विकासन्युज

सर्लाहीमा बाढीबाट २ जनाको मृत्यु, ७२ जनाकोे उद्धार

काठमाडौं । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ । यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए । त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । लगत्तै उनीहरुको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए । रासस

नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड हराए

काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्ड हराएका छन् । टेलिकमले बुधबार जारी गरेको सूचना अनुसार ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएका हुन् । नेपाल टेलिकमका अनुसार ५० रुपैयाँ दरका २० हजार कार्ड अर्थात् १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएका हुन् । टेलिकमले ढुवानी गर्ने क्रममा ति कार्ड हराएको जनाएको छ । टेलिकमका अनुसार सि.नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएका हुन् । टेलिकमले यदी ति कार्ड कतै भेटिएमा नजिकैको दुरसंचार कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।

राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड सिक्का बजारमा ल्याउने

काठमाडौं । सरकारले ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएको छ । सरकारले स्वीकृति दिएसँगै अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउने छ । ५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने छ । जसमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने छ । यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा थियो ।

खराब कर्जा बढेपछि लक्ष्मी लघुवित्तको नाफा ऋणात्मक

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको ब्याज आम्दानी घटेर खराब कर्जा बढेका कारण नाफामा असर पुगेको हो । लघुवित्तको ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेर ३६ करोड ६९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, लघुवित्तको खराब कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ । लघुवित्तको नेट फि तथा कमिशन आम्दानी २९.०१ प्रतिशत घटेर ५ करोड ६१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१ प्रतिशत घटेर ४२ करोड ३१ लख रुपैयाँ र सञ्चालन नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेर ४४ करोड १६ लाख रुपैयाँ, जगेडा कोष २०.७९ प्रतिशत घटेर ३४ करोड ८९ लाख रुपैयाँ, निक्षेप तथा सापटी २३.७५ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ र कर्जा २५.१५ प्रतिशत घटेर ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १८.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ रहेको छ । यद्यपी लघुवित्तको वितरणयोग्य नाफा भने ६ करोड ९० लाख रुपैयाँ रहेको छ ।

खोलाले बगाउँदा एकजना बेपत्ता

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।

अस्पतालको जग्गा बाँडेर सकिएपछि सडकमा पार्किङ

काठमाडौं । सरकारी भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ । अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि सडकमा पार्किङ गर्न थालिएको हो । भरतपुर अस्पतालको ३० बिघा ११ कट्ठा ६ धुर जग्गामध्ये अहिले अस्पतालसँग १२ बिघा मात्रै बाँकी छ । अस्पतालबाहिर झण्डै ५ सय मिटर लामो सडकमा मोटरसाइकल र गाडी पार्किङ गर्ने गरिएको छ । यसबाट दिनभर अस्पताल अगाडिको सडक क्षेत्रमा भीडभाड हुने गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पताल परिसरमा ठाउँ अभावका कारण पार्किङ व्यवस्थापन गर्न नसकिएको बताए । अस्पतालको पूर्वतर्फ भने बाइपास सडकसँगैको भागमा अस्पतालको जग्गा खाली रहेको छ । पौडेलले पार्किङका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराएर छलफल भइरहेको बताए । उनले भने, “अस्पतालको जग्गा बाँडेर र भाडामा लगाएर सकिएकाले पार्किङको समस्या भएको हो ।” कर्मचारीबाहेक अन्यलाई अस्पतालले पार्किङको व्यवस्था गर्नसकेको छैन । भर्ना भएका बिरामी कुरुवाको पार्किङ भने पूर्ववत् अवस्थामा सञ्चालनमा छ । गएको आइतबार बहिरङ्ग सेवा लिन २ हजार १७५ जना आएका थिए । अघिल्लो आइतबार यो सङ्ख्या २ हजार २८९ थियो । बिरामीसँगै अन्य साथीसमेत आउने भएकाले अस्पतालमा भीड बढ्ने गर्दछ । बीमाको प्रथम विन्दु भरतपुर अस्पताल भएकाले बिरामीको चाप बढ्दो छ । भरतपुर अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेसलाई भाडामा लगाइएको छ । यसैगरी स्कुल अफ हेल्थ साइन्स, नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार कार्यालय, स्वास्थ्य कार्यालय चितवन, नगर टोल विकास संस्थालाई प्रयोगका लागि दिइएको छ । साझा औषधि पसलले पनि जग्गा उपभोग गरेको छ । अस्पतालकै नाममा लालपुर्जा भएको जग्गा भरतपुर आँखा अस्पतालले समेत प्रयोग गरेको छ । आँखा अस्पतालले मन्त्रिपरिषद्बाट निर्णय भएकाले सो जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै आएको छ । रासस

१३ दिनपछि पोखराको फोहर पुनः लामेआहालमा विसर्जन

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको फोहर १३ दिनपछि मङ्गलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहर पुनः विसर्जन गरिएको हो । स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो । महानगरका प्रमुख धनराज आचार्य, उपपमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितिमा छलफल गरिएको थियो । महानगर प्रमुख आचार्यले फोहरमैलाको दिगो व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको जानकारी दिए । स्थानीयले फोहर विसर्जन गर्न नदिएपछि अदालतसम्म पुगेको उक्त विषयका सम्बन्धमा उच्च अदालत पोखराले फोहोर विर्सजन गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।

नेपाल एसबिआई बैंकले यी ४ वटा शाखा कार्यालय सार्दै

काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । । बैंकले दाङ, भैरहवा, रत्ननगर र रामपुर शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएकाले घर भाडामा लिन लागेको छ । बैंकका अनुसार दाङको घोराही उपमहानगरपालिका, भैरहवाको सिद्धार्थनगर नगरपालिका रुपन्देही, रत्ननगर नगरपालिका चितवन र रामपुर शाखा विरगंज महानगरपालिका पर्सामा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकको मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुई तल्लामा एटिएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य ऊर्जा उपकरण राख्ने सुविधा, सुरक्षा एवं बैंकिङ व्यवस्था सञ्चालन गर्न उपयुक्त व्यापारिक क्षेत्रमा सुविधा सम्पन्न पक्की घर भाडामा लिने भएको हो । इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।