
काठमाडौं । सत्ता पक्षले संसदमा दादागिरी देखाएको आरोप प्रमुख प्रतिपक्ष दल एमालेले लगाएको छ ।
एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताए ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले भने, ‘बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर बिरोध गर्नु दादागिरी हो ।’
बुधबारको संसद बैठकमा सत्ता पक्षका सांसदहरुले पनि बोल्न समय मागेका थिए । सभामुखले प्रतिपक्षका सांसद सूर्य थापालाई समय दिएका थिए । थापा बोल्दै गर्दा सत्ता पक्षका सांसदहरु उठेर विरोध गरेपछि सभामुखले थापालाई समय सकिएको बताएका थिए ।
सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका नेताहरु वेलमा आएर नाराबाजी गरेका थिए ।
‘सरकार जिम्मेवार बन्न सकेन । सभामुखले समय दिएर हाम्रा माननीय सूर्यबहादुर थापाले आफ्ना भनाइ राख्दै गर्दा सत्ता पक्षका माननीयहरुले उठेर अवरोध गर्नुभयो । यो सत्तापक्षको दादागिरी हो’, बर्तौलाले भने ।
बर्तौलाले सत्तापक्षको दादागिरी देख्दा सरकारले संसद चलाउन नचाहेको बताए । सरकारले संसदलाई द्वन्द्वतर्फ लैजाने तयारीका साथ अघि बढिरहेको उनले बताए ।