट्रोलियम रबरको तुलनामा प्राकृतिक रबरको माग बढिरहेको छ । भारत, चीन, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम जस्ता मुलुकहरु प्राकृतिक रबरको उत्पादनमा अग्रणी रहेका छन् । समुन्द्र सतहको ५०० मिटरसम्मको उचाइ भएको उष्ण तथा समशितोष्ण हावापानी क्षेत्रमा रबरको खेती फस्टाउँछ । विभिन्न अध्ययनहरुले नेपालको चुरे तथा मधेशका पानी नजम्ने जग्गामा रबर खेतीको अथाह सम्भावना रहेको पुष्टि गरेका छन् । विसं २०७० मा कृषि विकास मन्त्रालयको बाली विकास निर्देशनालयले यस विषयमा एउटा अध्ययन गरेको थियो । यस अध्ययनले नेपालको पूर्वीभागको चुरे तथा मधेश क्षेत्रमा पर्ने झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, सिन्धुलीलगायतका जिल्लाको १४ हजार हेक्टर खाली जग्गामा ‘क’ क्षेत्रीको रबर खेती गर्न सकिने निष्कर्ष निकालेको थियो । प्रतिहेक्टर एक हजार ८०० केजी प्रशोधित रबर उत्पादन लक्ष्य राख्दा ती क्षेत्रमा वार्षिक दुई करोड ५२ लाख केजी (२५ हजार मेट्रिक टन) उत्पादन हुने र त्यसको बिक्रीबाट छ अर्बभन्दा बढी आम्दानी हुनसक्ने देखिन्छ । पछिल्ला अध्ययनहरुले नेपालमा रबर खेतीको फाइदा र सम्भावना अझ धेरै रहेको औंल्याएका छन् । रबर बैज्ञानिक एवम् इन्स्टिच्यूट अफ रबर रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक भण्डारीले नेपालमा वार्षिक ४० हजार मेट्रिक टन प्रशोधित रबर उत्पादन हुनसक्ने बताउछन् । दुई चरणमा थप ३० हजार हेक्टर जग्गामा रबर खेती गर्न सकिने उनको भनाइ छ । ‘नेपालमा रबर खेतीको सम्भावनालाई सरकारले बेलैमा बुझ्न नसक्दा हाम्रो अर्थतन्त्रले आत्मनिर्भरताको नयाँ गति लिने सम्भावनाबाट हामी टाढिदै गएका छौँं,’ नेपालमा रबर खेतीको थालनीदेखि नै रबर खेती अनुसन्धाताको रुपमा कार्यरत भण्डारीले भने–’एउटा सरकारलाई कुरा बुझायो, अर्को सरकार फेरिन्छ । एउटा मन्त्रीलाई नीतिगत अवधारणा सम्झायो, अर्को मन्त्री फेरिइसक्छ । सरकार बदलिए पनि कृषि विकास सम्बन्धी दिगो र प्रभावकारी नीति नबन्दा निराश भएका छौं ।’ उनका अनुसार सरकारलाई बुझाएको प्रतिवेदनमा पहिलो पाँच वर्ष १५ हजार हेक्टरमा र अर्को पाँच वर्षमा थप १५ हजार हेक्टर रबर खेती लगाउन सुझाव दिइएको छ । अहिले भारतलगायतका मुलुकबाट रबर आयात भइरहेकामा योजनाबद्ध रुपमा रबर खेतीको विस्तारमा लाग्ने हो भने एक दशकमै नेपाल रबरमा आत्मनिर्भर भएर यसको निर्यात गर्ने मुलुक बन्ने भण्डारी बताउछन् । झापामा सुधा फलरस र एग्रो फरेस्ट्री प्रोमोसन केन्द्र, मोरङमा मोरङ क्यानिङ कम्पनी, इलाममा चिया विकास निगमले ठूलो क्षेत्रफलमा रबरको व्यावसायिक खेती गर्दै आएको छ । नेपालमा भइरहेको रबर खेतीको अधिकांश हिस्सा झापा र इलामले ओगटेको छ । झापा १०२ जना साना किसानले रबर खेती गरिरहेका छन् भने केही चिया बगान र सामुदायिक बनले ठूलो क्षेत्रफलमा रबरका विरुवा हुर्काएका छन् । साना किसान प्राकृतिक रबर उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा झापा रबर जोनका पूर्व अध्यक्ष शान्तिराम चिमरियाले झापामा ६०० बिगाहाभन्दा बढी क्षेत्रफलमा रबर बगान रहेको बताए । धाइजन पशुपालन तथा रबर उद्योग प्रालिका अध्यक्ष समेत रहेका चिमरिया आफैले तीन बिगाहा निजी जग्गामा एघार सय वटा रबरका बोट हुर्काएका छन् । मेचीनगर–१२ मा रहेको उनको बगानका ६०० बोटले मात्र चोप (दुध) दिन्छन् । अरु विरुवा आगामी वर्षदेखि उत्पादनयोग्य हुने उनले बताए । ‘एक बिगाहामा मुस्किलले ५० हजारको धान फल्छ, चिया खेती गर्दा पनि त्यति धेरै फाइदा भएन,’ डेढ दशकदेखि रबर खेती अभियानमा होमिएका चिमरिया भन्छन्, ‘अहिले रबर खेती लगाउँदा प्रति बिघा चार लाख मुनाफा भइरहेको छ ।’ रबर खेतीसँगै मौरीपालन गर्न सकिने र तीन दशकपछि रबरको काठसमेत महँगो मूल्यमा बिक्री हुने रहेछ । उनले फाइदै फाइदा देखेर चिया बगान मासेर रबर खेती थालेका हुन् । हाल उनले सयौँ किसानलाई रबर खेतीमा लाग्न प्रोत्साहन दिइरहेका छन् भने रबर प्रशोधन कारखानासमेत सञ्चालन गरेका छन् । नेपाल चिया विकास निगमको इलामस्थित चिलिमकोट बगानको तीन सय बिघा खाली जग्गामा रबर खेती लगाइएको छ । माई नगरपालिकामा रहेको यो नेपालकै सबैभन्दा ठूलो रबर बगान हो । यसैगरी, झापाको भद्रपुर नगरपालिका–४ रङ्गेडाँडा क्षेत्रमा एग्रो फरेस्टी प्रालिले कबुलियत वनभित्र १४० बिगाहा क्षेत्रफलमा रबर खेती लगाएको छ । प्रालिको रबर बगान इञ्चार्ज पीटी भुटियाले नेपालकै सबैभन्दा ठूलो रबर नर्सरी समेत सञ्चालित छ । यहाँबाट वार्षिक १० हजार बिरुवा उत्पादन गर्दै आएको र किसानको मागअनुसार जति पनि धेरै बिरुवा उत्पादन गर्न सकिने भुटियाले बताए । प्रालिको बगानभित्र १७ हजार रबरका बोटबाट उत्पादन भइरहेको छ । वार्षिक ४२ हजार केजी प्रशोधित रबर यहाँ उत्पादन हुँदै आएको छ । नेपाल सरकारले नै रबर खेतीलाई सुरुवाती दिनहरुमा प्रवद्र्धन गरे तापनि पछिल्ला वर्षहरुमा राज्यले किसानलाई अनुदान दिन कञ्जुस्याइँ गर्दै आएको छ । धाइजन पशुपालन तथा रबर उद्योगका सञ्चालक शान्तिराम चिमरियाले सङ्घीय सरकारले कहिले थोरै र कहिले धेरै अनुदान दिने गरेको जनाउँदै स्थानीय सरकारबाट भने चासोसम्म नदेखाइएको गुनासो व्यक्त गरे । झापाको रतुवामाई वृक्षारोपण क्षेत्र र सामुदायिक बनहरुको खाली हजारौं हेक्टर जग्गामा रबर खेती लगाउन सकिने सम्भावना रहेको उनी बताउछन् । तर स्थानीय तह र वन कार्यालयले रबर खेतीको सम्भावनालाई बेवास्ता गर्दै आएको छ । झापा रबर जोनलाई आव २०७९/८० मा रबर खेती विस्तारका लागि पाँच लाख मात्र बजेट छुट्याइएको थियो । दुई वर्षअघि आफु झापा रबर जोनको अध्यक्ष रहँदा सरकारले एक करोड बजेट दिएको थियो । उक्त बजेट रबर खेतीको विस्तार र प्रशोधनका लागि यान्त्रीकरणमा उपयोग गरिएको उनले बताए । आव २०७९/८० मा झापाका ११ पालिकालाई रबर खेती प्रवद्र्धनका लागि २५ लाखका दरले सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । तर, स्थानीय पालिकाहरुले बजेट कटौतीमा परेको भनेर सो रकम किसानहरुलाई उपलब्ध गराएनन् । झापामा कनकाई रबर उद्योग र धाइजन चिमरियाले नै पशुपालन तथा रबर उद्योग सञ्चालनमा छन् । दुई वर्षअघि १५ करोडको लगानीमा पाँच जना युवा मिलेर सुरु गरेको कनकाई रबर उद्योगले हाल जुत्ता चप्पलको सल, पैसा तथा महिलाहरुले कपाल बाँध्ने रबर, पञ्जालगायतका सामग्री बनाउँदै आएको छ । रासस
माछापुच्छ्रे बैंक सर्टिफिकेट अफ मेरिट अवार्डबाट सम्मानित
काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२ बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको जनाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारदर्शीता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।
अर्थमन्त्रीले भने : मौद्रिक नीति राम्रो आयो अब व्याजदर घट्छ
काठमाडौं । अर्थमन्त्री डा.प्र्रकाशशरण महतले मौद्रिक नीति राम्रो आएको बताएका छन् । प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौद्रिक नीतिले ब्याजदरमा केही खुलुलोपन प्रस्ताव गरेको बताएका हुन । ‘मौद्रिक नीति सार्वजनिक भएको छ, ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ, सुधारका केही पहल भएको छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज हुनेछ’, मन्त्री डा. महतले भने, ‘ब्याजदर कम भएर जान्छ, त्यसले लगानीको वातावरण सहज बन्नेछ ।’ उनले वित्तीय र मौद्रिक नीतिको एटलै लक्ष्य आर्थिक वृद्धि रहेको भन्दै विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा सरकार लागेको बताए । ‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ, विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं’, उनले भने । तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको मन्त्री डा. महतको भनाइ थियो । आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक श्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको मन्त्री डा. महतले बताए । यस्तै, उनले चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने बताए ।