नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्त संस्थाको १५ प्रतिशत बोनस अर्थात ११ लाख ८७ हजार ९७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गरेका हुन् । नवनियुक्त भट्ट अडिगाले भण्डारेश्वर–ताम्रेश्वर–खञ्जनेश्वर–कृष्णेश्वर–शङ्कराचार्य मठ–झम्केश्वर– पशुपतिस्थित चाँगुनारायण– आगमघर–रुद्रगारेश्वर– वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थित बूढानीलकण्ठ–आर्यघाट–भद्रेश्वर–चतुःषष्टि लिङ्गबाट मूलभट्ट निवास–कुमारीस्थान–कीर्तिमुख भैरव–उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गरेका हुन् । उनलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराएका थिए । नियुक्तिपछि भट्ट अडिगा पाँच दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान हाल श्रीकृष्ण मन्दिरसँगै गुप्तवास बसेका थिए । मूलभट्ट संयोजकत्वको विद्वत् परिषद्को सिफारिसमा भट्ट अडिगालाई पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेको थियो । दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त भएका कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा प्रशासनिकलगायत प्रक्रिया पूरा गरी उनलाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो । रासस
नेशनल लाइफको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न, ५ शाखा सम्मानित
काठमाडौं । ‘शिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने बार्षिक सम्मेलन एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा उक्त सम्मेलन आयोजना गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । श्रावण १८ गते देखी २१ गते सम्म आयोजना गरिएको उक्त सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए । यस सम्वन्धमा आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु-याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्ने बारे सो सम्मेलनमा विचार विमर्श भएको थियो । सम्मेलनमा सहभागि कर्मचारीहरुलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पंडितले सम्पत्ति शुद्धिकरण तथा आंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यसैगरी, नेपाल का चर्चित मनोक्रान्तीका संस्थापक डा. योगी विकासानन्दले सहभागि कर्मचारीहरुलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकरात्मक उर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण प्रदान गरे । आ.व. २०७९/८० मा शाखा संचालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालय हरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
चितवन जिल्ला प्रशासनले भन्यो : विपद् व्यवस्थापनमा रास्वपाको सहयोग चाहिँदैन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको विपद् व्यवस्थापन तथा उद्धारमा सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेकाले अमुक दल र तिनका कार्यकर्ताको आवश्यकता नपर्ने बताएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति प्रकाशन गरेर राजमार्गको पहिरो पन्छाउन कसैको सहयोग नलिइएको स्पष्ट पारेको हो । मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो । राजमार्गमा पहिरोले गर्दा सवारी अवरुद्ध भएपछि व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आर.ए.टी नामको समूह परिचालन भएको थियो । जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचार सेटसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले ध्यानाकर्षण भएको बताएको छ । उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको त्यस क्रममा राजनीतिक दल वा अन्य संयन्त्रको सहयोग नलिइएको प्रशासनले बताएको छ । ‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं, विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन’, प्रशासन कार्यालयले भनेको छ । प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताएका छन् ।
मालपोत कार्यालयबाट ३० करोड ८४ लाख राजस्व सङ्कलन
तनहुँ । जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० रुपैयाँकम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा रजिष्टे्शन दस्तुरबाट पन्ध्र करोड ८० लाख पाँच हजार चार सय रुपैयाँ सत्र, पुँजीगत लाभकर एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र रुपैयाँ, रोक्का दस्तुर धितोसमेत गरी तीन करोड अठार लाख सत्तरी हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यसैगरी नामसारी संशोधनबाट बैसठ्ठी लाख अठसठ्ठी हजार आठ सय सत्र रुपैयाँ, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर रु एघार हजार आठ सय पाँच राजस्व सङ्कलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो । सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत सङ्कलन भएको एघार करोड ३९ लाख ५७ हजार १५ रुपैयाँ सङ्घीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो । रासस
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ । यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए ।
भीआईपीको उपचार नेपालमै गर्दा ठूलो रकम विदेशिनबाट रोकिन्छ : डा. कोइराला
काठमाडौं । नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् । उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उनमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ । हालसम्म उनी आफैँले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसकेका छन् अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गरेका छन् । केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ । पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा रहेका तमाम समस्या र सम्भावनाको जीवन्त चित्रण कोरिएको यो पुस्तक पढेपछि लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथामात्र नभई उनको व्यवस्थापकीय गुणबारे अवगत हुन्छ । कुनै पनि काम सुरु गरिसकेपछि त्यसलाई जुनै हालतमा सम्पन्न गरिछाड्ने भगवानको शैली जहाँ जुनसुकै क्षेत्रका लागि पनि उदाहरण बन्न सक्दछ । प्रस्तुत छ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक तथा सामाजिक अभियन्ता डा कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश : नेपालमा मुटुरोगीको सङ्ख्या बढ्दो देखिन्छ । यसको मुख्य कारण के होला ? नेपालमा मुटुरोगीको सङ्ख्या वास्तवमै वृद्धि भइरहेको छ । यसो हुनुको मुख्य कारण जीवनशैली, आहारविहार नै हो । पछिल्लो समय क्षयरोग, मलेरिया, झाडाबान्ताजस्ता सर्ने रोगको सङ्क्रमण घट्यो तर मुटु रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्न थाल्यो । नेपालीको औसत आयु बढेसँगै नसर्ने रोगको चाप पनि बढेको देखिन्छ । खासगरी पछिल्लो समय युवा वर्गमा मुटुरोगको समस्या देखिनुको मुख्य कारण खानपिन र खराब जीवनशैली नै हो । मुटुरोग लाग्न नदिन के कुरामा ध्यान दिनुपर्ने हुन्छ ? मुटुरोगका कतिपय कारण जस्तैः उमेर, लिङ्ग, जेनिटिक जस्ता कुराहरु हाम्रो अधीनमा हुँदैनन् । तर धेरैजसो जोखिम न्यूनीकरण हाम्रै हातमा हुन्छन् । धुम्रपान तथा मद्यपान नगर्ने, जीवनशैलीमा परिवर्तन तथा नियमित व्यायाम एवं मोटोपन घटाएमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ । वायु प्रदूषणले पनि मुटुरोगलगायत विभिन्न स्वास्थ्य समस्या ल्याउने गरेको छ । समयमै गर्न सकिने उपचारप्रति बेवास्ता गर्ने वा हेलचेक्रयाइँ गर्ने बानीले पनि पछि गएर गम्भीर समस्या ल्याउने गरेको छ । बालबालिकालाई घाँटीमा सामान्य समस्या हुँदा समयमै उपचार नहुँदा पछि गएर उनीहरु मुटुका रोगी बन्नुपरेको छ । मानिसहरुमा आध्यात्मिक चिन्तन, योग, ध्यान गर्ने आदत बढाउन सकेमा शरीरमा स्वतः सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले मुटुलगायत कुनै पनि जटिल समस्या आउन नदिन सहयोग पुग्छ । नेपालमा मुटु रोगको उपचार सेवाको पहुँच आम जनतासम्म कसरी पुर्याउन सकिएला ? स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हुँदा सबैको पहुँचमा पुर्याउन आवश्यक छ । कतिपय स्वास्थ्य सेवालाई विकेन्द्रित गरी स्थानीय तहसम्म पुर्याउन जरुरत हुन्छ भने कतिपयलाई केन्द्र वा प्रमुख सहरी क्षेत्रसम्म पुर्याउँदा पनि हुन्छ । मुटु रोगको प्रारम्भिक पहिचान गर्न सकिने स्वास्थ्य सेवालाई विकेन्द्रित गरी जिल्ला अस्पतालदेखि स्थानीय तहका स्वास्थ्य केन्द्रहरुमा पुर्याउनुपर्छ । विशेषज्ञसहितको सेवालाई राजधानीलगायत प्रमुख सहरहरुमा पुर्याउनुपर्छ । अहिले काठमाडौँमा गङ्गालाल, मनमोहन कार्डियो थोरासिक सेन्टरमा मुटुरोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ । वीर अस्पतालमा असीको दशकमा सुरु भएकामा बीचमा केही वर्ष बन्द भएको र अहिले पुनः सञ्चालनमा ल्याइएको छ भने उपत्यकाबाहिर चितवन, पोखरा, बुटबल, नेपालगञ्ज, वीरगञ्ज, धरान, विराटनगर र झापामा मुटुरोगको स्तरीय उपचार सेवा उपलब्ध छ । नेपालको मुटुरोगको उपचार सेवा विश्वका अन्य देशको तुलनामा कत्तिको स्तरीय छ ? नेपालमा मुटुरोगको उपचार सेवालाई हेर्दा विश्वका अन्य देशको तुलनामा कमजोर मान्न सकिँदैन । धनी देशको तुलनामा प्रविधिमा केही कमी छ तर नेपाली चिकित्सकहरु त्यहाँका भन्दा कम हुनुहुन्न । नेपालको आम जनतालाई चाहिने शल्यक्रियासहितको उपचार सेवा नेपालमा उपलब्ध छ । गङ्गालाल हृदयरोग केन्द्र देशकै महत्वपूर्ण अस्पतालमा रुपान्तरण भएको छ । त्यस्तै मनमोहन कार्डियो थोरासिक सेन्टर पनि उत्तिकै प्रभावकारी रहेको छ । तपाइँकै पहलमा ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) स्थापना गर्दै हुनुहुन्छ । यस्तो अस्पताल स्थापना गर्नुपर्ने के आवश्यकता देख्नुभयो र ? बाल स्वास्थ्यलाई समग्र रुपमा हेरिनुपर्छ, मुटुको उपचारका रुपमा मात्रै होइन । स्वास्थ्य सेवामा लागेको लामो अनुभवबाट यो निष्कर्षमा पुगिएको छ । समयमा सम्पूर्ण उपचार नपाएको कारण धेरै बच्चाहरुले जुन पीडा भोगे, त्यसकै कारण अस्पतालको आवश्यकता महसुस भयो । त्यही अभाव पूरा गर्न पैसाको कमी वा प्रविधिको कमी वा पहुँचको कमीबाट कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाएँ । कान्तिजस्तो बालबालिकाको डेडिकेटेड अस्पतालले यो सेवा विकेन्द्रीकृत गर्नुपर्ने थियो तर विविध कारणले कार्यान्वयन गर्न सकेको छैन । त्यसैले सरकारको सहयोगमा सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौँमा एक विशिष्टीकृत बाल अस्पताल (’काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ किओच ) नामक बाल अस्पताल निर्माण गरिँदैछ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल सञ्चालनमा आइसकेको छ । बाल अस्पताल नै खोल्नुपर्ने इच्छा कसरी जागृत भयो ? नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चारजनाले आफ्नो पाँचौँ जन्मदिन देख्न पाउँदैनन् । आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन् । मलाई नेपालमा बालबालिकाको उपचारका निम्ति विशिष्टीकृत अस्पतालको अभाव खड्किँदै आएको थियो । त्यही अभाव पूरा गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नै बाल अस्पताल स्थापना गर्ने इच्छा जागृत भएको हो । सरकारले हालै उच्च ओहोदाका व्यक्तित्वहरुको उपचार स्वदेशमै गर्नका लागि तपाइँसमेत रहेको एक समिति गठन गरेको छ । यसलाई तपाइँले कसरी लिनुभएको छ ? सरकारले नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनाका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत अति विशिष्ट व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरे जस्तोसमेत देखिएकाले स्वास्थ्य उपचार समिति गठन गरेको छ । यसले एउटा सकारात्मक सन्देश जनतामा गएको छ । तर यस किसिमको स्वास्थ्य सेवा भिआइपीलाईलाई मात्र दिने भन्ने नभई सबै जनताले स्वदेशमै पाउँछन् भन्ने सन्देश आवश्यक छ । एउटै (वीर) अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला ? भिआइपीहरुको चाहना र व्यावहारिकतालाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरुबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भएकाले हामी चिकित्सकहरु खुसी नै भएका छौँ । केही समयअघि यहाँको हृदय नामक पुस्तक पनि प्रकाशित भएको छ । पुस्तक लेख्ने उत्प्रेरणा कसरी मिल्यो ? मैले अध्ययनपछि विभिन्न स्वास्थ्य संस्थाहरुमा रहेर काम गर्ने अवसर पाएँ । जोखिम र जटिल किसिमको स्वास्थ्य सेवा स्थापित गर्न कस्तो किसिमको हण्डर खानुपर्छ भन्ने बारेमा पुस्तकमा उल्लेख गरेको छु । आफूले जीवनमा भोगेका सङ्घर्षका अनुभवदेखि स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा राखेको छु । तीसवर्षे जागिरे जीवनका अनगिन्ती यादहरु समेटिएको पुस्तकमा अनेक तनाव, छटपटी र खुसीका क्षणहरु पनि पाउनु हुनेछ । जो सुकैले पनि प्रतिबद्ध भएर लाग्यो भने जस्तोसुकै समस्याको पनि समाधान गरी सफलता पाउन सक्छ भन्ने सन्देश दिन खोजिएको छ । रासस
तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ । स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद गरियो । तर त्यहाँका बासिन्दाले फोहर फाल्न दिएका छैनन । अन्य स्थानको पनि खोजी भइरहेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । हाल तुलसीपुर–१८, १९ र १६ का विभिन्न स्थानमा फोहर व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेको छ । ‘हामीले विभिन्न स्थानमा जग्गा हेरेका छौँ, वडा नं १६ ले पनि साढे तीन बिघा जति जग्गा दिने भनेको छ’, उनले भने, ‘हिले फोहर फाल्दै आएको स्थान अस्थायी हो, त्यहाँ फोहर फाल्दा एयरपोर्टलाई समेत असर गर्दै आएको छ ।’ करिब चार बिघाजति जग्गा पाइएमा निजी क्षेत्रलाई जिम्मा दिने तयारी छ । फोहरबाट मल निकाल्नेदेखि अन्य सामग्री निर्माण गर्ने गरी तयारी गरिएको प्रमुख खड्काले बताए । रासस