बेवारिसे अवस्थामा ६ नाल भरुवा बन्दुक बरामद
काठमाडौं । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अन्त्यन्त आवश्यक रहने बताएका छन् । बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी दुवै लगानीका लागि नीतिगत स्थिरता जरुरी रहेको बताएका हुन् । ‘नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिदैन । त्यसैले हामीले सबै भन्दा पहिले नीतिगत स्थिरता बनाउन जरुरी हुन्छ । तब मात्र लगानी भित्र्याउन सकिन्छ र लगानीले प्रतिफल पाउने अवस्था पनि रहन्छ,’ उनले भने । महासंघमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेको बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समस्या नहुने पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा नेपाली उद्योगी व्यवसायीहरुको नेतृत्व गर्दै महासंघले भारतीय उद्योगी व्यवसायीहरुसँग दुई देशबीच लगानी तथा व्यवसायिक सम्बन्धमा छलफल भएको बारेमा बताउदै अध्यक्ष ढकालले लगानीको वातावरण बनेमा भारतीय लगानी विस्तार गर्न सकिने पनि बताए । ‘प्रधानमन्त्रीको भ्रमणको समयमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको विजनेश फोरममा दुई देशका व्यवसायीहरुबीच पनि सौहार्दपूर्ण छलफल भएको थियो । कार्यक्रममा नेपालका प्रधानमन्त्रीज्यू, दुई देशका मन्त्रीज्यूहरु, प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति र गहल छलफलबाट दुई देशबीच व्यवसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने । उनले त्यसको लगत्तै बंगलादेशमा आयोजना भएको बिम्स्टेक सदस्य राष्ट्रहरुको छलफलबाट बिम्स्टेक बिजनेश फोरम गठन देखि सदस्य राष्ट्रहरुबीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको समेत बताए । अहिलेको जटिल आर्थिक परिस्थितिमा निजी क्षेत्रको एउटै आवाज बनाएर राज्य र यसका अन्य निकायसँग पैरवी गर्ने काम भइरहेको बताउँदै उनले निजी क्षेत्रका तीनवटा छाता संगठनहरुले बजेट तथा मौद्रिक नीतिमा साझा धारणा बनाई सरकार तथा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको बताए । मुलुकमा लगानीमैत्री वातावरण बनाउन पुराना कानूनी जटिलताहरुलाई विस्तारै परिमार्जन गर्न जरुरी रहेको उनको भनाइ छ ।
४७ कम्पनीलाई साउनभित्र रोयल्टी र ग्रामीण दूरसंचार विकास कोषको रकम भुक्तानी गर्न निर्देशन
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशन गरी विभिन्न ४७ वटा कम्पनीलाई साउनभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो । प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले दूरसंचार सेवा संचालन गरे वापत दूरसंचार ऐन, २०५३ बमोजिम कूल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम छुट्याउनु पर्ने हुन्छ । सेवाप्रदायक ४७ कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरण सहित २०७९ पुससम्म दाखिला गर्न पटक पटक ताकेता गर्दा समेत हालसम्म दाखिला नगरेको प्राधिकरणले जनाएको छ । नियमानुसार सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम साउन मसान्त भित्र सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्ने गरी तोकिएको बैंक खातामा दाखिला गरी सक्कल भौचर संलग्न गरी पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ । यदि सो समयभित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारवाही अगाडी बढाइने प्राधिकरणको चेतावनी दिएको छ ।
भारतको पञ्जाब पुगेकी १६ वर्षीया किशोरीको उद्धार
काठमाडौं । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ । भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ । किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन् । गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षितरूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताइन् । रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले किशोरीलाई घर फर्काउन आग्रह गरेको थियो । आफ्नो अथक प्रयास र प्रहरी प्रशासनलगायतको समन्वयमा राधिकालाई नेपाल फर्काउन सफल भएको संयोजक भूमि भट्टराईले बताए ।
सरकारले खारेज गर्याे २ मेन पावरको लाइसेन्स, कुन कुन हुन् ?
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी दिए । उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो । विभागले बुधबार एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई १ लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ । युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौताअनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले जनाएको छ ।
१६ वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकको आग्रह
काठमाडौं । एभरेष्ट बैंकले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो । बैंकका अनुसार आर्थिक वर्ष २०५५÷५६ देखि आर्थिक वर्ष २०७४÷७५ सम्म (१६ वर्ष) पुरानो सेयरधनीहरुले लाभांश रकम लिन बाँकी छ । बैंकले साधारण सेयर र अग्राधिकार सेयर लिन बाँकी रहेको सूची प्रकाशन गरी लैजान आग्रह गरेको हो । सो लाभांश रकममा हालसम्म पनि लिन नआएको र हकदावी समेत नपरेकोले बाँकी लाभांश लिन बैंकको सेयर शाखामा सम्पर्क गर्नु पर्नेछ । साथै, सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि)मा सम्पर्क गर्नुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश रकम सो बैंक खातामा रकमान्तरण गरिने कम्पनले जनाएको छ । ५ वर्षसम्म दाबी हुन नआएमा लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले बताएको छ
मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री गर्ने भएको हो । mाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनााथ क्यापिटल लिमिटेड रहेको छ । मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
पाकिस्तान-नेपाल सिधा हवाई सेवा पुनः सञ्चालन गर्ने
काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन् । बुधबार आफ्नै कार्यकक्षमा केही कूटनीतिक पत्रकारहरूसँगको कुराकानीमा पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेको बताए । आफूले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, अर्थ एवं परराष्ट्रमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरूसँगका भेटमा पनि व्यापार, पर्यटन, जनस्तरको सम्पर्क स्थापनालाई अझ व्यापक बनाउन हवाई उडान महत्त्वपूर्ण हुने भएकाले त्यसैलाई उच्च प्राथमिकतामा राखेर कुरा गरेको बताए । उनीहरु सबैले सिधा हवाई सेवा पुनःसञ्चालनप्रति समर्थन जनाएको राजदूत हास्मीले बताए । परराष्ट्र सचिवस्तरीय पाकिस्तान–नेपाल परामर्श संयन्त्र, संयुक्त आयोग, कृषि तथा पर्यटनसम्बन्धी संयुक्त कार्यदल, संयुक्त व्यापार परिषद्लगायत सबै द्विपक्षीय संयन्त्रका बैठक आयोजना गर्न नेपाल सरकारका सम्बद्ध निकायसँग निरन्तर छलफलमा रहेको पाकिस्तानी राजदूतले जानकारी दिए । पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएयता सात हजारभन्दा बढी नेपालीले शिक्षा, स्वास्थ्य, सेना, नागरिक उड्डयनलगायत क्षेत्रमा पाकिस्तानबाट शिक्षा हासिल गरेका जानकारी दिँँदै पाकिस्तानी राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।