भदौ १५ देखि नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । भृकुटीमण्डपमा भाद्र १५ देखि १७ सम्म नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । विद्युतीय उपकरण र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको दोस्रो संस्करण हो । बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो जुन मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्को संयोजकत्वमा आयोजना हुन लागेको हो । नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेका पनि छन्। नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो। इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू जस्तै एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ जसका कारण पनि यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सरोकारवालाहरू ध्यानाकर्षण हुनु आवश्यक छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुनेछ । विद्युतीय उपकरणहरूको हकमा नेपालमा घर–घरमा लगभग सबै प्रकारका विद्युतीय उपकरणहरूको प्रयोग हुने गर्दछ । आम नेपाली जनमानसले घरका हरेक कुनामा विद्युतीय उपकरण प्रयोग गर्नै पर्ने हुन्छ । साथै हरेक क्षण संसारमा नयाँ–नयाँ विद्युतीय उपकरणहरूको आविष्कार तथा नयाँ र प्रभावकारी प्रयोगहरू पनि ल्याइँदै छन् । यस सिलसिलामा यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउनेछ । नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन् । नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ । यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ । साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ । नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स पावर लाइट तथा होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भइरहेको जानकारी पनि यही प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
सञ्चालनमा आउँदै दुई करोड लगानीमा बनेको चम्पादेवी पार्क
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) अन्तर्गतको जिल्ला आयुक्तको कार्यालय काठमाडौंले चम्पादेवी पार्क निर्माणको काम अन्तिम चरणमा पुर्याएकाे छ । आयुक्त कार्यालयले सो पार्क भदौबाट सञ्चालनमा ल्याउन लागेको छ । चम्पादेवी पार्क कीर्तिपुर नगरपालिका–४ मा निर्माण भइरहेको छ । चम्पादेवी पार्कको काम हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर सूर्य परियारले जानकारी दिए । बाँकी १५ प्रतिशत काम भदौसम्म सक्ने तयारी रहेको उनले बताए । पार्क निर्माणको लागि २०७९ असार १५ मा सिद्धबाबा–अम्बुजा–द सुप्रिम जेभिलाई जिम्मा दिएको थियो । पार्क निर्माणका लागि दुई करोड १३ लाख ५० हजार रुपैयाँ लगानी भएको छ । पार्क निर्माणको योजना वडा कार्यालयले बनाएको थियो । ‘वडा कार्यालयले रमनिया पार्क भनेर डीपीआर गरेको थियो, र पछि केभीडीएको कार्यक्रममा चम्पादेवी पार्क भेर समेटियो, डीपीआरमा समावेश भएका कतिपय विषयहरु हटाएर पार्क निर्माण गरेका छौं,’ परियाले भने । डिपिआरमा समावेश भएका सबै पूर्वाधार तयार गर्न बजेट नपुग्ने भएकाले कतिपय काम हटाउनुपरेको उनले बताए । चम्पादेवी पार्कको काम २०८० सालको वैशाखभित्रै सक्नु पर्ने सम्झौता थियो । समयमा आयोजना नसकिएपछि म्याद थपेर भदौसम्मको समय दिइएको छ । पार्कमा आउटडोर जिम, रुख रोप्ने काम लगायत फिनिसिङ हुन बाँकी छ । ती काम ठेक्का सम्झौता अवधिभित्रै सम्पन्न हुने उनले बताए ।
भूगर्भविद्को टोली विशेष सुरक्षासहित राखिएको टल्कने ढुंगा परीक्षण गर्न गोरखामा
गोरखा । गोरखा नगरपालिका-७, सतिपिपलस्थित एक घरबाट बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद् गरेको उक्त टल्कने ढुंगा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुंगा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुंगा परीक्षणका लागि जियोलोजिष्ट डा सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुगेको गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिए । ‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो’, उनले भने, ‘विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भनेपनि लैजान समस्या भएपछि पुनः पत्राचार गरी विज्ञहरुको टोली जिल्लामै झिकाइएको हो ।’ विभागले आवश्यक उपकरण सहितको विज्ञहरुको टोली पठाएको उनले बताए । बरामद गरिएको टल्कने ढुंगाको तौल ५४ केजी छ । एकातिरबाट लाइट बाल्दाभित्रैबाट अर्कोतिर उज्यालो बारपार हुने उक्त ढुंगा पूख्र्यौली सम्पत्तिका रुपमा घरमै राखिएको पाइएको थियो । प्रहरीले बरामद् गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउँदा विज्ञहरुले उक्त टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ भएको हुनसक्न बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ भए पनि कुन गुणस्तरको भन्ने कुराको परीक्षण गर्न विज्ञसहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । टल्कने ढुंगा वर्षौंदेखि घरमा पूजा गर्दै आएको पाइएपछि उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घ संस्थाले माग गर्दै आएका छन् । टल्कने ढुंगा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा सङ्घ संस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शीला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाइ मूलधनीको ईच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने माग स्थानीयको छ । रासस
स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा
काठमाडौं । स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा उपलब्ध हुने भएको छ । होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएम्डब्लुसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको हो । विश्वविख्यात कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनिले लिएको छ । यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुकोआकर्षक डिजाइन हुनेछ । ‘बिएम्डब्लुको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौँ । बिएम्डब्लुको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो । हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ । अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज–सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन् । वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो ।’, कम्पनी प्रवक्ताले भने । बिएम्डब्लुडिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका यी नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै आकर्षक देखिन्छन् । बिएमडब्ल्युको कोरिया, चीन र जर्मनीका डिजाइनरहरुले यी डिजाइनहरु वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन् । स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ । नयाँ बिएम सिरिज मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।
गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो
काठमाडौं । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो । नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० रुपैयाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए ।
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १९ घाइते
काठमाडौं । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो रोल्पाको परिवर्तन गाउँपालिका वाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना २ ख २६१२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाइते भएको र उनीहरुको थप उपचारको लागि घोराही पठाइएको रोल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले बताए । बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए ।
बेनी–जोमसोम सडक सधैँ सास्ती, ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने
गलेश्वर । ‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको उक्त सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नाका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । छयत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका कृष्ण शर्माले जानकारी दिए । रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिराले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध हुने गरेको उनले बताए । बैसरीमा दैनिकजसो खस्ने पहिराले उक्त सडकको यातायात सेवा बन्द हुने गरेको छ । सडक माथिबाट पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले समयमै गन्तव्यमा पुग्न पाएका छैनन् । सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो । वैकल्पिकरुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ भने जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग आएका छन् । वैकल्पिक सडक पनि जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा सवारी साधन सञ्चालन नहुँदा आवतजावत गर्न र कृषि उपज निकासीमा असर परेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिराले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताए । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ । तत्काललाई जोखिम न्यूनीकरणको उपाय अपनाउन र अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीनरूपले समस्या समाधान गर्न माथिल्लो निकायमा पहल गरिने आयोजना प्रमुख प्रजापतिले जानकारी दिए । बाढीपहिराका कारण सो सडकखण्डको तीन ठाउँमा लेदो माटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी सुमन श्रेष्ठले बताए । बैसरीमा मात्र होइन हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न हुने गरेको सो सडक खण्डमा सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । उक्त सडकखण्डअन्र्तगत रघुगङ्गा गाउँपालिका–३ को बैसरी, अन्नपूर्ण गाउँपालिका–३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था दयनीय र डरलाग्दो रहेको दानमा होटल व्यवसाय गर्दै आएका व्यवसायी सुवर्ण खत्रीले बताए । यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नाका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने गाडी चालक टेकबहादुर विकले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेको र ठाउँठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरोले बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ । यो सडक २०६४ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो । उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत पाँच वर्षदेखि स्तरोन्नति र तीन वर्षदेखि कालोपत्रको काम सुरु भएको छ तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत प्रजापतिको भनाइ थियो । भीरकोट र बाँदरजुङ्गे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताए । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि योगदान पुग्ने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्वीर) ले बताए । ‘प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरुको ‘लाइफ इन्ड’ हुने गरेको छ’, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने ‘२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।’ रासस
शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकले घोषणा गरे आन्दोलन
काठमाडौं । विद्यालय शिक्षा विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले मंगलबार प्रत्रकार सम्मेलन गरेर संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका हुन् । विधेयकमा प्रस्तावित कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण हुनुपर्ने व्यवस्था गरेको भन्दै विद्यालय सञ्चालकले विधेयकको विरोध गरेका छन् । विधेयकमा निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको विद्यालय सञ्चालकहरुको भनाई छ । उनीहरुले देशभर विद्यालय बन्द गर्ने घोषणा समेत गरेका छन् । उनीहरुले बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समन्वय इकाइ÷प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने बताएका छन् । बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने विद्यालय सञ्चालकहरुले बताएका छन् । साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरुले बताएका छन् । त्यस्तै भदौ १ गते विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले सरकारले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याएका कारण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए । निजी क्षेत्रले सरकारले शिक्षा गरेको लगानी जत्तिकै लगानी गरिरहेको तर, विधेयकमार्फत निजी लगानीलाई निरुत्साहित गर्न खोजेको विद्यालय सञ्चालकहरुले बताएका छन् ।