मापदण्डविपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा
वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ । आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरिएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गखत्बेका अनुसार आव २०७९/८० मा पर्साका ४१, बारा र सिरहाका १०/१०, मकवानपुरका पाँच, सर्लाहीका चार, सप्तरी र चितवनका तीन-तीन व्यावसायिक फार्ममाथि कारबाही गरिएको छ । व्यावसायिक फर्ममाथि गरिएको कार्वाहीबाट १७ लाख ८६ हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए । अनुगमनका क्रममा विभिन्न व्यावसायिक फर्मबाट म्याद गुज्रेको बियर, रेडबुल, स्प्राइट, कोक, भुजा, चिउरा, मह, दालमोठ, पापड, बेसनलगायतका रु ६४ लाख १८ हजार नौ सय ६७ मूल्य बराबरका सामान नष्ट गरिएको सूचना उनले बताए । यस्तै सोही आवमा प्राइभेट र साझेदारी फार्म गरी एक हजार तीन सय ४७ व्यावसायिक फार्म दर्ता भएको जनाइएको छ । सूचना अधिकारी खङ्गका अनुसार सो अवधिमा प्राइभेट फार्म एक हजार तीन सय २३, साझेदारी फार्म २४ दर्ता भएका छन् । यस्तै ११ कम्पनी दर्ता भएको जनाइएको छ । सो अवधिमा दुई हजार एक सय ३२ प्राइभेट फार्म र ६७ साझेदार फार्मको नवीकरण गरिएको र एक हजार तीन प्राइभेट तथा २१ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताए । यस्तै उक्त अवधिमा तीन सय ३४ प्राइभेट र ११ साझेदार फर्मको दर्ता खारेज गरिएको उनले जानकारी दिए । ती सबै शीर्षकबाट एक करोड १० लाख ६९ हजार दुई सय ४० राजस्व सङ्कलन भएको सूचना अधिकारी खङ्गले जानकारी दिए । म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिइएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मधेस प्रदेशका आठ र बागमती प्रदेशका मकवानपुर तथा चितवन जिल्लाका व्यावसायिक फार्मको अनुमति दिने, नवीकरण गर्ने र बजार अनुगमन गर्ने कार्य गर्दै आएको छ । रासस
असारमा एक खर्ब ३० अर्बको आयात, ३३ अर्ब राजश्व संकलन
काठमाडौं । नेपालमा एक महिनाको अबधिमा विभिन्न देशबाट झन्डै सवा खर्ब बराबरको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असार महिनामा मात्रै नेपालले एक खर्ब ३० अर्ब ७५ करोड ६ लाख ४४ हजार रुपैयाँ बराबरको आयात गरेको हो । उक्त आयातबाट एक महिनाको अबधिमा ३३ अर्ब २२ करोड ७७ लाख २३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत जेठ महिनाको तुलनामा असारमा आयातमा कमी आउँदा राजश्व संकलन समेत प्रभावित बनेको छ । गत जेठ महिनामा मात्रै नेपालले एक खर्ब ४५ अर्ब ७४ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । उक्त आयातबाट एक महिनाको अबधिमा ३५ अर्ब ५८ करोड ९७ लाख २४ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । गत आर्थिक वर्ष २०७९/०८० को एक वर्षको अबधिमा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड ७० लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशत कमी हो । अघिल्लो वर्ष नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, एक वर्षको अबधिमा नेपालले विभिन्न देशमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २१.४४ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्ष नेपालले २ खर्ब ३० करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । कुन देशबाट कति आयात ? भन्सार विभागले तथ्यांक अनुसार एक वर्षको अबधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नेपालले भारतबाट १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको सामानको आयात हुँदा १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । आयातकोे तुलनामा निर्यातमा कमी आउँदा भारतसँग मात्रै ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यस्तै, चीनबाट २ खर्ब २२ अर्ब ७१ करोड रुपैयाँ बरारबरको आयात हुँदा १ अर्ब ७६ करोड रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँगको व्यापारघाटा २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बराबर छ । आयातको तुलनामा निर्यात कम हुँदा एक वर्षको अबधिमा नेपालले इन्डोनेसियासँग ४१ अर्ब १३ करोड रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३१ अर्ब १३ करोड रुपैयाँ र अर्जेन्टिनासँग २४ अर्ब ८५ करोड रुपैयाँ बढीको ब्यापार घाटा व्यहोरेको छ । भन्सारको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । जसमा एक खर्ब ५३ अर्ब ७६ करोड बराबरको डिजेल, ६६ अर्ब ८५ करोड बराबरको पेट्रोल तथा ५८ अर्ब १५ करोड बराबरको खाना पकाउने एलपी ग्यासको आयात गरेको छ ।
बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति
टक्सार । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय खुलेसँगै बालीविज्ञान कक्षा सञ्चालन हुँदै आइरहेको छ । गाउँपालिकाभित्र रहेका आठ वडाका दुई/दुई गरी १६ विद्यार्थीलाई बालीविज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको गाउँपालिकाको प्रशासन शाखाका अनन्त राईले जानकारी दिए । राईका अनुसार बहुप्राविधिक शिक्षालयमा तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर ९बाली विज्ञान० मा अध्ययन गर्ने विद्यार्थीले पालिकामार्फत छात्रवृत्ति पाउने छन् । गाउँपालिका शिक्षा शाखा प्रमुख दानबहादुर भट्टराईका अनुसार छात्रवृत्ति प्रदान गर्ने विषयमा गाउँकार्यपालिका र शिक्षा समितिले निर्णय गरिसकेको छ भने छात्रवृत्तिका लागि आवेदनसमेत माग गरिएको छ । गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसइई परीक्षामा कम्तीमा एक दशमलव छ जिपिए ल्याएको हुनुपर्नेछ । आफ्नै पालिकामा शिक्षालय सञ्चालनमा रहेकाले स्थानीयस्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । छात्रवृत्तिका लागि परेका आवेदनमा जेहेन्दार र विपन्नलाई प्राथमिकता दिइनेछ । गाउँपालिका अध्यक्ष राईले भने, ‘पालिकाले भोजपुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्ति उपलब्ध गराइरहेको छ, यो आफ्नै पालिकामा रहेको बहुप्राविधिक शिक्षालयमा पनि अध्ययन गर्ने विद्यार्थीलाई पनि छात्रवृत्ति दिने निर्णय गरिएको हो ।’ यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण पनि बढ्ने उनले बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ मानेभञ्ज्याङको आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको हो । भोजपुर जस्तो दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न उनको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण भएको थियो । पचपन्न रोपनी क्षेत्रफलमा निर्माण गरिएको प्राविधिक शिक्षालयलाई पूर्वराष्ट्रपति भण्डारीले ३७ रोपनी र उनका अन्य परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरेको थियो । शिक्षालयमा एकेडेमिक भवनका साथै छात्राबास, कर्मचारी आवास गृह, कम्प्युटर ल्याब, प्रयोगात्मक भवन पनि निर्माण गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त शिक्षालयमा बालीविज्ञानको अध्ययन अध्यापन भइरहेको छ । रासस
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण
काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो । जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स (जिजिपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो । म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्चमै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताए । जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख्य सुधार आएको उनले बताए । पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर पाँच सयभन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उनको भनाइ थियो । भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रूपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अन्यन्तै महत्वपूर्ण मानिन्छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामूलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान साबित हुने बताए । फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताइन् । फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैँले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पुर्याइरहेको पनि उनले जानकारी दिइन् ।
सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ। औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको बताए । मिश्रले भने, ‘केहि फार्मेसीहरुको दर्ता प्रमाणपत्र नविकरण नभएको पाइएको छ। विभागमा दर्ता नभएका औषधिहरु पनि फार्मेसीमा राखिएको देखियो । त्यसता औषधिहरु स्याम्पलसहित फिर्ता लिएका छौं । जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो । केही औषधि पसलमा कष्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो । त्यो हटाउन लगाएका छौं। केही औषधि पसलमा औषधि पसल सञ्चालक र फर्मासिस्ट नै नभएको पनि देखियो । उहाँहरुलाई समय दिएर औषधि व्यवस्था विभागमा उपस्थित हुन भनेका छौं ।’
एक वर्षमा १६ खर्बको आयात, साढे १४ खर्बको व्यापार घाटा
काठमाडौं । एक वर्षको अबधिमा नेपालले विभिन्न देशबाट १६ खर्ब बढीको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अबधिमा मात्रै १६ खर्ब ११ अर्ब ७३ करोड ७० लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशत कमी हो । अघिल्लो वर्ष नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, एक वर्षको अबधिमा नेपालले विभिन्न देशमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २१.४४ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्ष नेपालले २ खर्ब ३० करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । आयातको तुलनामा निर्यातमा कमी हुँदा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५.४५ प्रतिशतले व्यापार घाटामा कमी आएको छ । अघिल्लो वर्ष १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
पञ्चकन्या स्टीलको आम्दानी ३० प्रतिशतले घट्यो, ऋण ८ अर्ब ६६ करोड
काठमाडौं । पञ्चकन्य स्टीलको आम्दानी आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा करिव ३० प्रतिशतले घटेको छ । आर्थिक वर्षको पहिलो ९ महिनामा ३ अर्ब ७४ करोको व्यापार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.८६ प्रतिशतले कम हो । कम्पनीको खुद नाफा पनि घटेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि उच्च भएको र सोही अनुसार उत्पादित बस्तुमा मूल्य वृद्धि गर्न नसकिएको केयर रेटिङ नेपालले जनाएको छ । तयारी स्टीलको कुल मूल्यमा कच्चा पदार्थको हिस्सा ९२ प्रतिशत रहेको र अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा सोही अनुसार तयारी बस्तुमा मूल्य पास गर्न नसकेको कम्पनीको भनाई छ । बजार अन्य ठूला प्रतिस्पर्धी कम्पनीको दवाव सामना गर्नु परेकोले पनि कम्पनीले इतिहासमा जसरी नाफा गर्न नसकेको कम्पनीकाे दावी छ । कोभिड महामारीपछि बजारमा उच्चदरका उतारचढाव आएकोले कम्पनीले कोभिड पूर्वको अवस्थामा झै आर्जन गर्न नसकेको केयर रेटिङ नेपालले जनाएको छ । कम्पनीले सन २०२२ मा २२ प्रतिशतले आम्दानी वृद्धि गरेको थियो । उक्त वर्ष कम्पनीले स्टील बिक्री गरेर ६ अर्ब ७४ करोड रुपैयाँ कमाएको थियो । बस्तु व्यापार परिणाममा घटेपनि मूल्य वृद्धि भएकोले कारोबार रकममा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ । पञ्चकन्याले सन् १९९५ मा भैरहवा उद्योग खोली टीएमटी स्टील उत्पादन गर्दै आएको छ । यस कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिकटन रहेको छ । व्यवसायिक घराना पञ्चकन्या ग्रुपका ४ कम्पनीले ८ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी कर्जा उपयोग गर्न केयर रेटिङ नेपालबाट क्रेडिट रेटिङ गराएको छ । ग्रुप अन्तरगत सबैभन्दा बढी पञ्चकन्या स्टीलले ५ अर्ब १४ करोड ३१ लाख कर्जा लिन उपयोग गर्ने भएको छ । त्यस्तै, पञ्चकत्या प्लास्ट प्रालिले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ कर्जा लिन चाहेको छ । पञ्चकन्या प्लास्टिक उद्योगले १ अर्ब १७ करोड ३० लाख रुपैयाँ कर्जा लिन चाहेको छ । पञ्चकन्या रोटोमूल्डले १ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा लिने चाहेको छ । पञ्चकन्या स्टीलले केयर नेपालबाट रेटिङ गराएको छ । दीर्घकालिन कर्जाको लागि केयर एनपी एनबीबी र अल्पकालिन कर्जाको लागि केयर एनपी ए४ रेटिङ पाएको छ ।
श्रमिकको साथी श्रमिक नै हुनुपर्छ, म जीतको नजिक छु : महासचिव पदका उम्मेदवार खड्का
काठमाडौं । गैर आवासिय नेपाली संघ र अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिदै छ । निर्वाचनमा उम्मेदवारी दिदै विभिन्न आकांक्षीहरुले आफुले जित्ने दावी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफु रहेको दावी गरेका छन् । रामेछापमा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३/०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । नेपाली समाजमा निकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया ,नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ सस्थाहरुका सल्लाहाकार समेत रहेका छन् । कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रबाह, मकै हाउस अनलाइन लगायत आधा दर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन् । ’मोटिभेसन’ वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायत बिभिन्न देशहरूमा ’मोटिभेसनल’ वक्ताको रुपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्या बारिधी अध्ययनरत छन् । विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रुपमा कोरियामा बसोबास गरिरहेका छन् । आफु विद्यार्थी र श्रमिक दुबै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितको लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउदै आफ्नो कार्यकालमा नारामा हैन साच्चिकै एनआरुएनए विद्यार्थी र श्रमिक मैत्री हुने बताए । सन्तोष खड्काले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरु यस्ता छन् खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफुपनी श्रमिक भएकोले आफ्नो उम्मेदवारी रहेको जनाएका छन् । यस्तै उनका अन्य सार्वजनिक निति तथा एजेन्डाहरुमा महिनाको ४ वटै आइतबार र रातो विदामा पनि नेपाली राजदुतावासको सेवा दिनको लागि आफ्नो पहल रहने उल्लेख गरेका छन् । नेपाली राजदुतावास र एनआरएनए को संयुक्त आयोजनामा भइरहेको पासपोर्ट नविकरण र अन्य विविध सेवासहितको घुम्ती सेवालाई निरन्तरता दिई अझ प्रभावकारी र सबैको पहुँचमा पुर्याउने, महङ्गो भाडा दरको स्थायी समाधानको लागि सम्बन्धित पक्षसँग छलफल गरि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कोरिया देखि नेपालसम्म सिधा उडानको लागि सम्बन्धीत निकाय सँग पहल गर्ने उनको सार्वजनिक एजेन्डा रहेका छन् । कोरियामा नेपाली भाषा, संस्कृति एवं रितिरिवाजको प्रवर्द्धनका निमित्त कोरियाली विद्यालयहरुमा नेपाली भाषा, संस्कृति एवं रिति रिवाज सम्बन्धि कक्षा संचालनको लागि सम्बन्धित पक्षसँग पहल गराउने कुरालाई उनले आफ्ना एजेन्डाहरुमा समावेश गरेका छन्। यस्तै कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरुका समस्या समाधान, भाषागत तथा कानुनी परामर्श सम्बन्धी समस्या समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफुले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन् । आफ्ना चुनावी निति एवं एजेन्डा सार्वजनिक गर्ने क्रममा खड्काले आफुले कुरा भन्दा काम गर्न जानेको हुँदा आफ्नो पक्षमा मत खस्ने बिश्वास दिलाएका छन् ।