विकासन्युज

सत्तापक्षले संसदमा दादागिरी देखाएको एमालेको आरोप

काठमाडौं । सत्ता पक्षले संसदमा दादागिरी देखाएको आरोप प्रमुख प्रतिपक्ष दल एमालेले लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताए । बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले भने, ‘बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर बिरोध गर्नु दादागिरी हो ।’ बुधबारको संसद बैठकमा सत्ता पक्षका सांसदहरुले पनि बोल्न समय मागेका थिए । सभामुखले प्रतिपक्षका सांसद सूर्य थापालाई समय दिएका थिए । थापा बोल्दै गर्दा सत्ता पक्षका सांसदहरु उठेर विरोध गरेपछि सभामुखले थापालाई समय सकिएको बताएका थिए । सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका नेताहरु वेलमा आएर नाराबाजी गरेका थिए । ‘सरकार जिम्मेवार बन्न सकेन । सभामुखले समय दिएर हाम्रा माननीय सूर्यबहादुर थापाले आफ्ना भनाइ राख्दै गर्दा सत्ता पक्षका माननीयहरुले उठेर अवरोध गर्नुभयो । यो सत्तापक्षको दादागिरी हो’, बर्तौलाले भने । बर्तौलाले सत्तापक्षको दादागिरी देख्दा सरकारले संसद चलाउन नचाहेको बताए । सरकारले संसदलाई द्वन्द्वतर्फ लैजाने तयारीका साथ अघि बढिरहेको उनले बताए ।

४१ अंकले बढेको सेयर बजारमा करीब दुई अर्बको कारोबार

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार भने बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा बढेर बन्द भएको हो । बुधबार सेयर बजारमा २६५ स्टकको ७७ हजार ५०१ पटकको कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता शेयर कारोबार भएको छ । सेयर बजारको १३ उपसमूहमध्ये बुधबार म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । आज आइएमई १५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सेञ्चुरी बैंकको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यक्रिया सफल भएको छ । गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको शल्यक्रिया गरिएको हो । उक्त शल्यक्रिया सम्पन्न गर्न डाक्टरहरुको टीमलाई ९ घण्टा लागेको अस्पतालले बताएको छ । म्याग्दी जिल्लाको बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी पुगेको थियो । उनलाई २० वर्ष अघि नै हात्तीपाइले रोगको समस्या देखिएको थियो । प्रा.डा. श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया गरिएको बताए । डा.श्रेष्ठले भने, ‘जो बिरामी हुन उनी ३५ वर्षका छन् । उहाँमा हात्तीपाइलेको रोग करिब २० वर्षअघि नै शुरुवात भएको रहेछ । उनलाई हिँड्न धेरै मुस्किल थियो । प्लास्टिक सर्जरी विधिबाट हात्तीपाइलेको निकालिएको छ । विरामीको खुट्टा पनि निकाल्नुपर्ने अवस्था थियो । प्लाष्टिक सर्जरी गरेर खुट्टालाई जोगाउने गरी अप्रेसन भएको छ ।’ खुट्टाका नशाहरु ठूला भएकाले छुने बित्तिकै रगत निस्किने हुँदा अप्रेसन जटिल भएको डा. श्रेष्ठले बताए । उनले भने, ‘हामीले यसलाई सफल अप्रेसनका रुपमा लिएका छौं । एउटा खुट्टाको हात्तिपाइले निकाल्यौं । त्यसको वजन ४८ केजीको भएको देखिएको छ ।’ डा. श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा. समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गरेका थिए । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र आजै अस्पतालबाट डिश्चार्ज गरिएको उनले बताए ।

डिशहोमले इन्टरनेटको शुल्क घटायो, मासिक १०० रुपैयाँमा इन्टरनेट र इन्टरटेन्मेन्ट

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने कम्पनीले जनाएको छ । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्ने छन् । कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसंगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्ने कम्पनीले जनाएको छ ।

नेप्सेमा सिटिजन्स सुपर ३० फण्डका इकाई सूचीकृत

काठमाडौं । सिटिजन्स सुपर ३० फण्डका ७ करोड ५० लाख ७२ हजार ३९० इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईहरु मंगलबार सूचीकरण भएको हो । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगायतको उपस्थितीमा योजनाका ईकाईहरु सूचीकरण गरिएको हो । बुधबारदेखि उक्त योजनाका इकाईको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

झापामै फल्यो १० हजार मेट्रिक टन सुपारी

झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् । यसको पातबाट वातावरणमैत्री थाल तथा बटुकासमेत उत्पादन हुने गरेको छ । वर्षौंदेखि जिल्लामा सुपारीको खेती हुँदै आए पनि यसको खेतीले व्यावसायिकस्वरुप धारण गरेको भने धेरै भएको छैन । अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यसको व्यावसायिक खेती हुने गरेको छ । मन्त्रालयका कृषि विज्ञ अभिमन्यू अधिकारीका अनुसार कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ । झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल ४ हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार ५६१ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ । झापामा २ हजार ७७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ । झापामा आव २०७९/८० मा १० हजार ३७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । झापामा सुपारी खेतीको विस्तार पनि तीव्र रुपमा भइरहेको छ । जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारी खेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्व अध्यक्ष नीलकण्ठ तिवारी बताउँछन् । सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको उनको भनाइ छ । झापामा सुपारीको खोस्टाबाट प्लेट, बटुका, चम्चालगायतका सामान बनाउने ठूला साना गरी आधादर्जन उद्योग सञ्चालनमा रहेका छन् । सुपारीका पातबाट निर्मित सामान यूरोपसम्म निर्यात हुने गरेको छ । झापापछि मोरङमा सबैभन्दा बढी सुपारी खेती र उत्पादन हुँदै आएको छ । मोरङको नौ सय पाँच हेक्टरमा सुपारीको खेती हुँदै आएको छ । गत आवमा मोरङमा २ हजार ९४६ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । यसैगरी इलाममा गत आवमा २०९ हेक्टरमा सुपारी खेती भएकामा ६१० मेट्रिक टन उत्पादन भएको थियो भने सुनसरीको १३५ हेक्टरमा खेती हुँदा ५२५ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ । उदयपुरको ३५ हेक्टरमा सुपारी खेती भएको र गत आवमा १०९ मेट्रिक टन सुपारी उत्पादन भएको पाइएको छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापामा सुपारी जोन सञ्चालन भएको उनले बताए । जोन घोषणा भएसँगै सुपारी किसानलाई खेती विस्तार, बिरुवा उत्पादन, कृषि औजार, भण्डारण, सुपारी प्रशोधन लगायतका लागि परियोजनाले ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा विभिन्न औजार दिने गरेको छ । झापाको पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा सुपारी खेतीका लागि अनुकूल माटो रहेको छ । बाहुनडाँगी, बुधबारे, शनिश्चरेमा जताततै सुपारीका मनमोहन बगान देख्न सकिन्छ । पछिल्लो समय सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । ‘कम लगानीमा बढी आम्दानी हुने भएकाले सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको हो’, सुपारी जोनका पूर्व अध्यक्ष तिवारी भन्छन्, ‘जङ्गली हात्तीले अरु बाली खाएर नष्ट गरेपछि सुरक्षित बालीका रुपमा हात्तीपीडित क्षेत्रका बासिन्दाले सुपारी खेती विस्तार गर्न बाध्य भएका पनि छन् ।’ एकपटक लगाएपछि पुस्तौँसम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने र पातदेखि फलसमेत बोटबाटै बिक्री हुने गरेको उनले बताए । उनले जङ्गली हात्तीले सुपारी बालीलाई कम क्षति गरेको पाइएको बताए । स्वदेशमा सुपारी खेती विस्तारसँगै यसबाट लाभान्वित किसानको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–४ का राजेन्द्र मिश्रले धान खेती मासेर अढाइ बिघामा सुपारी खेती गरेका छन् । सुपारीबाट प्रति बिघा वार्षिक तीन लाख आम्दानी हुने गरेको उनले बताए। सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, कागती, बेसार र अदुवाको खेती पनि गर्न सकिने उनको भनाइ छ । बहुवर्षे बाली भएकाले एकै वर्षमा एउटा बोटबाट ५० किलोसम्म सुपारी फलाउन सकिन्छ । स्वदेशमा खेती र उत्पादनको प्रचुर सम्भावना भए पनि तेस्रो मुलुकबाट आयातित सुपारीको तस्करी धन्धाका कारण स्थानीय किसान मारमा परेका छन् । सरकारले तोकेको भारत निकासी कोटामा विदेशी सुपारी मिसाउने धन्धाका कारण स्वदेशी सुपारीको बजार अन्योल र विवादमा पर्ने गरेको किसानको गुनासो छ ।रासस

प्रतिनिधिसभा बैठक स्थगित, एमालेद्वारा संसद् अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताए । उनले आफ्नो भनाइ राखिरहँदा सत्तापक्षका सांसद पनि आफ्नो आसनबाट उठाएका थिए । सांसद थापा बोलिरहेकै बेला सत्तापक्षका सांसद पनि उठेपछि सभामुख देवराज घिमिरे उनीहरुलाई बस्न आग्रह गरेका थिए । सत्तापक्षका सांसदले आसन ग्रहण गरेपछि एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । यही साउन २ गते सिनामङ्गलबाट बरामद भएको अवैध सुन भित्रिएको विषयमा छानबिन समिति बनाउनुपर्ने एमालेले माग राखेको छ । बैठकमा सभामुख देवराज घिमिरेले सुन तस्करीसँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भइरहेको र सदनलाई गृहमन्त्रीले जवाफ दिइसक्नुभएकाले सदन सञ्चालनमा सहयोग गर्न एमाले सांसदहरुलाई आग्रह गरेका थिए । उनले भने, ‘संसद् जनताका आवाज उठाउने थलो हो । अहिले बाढीपहिरोका घटनालगायत संसद्मा उठाउनुपर्ने अन्य थुप्रै विषय छन् ।’ उनले संसद्को नियमित कारबाही अगाडि बढाउन आग्रह गरे पनि एमाले सांसदले नाराबाजी गर्दै अवरोध कायम राखेपछि आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी

काठमाडौं । सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिए ।  सडक विभागले त्यसका लागि आवश्यक खण्ड सडक छुट्याएर ‘रोड मार्किङ’ गर्ने उनले बताए । उनले भने, ’सडकको काम सकिएपछि अरू निकायको काममा समय धेरै लाग्दैन ।’ सडक विभागले गर्ने काम सकिएपछि अरू निकाय तयारी अवस्थामा रहेको उनले बताए । यातायात व्यवसायीले सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरीले आफूले गर्ने काम गर्ने उनको भनाइ छ । उनले भने, ’सबैभन्दा पहिले सडकको काम नै हुनुप¥यो, त्यो सकिएपछि बैठक राखेर कार्यान्वयन कहिलेदेखि गर्ने भनी निर्णय हुनेछ ।’ अहिलेको अवस्था हेर्दा असोज १ गतेदखि नै सुरु गर्ने सम्भावना कम रहेको प्रवक्ता पनेरुले जानकारी दिए । वर्षाको समय भएकाले सडक विभागले काम गर्न केही समस्या भएको छ । पार्किङका लागि अध्ययन पहिले नै भइसकेर बनाउन वर्षाका कारण नसकिएको उनले बताए । असोज भित्रै गरिने भए पनि पहिले लक्ष्य लिइएकोभन्दा आठ–१० दिन तलमाथि हुनसक्ने उनको भनाइ छ । कुन मितिबाट बस सुरु हुन्छ भन्ने कुरा सडक विभागको काममा निर्भर रहेको छ । यातायात व्यवस्था विभागले समन्वय, सहकार्य र नियमनकोे काम गर्ने उनको भनाइ छ । दु्रतमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको उनले बताए । काठमाडौं उपत्यकामा अत्यधिक सवारी साधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालय आफैँले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको जनाएको छ । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ । मन्त्रालयले राम्रो अवस्था र क्षमताका निजी कम्पनीका बस छनोट गरी दु्रत बस सेवा सुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा सवारीसानधको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको  छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ । रासस