विकासन्युज

अमेरिकामा नेपाली महिलालाई अवार्ड

काठमाडौं । नेपालकी सामाजिक अभियन्ता सरस्वती नेपाली ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड २०२३’ बाट सम्मानित भएकी छन् । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालीलाई बुधबार अवार्ड प्रदान गरेकी हुन् । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । सरस्वतीले दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख छ । सीमान्तकृत, अपांगता, गरिब र दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो । उनीसहित ट्युनिसिया, बंगलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियन्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुन् । रासस

सुदेशको नेतृत्वले अब्बल बन्यो एभरेष्ट, विरासत फर्काउने रणनीतिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक

काठमाडौं । गत मंसिरमा भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६औं वार्षिक साधारणसभामा एक सेयरधनीले बैंकलाई पुनः एक नम्बर बनाउन सुझाव दिए । उनले पोडियमा उभिदै भने, ‘कुनै बेला स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँ थियो, आजका दिनमा ४ सयको हाराहारीमा छ, यसलाई फेरि एक नम्बर बनाउनु पर्छ, बैंकका कर्मचारी र संचालकहरुले प्रयास गर्नुभयो भने एक नम्बर बन्न सक्छ, हामीले पनि शिर ठाडो पारेर स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरु भन्न पाउँ ।’ ती सेयरधनीले भनेजस्तै छनक स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिएको छ । कुनै बेला नेपाली बैंकिङ इन्डिस्ट्रीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नामै काफी थियो । अधिकांश बैंकले बैंकिङ अभ्यास यही बैंकबाट सिक्थे भने अधिकांशको करिअर पनि यही बैंकबाट सुरु हुन्थ्यो । तर, पछिल्ला कही वर्षहरुमा अन्य बैंकहरुको एग्रेसिभ बैंकिङले यो बैंकलाई पछार्यो र अन्य बैंक ठूलो बन्ने प्रतिस्पर्धामा अगाडि बढे । तर, गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणले स्ट्यान्डर्ड चार्टर्ड बैंक पुनः पुरानै लयमा फर्किएको छनक दिएको छ । बैंक आफ्नो विगतको विरासत फकार्उने कसरतमा लागेको बुझ्न सकिन्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै विदेशी लगानी समेत भएको एभरेष्ट बैंक पनि एक अब्बल बैंकका रुपमा आफुलाई चिनाउन संघर्ष गरिरहेको गत आर्थिक वर्षको वित्तीय विवरणबाट प्रष्ट हुन्छ । पछिल्लो समय वाणिज्य बैंकहरुबीच ‘बिग मर्जर’ मार्फत् ठूलो बन्ने होडबाजी चलिरहेका बेला यी दुई बैंकले मर्जर बिनै बजारमा आफ्नो हिस्सा बलियो बनाउने रणनीतिमा लागेको बुझ्न सकिन्छ । यी दुई बैंक मर्जरमा सामेल भएका बैंकहरुबीचको अवस्थ प्रतिस्पर्धाभन्दा बाहिर रहेर स्वस्थ बैंकिङसँगै अधिकांश सूचकहरुमा अब्बल बन्ने योजनाका साथ काम गरिरहेको बुझिएको छ । त्यसको संकेत गत आर्थिक वर्षको वित्तीय विवरणले देखाइसकेको छ । अहिले अधिकांश वाणिज्य बैंक मर्जरमा सामेल छन् तर यी दुई बैंकले मर्जर बिनै बजारमा प्रभुत्व जमाइरहेका छन् भने अन्य बैंकलाई बिजनेसमा चुनौति दिइरहेका छन् । बैंकबाट लगानीकर्ताले पाउने लाभांश, बैंकको बिजनेस, कुल नाफामा वितरणयोग्य नाफा, कुल कर्जामा खराब कर्जाको अुनपात र राष्ट्र बैंकको हरेक कम्प्लायन्स पालनामा यी दुवै अगाडि छन् । राष्ट्र बैंकको नजरमा पनि यी दुई बैंक अनुशासित बैंकका रुपमा चिन्निछन् । बिग मर्जर गरेका बैंकहरुलाई लाभांशदर घटेको चिन्ता बढिरहेको बेला स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रतिफल दरमा पहिलो बनेर ठूलो बन्ने प्रतिस्पर्धामा रहेका बैंकहरुलाई चकित पारेको छ । खराब कर्जा बढ्यो भनेर रोइकराई गरिरहेका बैंकरहरुलाई एभरेष्टले खराब कर्जा ०.७९ प्रतिशतमा झारेर सरप्राइज दिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रतिफल दरमा पहिलो बनेर आफ्नो विरासत फेरि फर्काउने संकेत गरेको छ भने वितरणयोग्य नाफामा अग्रस्थान कायम गरेर र खराब कर्जा ह्वात्तै घटाएर एभरेष्टले बजारमा आफ्नो प्रभाव र कार्यकुशलता प्रस्तुत गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ एभरेष्ट बैंकले कुनै बैंकको पछाडि वा अस्वस्थ प्रतिस्पर्धामा नलागेर आफ्नै किसिमले बैंकिङ अभ्यास गरिरहेको बताउँछन् । ‘धेरै बैंकहरु यो बिचमा मर्जरमा जान हतारिए, हामी मर्जर बिनै अगाडि बढ्ने हो, मर्जरमा हतार गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो, हतारमा मर्जर गरियो भने दुर्घटना हुन सक्छ भन्ने विषयमा हामी राम्रोसँग जानकार छौं, त्यसको केही संकेत अहिले मर्जर भएको बैंकमा देखिएको छ,’ उनले भने । उद्यपि, मर्जरमा गएका ती बैंकहरुको सिनर्जी केही वर्षपछि भने देखिने उनको बुझाइ छ । मर्जरमा गएका बैंकमा अकाउन्टिङ, प्रोभिजनिङ र रिकभरीमा समस्या हुँदा गत वर्षको वित्तीय विवरण सन्तोषजनक नआएको हुन सक्ने उनको भनाइ छ । नाफा वृद्धिमा नबिललाई टक्कर कुनै बेला नबिल बैंकले आफ्नो प्रमुख प्रतिस्पर्धीका रुपमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई लिन्थ्यो । बजारमा रहेका अन्य वाणिज्य बैंकको वेवास्ता गरेर स्ट्याण्डर्ड चार्टर्ड बैंकले ल्याएका नयाँ योजना तथा स्कीम, बैंकले गरेको बिजनेस र अधिकांश सूचकहरुको सतहमा पुगेर नबिलले त्यसको सिको गथ्र्यो । सिको गर्दै गरेको बैंकले नाफामा पछि पार्यो । आफ्नो प्रमुख प्रतिस्पर्धी मानेको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई नबिलले पछारेको धेरैको भएको छैन । त्यो सफलता पाउनका लागि नबिललले अन्य बैंक तथा वित्तीय संस्थाको सहयोग लिनुपर्यो । क वर्गको मान्यता प्राप्त नेपाल बंगलादेश बैंकलाई आफुमा गाभ्यो । परिणामस्वरुप अहिले नबिलको प्रतिस्पर्धी फेरिएका छन् । अहिले ग्लोबल आइएमई र एनआईसी एसिया बैंक नबिलका प्रमुख प्रतिस्पर्धी बनेका छन् । नाफामा अग्रस्थान बनाउँदै आएको नबिललाई त्यही पुरानो प्रतिस्पर्धी स्ट्याण्डर्डले पुनः चुनौति थपेको छ । गत आर्थिक वर्षको नाफा वृद्धिमा नबिल पहिलो नम्बरमा छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक दोस्रोमा छ । गत आर्थिक वर्षको वित्तीय विवरणका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५६.२७ प्रतिशतको नाफा वृद्धि गरेको छ । नबिलले भने ७६.८६ प्रतिशतले नाफा वृद्धि गरेको छ । नबिलले साढे ७ अर्ब खुद नाफा गरेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे ३ अर्ब नाफा गरेको छ । नाफामा वृद्धिमा सातौं स्थानमा रहेको एभरेष्टले मर्जर बिनै ३ अर्ब ३९ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । लाभांश क्षमतामा दुुइटैको अब्बलता बैंकहरुले जे जस्तो बिजनेस र काम गरे पनि अन्ततः विषय लाभांशमा ठोकिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकले त्यो कुशलता प्रदर्शन गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकको लाभांश क्षमता ४०.५ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २८.९९ प्रतिशत छ । लाभांश क्षमतामा यी दुई बैंक क्रमशः पहिलो र तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा भने एनआईसी एशिया बैंक छ । प्रतिस्पर्धामा रहेको नबिल बैंक सातौं स्थानमा झरेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकको वितरणयोग्य नाफा कुल ४ अर्ब ३३ करोड रुपैयाँ छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ अर्ब ७३ करोड रुपैयाँ छ । दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ छ । बढी नाफा गर्नेको शिर्षस्थानमा रहेको नबिल, एनआईसी र ग्लोबल बैंकलाई पनि एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पछि पारेका छन् । कुनै बेला १४० प्रतिशतसम्म लाभांश वितरण गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंक अझै पनि लाभांश बढी दिने संघर्ष गरिरहेको छ । यस्तै, एभरेष्ट बैंक पनि लाभांश वितरणमा एक अब्बल बैंकका रुपमा परिचित छ । सम्भवतः गत आर्थिक वर्षको लाभांश बढी वितरण गर्ने बैंकको शिर्षस्थानमा एभरेष्ट बैंक पर्न सक्छ । संस्थापक समूहको ७५ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ । नेपालमा कर्पोरेट बैंकिङ अग्रणी बैंकमा रहेको यो बैंकले विगत २३ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ । अघिल्लो आर्थिक वर्षमा २०.६८ प्रतिशत लाभांश वितरण गरेको एभरेष्ट बैकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ । एभरेष्टले पनि नियमित लाभांश वितरण गर्दै आएको छ । बैंकले हालसम्म अधिकतम् ६० प्रतिशत लाभांश वितरण गरेको तथ्यांकले देखाउँछ । सीईओ खालिङका अनुसार एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्षमा बोनस सेयरमा जोड नदिँदा अहिले लाभांश क्षमता बढेको हो । अन्य बैंकहरुले बोनस सेयरमा जोड दिएर लाभांश वितरण गर्दा ती बैंक अहिले दबावमा परेको हुन सक्ने उनको बुझाइ छ । ‘बोनस सेयर दिएपछि बैंकहरुको पुँजी बढ्छ, पुँजी बढेपछि स्वतः लाभांश क्षमता घट्ने नै भयो, अघिल्लो वर्ष बोनसमा जोड दिएका बैंकको अहिले लाभांश क्षमता घटेको छ, त्यसैले पनि ती बैंक दबावमा परेका हुन्,’ सीईओ खालिङले भने । सेयर मूल्यमा पनि टप्यो बैंकको वित्तीय सूचकहरुले सेयर मूल्यमा ठूलो प्रभाव पार्छ । जुन बैंकको वित्तीय विवरण स्ट्रोङ्ग छ र सेयरधनीलाई बढी प्रतिफल दिने क्षमता राख्छ, सेयरबजार सोही कम्पनीको सेयरमूल्यमा लगानीकर्ता झुम्मिन्छन् । कुनै समय स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर बजारमा ‘हटकेक’का रुपमा परिचित थियो । पछिल्लो समय नबिल बैंकले बैंकिङ क्षेत्रको सेयर मूल्यमा नेतृत्व गरेपनि एभरेष्टले नबिललाई पछि पारिसकेको छ । मंगलबार नबिल बैंकलाई एभरेष्ट बैंकले पछि पार्यो । सेयर मूल्यको आधारमा मंगलबार एभरेष्ट बैंकले दोस्रो स्थान लिएको छ भने नबिल बैंक तेस्रो स्थानमा झरेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा उच्च सेयर मूल्यसहित एनआईसी एशिया बैंक पहिलो नम्बरमा छ । बुधबार एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६११ रुपैयाँ र नबिल बैंकको ६०३ रुपैयाँ कायम भएको छ । पहिलो नम्बरमा रहेको एनआईसी एशिया बैंकको सेयर मूल्य ७८५ रुपैयाँ पुगेको छ । यस्तै, सेयरमा प्रतिफलदरमा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंक नै नम्बर वान बनेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण केलाउँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको रिटर्न अन इक्विटी (आरओई) १७.४७ प्रतिशत छ । यस्तै आरओईमा एभरेष्ट चोथौ स्थानमा छ । एनआईसी एशिया दोस्रो छ भने सानिमा तेस्रो स्थानमा छ । एनआईसी एशिया बैंकको १५.६९ प्रतिशत र सानिमा बैंकको आरओई १३.५२ प्रतिशत छ । बैंकले एक आर्थिक वर्षमा गरेको कुल आम्दानीलाई पुँजीले भाग गरी लगानीमा प्रतिफल निकालिन्छ । यस्तै, एनआईसी एशिया बैंकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी बढी छ । एनआइसी एसिया बैंकको (ईपीएस) ४०.२२ रुपैयाँ रहेकोमा स्ट्याण्डर्ड चार्टर्डको ३७.३९ रुपैयाँ छ । यस्तै, एभरेष्टको ईपीएस ३१.७१ रुपैयाँ छ । नाफा उच्च भएको नबिल बैंकको ईपीएस २७.८२ रुपैयाँ छ । खराब कर्जा व्यवस्थानमा उत्कृष्ट पछिल्लो समय खराब कर्जा बैंकरको टाउको दुखाइको विषय बनेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको प्रत्यक्ष असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । व्यवसायीले समयमै सावाँ ब्याज नतिर्दा बैंकहरुको खराब कर्जाको अनुपात बढ्दै गएको छ । अहिले वाणिज्य बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत छ । केही बैंकको खराब कर्जा ४.७७ प्रतिशतसम्म पनि पुगेको छ । तर, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले खराब कर्जाको अनुपातलाई घटाएर आफ्नो कार्यकुशलता प्रस्तुत गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको छ । एभरेष्टको खराब कर्जा ०.७९ प्रतिशत मात्रै छ भने कम खराब कर्जा हुने बैंकको तेस्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक छ । जसको खराब कर्जाको अुनपात १.१७ प्रतिशत छ । कम खराब कर्जा हुने बैंकको दोस्रो स्थानमा एनआईसी एशिया बैंक छ । जसको खराब कर्जा ०.८० प्रतिशत छ । मर्जर भएका बैंकको खराब कर्जा बढ्नु भनेको रिकभरीमा समस्या आउनु भएको सीईओ खालिङको भनाइ छ । अघिल्लो वर्षको तुलनामा एभरेष्टको खराब कर्जा अनुपात बढेको भएपनि अन्य बैंकको तुलनामा भने सन्तोषजनक नै रहेको उनको भनाइ छ । सीईओ खालिङलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् । उनले एभरेष्ट बैंकमा २०७८ असोजमा सीईओका रुपमा कार्यभार सम्हालेका थिए । एभरेष्ट बैंकको सीईओ बन्ने उनी नै पहिलो नेपाली हुन् । नेपाली बैंकर आएपछि एभरेष्ट बैंकले गति लिएको बुझाइ धेरैको छ ।

साइबर ठगीमा एआई प्रविधिको प्रयोग बढ्दै, जान्नुहोस कसरी हुन्छ ठगी

काठमाडौं । प्रविधिको विकाससँगै सुविधा र दुरुपयोगको जोखिम पनि बढ्दै गएको छ । साइबर सुरक्षा सम्बन्धित विशेषज्ञहरुले नयाँ खतराप्रति प्रविधिका प्रयोगकर्ताहरुलाई सचेत गराएका छन् । साइबर ठग तथा अपराधीहरुले एआई प्रविधिको सहयोगमा तपाईंको निजी गोप्य जानकारी हासिल गरेर तपाईंलाई ठग्ने तयारी गरिसकेका छन् । यी अपराधीहरुले फ्रडजिपिटी तथा वर्मजिपिटी नामको अत्याधुनिक जेनेरेटिभ एआई च्याटबटको माध्यबाट मानिसहरुमाथि ठगी गर्न शुरु गरेका छन् । यी च्याटबटको माध्यमबाट सक्कली जस्तै देखिने इमेल तथा म्यासेज पठाउन सक्छन्, तर ती वास्तवमा झुटा हुन्छन् । जान्नुहोस कसरी हुन्छ ठगी ? हालसालै च्याटजिपिटी जस्तै एआई प्रविधिको विकासले ठगहरुलाई पनि अपराधको लागि नयाँ अवसर सिर्जना गरिदिएको छ । यस्तै प्रविधिमा फ्रडजिपिटी तथा वार्मजिपिटी जस्ता प्रविधि विकास हुन पुगेका छन् । जसको माध्यमबाट मानिसहरुलाई सक्कली जस्तै देखिने इमेल, म्यासेज र नोटिफिकेसन जस्ता सूचनाहरु पठाउन सकिन्छ । यदि तपाईंलाई प्राप्त हुने ती इमेल तथा नोटिफिकेसनलाई सत्य मान्नुभयो भने तपाईं साइबर ठगीमा पर्न सक्नुहुन्छ । फ्रडजिपिटीले नक्कली कोड सिर्जना गर्नसक्छ अथवा भाइरस समेत बनाउन सक्छ । यो ग्रुप, वेबसाइट अथवा डिजिटल मार्केटप्लेसमा घुस्नको लागि फिसिङ पेज अथवा ह्याकिङ प्रविधिको समेत विकास गर्न सक्छ । जबकी सो माध्यमबाट साइबर अपराधीलाई काम गर्न निकै सजिलो हुन जान्छ । डिजिटल बजारमा उपलब्ध छन् यी प्रविधि डार्क वेब फर्जी प्रकारका एआई प्रविधि सजिलैसँग बिक्रीकालागि राखिएका छन् । फ्रडजिपिटीलाई एम्पायर, डब्लुएचएम, टोरेज, अल्फाबे अथवा वर्सेज जस्ता अन्डरग्राउन्ड मार्केटप्लेसमा बिक्री गर्ने काम भइरहेको छ । सो च्याटबट टेलिग्राममा च्यानलमा पनि बिक्रीका लागि उपलब्ध छ छ । स्रोतअन्ुसार सो च्याटबटलाई दुईसय देखि १७ सय डलरसम्म मासिक शुल्कमा उपलब्ध गराउने गरिन्छ । यसलााई फिसिंग, इमेल, मालवेयर वा क्रयाकिङ प्रविधिको निर्माणमा उपयोग गर्न सकिन्छ । च्याटजिपिटी–३ को प्रविधिसँग जोडेर बनाइएको यो च्याटबटले प्रयोगकर्ताको संकेतअनुसार वास्तविक जस्तै देखिने टेक्स्ट सिर्जना गर्न सक्छ । ह्याकर्सहरुले यो प्रविधिलाई भ्रामक इमेल तथा म्यासेज तयार गर्नको लागि प्रयोग गर्ने गरेका छन् । जसले गर्दा मानिसहरुलाई लाग्छ की उनीहरुलाई वास्तविक व्यवसायिक केन्द्र तथा बैंकहरुबाट नै आधिकारिक इमेल वा म्यासेज नै प्राप्त भइरहेको छ । त्यसैले यस्तो नक्कली इमेल, म्यासेज तथा नोटिफिकेसनबाट बच्नको लागि उसलाई आफ्नो वास्तविक जानकारी दिनभन्दा अगाडिद आधिकारिक ठाउँमा सम्पर्क गर्न आवश्यक हुन्छ । एजेन्सीको सहयोगमा ।

अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

हेटौँडा । पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ । गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो । हाल हेटौँडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौँडातर्फ आउने सबै प्रकारका सावरी साधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । रासस

मधेसमा बाढी तथा डुबान पीडितलाई १० लाख

धनुषा । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दश/दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम ठाउने निर्णय गरेको जानकारी दिए । ‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ’, उनले भने, ‘यसका अतिरिक्त एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ । त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत हुनेछ ।’ राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेसमा जनजीवन प्रभावित भएको छ । रासस

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस

चितवन । चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् । हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार छ सयभन्दा बढी छ । जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन् । कक्षा ११ मा विद्यार्थी भर्ना भइरहेकाले सङ्ख्या थपिँदै गएको छ । क्याम्पस प्रमुख भोजराज न्यौपानेका अनुसार क्याम्पसमा चितवनसहित नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै पढ्न आउने गरेका छन् । यससँगै देशका २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उनले जानकारी दिए । विगतका वर्षहरुमा क्याम्पसका प्राध्यापक, कर्मचारी ती जिल्लामा प्रचारात्मक अभियानका लागि पुग्ने गरेका थिए । पछिल्ला वर्षहरुमा क्याम्पसको गुणस्तर, क्याम्पसले प्राप्त गरेको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए), भौतिक पूर्वाधार, पठनपाठनमा प्रयोग हुने प्रविधि, छात्रवृत्तिलगायतका कारण विद्यार्थी खोज्नुपर्ने बाध्यता हटेर गएको उनले बताए । न्यौपानेले भने, ‘अहिले हाम्रो क्याम्पसमा छिरेको विद्यार्थी भर्ना गरेर मात्र बाहिरिन्छन् ।’ क्याम्पसमा स्नातकोत्तर पढ्ने विद्यार्थीको नतिजा शतप्रतिशत रहेको छ । स्नातकको नतिजा उत्कृष्ट रहेको छ । क्याम्पसमा पढाउने प्राध्यापकमा महिलाको सङ्ख्या बढ्दो रहेको छ । क्याम्पसले दुई वर्षअघि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । यस वर्ष कक्षा ११ मा दुई सय १० विद्यार्थी भर्ना भइसकेका छन् । विद्यार्थी भर्ना हुने क्रम जारी छ । गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय ९२ विद्यार्थी भर्ना भएका थिए । क्याम्पसमा ठाउँ अभावका कारण कक्षा ११ मा चाहे जति विद्यार्थी पढाउन सक्ने अवस्था छैन । जसका कारण चाहेर पनि सबै छात्राले कन्या क्याम्पस पढ्न पाउने अवस्था नभएको उनी बताउँछन् । ‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी स्व मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका–१० मा १२ कट्ठा जमिन खरिद गरी भौतिक संरचना निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । हाल स्नातक र स्नातकोत्तरमा शिक्षा र व्यवस्थापन सङ्कायको पढाइ हुँदै आएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल विगतका वर्षहरुमा ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झन्छन् । स्व श्रेष्ठको जीवनको अन्तिम क्षणसम्म सेवामा लागेका पौडेल क्याम्पसको अध्यक्ष भएसँगै भएका परिवर्तनले पनि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढाउन सकेको हो । उनले भने, ‘आमा मैयादेवीको सपना पूरा गर्न क्याम्पसलाई देशकै उत्कृष्ट वनाउनका लागि हामी लागिरहेका छाँै ।’ क्याम्पसमा प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा थप सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको पौडेलको भनाइ छ । समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई यो क्याम्पसमा आकर्षित गरेको उनको भनाइ छ । गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको पौडेलले बताउनुभयो । अन्यत्रजस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । जिल्ला र बाहिरका अभिभावकलाई आफ्ना छोरीहरु कन्या क्याम्पसमा पढाउँदा थप सुरक्षित महसुस गर्ने भएकाले अभिभावकको रोजाइ कन्या क्याम्पस पर्ने गरेको छ । राजमार्गको कोलाहालबाट केही पर तर हिँडेर सहजै पुग्ने भएकाले विद्यार्थीका लागि क्याम्पस सहज बनेको छ । रासस

पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क

कास्की । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ । मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण सम्बन्धी समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालले जनाएका छन् । अस्पतालमा आजदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधिसमेत वितरण गरिने छ । बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । आँखा समस्याका बिरामीका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा इलिया श्रेष्ठले बताइन् । पोखरा महानगरले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधवारदेखि शुक्रवारसम्म महानगर मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालय सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।

सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव डा. रेग्मी

काठमाडौं । सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको छ । खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मीले सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा रहेकाले सोहीअनुरुप अगाडि बढ्ने प्रयास गरिरहेको बताए । ‘सार्वजनिक खरिद प्रक्रिया आफैँमा प्राविधिक जटिल प्रकृतिको विधा भएको र यसमा बहुसरोकारवालाको सहभागिता हुने भएकाले यसमा निरन्तर परामर्श र सहकार्यको आवश्यकता छ,’ उनले भने । सार्वजनिक खरिदसम्बन्धी कानुनलाई सामयिक र व्यवहारिक बनाउने तथा खरिद कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै सार्वजनिक निकायले बुझ्ने र सहजरुपमा प्रयोग गर्नसक्ने गरी सरल निर्देशिका तयार गर्नपर्ने हुन्छ । स्थानीय तहको खरिद क्षमता अभिवृद्धि गर्न सरल निर्देशिकालगायत विषय आवश्यक पर्ने सचिव रेग्मी बताउँछन् । सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारीता, जवाफदेहीता र विश्वसनीयता प्रवद्र्धन गर्न आवश्यक देखिएको छ । सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक निकायबाट निर्माण कार्य गराउँदा तथा मालसामान, परामर्श सेवा एवं अन्य सेवा खरिदमा उत्पादक, विक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई बिना भेदभाव सहभागी हुने अवसर प्रदान गर्ने विषयलाई कार्यलयले जोड दिँदै आएको छ । सचिव रेग्मीले रासससँग कुराकानी गर्दै सुशासनको प्रत्याभूति गर्न र सहज व्यावसायिक वातावरणको निर्माणमा खरिद क्षेत्रको सकारात्मक योगदान वृद्धि गर्न सहज प्रक्रियात्मक व्यवस्था गरिने स्पष्ट गरे । सबै सार्वजनिक निकायको खरिद एकाइलाई सक्षम बनाउनेतर्फ कार्यालयले यस आर्थिक वर्षमा सघनरुपमा तालिम सञ्चालन गर्ने र प्रदेश र स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृद्धि गर्न विद्युतीय खरिदका तालिम सञ्चालन गर्ने भएको छ । प्रोक्युरमेन्ट क्लिनिकको अवधारणाको प्रयोग गर्दै कार्यालयले सबै स्थानीय तह र सकभर वडा तहसम्म यस्ता तालिम र अन्तक्र्रियात्मक कार्यक्रममा तीव्रता दिने जनाएको छ । प्राविधिक मन्त्रालयबाट सञ्चालन हुने मेगा प्रोजेक्टको खरिद प्रक्रियालाइ सहज बनाउन तदनुरुपको स्ट्यान्डर्ड बिडिंग डकुमेन्टको निर्माण तथा राशन र औषधि खरिदको लागि स्ट्यान्डर्ड बिडिंग डकुमेन्टको निर्माण, सट्टापट्टामा आधारित खरिद अर्थात बाइ ब्याक मेथडको कार्यविधि निर्माणजस्ता विषय कार्यालयले प्राथमिकतामा राखेको छ । कार्यालयले खरिद सुशासन वृद्धि गर्न खरिद एकाइ र आपूर्तिकर्ताको आचारसंहिता बनाउने तथा आवमा खरिदमा रहने कर्मचारीको योग्यता तयार गरी कार्यान्वयनमा ल्याइने जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार संवैधानिक निकाय, अदालत, मन्त्रालय, सचिवालय, आयोग, विभाग र सो मातहत सबै निकायले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार निर्धारित प्रक्रियाका आधारमा प्रतिस्पर्धा र मितव्ययीताको आधारमा खरिद कार्यलाई अनिवार्य गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यस्ता सबै निकायको खरिद प्रतिस्पर्धी क्षमताको सघन अनुगमनसमेत गर्ने योजना बनाएको छ ।