
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको विपद् व्यवस्थापन तथा उद्धारमा सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेकाले अमुक दल र तिनका कार्यकर्ताको आवश्यकता नपर्ने बताएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति प्रकाशन गरेर राजमार्गको पहिरो पन्छाउन कसैको सहयोग नलिइएको स्पष्ट पारेको हो ।
मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो ।
राजमार्गमा पहिरोले गर्दा सवारी अवरुद्ध भएपछि व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आर.ए.टी नामको समूह परिचालन भएको थियो ।
जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचार सेटसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले ध्यानाकर्षण भएको बताएको छ ।
उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको त्यस क्रममा राजनीतिक दल वा अन्य संयन्त्रको सहयोग नलिइएको प्रशासनले बताएको छ ।
‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं, विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन’, प्रशासन कार्यालयले भनेको छ ।
प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताएका छन् ।
