विकासन्युज

कसरी चल्छन् निजी गुठीका विद्यालय ? के होला पाँच खर्ब लगानी ?

काठमाडौं । सरकारले संसदमा लैजाने निर्णय गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे राष्ट्रियस्तरमा चर्चा छ । विधेयकमा निजी विद्यालयहरु पाँच वर्षभित्र गुठी संरचनामा जानुपर्ने प्रस्ताव गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रले पाँच खर्ब रूपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएको छ । सरकारले शिक्षा क्षेत्रमा हरेक वर्ष छुट्टयाउने बजेटभन्दा बढी लगानी निजी क्षेत्रबाट भइरहेको उनीहरुको दावी छ । केही बाहेक अधिकांश निजी विद्यालयहरु नाफा आर्जन गर्ने उद्देश्यका साथ निजी कम्पनीका रुपमा सञ्चालित छन् । सरकारले अगाडि सारेको विद्यालय शिक्षा विधेयक संसदबाट जस्ताको तस्तै पारित भएमा पाँच वर्ष भित्रमा निजी स्कूलहरुसमेत सधैँका लागि मुनाफारहित मोडेलबाट सञ्चालित हुनेछन् । शिक्षा ऐन, २०२८ को आठौं संशोधनले निजी विद्यालयहरुलाई स्वेच्छिक रुपमा गुठीमा जाने व्यवस्था गरेको थियो । सोही कानूनअनुसार, केही निजी विद्यालयहरु गुठीमा रहेर सञ्चालन भएका छन् । त्यो बाध्यकारी व्यवस्था भने थिएन । सोही कानूनको आधारमा निजी शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन तथा नियमनको केही अभ्यास स्थानीय तहहरुले गरिरहेका छन् । गुठी मोडेलबाट कसरी सञ्चालन हुन्छन् निजी विद्यालय ? अहिले नेपालमा सार्वजनिक, निजी र गुठी अन्तर्गत विद्यालयहरु सञ्चालनमा छन् । जसमध्ये सार्वजनिक विद्यालयको सञ्चालन खर्च सरकारले गर्दै आएको छ भने निजी कम्पनीबाट र गुठीबाट सञ्चालित विद्यालयहरुले आफैँ आम्दानी गरेर सञ्चालन हुँदै आएका छन् । निजी कम्पनी मोडेलमा सञ्चालन हुँदै आएका विद्यालयको आम्दानीको स्रोत विद्यार्थीहरु नै हुन् । उनीहरूबाट विभिन्न शीर्षकमा लिइएको शुल्कबाट विद्यालय सञ्चालन हुन्छ । नाफा वा घाटाको भागिदार विद्यालय सञ्चालक नै हुन्छन् । तर, निजी गुठी मोडेलबाट सञ्चालित विद्यालयमा भएको नाफा सञ्चालकहरुले बाँड्न र प्रयोग गर्न पाउँदैनन् । काठमाडौं उपत्यकाभित्र अहिले पनि निजी गुठी अन्तर्गत केही विद्यालयहरु सञ्चालनमा छन् । ललितपुर महानगरपालिका शिक्षा विभागका प्रमुख महेन्द्रबहादुर क्षेत्रीका अनुसार निजी गुठीमा सञ्चालन हुने विद्यालयहरुले अन्य कम्पनीअन्तर्गत सञ्चालन भएका विद्यालयहरुले जस्तै नाफा बाँडाफाँड गर्न पाउँदैनन् । ‘कम्पनी अन्तर्गत चलेका विद्यालयमा भने शेयर साझेदार हुन्छन् । उनीहरूले नाफा बाँडेर लिन्छन् । कम्पनी नाफामूखी हुनेभए भने गुठी गैरनाफामूलक हो’, प्रमुख क्षेत्रीले भने, ‘काम गर्नेहरुले तलब खान पाउने भए, तर नाफा भयो भनेर बाँडफाँड गर्न पाइँदैन ।’ उनकाअनुसार गुठी अन्तर्गत सञ्चालन भएका विद्यालयहरु खारेज हुँदा पनि त्यहाँको सम्पत्तीको हिस्सा सरकारको हुने उनले बताए । गुठी अन्तर्गत सञ्चालन हुने विद्यालयहरुमा नाफा आर्जन हुँदा त्यो नाफा संस्थागत हुने क्षेत्री बताउँछन् । त्यसरी कमाएको नाफा विद्यालयकै विकास र सुधारमा खर्च हुन्छन् । ‘गुठीमा हुँदा नाफा बलियो भने संस्था बलियो हुँदै जाने तर, कम्पनी मोडलमा नाफा सञ्चालकहरुले बाँडफाँड गर्छन्, नाफा चाहिँ व्यक्तिमा जाने भयो’, उनले भने । काठमाडौं महानगर शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले शिक्षा ऐनको पाँचौ संशोधनपश्चात स्वेच्छिक हिसाबले केही निजी विद्यालयहरु गुठीमा गएको बताए । महानगरभित्र सञ्चालन भएका निजी गुठी अन्तर्गतका सबै विद्यालयहरु गैरनाफामूलक हिसाबले सञ्चालन भइरहेको उनले बताए । तर, त्यस्ता विद्यालयको आर्थिक अवस्थाको जानकारी भने महानगरले लिन बाँकी रहेको उनले बताए । विद्यालय खारेज गर्नुपर्ने अवस्थामा पनि निजी गुठी अन्तर्गत सञ्चालित विद्यालयहरुले आफ्नो खर्च कटाएर बाँकी रकम सरकारलाई बुझाउनुपर्ने कोइरालाले बताए । ‘कम्पनी मोडलका विद्यालय खारेज हुने अवस्थामा त्यसको व्यवस्थापन निजी पक्षले नै गर्नसक्छ’, उनले भने, ‘सार्वजनिक गुठीको विद्यालय बन्द भयो भने सबै नेपाल सरकारको हुन्छ ।’ मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ६ मा गुठी सम्बन्धी व्यवस्था गरिएको छ । सो संहितामा गुठी सार्वजनिक र निजी दुवै हुनसक्ने र कुनै खास व्यक्ति वा समूह विशेषलाई हित, लाभ वा सुविधा पु¥याउने उद्देश्यले राखिएको गुठी निजी गुठी मानिने बताइएको छ । साथै, गुठी स्थापना गर्दा सम्पत्ती हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । गुठीको सञ्चालक पनि पुस्तान्तरण गर्दै जाने व्यवस्था ऐनमा गरिएको छ । शिक्षा मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले शिक्षा ऐन, २०२८ मा शैक्षिक गुठीहरु घाटामा गएको अवस्थामा कसरी सञ्चालन गर्ने भन्ने लगायतको व्यवस्था नभएकाले सो सम्बन्धी व्यवस्था नयाँ ऐनमा आउन आवश्यक रहेको बताए । निजी विद्यालय सञ्चालकहरूको विरोध निजी विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण गर्ने गरी संसदमा लैजान लागिएको विधेयकप्रति निजी शिक्षणसंस्थाका सञ्चालकहरुले आपत्ति जनाएका छन् । निजी शिक्षण संस्थाहरुको छाता संगठन हिसान, प्याब्सन र एनप्याब्सनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर सरकारले अगाडि बढाएको विधेयकको विरोध गरेका हुन् । निजी शिक्षण संस्था सञ्चालकहरुले सरकारले आवश्यक प्रावधान तयार नै नगरी हठात विधेयक अगाडि बढाएको बताएका छन् । प्रस्तावित विधेयक संविधान विपरित भएको भन्दै विद्यालय बन्द गर्नेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पढ्नुहाेस्  शिक्षा विधेयक : विद्यालयमा केन्द्र सरकारको शक्ति अभ्यास मोह, यस्ता छन् ‘पश्‍चगामी’ प्रस्ताव

पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग अवरुद्ध

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२ः३० बजे कन्टारमा सडक भासिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, ‘सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ, सडक मर्मतका लागि समय लाग्ने देखिएको छ ।’ प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ । यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत व्यास–१२ देउरालीमा मङ्गलबार बिहान ११ बजे भासिएको सडक आजसम्म पनि एकतर्फी सञ्चालन भइरहेको छ । रासस

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट  साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतबाट दुवै जनालाई पाँच/पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उनले बताए । रासस

नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप

नवलपुर । सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । आयोेजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ । ‘अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ’ उनले भने, ‘हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।’ पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए । ‘निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदैछ, केही दिनमा कस्टम क्लियर (भन्सार जाँच) भएर नेपाल भित्रिन्छ’ उनले भने, ‘त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम सकाउन अझै चार/पाँच वर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । ‘अहिले सडक विस्तारको काम गरिरहेको चाइनिज ठेकेदारले काम गर्न नदिए जाने मनसाय बनाएका छन् । ठेक्का तोडेर धरौटी जफत गर्नुभन्दा अरु कारबाही हामी गर्न सक्दैनौँ’ उनले भने, ‘हामीले ठेक्का तोडेको अवस्थामा उनीहरुले विभिन्न कारण देखाएर मुद्दा हाल्ने तयारी गरेका थिए, जसकारण हामीले मुद्दा हार्दा ठूलो क्षति व्यहोर्नुपर्ने थियो ।’ निर्माण सामग्री नपाएको, विद्युत्का तार नसारेको, रुख कटानमा ढिला गरेको लगाएका कारण देखाउँदै उनीहरु अदालत जाने तयारी गरेका बेला ठेक्का थप गर्नुको विकल्प नदेखिएको उनको भनाइ छ । निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरुको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ । सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ । उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ । ‘हामीले दुवै खण्डको म्याद दुई वर्ष थप गर्नेगरी कन्सल्टेन्टलाई निवेदन दिएका थियौँ’ उनले भने, ‘कन्सल्टेन्टबाट सिफारिस भएर गएको तीन सय ५० दिन पश्चिम खण्डमा थप भएको छ, पूर्वी खण्डमा तीन सय ३० दिन थप गर्ने सिफरिस भएको छ ।’ थपिएको म्याद अनुसार पश्चिम खण्ड (दाउन्ने–बुटवल) को म्याद २३ जुलाइमा सकिन्छ । थप गरिएको अवधिमा सडक विस्तारको ७५ प्रतिशत काम सम्पन्न हुने सहव्यवस्थापक झाले दाबी गरे । ‘तेस्रो भेरियन्टको कोभिड, समयमा कच्चापदार्थ नपाउनु, विद्युत्का तार सार्न ढिला हुनु, रुख कटान तथा जिम्माको काममा ढिला हुनु लगायतका कारणले काम ढिला भएपछि म्याद थपको माग गरेका हौँ’ उनले भने, ‘अहिले निर्माण सामग्री पर्याप्त रहेको छ, कुनै अवरोध नभएमा काम तीव्र गतिमा अगाडि बढाउन सक्छौँ ।’ हाल नारायणगढ बुटवल खण्ड अन्तर्गत पूर्वी खण्डमा १५ किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए । रासस

आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन- डा. समिरकुमार अधिकारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे । उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । “यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ”, डा. अधिकारीले भने । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भीडभाडमा हुने ठाउँरसार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए । डा. अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ । लक्षणहरु  आँखा पाक्ने रोगका प्रमुख लक्षणहरुमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरारचिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने/दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायत हुन् ।  रासस

बेइजिङमा मुशलधारे बर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए । मुख्यतया, गत हप्ता परेको बर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो । जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पु¥याएको छ । जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । बर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ अथक उद्धार र पुनस्थापना प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात बहाल भएको छ । बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रूत कदम चालेको उपमेयरले बताए । ‘बेइजिङ शहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,’ जियाले भने । सिचुवानमा बाढीका कारण सात जनाको मृत्यु चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ । प्रान्तीय राजधानी छेन्दुको दक्षिणपश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्यासित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बाढीआउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए । सीसीटीभीले शेयर गरेको भिडियोमा शक्तिशाली धारले पानीलाई तल धकेलेको र पानीको किनाराबाट मानिसहरू चिच्याएका कारण धेरै मानिसहरु आफ्नो टाउको पानीमाथि राख्न सङ्घर्ष गरिरहेको देखिएको छ । जलप्रलयको कारण तत्काल स्पष्ट हुन सकेको छैन । रासस

बोर्डको अध्यक्षमा हमाललाई दोहोर्याउन लगानीकर्ताको आग्रह, हमाल भन्छन् : गर्नु पर्ने धेरै छ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जति कमजोर कम्पनीहरु बजारमा आएपनि सेयर बिक्री हुने गरेको बताएका छन् । बुधबार धितोपत्र ब्रोकर एसोशिएसन नेपालले नयाँ धितोपत्र दलाल व्यवसायीलाई स्वागत गर्न राखिएको कार्यक्रममा बोल्दै उनले हाल जति कमजोर कम्पनीहरुले आईपीओ जारी गरेपनि त्यो सेयर बिक्री हुने गरेको धारणा राखे । यस्तै, उनले नयाँ कम्पनीहरु सेयर बजारमा आउनुपर्ने बताए । सूचीकृत कम्पनीहरु कम रहेको र नयाँ थप्न आवश्यक रहेको बताएका हुन् । ‘सूचीकृत कम्पनीको संख्या कम भयो, थप सूचीकृत कम्पनी ल्याउन जरुरी छ, हामी स्वागत गर्न तयार छौैं, जसले बजारको भोलुम पनि बढ्छ, यतिका वर्षसम्म २५० वटा कम्पनी मात्रै पुँजी बजारमा सूचीकृत छन्, यो एकदमै कम हो,’ उनले कार्यक्रममा भने । यस्तै, उनले अब ब्रोकर कम्पनीले लगानीकर्तालाई लगानी गर्न पनि सिकाउनु पर्ने बताए । बजारमा कुनै समस्या आयो बोर्डमाथी धारे हात लगाउने प्रवृत्ति हावी भएको बताउँदै त्यस्तो नगर्न पनि उनले आग्रह गरे । उनले यो यात्रा सुरुवात भएको हुँदा फल आएपछि मात्रै पूर्ण हुने धारणा राखे । ‘लगानीकर्ताले समयमा सूचना पाउनु पर्छ, कारोबारमा हुने कमजोरी हुन दिनुहुन्न, ब्रोकर कम्पनीबीच, प्रतिस्पर्धा गर्नका लागि ब्रोक्रर संख्या थप गरिएको हो, संस्थाहरु पब्लिकप्रति जिम्मेवार हुनुपर्छ,’ उनले भने । उनले नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई काखा र पाखा नगर्ने धारणा पनि राखे । यस्तै, कार्यक्रममा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स ल्याउन धेरै संघर्ष गरेको अनुभव सुनाए । नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स नदिन पुराना ब्रोकर कम्पनीले अवरोध श्रृजना गरेको भएपनि असफल भएको उनको भनाइ छ । उनले पुँजी बजारको दायरा बढाउन नयाँ ब्रोकरले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । एसोसिएसनका वरिष्ठ उपाध्यक्ष अञ्जिब तुलाधरले समृद्ध नेपालको आधार, पुँजी बजारको सुधार नाराका साथ नयाँ ब्रोकर कम्पनी संचालनमा आएको बताए । सम्पत्ति सुदृढीकरण सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न गाह्रो भएको सुनाए । संघका उपाध्यक्ष अतित लाल श्रेष्ठले बोर्डका अध्यक्ष रमेशकुमार हमालको सक्रियता र त्यागले नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएको बताए । कार्यक्रममा इन्भेस्टर फोरमका अध्यक्ष तुलसीरान ढकालले पुँजी बजारमा लगानीकर्ताको संख्या दैनिक बढ्दा ब्रोकर कम्पनीको संख्या थप्नु आवस्यक भएको धारणा राखे । ‘आजको दिन ऐतिहासिक दिन हो, अध्यक्ष हमालको नाम स्वर्ण अक्षरमा लेखिनेछ, पुँजी बजारमा लगानी भित्रिए पनि राम्रोसँग परिचालन हुन सकेको छैन, अबको दिनमा पुँजी बजारले फड्को मार्नेछ, अध्यक्ष हमाल पुनः बोर्डको अध्यक्षमा दोहोरिनु पर्छ,’ उनले भने ।

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट

बेइजिङ । चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए । चिनियाँ उत्पादनको विश्वव्यापी माग घट्दै जाँदा गत महिना चीनको निर्यात तीन वर्षयताकै सबैभन्दा तीव्र गतिमा घटेको समाचार सार्वजनिक भएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । कमजोर आन्तरिक मागका कारण आयात पनि लगातार नवौं महिना घटेको छ । वस्तुको मूल्यमा आएको गिरावट क्रयशक्तिका लागि फाइदाजनक देखिए तापनि अपस्फीतिले अर्थतन्त्रका लागि व्यापक खतरा उत्पन्न गर्छ किनभने उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् । मागको कमीले कम्पनीहरूलाई उत्पादन घटाउन, रोजगारी कम गर्न वा रोक्न र कामदारहरूलाई हटाउन बाध्य पार्छ, साथै उनीहरूको भण्डार बेच्न नयाँ छुट दिन तयार हुन्छ । लागत समान हुँदाहुँदै पनि लाभप्रदतामा तौल गर्दछ । चीनले सन् २०२० को अन्त्य र सन् २०२१ को सुरुमा छोटो अवधिको अपस्फीतिको अनुभव गरेको थियो, जसको मुख्य कारण सुँगुरको मासुको मूल्यमा गिरावट आएको थियो । चीनमा सबैभन्दा बढी खपत हुने सुँगुरको मासु हो । रासस