विकासन्युज

अरुण काबेलीले भदौ ११ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । अरुण काबेली पावर कम्पनीले भदौ ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ ।

काठमाडौं महानगरभित्र ४ लाखभन्दा बढी घर भाडामा, कर तिर्ने घरबेटी बढ्दै

काठमाडौं । घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ । कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । सबै घरधनीलाई करको दायरामा ल्याउनका लागि कामपाले गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो । कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार निर्देशिका जारी भएसँगै बहाल कर तिर्ने करिब साढे ५१ हजार करदाता बढेका छन् । उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै १ हजारले बढेका हुन् । प्रमुख काफ्लेका अनुसार हाल कामपाभित्र ४ लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने महानगरको योजना छ । बहाल कर तिर्ने करदाताको सङ्ख्या बढेकै कारण गत आवमा कामपाले २ अर्ब रुपैयाँ राजस्व सङ्कलन हुने लक्ष्य लिँदा लक्ष्यभन्दा बढी २ अर्ब ५६ करोड रुपैयाँ असुल भएको छ । व्यवसाय करदाताको सङ्ख्या पनि बढेको छ । अघिल्लो आव ४४ हजार ७८३ व्यवसाय करदाता थिए । गत आवमा उक्त सङ्ख्या बढेर ४७ हजार ९८ पुगेको छ । यस्तै गत वर्ष सम्पत्ति कर तिर्नेको सङ्ख्या भने घटेको काफ्लेले बताए । गत वर्ष सम्पत्ति कर तिर्ने ७४ हजार ६ जना थिए भने यसपालि घटेर ७२ हजार ७१७ जना पुगेका छन् । घर बहाल व्यवस्था निर्देशिकाका अनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा लिखित सम्झौता गर्नुपर्छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएकोबारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ । निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख हुनुपर्छ । निर्देशिकाअनुसार बहालमा बस्नेले प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्ने व्यवस्था छ ।

नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, साढे ५३ करोड खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद सकिएको करिब १० महिनापछि खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार त्रिपुरेश्वस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सदस्यसचिव टंकलाल घिसिङले बताए । नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको थियो । निर्वाचन र सरकारद्वारा विनियोजित रकम रोक्का हुनु लगायतका कारणले समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलो भएको बताएको । नवाै‌ं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड १० लाख बजेट विनियोजन गरेको थियो । राखेपले आफ्नै स्रोतबाट ५१ लाख ५२ हजार सात सय रकम खेलकुदका लागि छुट्टयाएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सबै रकम खर्च नभएको र बचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको घिसिङले बताए । राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उनले बताए । खेल आयोजना हुनुभन्दा एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पारिने उनले बताएका छन् । दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।

सिटिजन्स बैंकका ग्राहकले हटपिज रेस्ट्रो र रेगल हेटौंडामा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले पुतलीसडकस्थित हटपिज रेस्ट्रो र हेटौंडास्थित रेगल हेटौंडा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बुधबार उक्त छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको सिटिजन्स बैंक इन्टरनेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले बताएको छ । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुको साथै नगद कारोबारलाई डिजिटलतर्फ लैजान सहयोग पुग्ने विश्वास लिइएको बैंकले बताएको छ । सिटिजन्स बैंकले देशभर १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको बताएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको सुविधा बढाइँदै, मृत्यु हुँदा पाउने ७ लाख बढाएर १५ लाख पुर्‍याइने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई २०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए । बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा जानकारी गराउँदै वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पु¥याउने तयारी रहेको उनले बताए । अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको सचिव भण्डारीले बताए । त्यसका लागि नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको उनले बताए । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गरिने बताए । व्यवसायीहरुबाट वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि ठगी गर्नेहरुलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने दाहालले बताए ।

आईपीओ जारी गर्न कालिञ्चोक हाइड्रोले पायो डबल बी रेटिङ

काठमाडौं । कालिञ्चोक हाइड्रोपावरले आईपीओ जारी गर्न ‘केयर एनपी डबल बी (आइएस)’ केयर रेटिङ प्राप्त गरेको छ । हाइड्रोले आईपीओ जारी गर्न केयर रेटिङ नेपालबाट उक्त रेटिङ पाएको हो । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा कम्पनी मध्यम रहेको बुझाउँछ । कम्पनीले ६ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ । २०१६ अप्रिल ८ मा स्थापित कालिञ्चोक हाइड्रो एक पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका ८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ ।

सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्‌का १८ निर्णय

काठमाडौं । सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई दिने भएको छ । ​​ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् । बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० पनि स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार सरकारले सिंहदरबारको संशोधित गुरुयोजना पनि स्वीकृत गरेको छ । यस्ता छन् बैठकका अन्य निर्णय

वैदेशिक रोजगार विभागको अनलाइन सेवा सञ्चालन हुन अझै तीन दिन लाग्ने

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अबरुद्ध भएको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध रहने विभागले बताएको छ । एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताएका छन् । बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताएका हुन् । अनलाइन सेवा ७५३ स्थानीय तहमै पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको दाहालले बताए ।