विकासन्युज

विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला हुँदै, महिला उद्यमीका उत्पादन प्रदर्शनी हुने

काठमाडौं । विन बहुउद्देशीय सहकारी संस्थाले ट्रेड फेयर आयोजना गर्ने भएको छ । विन बहुउद्देश्यीय सहकारीले यही साउन २६, २७ र २८ गते १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८० आयोजना गर्न लागेको हो । महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा हुने व्यापार मेलामा ५१ वटा स्टलहरू रहने छन् । मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिक रेशा, नेपाली कागज, पस्मिना, फेल्ट, उनी, काष्ठ, पोते, नेपाली ढाँका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरा लगायत नवरस ब्राण्डका सामग्री प्रदर्शनी तथा बिक्री हुने विन बहुउद्देशीय सहकारीले जानकारी दिएको छ । मेलालाई अझै आकर्षक बनाउन विन बहुउद्देशीयले गिफ्ट भौचर, उपहार, निःशुल्क वाईफाई, निःशुल्क मास्क, निःशुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दी लगायतको व्यवस्था गरेको छ । विन बहुउद्देश्यीय सहकारीले महिलाहरूलाई उद्यमी बनाउन बेसिकदेखि एडभान्ससम्मको तालिम समेत सञ्चालन गर्दै आएको छ । तालिममा सहभागीले बनाएका उत्पादनको प्रवर्द्धन गर्न मेलामा प्रदर्शनी र प्रतियोगिताको समेत आयोजना हुने सहकारीले जनाएको छ । यसका साथै महिला उद्यमशीलता तालिमका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक हुने बताइएको छ । ३ दिनसम्म चल्ने मेला १० देखि १५ हजारले अवलोकन गर्ने र ५० देखि ७५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । विन बहुउद्देशीय सहकारी संस्था महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्य लिएर सन् १९९१ मा सहकारी ऐन अन्तर्गत स्थापना भएको बजारीकरण गर्ने नेपालकै पहिलो सहकारी संस्था हो । संस्थाले स्थापना कालदेखि नै आफ्ना महिला सदस्यका साथै उनीहरूको सहभागीताजमा सञ्चालित उद्योग व्यवसायबाट उत्पादन गरिएका वस्तु एवं सेवाहरूलाई स्वदेश तथा विदेशमा बजारीकरण गर्दै आएको छ । यस बाहेक महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सीप अभिवृद्धि तालिम समेत सञ्चालन गर्दै बजारीकरण सहयोग गर्दै आएको छ ।

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

त्रिवेणी । अबिरल वर्षासँगै खसेको पहिराले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–१ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भिरमा खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिराले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सञ्चालन हुने सम्भावना कम रहेको उनको भनाइ छ । कालीगण्डकी करिडोरअन्तर्गत नै गैँडाकोट–३ तरङ्खोलामा पानीको बहाव बढ्दा यातायात सेवा सञ्चालन हुन नसकेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्रसहित यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनै पनि यातायात सञ्चालन हुनसकेका छैनन् । दलदले–बुलिङटार सडकखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ । गए राति परेको अबिरल वर्षासँगै बुलिङटार–४ अर्खलामा खसेको पहिराको कारण पूर्णरूपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । रासस

मर्ज भएका बैंकबीच ‘नम्बर वान’ बन्ने संघर्ष, कुन सूचकमा कुन ठूलो ?

काठमाडौं । पछिल्लो समय १४ वटा वाणिज्य बैंक मर्जर तथा एक्विजिशनमा सामेल भए । राष्ट्र बैंकको बिग मर्जर नीति अनुरुप १४ वटा बैंक मर्जर तथा एक्विजिशनमा सामेल भएर ७ वटा बैंक बने । २७ वटा बैंकको संख्याबाट २० वटा कायम भए । साविक नेपाल बङ्गलादेश र नबिल (नबिल बैंक), नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी (कुमारी बैंक), ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (ग्लोबल आइएमई बैंक), सेञ्चुरी र प्रभु (प्रभु बैंक), मेगा र नेपाल इन्भेस्टमेन्ट (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), सिभिल र हिमालयन (हिमालयन बैंक) र सनराइज र लक्ष्मी (लक्ष्मी सनराइज बैंक) मर्जर तथा एक्विजिशनमा सामेल भए । साथै, मर्जरमा गएका सबै बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरेपछि मर्जरमा गएका बैंकहरुमा तुलनात्मक विश्लेषण गर्न थालिएको छ । कुन बैंकले कस्तो प्रगति गरे भनेर सबैको चासोको विषय बनेको छ । मर्जरपछि आफूलाई नम्बर वान बनाउने प्रयास पनि बैंकरहरुबीच भइरहेको छ । मर्जरमा सामेल भएका बैंकहरुले गत असारसम्म झण्डै साढे २९ अर्ब रुपैयाँ बराबर नाफा गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार ७ वटा बैंकहरुले २९ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । जसमध्ये नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा धेरै नाफा हो । यस्तै, ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) बैंकले ४ अर्ब २९ करोड रुपैयाँ, हिमालयन बैंकले ३ अर्ब २६ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ८२ करोड रुपैयाँ, लक्ष्मी सनराईज बैंकले २ अर्ब २६ करोड रुपैयाँ र कुमारी बैंकले १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । यस्तै, समीक्षा अवधिमा यी ७ बैंकले ८४ अर्ब ८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । नबिलले १७ अर्ब ९८ करोड रुपैयाँ ब्याज आम्दानी गरेर अग्रस्थानमा छ । यस्तै, ग्लोबल आइएमईले १७ अर्ब ११ करोड रुपैयाँ, एनआईएमबिले १२ अर्ब २७ करोड रुपैयाँ, कुमारीले ११ अर्ब १ करोड रुपैयाँ, प्रभुले १० अर्ब २५ करोड रुपैयाँ, हिमालयनले ९ अर्ब ९३ करोड रुपैयाँ र लक्ष्मी सनराइजले ५ अर्ब ५० करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यस्तै, गत असारसम्म मर्जरमा सामेल भएका बैंकहरुको चुक्ता पूँजी १ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये ग्लोबल आइएमई र एनआईएमबि बैंकबीच पूँजी वृद्धिमा प्रतिस्पर्धा देखिन्छ । ग्लोबल आइएमईको ३६ अर्ब ७७ करोड रुपैयाँ छ भने एनआईएमबिको ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस्तै, नबिलको २७ अर्ब ५ करोड, कुमारीको २६ अर्ब २२ करोड, प्रभुको २३ अर्ब ५४ करोड, लक्ष्मी सनराइजको २१ अर्ब ६७ करोड र हिमालयनको २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । समीक्षा अवधिमा यी ७ बैंकले १ खर्ब ८ अर्ब रुपैयाँ रकम जगेडा कोषमा जम्मा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिलले २७ अर्ब ७ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको देखिन्छ । यस्तै, एनआईएमबिले २३ अर्ब ८९ करोड, ग्लोबल आइएमईले १९ अर्ब ९५ करोड, हिमालयनले १४ अर्ब ९१ करोड, लक्ष्मी सनराइजले १४ अर्ब, कुमारीले ११ अर्ब ३७ करोड र प्रभुले १० अर्ब २ करोड रुपैयाँ जगेडा कोषमा राखेको तथ्याङ्क छ । गत असारसम्म मर्ज भएका बैंकहरुले २३ खर्ब ५४ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमईले ४ खर्ब २६ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै, नबिलले ३ खर्ब ९६ अर्ब, एनआईएमबिले ३ खर्ब ५४ अर्ब, कुमारीले ३ खर्ब १६ अर्ब, लक्ष्मी सनराइजले २ खर्ब ९६ अर्ब, प्रभुले २ खर्ब ८९ अर्ब र हिमालयनले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै, गत असारसम्म १९ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । ग्लोबल आइएमईले ३ खर्ब ५६ अर्ब, नबिलले ३ खर्ब ३२ अर्ब, एनआईएमबिले ३ खर्ब ३ अर्ब, कुमारीले २ खर्ब ७० अर्ब, लक्ष्मी सनराइजले २ खर्ब ५३ अर्ब, प्रभुले २ खर्ब ३८ अर्ब र हिमालयनले २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । प्रतिसेयर आम्दानी (ईपीएस) मा नबिलको २७.८२ रुपैयाँ, ग्लोबल आइएमईको २०.७७ रुपैयाँ, लक्ष्मी सनराइजको १९.४४ रुपैयाँ, हिमालयनको १९.१९ रुपैयाँ, एनआईएमबिको १६.०७ रुपैयाँ, प्रभुको १२ रुपैयाँ र कुमारीको ७.४६ रुपैयाँ छ । मर्जरमा सामेल बैंकहरुले अधिकांश सूचकमा सकारात्मक फड्को मारे पनि लाभांश क्षमतामा भने कमजोर देखिएका छन् । गत असारसम्मको तथ्याङ्क अनुसार औषत ६.६ प्रतिशत मात्रै लाभांश क्षमता छ । वितरणयोग्य नाफा कम भएका कारण लाभांश क्षमतामा पनि ह्रास आएको हो । गत वर्ष ४ वटा बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा छन् । जसमध्ये कुमारी बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । यस्तै, एनआईएमबि बैंकको ०.४६ प्रतिशत र प्रभु बैंकको ०.६९ प्रतिशत मात्रै लाभांश क्षमता छ । गत वर्ष नबिलको १४.६४ प्रतिशत, लक्ष्मी सनराइजको ८.९४ प्रतिशत र ग्लोबल आइएमई बैंकको ८.२७ प्रतिशत लाभांश बाँड्ने क्षमता छ । मर्ज भएका बैंकहरुको खराब कर्जा भने ह्वात्तै बढेको छ । समीक्षा अवधिमा औषत ३.५७ प्रतिशत खराब कर्जा पुगेको छ । जसमध्ये कुमारीको ४.७७ प्रतिशत, हिमालयनको ४.५७ प्रतिशत, एनआईएमबिको ४.३७ प्रतिशत, प्रभुको ४.१६ प्रतिशत, ग्लोबल आइएमईको ३.०८ प्रतिशत, लक्ष्मी सनराइजको २.८१ प्रतिशत र नबिलको १.२३ प्रतिशत खराब कर्जा पुगेको छ ।

डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी

डोटी । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलवार विषालु च्याउ खाएर उनीहरू बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबहादुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली रहेका छन् । बिरामी भएका सबैको आदर्श गाउँपालिकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक जोशीले बताए । रासस

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ । आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम प्रभावित छन् । उक्त पदका लागि २०७९ भदौ २८ गते नै सूचना प्रकाशन भई ‘सर्टलिष्ट’ तयार गरिए पनि उक्त प्रक्रिया रद्द गरी हाल पुनः सूचना प्रकाशन गरिएको हो । उपकुलपतिको कार्यकाल तीन महिना बाँकी यसैबीच त्रिविको उपकुलपति रिक्त हुनुअगावै नयाँ उपकुलपति चयन गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरिएको छ । वर्तमान उपकुलपति डा धर्मकान्त बाँस्कोटाको कार्यकाल आगामी कात्तिक १६ गते सकिँदैछ । उपकुलपति बाँस्कोटाले आफ्नो तीन महिना कार्यकाल बाँकी रहँदा यही साउन १६ गते प्रधानमन्त्रीलाई लिखित जानकारीसहित ठूलो संरचना भएको संस्था भएकाले पूर्वतयारीका साथ व्यक्तिको छनोट गरेमा नयाँ नेतृत्वलाई सहज हुने अवगत गराइएको बताए ।

भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले बदली र वर्षाको सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली छ । दिउँसोतिर हल्का वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ६४ मिलीमिटर वर्षा मापन गरिएको छ । सबैभन्दा धेरै पोखरामा एक सय २०, सिमरामा एक सय १६, जनकपुरमा ७४ र वीरेन्द्रनगरमा ७३ मिलीमिटर वर्षा भएको छ ।

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट ५ पुस्तक छनोट भएका छन् । मदनपुरस्कार गुठीले पुरस्कारका लागि छनोट भएका ५ पुस्तक सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् । यी ५ पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ । पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएको गुठीले बताएको छ ।

यात्रा गर्दै हुनुहुन्छ ? आज यी राजमार्ग अवरुद्ध छन्

काठमाडौं । वर्षाका कारण देशभरका ४ राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ । बाढी–पहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन् । डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन् ।